किशोरीको कैलालीदेखि वीर अस्पतालसम्म्को यात्रा ।

किशोरीको कैलालीदेखि वीर अस्पतालसम्म्को यात्रा ।

मनुष्यको जीवन सबैको एउटै हुँदैन । तर जिवनको मूल्य मान्यता र विचार प्रणालीले सिङ्गो समाजलाई दर्शाउने गर्छ । समाज कसरी सन्चालन हुन्छ भन्ने कुरा समाजको विचार प्रणालीमा निकै निर्भर गर्छ । अझै सूक्ष्म रुपमा केलाउने हो भने व्यक्तिको स्थापित बानी व्यहोरामा समस्त समाजको आधारशीला तयार हुन्छ । व्यापारी युगमा लोककल्याणकारी भावनाले ओतप्रोत समाजको कल्पना गर्न सकिन्छ त ? 

कैलालीको दुर्गम वस्तीबाट एउटी किशोरीलाई ज्वरोले गर्दा उनकी आमाले अस्पतालहरु देखाउँदै हिड्छिन् । सो क्रममा उनको रोग त पत्ता लाग्दैन । तर पैसा भने १ लाख जति सकिन्छ । मजदुरी गरेर कमाएको पैसा केही दिनमै उपचार खर्चमा सकिन्छ। कैलालीमा सबै उपचार गर्न नसकिने भएपछि काठमाडौ आएका रहेछन् । उनकी आमाले त्यसको लागी एक महिनासम्म चन्दा उठाएर बल्ल वीर अस्पतालमा आउने क्षमता बनेको रहेछ । जुन कुरा अलि मन बिझ्ने कुरा हो । देशको कुनै एउटा स्वास्थ्य संस्था जहाँ विशेष उपचारका लागि प्रेषण गरिएका विपन्न बिरामीलाई  पैसाको आवस्यकता नपर्ने हुन किन नसकेको होला त ? हाम्रो समाजले त्यो मजबुत स्वास्थ्य विमाको  निर्माण गर्ने पद्धति विकास कहिले गर्न सक्छ होला ?

हुन त "विपन्न" भनेर दिइने एक लाखको आर्थिक सहयोगको लागि नेपाली नागरिक भए पुग्छ । धन हुने र नहुने सबैको बराबर अधिकार हुन्छ । स्वास्थ्य बिमा पनि बिमाको सिद्धान्तमा चलेको देखिन्न ।  हाल जन्मिएका नयाँ पार्टीहरुको एजेन्डामा यो बहस छ होला कि ?

एक महिनामा ती किशोरीको शरीर ज्वरोले थलिएको रहेछ । किशोरवस्थामा हुने स्वभाविक उर्जा र कान्ति रोगको कारणले हराएको रहेछ । मनमा त अनेक सपनाहरु बुनेकी थिइन् होला । अपर्झट देखिएको असाध्य रोगले सबै इच्छाहरु तुहिन्छन् । उनको रोग जसोतसो पत्ता लागेछ । किड्नीलाई विशेष असर गर्ने बाथको रोग लागेको रहेछ । जसलाई SLE भनिन्छ । SLE को उपचार भने असामान्य अवस्थामा कठिन नै हुन्छ । उनी अस्पताल भर्ना भएकै अर्को दिन मोबाइल चोरी हुन्छ । उनी रुँदै भन्दै थिइन् " मोबाइल पनि चोरी हुन्छ भन्ने नै थाह थिएन । " कस्तो निर्दोष सोचाइ होला ! त्यो मोबाइल चोर्ने मान्छेको नैतिकता नै ह्रास भएको पापी मान्छे थियो कि उनी भन्दा पनि विपन्न थियो भन्ने कुरा भने थाह भएन । तर एउटा प्रश्न चाहिँ अवस्य हो " अस्पतालमा समेत चोर्न सक्ने पापी व्यक्तिहरु यो समाजमा कसरी हुर्किन्छन् ? के संस्कारको कमीले बाटो बिराएका होलान् ?  "

उनको उपचारमा अनेकौं उल्झनहरु रहेका छन् । किड्नीको समस्याले गर्दा डायलाइसिस गर्नुपर्ने हुन्छ । डायलाइसिस गर्न पनि एउटा गोठालो बसेजस्तै कोही मान्छे बस्न पर्छ । उनको किड्नीको बाथ रोगले धेरै आर्थिक,  भौतिक र मनोबैज्ञानिक समर्पण खोजेको छ । जसमा उनकी आमा एक्लै लडिरहेकी छन् । उनकी आमा सधैं भक्कानिएर रोइरहेकी हुन्छिन् । मैले Echocardiography गर्ने पालोको दिन उनी आइपुग्छिन् । भर्ना भएका बिरामीहरुको एको गर्ने पालोमा बसेकी रहिछन् ।

बेडमा सुत्ने बेला जिउ दुखेर हल्लिन नसक्ने थिइन्  । बल्ल बल्ल उनलाई कोल्टो फेर्न लगाएर मैले Echo गर्दै थिएँ । मलाई विस्तारमा सोध्न मन लाग्छ । उनकी आमाले आफ्नो कथा भन्दै थिइन् । " मेरो छोरी यस्तो थिएन । के रोग लाग्यो दैवले । चन्दा उठाएर ल्याकी हुँ । नेपालगन्जा एक लाख सकिगो । रोग पत्ता लागेन । यहाँ मोबाइल पनि चोरी भयो । सम्पत्ति भनेको दुई कठ्ठा जमिन छ । त्यो पनि बेच्न पर्ने भो । ........." यति भन्दै गर्दा उनी घ्वार घ्वार रुन्छिन् । मेरा हात काम्छन् । केही समय म नि: शब्द हुन्छु । अरु प्रश्न सोध्ने आँट म भित्र थिएन । मेरो आँखाबाट आँसु झर्न मेरो अहमले दिएन ।  मन भने निकै दु: खी भयो । रोग लागेपछि एक लाख नै सकिन धेरै समय त लाग्दैन । तर विपन्नको सिफारिस दिन सक्ने निकायले एउटा स्वास्थ्य बिमा गर्ने अर्ति दिन सक्थेन र ?? त्यति धेरै चिकित्सक आदि सँग भेट भए पछि ती परिवारलाई बिमाको अर्ती कसैले दिएनन् होला त ?

यस्तै प्रश्न उब्जिरहेको थियो । उनलाई रिपोर्ट दिएर पठाउँछु । उनले सोधिन् " मेरो छोरीको मुटु कस्तो छ ? " बाथले मुटु पनि असर गरेको देखिएको थियो।
मैले भनेँ " तपाइँको मुटु बलियो भयो भने उनको मुटु पनि तङ्रुन्छ । "

उनले पैसा तिरेको बिल त्यहीँ छुटेछ । त्यसमा Echo को बिल पनि रहेछ । त्यसले मलाई गिज्याइरहेको थियो।  हुन त त्यो बिल खासै धेरै रकमको त थिएन । तर त्यही रकम नै उनी र उनीजस्ताका  लागि भारी हुने गर्छ । यो दृश्य मेरो सहयोगी नर्सले पनि महसुस गरिरहेकी थिइन् । उनको बिलमा प्रशासनले छुट गरेको २० प्रतिशत देखेर प्रशासनको विश्लेषण क्षमतामा प्रश्न गर्न मिल्ने हो कि ? प्रशासनिक बाध्यता हो ? वा दुवै हो ?  लोकतन्त्र अभ्यास भएको यतिका वर्षमा पनि आर्थिक प्रगति नहुनाले जनताको क्रयशक्ति कमजोर हुनु नै समस्या हो कि ?

उनको उपचारको क्रममा सायद त्यो परिवारले खर्च धान्न सक्दैन । रोग नियन्त्रणमा आओस् भन्ने कामना गर्न सकिन्छ । तर रोग जरैबाट निर्मुल हुने प्रकृतिको भने छैन । रोगले जर्जर बनेको त्यो शरीरमा जीजिविषा कति रहन्छ भन्ने पनि एक महत्वपूर्ण कुरा हो । उनको परिवारलाई धेरै आर्थिक, सामाजिक र मानसिक चुनौतीहरु पर्ने अवस्यम्भावी छ । उपचारको क्रममा आर्थिक कठिनाइले विचमै उपचार छोड्न सक्ने सम्भावना पनि उत्तिकै प्रवल छ । फेरि एउटा कथाको नमीठो अन्त्य देख्न नपरोस् भनेर सदिच्छा ।

हामी महान् छौ भनेर कोही महान हुँदैनौँ । जन्मिँदैमा महान हुँदैनौँ । महान् हुनको लागि कार्य पनि महान् हुनुपर्छ । वर्तमान राजनीतिमा उदाउँदै गरेका सबै जनालाई बोली र वचनले भन्दा पनि कार्य क्षमताले महान भन्न पाइयोस् । शिवशक्तिले सबै जनालाई यो शिवरात्रीमा आफुभित्र हेर्न सक्ने क्षमता प्रदान गरुन्  ।

जय  शिवरात्री  ।


Comments

Popular posts from this blog

चिकित्सक , अमेरिका मोह र राज्यको चेतना ।

त्यो एक खिल्ली चुरोट किनेको दिन ।

अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!