The great Rara Travel


रारा यात्रा मनको यात्रा ।  

देवघाटधामको पावन स्थलमा एक रात बस्न भनेर अप्राह्नन्नतिर काठमाडौबाट हिंडेको थिएँ   ।  आपटारीमा  ओर्लिँदा सुर्यले बिदा मागेर अँधेरीलाई  निम्तो दिँदै  थियो ।  त्यहाँको  बिशेषता  भन्नुपर्दा अपरिचितहरुलाई पनि  ब्यक्तिगत गाडीहरुले देवघाट पुर्याइदिन्छन् । म पनि एउटा मोटरबाइकमा  देवघाटधाम पुगेँ ।  गर्मी चढिसकेको रहेछ ।  त्यसमाथि  बिजुलीको  अबरोधले गर्दा पसिनाले सरिरलाइ सिन्चित गर्ने मौका पाएको थियो ।  एकाकीपन हटाउन फोनमा ब्यस्त भएँ  म ।  एक हातमा हाते पंखा ।  अर्को हातमा मोबाइल ।  त्यति नै बेला दैलेखबाट बिकास दाइले राराको यात्राको लागि निम्तो भनेपस्चात सल्यान फर्किने भनेर हिंडेकोमा अर्को दिन दैलेख जाने निर्णय  गरेँ ।  चितवनबाट नाइट सुर्खेतसम्मको टिकेट काटेर असहज यात्रा गरेँ ।  त्यस्ता अप्ठेरो गाडी नाइट सेवामा राख्नेलाई त कारबाही  गर्नुपर्ने हो ! कसले पो हेर्ने हो ? असहज नै भएपनि  दैलेखमा शनिबारको बिहानको १० बजेको खाना खाने समय भेट्न् सफल भएको थिएँ ।  

दैलेख  मेरो लागि प्रिय लागेको ठाउँ ।  २०७४ मङ्सिर १ गते पनि म दैलेखमा थिएँ ।  सौहार्दताको कत्ति कमी नभएको जिल्ला स्वास्थ्यको आवास गृह थियो। त्यतिखेर हामी पंचकोशीको श्रिस्थान नाभिस्थान र कोटिला दर्शन गरेका थियौँ  ।  गोरोबर्णको  अग्लो कदमा मिलेको जिउडाल भएका मुसुक्क हास्ने निरन्जन दाइसंगको  यो दोश्रो भेट पनि प्रिय  लाग्यो ।  उहाँका कान र गाला  राताराता  बेलाबेलामा भैरहने हुँदा दाइ  सानैदेखि  लजालु स्वभावको हुनुपर्छ जस्तो लाग्यो ।  निरन्जन दाइको स्वरमा मिठो मन छुने गीत सुन्न पाइने भएर त्यो आवास र आवास्बासीलाई  कहिल्यै उराठ लाग्दैन होला ।  दुबै पटकको भेट प्रिय लाग्यो मलाई ।  भेट गराउने र दैलेख यात्राको  श्रेय सबै बिकास दाइलाई जान्छ ।  

आईतवारको दिन दैलेखको लाकन्द्रा पुगेर बस्ने प्लान बनेको थियो। दैलेख  जिल्ला अस्पतालबाट हामी ४ जना हिंडेको  थियौँ ।  निरन्जन दाइ  अर्को दिन बिहान लकान्द्रा जाने कुरा भएको थियो। बाटोमा पर्ने दुलेश्वोर र पादुका नामका धार्मिक स्थल पनि भ्रमण गरी घाम डुब्न लाग्दा  लकन्द्रा पुगियो ।  सोमबार र मंगलबार लकान्द्रा प्रा स्वा के मा एकिक्रित स्वास्थ्य सिबिरको आयोजना गरिएको थियो। ।  लकान्द्रा पिछडिएको क्षत्र र वास्तविक दुर्गाम रहेछ ।  प्रकृतिले पनि मन फुकाएर हरियाली नदिएर हेला गरेजस्तो प्रतीत भयो ।  सबै उजाड पहाड र कतै पनि रहर लाग्दो फांट नभएको ।  मन लगाएर सम्रिद्धिको गियर थिच्नु पर्ने महसुस हुन्छ ।  

त्यो आयोजित सिबिर यथार्थ रुपमा सफल भएको थियो ।  सिबिरको उद्घाटनको समयमा गाउपालिका अध्यक्षको भबुकताले मेरो मन छोएको थियो ।  शायद  डा बिकासजस्तो इमान्दार र लगनशिल ब्यक्तीको सहकार्य केही समयमा टुट्ने पीरले मुटुमा गाँठो  पारेको थियो होला ।  त्यो गाँठो आश्रुले फुकेको थियो । शायद जिवनको  एउटा आदर्श कमाइ त्यो हो ।  हुन पनि लकान्द्रा प्राथमिक स्वास्थ्य केन्द्रले आफ्नो निर्माण भएको  २३ बर्षपछि बल्ल डाक्टर देख्ने सौभाग्य प्राप्त गरेको थियो ।  दुई बर्षमा डा. बिकासले धेरै गुन लगाएको कुराको मुक्तकन्ठले प्रसम्शा गर्दै थिए अध्यक्षले । जे होस् केही कुराको  महत्व पैसाभन्दा माथि हुन्छ ।  जुन किनेर पाइँदैन ।  त्यो अश्रुको मूल्य तोक्ने कुनै यन्त्र र बिधी छैन होला ।  त्यो भाबुक बातावरणलाई निरन्जन दाइले अध्यक्ष र डा बिकासको कामको प्रसम्शा गर्दिएर अझै मलजल गर्नुभएको थियो ।  

स्वास्थ्य सिबिरमा बिरामीको घुइँचोले म झ्यालबाट उम्किन परेको थियो । त्यँही  बसे त श्वास फेर्न मुस्किल हुने ! झ्यालबाट उम्किएर  भागेको देख्नेहरु मुसुमुसु हाँस्दै थिए ।  पछी त बिरामी पनि उछिनपाछिन गर्दै झ्यालबाट छिर्ने जुक्ती निकालेका थिए ।  सदाको जस्तै महिलाको संख्या बढी थियो ।  सबैका एकै किसिमका समस्या । जिउ दुख्ने ,कट्कटी खाने ,सिल्का हान्ने .निद्रा नलाग्ने आदि ।  ति समस्याहरु मानसिक भन्दा पनि सामाजिक  समस्याको शारिरिक प्रस्फुटन हुन् भन्ने लाग्छ ।  चिरफार त सामजको गर्नुपर्ने हो । सरकारले   औषधी निशुल्क गर्दैमा ठोस परिणाम आउला र ? टाउको दुखाइमा नाइटोको उपचार जस्तै  हो ।  ति त्यस्ता समस्या हुन्  ,जुन घातक त हुँदैनन् ।  तर मनको भित्री तहसम्म जरो गाडेका हुन्छन् ।  सबैलाई भिडियो गरे आधा रोग सन्चो हुने ।  निरन्जन   दाइ    र बिकास दाइलाई भिडियो गर्दा हम्मे हम्मेभएको हुनुपर्छ  ।  शायद भिदिओ एक्स रे गर्ने कोठामा उम्किन झ्याल थिएन होला ! 

स्वास्थ्यसिबिर सकेको अर्को बिहानीमा रारातर्फको  यात्रा सुरु भयो ।  लकान्द्राबाट ७ जनाको टिम प्रस्थान गर्‍यो  ।  चितवनबाट २ जना र सुर्खेत बाट १ जना दन्त चिकित्सक साथीहरु अघिल्लो राती अाइपुगेका थिए ।  ति डेन्टल डाक्टरहरु दैलेख अस्पतालमा  काम गर्ने डेन्टल  डाक्टरको साथी थिए ।  चिनजान नभएकोले बोल्न त गर्हो हुने भयो ।  तिनिहरुको शान्ती देखेर अफुलाई भने पट्यार लाग्दै थियो । मेरा एक जना साथी सबैभन्दा अगाडिको सिटमा बस्नुभएको थियो ।  भने डा बिकास र म पछाडिको सिटमा बसेका थियौँ ।  पछाडिको सिटको झ्यालतिर कोही माहान् ब्यक्ती बसेको हुनुपर्छ ।  रङिन पान हो कि मेगाश्री चपाएर थुकसँग लेस्सिएको उत्पादित पदार्थले झ्याल रङिएको थियो ।  यसो  बिचार  गर्दा नेपालमा हात धुन सिकाएजस्तै थुक्न पनि सिकाउने कार्यक्रमको खाँचो   जस्तो लाग्यो ।   

गाडीको गुरु पनि अजिबका  थिए । होचो कदका कृष्ण बर्णको मुसुक्क हाँस्दा मेगाश्रीले  रङिएका दाँत देखिने गुरुले बेलामौकामा मेगाश्रीको aerosol हावामा छोड्ने गर्थे ।  त्यसको गन्धले हाम्रो नाकलाई धेरै पटक सतायो ।  गुरुलाई जिस्काउन पनि  रमाइलो नै भयो । बिचको सिटको झ्यालतिर बस्ने र मलाई बिशेष गरी सताएको थियो ।  ति गुरु गाडी पहिलोपटक चलाएजस्तो व्यबहार  गर्थे ।  मुगूको लागि पर्मिट नलगेको  भएर १५०० जरिवाना तिर्नुपरेको थियो। त्राफिक पूलिसले कुनै हालतमा  छोडेन ।  यस्तै एक ठाउमा एन्ट्री गर्न पर्नेमा  नगरी हुइक्याउने भएर मस्त गाली खाए तिनले ।  त्यस्पछि त हामी नै रोक्न लगौथ्यौँ प्रहरी चेक्पोस्ट्मा ।  सुस्त गुरु नचाहिने ठाउँमा  फास्ट हुन्थे ।   

बिचको सिट महिला कोटा जस्तै नै भयो ।  बिचको सिट अपरिचयको पर्खालजस्तो महसुस भयो । म प्रयास गर्दै थिएँ त्यो पर्खाल भत्काउन ।  तीन जना डेन्टलका डाक्टरहरु  बसेका थिए बिचको सिटमा चानुमानु लागेर ।  मेरो अगाडि बस्ने को नाम तमन्ना रहिछ ।  हेर्दा खाइलाग्दो जिउडाल  ,फिजारिएको कपाल ,रातो   टिसर्ट ,कालो जिन्स र खैरो चप्पल लगाएकी थिन्  ।  उनलाई र मलाई मेगाश्रीको दुर्गन्धको कृपा परेको थियो बारम्बार ।  अर्को छेउको झ्यालतिर अस्मिता बसेकी थिन् । होचो कदकी ,मुस्कुराउँदा अगाडिका दुइटा माथिल्ला सेता दाँत  टल्किने, सिधा पारीएको कपालले कुमलाई सुम्सुम्याइरहने ,पिन्क  कलरको टिसर्ट,  कालो जिन्स र टाटेपाटे  स्पोर्टस जुत्ता लगाएकी अस्मिताको नाकको डाँडिमा पावरवाला चस्मा चिप्लिरहन्थ्यो ।  बिचमा बसेकी कन्चना  भने हेर्दा शान्त देखिने चन्चल चुलबुले जस्ती थिन् ।  बाटुलो अनुहार भएकी कन्चना निलो सेतो टिसर्ट र कालो जिन्समा थिन्  ।  यि त थिए पहिलो दिनका हुलिया  ।  ब्यागको आकार हेर्दा केही घण्टामा परिवर्तन गर्न सकिने बन्दोबस्त थियो भन्ने अनुमान लगाउन सकिन्थ्यो । पछील्लो सिटको अर्को छेउमा आसिन मनिषासँग पहिले नै चिनजान भएकोले धेरै याद गरिन मैले । उनको अनुहारमा कान्तीको अध्ययन  गर्दा लामो समयदेखिको निद्रासङको संघर्ष झल्किन्थ्यो ।  उनको मनभित्र गहिरो अशान्तिको ठम्याइ थियो  मेरो । 

दैलेखको राकाम भन्ने ठाउँमा  चिया खान रोकिएका थियौँ । यात्रााको हाम्रो पहिलो स्टेशन थियो राकाम ।  बिस्तारै फुक्दै थियो चिनाजानी हामिबीच ।  कर्णाली राजामार्ग हुँदै कालिकोटको मान्मा नपुग्दै  खाना खाने समय भएको पेटले खबरदारी गर्दै थियो ।  त्यहाँ  ११ बजेको आसपासमा सनराइज होटेलमा  खाना खाएपछी हामी प्रस्थान गर्यौँ ।  बेलुका  ४ बजे तिर नाङ्म भन्ने ठाउमा पुग्यौँ ।  चिया त मेरो लागि अम्म्ल  जस्तै हो। त्यसैले चिया खाने ठाउँ खोज्दा झिङाको घनत्व कालिकोट मान्मा भन्दा पनि बढी देखियो ।  निधार खुम्चिएपनी ,नाक चेप्रिएपनि चिया त खाइयो ।  शायद झिङाको एकाधिकार राज्य होला त्यो ठाउँ भन्ने लागेर ! पूरै रारा यात्रामागतिलो चिया उही दैलेख फर्किएपछी मात्र जुर्यो ।   

त्यस्पछी हामी ताल्चा सम्म पुग्ने उद्देस्यले हिड्यौँ ।  बाटोको जोखिमका कारण बेलुका ६ बजेपस्चात हिंड्न नपाइने रहेछ ।  प्रहरिले गोठिज्युला भन्ने ठाउँमा रोक्यो र कागज गरेर मात्र ताल्चाको लागि अनुमती दियो ।  पहिले नै भयको बिउ मनमा आर्मिले कागज गरेर  रोपेको थियो ।  त्यसैले होला बजिरहेको गीत पनि बन्द गरेर एक टक बाटोतिर ध्यान थियो सबैको ।  शायद भगवानलाई  सम्म्झिँदै थिए होला ।  म त सम्झिने भन्दा पनि बानि नै छ “ हरी ॐ “ भन्दै उच्चारण गर्ने बेलाबेलामा ।  कसैलाई भने मनोरन्जनको बिषय  भएछ ! हरी ॐ को ठाउँमा अपसब्द बोल्ने बानी भएको ब्यक्तिको उपस्थिती भएको भए राम्रो मान्थे होला शायद ! 

रातिको १० बजे ताल्चा पुगियो ।  होटेलको आङनमा आगो बालेर आगो ताप्ने र खाना खाने काम भयो ।  बाटोको खाल्डाखुल्डीले सरिरका  सबै भागहरु हल्ल्लाउने  भएर पुरै जिउ थाकेको थियो ।  मुगुमा रातो चामलको  भात पहिलोपटक खायौँ ।  जिब्रोले भने त्यती रुचाएन ।  यात्रााको थकानले  सबैको जाँगर मरिसकेकोले खानपिन गरेर सुत्न गयौँ ।  केटा र केटीको कोठा अलग भएपनि द्रिस्यलाई मात्रा अलग गर्ने खालको थियो। ध्वनी अलग भने हुन सकेन। बिहानै बजाएको शुभ मन्त्रले उनिहरुको  निद्रा नै खुलेछ  ।  

बिहानिपख कोदाको रोटी खाएर रारा तालतिर लागियो । रारा राष्ट्रिय निकुन्ज प्रबेश गर्दा ५०० प्रबेश शुल्क लाग्ने रहेछ ।  प्रबेश गरेपछि गाडीले रारा ताल नपुग्दै एउटा चौरसम्म लगेर छोड्न सक्ने रहेछ ।  सुरु त फोटो खिच्न राकाम  बाटै भएको थियो ।  तमन्नाले त डाँडा  देखेपनि बाख्रा देखेपनि फोटो क्लिक गरिहल्थिन् ।  मोबाइलको मेमरी पुरै खाली गरेर आएको  हुनुपर्छ भन्ने अनुमान थियो मेरो ।  अब त बाटोको हरेक ठाउँमा  रोकी रोकी फोटो सेसन सुरु भयो ।  मलाई नि त्यो फोटो सेसन देखेरै जाङर पलायो। आफूले पनि अली अली खिचियो  ।  केटीहरुलाई भने जित्न आजसम्म कहिल्यै सकिएन ।  पोज दिने एउटा क्लास नै लिनुपर्ला जस्तो हुन्छ ! जे जस्तो भएपनि हाम्रा सहयात्रि  मैले पहिले संगत गरेका केटी सहयात्रिहरु  भन्दा शान्त मान्नुपर्छ ।  शायद झिम्मिनसकेकोले होला ।  र फोटो खिच्ने कलामा १० पूर्णन्कमा ८ दिन सकिन्थ्यो ।  

केही बेर हिंडेपछि नेपालको सबैभन्दा ठुलो ताल राराको फराकिलो आयातनको द्रिस्य  देखियो ।  एक नयनभरीमा  नअटाउने बिशाल शान्त थिइन् रारा ।  निलो पानी थियो ।  पारीका डाँडाहरु एकटकले रारालाई हेरेर मन्त्रमुग्ध भएजस्तो प्रतित हुन्थ्यो ।  बादलहरु पनि एक छिन स्वर्गकी अप्सरा हेर्न अडिएजस्तो भान हुन्थ्यो। दुई पहाडका चुचुराका बिचमा  लुकेर चियाउन खोज्दै थिए बादलहरु। कोही बदमास बादलहरु  त लाज नमानी सिधै माथिबाटै हेर्दै थिए ।  सुर्यदेब भने सन्कोच मानेर होला कतै देखिएका थिएनन् ।  फोटा सेसन हुँदै थिए ।  मलाई  भने सुर्यले दर्शन नदेलान् भन्ने पिर परेको थियो ।  

हामी रारा छेउ पुग्दा डुंगाको लागि ढिला   भाईसकेको रहेछ ।  डुंगा नपाउने देखेसी रारा किनारको बाटो हिंड्न् लाग्यौँ हामी यदु दाइ र म। अरु पनि अाउलान् भनेको त मस्त फोटो सेस्सन चलिरहेको रहेछ ।  बिकास दाइ पूरै ठुस्केर बसेका  थिए बोटिङ गर्ने रहर नहुने,ंअहुने,ँअहुने देखेर ।  तर कसरी हो एक जना निकुन्जको कर्मचारी सँगको बार्तालापले डुंगाको ब्यबस्था भएछ ।  अनि हिडिरहेका हामी फर्कियौँ ।  डुंगा चडेर अर्को किनारको  होटेलमा   खाना खानु पर्ने थियो ।  डुंगा चडेपछि राराको बीचमा पुग्दा सुर्यको किरणले रारालाई प्राकाशित गर्‍यो ।  राराको रङ हरियो ,निलो , र सुन्तला रङ्को बिबिध मिश्रनको अद्भुत द्रिस्य देख्न सकिन्थ्यो ।  लाग्थ्यो राराले आफ्नो रुप फेर्दै छिन्  ।  देवताहरु आकाशबाट नियाल्दै होलान्   ।  राराको मनमोहक द्रिश्यले अद्भुत शक्तिको संचार गरेको थियो सबैमा ।  

फर्किने बेला घोडा चडेर फर्किने भनेको त घोडावालाले धोका दिएर हामी पूरै  हिंड्नुपरेको थियो।  हिंड्ने बेला अस्मिता र तमन्नलाई गार्हो भएको बुझ्न सकिन्थ्यो ।  यदु दाइ   र म भने रमाइरहेका थियौँ  रारालाई आधा फेरो मार्न पाएकोमा । मनमनी बेस्मरी गाली गरे होलान्  उनिहरुले शायद  ।  त्यसैले घोडाको बन्दोबस्त गर्न हरसम्भव प्रयास गर्दै थियौँ ।  तर गाडी आउने ठाउँसम्म पुग्दा  पनि ब्यबस्था गर्न सकिएन ।  अब त कुनै बेला हाम्रो उपस्थिती हुने यात्रा कथंकदाचित भएछ भने पनि ठाडै अस्विकार गर्नेछन् भनेर अनुमान गर्यौँ ।  मेरो बाहेक सबैका पहिरन फरक भइसकेका थिए । म त झिनोमसिनो तयारी पनि नगरी दैलेख आएको थिएँ ।  जुत्ता   पनि यदु दाइको लगाएर हिंडेको थिएँ ।  सबै जनामध्यमा अस्मिताले अघिल्लो दिन जुत्ता  लगाएकोमा हिंड्नुपरेको दिन चप्पल लगाउँदा अप्ठेरो भएजस्तो लाग्यो मलाई ।  तयारी पुगेको ढंग नपुगेको जस्तो लाग्यो ।  

३ बजे ताल्चाबाट हिंडेर जुम्ला गएर बास बस्यौँ ।  जुम्ला रातिको १० बजे पुगेका थियौँ ।  होटेल बल्लतल्ल  एउटा फेला पर्‍यो एअरपोर्ट  छेउमा ।  राती १० बजे भएपनी खाना बनाइदिएकोमा त्यो होटेललाई साधुबाद टक्र्याउनै पर्छ ।  मुगूभन्दा जुम्लाको पानी तातो लाग्यो मलाई स्नान गर्दा ।  जुम्लाको पशुपतिनाथ अर्थात् चन्दननाथ मन्दिरको दर्शन गरेर कर्णाली बिज्ञान प्रतिस्ठान र बजार घुम्यौँ ।  ९ : ३० बजे बिहानतिर जुम्लाबाट हामी फर्कियौँ ।  बन्दको हल्ला थियो ।  निजी गाडी भएकोले असर नपर्ने हुँदा हामी लाग्यौँ  । कालिकोटको मन्मामा खाना खाने बिचार  गरेका थियौँ ।  

मन्मा नपुग्दै गाडी बिग्रियो ।  ब्रेकमा समस्या देखियो ।  जुम्लाबजार गाडी बनाएपनी फेरी समस्या देखिएको थियो ।  गाडी रोकेर ५ ६ वटा गाडीलाई ब्रेक आयल माग्दै थिए गुरु ।  तर कसैले पनि दिएन ।  मलाई झल्यास्स भयो रारा आउने बेलाको दिन ।  त्यही बाटोमा एउटा बाइक बिग्रेको थियो ।  गुरुले सामान छैन भनेर ढाँटेका थिए त्यो बाइकलाई ।  कर्मले फेरो छिट्टै हानेछ भन्ने लाग्यो ।  जे होस् बिस्तारै मन्मा पुगेर गाडी बनाइयो  ।  तर इन्धन सकिन लागेछ ।  कालिकोटमा हाल्ने भनेर आएकोमा कतै पाइएन ।  हामी कालिकोट जिल्ला अस्पातल पस्यौँ  डिजेल माग्न ।  त्यहाँ  डा टंकसँग भेट भयो। नाम पहिले सुनेपनि पहिलोपटक भेट भयो ।  सेतो कोटमा अग्लो कदका हल्का भुँडी लागेकोले सरकारी डाक्टरको तक्मा दिँदा फरक नपर्ने टंकले बल्लतल्ल २0 लि को जुगाड गराइदिए ।  चिया खान नपाएर जिब्रो रिसाइसकेको थियो ।  अस्पतालको   क्यान्तिनमा चिया पनि खाइयो ।  र हामी उसको सहयोगलाई आभार मान्दै दैलेखतिर लाग्यौँ ।  ४ घण्टा लग्भग  ढिला भइसकेको  थियो ।  त्यसैले रातिको १२ :३० मा दैलेख जिल्ला अस्पातल पुग्यौँ ।  यसरी हाम्रो राराको यात्रा सकियो ।  एउटा मनले चिताएको तर समय नमिलेर घुम्न नसकेको रारा घुम्ने मौका मिल्यो ।  डा बिकासलाई यसको मुख्य योजानाकारको रुपमा बिशेष धन्यवाद  ।  
 सबैको जय होस् ।  
उही 
मनको बह 
भूल भएमा माफ 

२०७५ बैशाख २५ गते 

Comments

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।