ब्रह्मजीलाई फुर्सद ।

ब्रह्मजीलाई फुर्सद हुँदा  । 
कुनै कुराले असाध्यै  मन खाँदा त्यो प्राप्त गर्ने हुटहुटि सबैलाई जाग्दो होला । मलाई दर्शनको पुस्तकहरुले निकै मन खाने गर्छन्। आध्यात्मिक चिन्तनको बहसमा सहभागी हुन मेरो मन आफै डोरिन्छ । 
पुस्तक,  कार्यक्रम , वस्तु आदिले मन खाँदा  हरसम्भव प्राप्त गर्न प्रयास गरिन्छ । त्यो प्राप्तिमा सफल नहुँदा त मन खिन्न हुन्छ भने जीवन यात्रामा  कोही मन खाएको व्यक्ति आफूसँग नहुँदा कति छट्पटी हुन्छ होला है ! त्यसमा पनि नैसर्गिक रोजाइले चिताएको  विशेष साथीले मन चोरेर लैजाँदा कस्ता मिठा भाव प्रस्फुरण हुन्छन् होला ? तर  मिलन नहुँदै छुट्टिनु पर्ने बाध्यता भएका दु:खी मन अत्ति नै पिर्छ होला है ? जीवनको कुनै समयमा यी प्रश्नका उत्तर आफै नै बन्नुपर्ने दिन आउँदा मनको भाव छताछुल्ल पोखिन खोज्छ नै ।   यस्तो दुर्लभै पग्लिने आफ्नै मनप्रति नमन छ मेरो ।

 भाग्यमानीलाई मात्रै कुनै  मनोवादविना आफ्नो मन कसैप्रति पूर्ण आत्मसमर्पण गरेको अनुभव हुन्छ ।  उनले मेरो मन खाएको दिन पनि त्यस्तै नतमस्तक भएको थिएँ ।  मेरा सबै अडकलवाजीमा मात्रै सिमित हुने र चलचित्रका पर्दामा देखिने  प्रेमिल भावनाहरु एकाएक  यथार्थमा उत्रिएका थिए । मलाई  सधैं बकम्फुसे लाग्ने अमर प्रेमकथाहरु सान्दर्भिक लागेका थिए ।  दर्शक म र दर्शन उनको । पात्र उनी कल्पना मेरो । 

उनका नयन निकै आकर्षक देखिन्छन् । उनका आँखीभौँ ती नयनमाथि गजक्क परेका छन् । अनुहारको चमकबाट कालो कोठी दाहिने आखिभौँमा लुक्न खोजेको प्रतीत हुन्छ ।  ओठका किनार तन्किँदा  मिलेका चम्किला दन्तलहर सोभा बढाउँछन्। उनको बोली निकै सुमधुर सुनिन्छ । गोधुली साँझमा  सूर्यको शितलताभन्दा पनि शितल उनको अनुहारको चमकले मेरा आँखा शितल हुन्छन् । आँखामा राख्ने "टियर ड्रप्स" का थोपा नराखे पनि मेरा आँखाले उनका नयन एक टक हेरिरहन सक्छन् । लाग्छ उनलाई मैले देखेकै रहेनछु । सायद मनको आँखाले हेर्ने समय निकालेको रहेनछु । मनले हेर्दा त अझै सुन्दर देखिन्छिन् । त्यसमाथि उनको कर्णप्रिय आवाजले मेरो मनलाई सिधै भेदन गर्छ । 

स्कुटरमा बस्दा उनको फिँजारिएको कालो केशले मेरो अनुहार छोप्दा कस्तो उर्जा सन्चार होला भनेर सोच्छु । धन्यवाद हावालाई दिने कि स्कुटरको गतिलाई भन्ने दुबिधा हुने होला ।   यति महसुस गर्दै गर्दा पौडिन नसकिने कुन्डमा डुबेको अनुभव हुन्छ मलाई  । त्यसैले  म अन्तै हेर्न खोज्छु । तर आँखा घुमेर उनलाई नै हेर्न पुग्छन् । कस्ता अटेरी आँखाहरु !! भनेको नमान्ने कस्ता लोभिएका प्रेमिल आँखाहरु !! 

मलाई केहि बोल्न मन लाग्छ । तर बोली फुट्न गार्हो मान्छ । "तिमि विछट्टै राम्री छौ" भनेर जिब्रो दाँत र ओठ सबैले सल्लाह गरिसकेका थिए । तर मस्तिष्कले ब्रेक लगाउँछ । कस्तो "फ्लर्ट" गरेको  भन्छिन् भन्ने पीरले अर्कै शब्द सम्योजन हुन्छन् " खाजा खायौ ? "    यो दृश्य देखेर मेरो मनमा उकुसमुकुस हुन्छ ।  

उनको कफी आइपुग्छ। उनले मास्क निकालेपछि पूरा अनुहार देख्छु। उज्यालो चेहरामा आकर्षक नयन बडो गज्जब देखिन्छन् । कफीको स्वाद लिँदै जाँदा उनको कप रित्तिँदै थियो । मेरो कफी सकिने छाँट थिएन । खासमा मलाई कफी  सक्नु नै मन थिएन । चुस्की लिएजस्तो गर्दै पुनः कपकै डिलबाट कफीलाई ओरालो फर्काउँथे ओठहरुले । जादु जानेको भए उनको कफी कहिल्यै नसकिने बनाइदिन्थेँ । रेस्टुरेन्टप्रति पनि खुब रिस उठ्यो । सानो कपमा कफी दिएको भएर । एक मनले कफीको कप आफैँ ल्याउन पर्ने जस्तो लाग्यो । 

कफी नसकिँदै  म द्रुत गतिमा सिनेमा हलमा पुग्छु । कस्तो जादु ! एक निमेष पनि नलाग्ने मनलाई कतै पुग्न । मेरो दाहिनेतिर उनी बसेकी छिन्  । उनी रमाउँदै फिल्म हेर्दै छिन्  । मेरो  टाउकोले सिधा हेर्दै छ । तर मेरा आँखाले दायाँमा उनलाई हेरिरहेको छन् । मनले भने उनको र मेरो आँखा जुधिरहेको देख्दै छ ।  फिल्मका कुनै कुरामा डुब्दा उनी गम्भीर देखिन्छिन् । बेलाबेला उनको हाँसोले  वातावरण " स्यानिटाइज" हुन्छ भने मुस्कानले आभामण्डल  "एनर्जाइज" हुन्छ । एक पटक उनको शिर मेरो छातिमा अडिन पुग्यो भने धड्कनको आवाज र गति पक्कै थाहा हुन्थ्यो होला ! इ सि जि मा कैद नहुने धड्कनको चाल सुन्न पर्छ । हेरेर थाहा हुन्न । तर फिल्महलमा दुई सिटबिचको डन्डी भिलेन बन्ने गर्छ  । फिल्महलको बाहिर एउटा सानो पान पसल रहेछ । " मिठा पान खान्छौ ? " म मनशाय बुझ्ने प्रयास गर्छु । हुन्न भन्न सकिनन् । पानको डल्लोलाई अटाइ नअटाइ मुखमा राख्दा गाला फुक्क फुल्छन् । मुखको किनारबाट रस चुहिन्छ । कपडामा लाग्ने डरले उनी तर्किन खोज्छिन् । तर उनी  त्यसलाई छल्न सफल हुन्निन् । दाग लागेर नै छाड्छ । त्यो देखेर मलाई खुसी हुन्छ । त्यो चिनारी मेटाउने इच्छा नै जाग्दैन । 

कल्पनामा डुब्दै गर्दा कफी पनि सकिन्छ । उनले भन्छिन् " तपाइँ कता ध्यानमग्न ? " म कल्पनाको जहाजबाट यथार्थको भूमिमा उत्रिन्छु ।  कल्पनामा तिमीसंग कफि खाँदै,  फिल्म हेर्दै , स्कुटरमा पछाडि बस्दै थिएँ भन्न  आतुर थियो मेरो बोली । तर रोक्किन्छु । उनको मनको " स्टाटस" बाट अज्ञात हुँदा त्यो उत्तर शिष्ट लागेन मलाई । त्यसैले भन्छु " तिमीलाई रचना गर्न ब्रह्मजीले पक्कै आफ्नो उमेरको १००० वर्ष लगाएका होलान् । "  यो सुनिसकेपछि उनले हल्का आँखामा मुस्कान फिँजार्दा म आफ्नो ओठमा मुस्कान फिँजार्छु । सुन्दर अवयवमा "हरि" मन भेटिने उनी  दुर्लभ छिन्  । उनलाई धेरैले इन्स्टाग्राममा खोज्दा होलान् । फेसबुकमा खोज्दा होलान् । म त उनलाई  सदा आफ्नै अगाडि खोजिरहन्छु । आफैभित्र देखिरहन्छु । 

Comments

Post a Comment

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।