त्यो एक खिल्ली चुरोट किनेको दिन ।

त्यो एक खिल्ली चुरोट किनेको दिन ।  

सल्लाको माथिल्लो जङलबाट सल्लिपिर पन्छाउँदै कम्मरमा आधा पेट ढाक्ने पटुका बाँधेकी एउटी आमा झर्दै छिन् ।  हातमा लौरो छ ।  बाटो पहिल्याउने र टेक्ने लौरो । बुढेस्कालको एउटै साहारा भनम् ।  थाप्लोमा नाम्लोले थिचेको छ ।  र पिठ्युमा डोकोभरी दाउरा बोकेकी छन्  । सुस्त सुस्त हिँड्दै  अस्पताल प्राङण हुँदै आउँछिन् ।  उनी  हल्का स्याँ स्याँ   गर्दै छिन्  । अरुका निम्ती त अझै तगडा नै देखिन्छिन्  । उनको उमेर ढल्किँदै गयो ।  अनुहार चाउरिँदै  गयो  ।  उमेर गन्तिले कति पुग्यो, पत्तो छैन।  कति माघका चिसा सिरेटाले हाने होलान्  उनलाई ।  हरेक चुनावमा भोट पनि खस्यो उनको कतिपटक ।  नातीहरु अमेरिका पुगे ।  छोराहरु  राजधानी पुगे ।  तर उनको भारी कत्ति कम भएन ।  छुटेन त्यो दाउराको भारी कहिल्यै ।  

सल्लिपिरले उनको बाटो सधैं ढाकिदिन्छ ।  उनी सधैंजस्तो सल्लिपिर हटाउँदै बाटो आँफै बनाउँदै जङलबाट निस्किन्छिन् अस्पताल नजिकै ।  उनको घर पुग्ने छोटो बाटो परेर मात्रै  भने हैन ।  हिंडेर बनेको बाटो ,तर नक्सामा नरहेको बाटो हो त्यो ।  सधैं जीवननक्सामा स्पस्ट बाटो नहुन सक्छ ।  आँफै पहिल्याउन पर्ने हुन्छ ।  हिंडेर बनाउनुपर्छ ।  खनेर खोस्रेर बनाउनुपर्छ  ।  तिनी आमाले जस्तै ।   

“ ति डाक्तर बाबु आउँदैनन् अब ?  कहाँ गए ।  “   एक डोको भरी दाउराको भारी बोकेकी आमाले भारी नबिसाइ सोध्छिन् । आफ्नो श्वासमा ब्रेक लगाइ-लगाइ  भन्छिन्  “ मेरो ओक्तो छ कि भनेर बाटो पारेको ।  “   घाममा बसेर नाम लेख्दै गरेका कर्मचारीले जबाफ  दिन्छन्  ,” उहाँ त गइ जानुभो ।  अब आउनुहुन्न ।  पढ्न जानुभयो । .......अर्का  डाक्तर आउनुभाछ ।   भित्र हुनुन्छ ।  “ 

एउटा कुनामा भारी बिसाउँछिन् ति आमाले ।  अनी पुर्जा कटाउँछिन्  मंगलवारको दिन परेकोले ।  र भित्र पस्छिन् । उनलाई मंगलवार लिएको ओक्तोले मात्रै काम गर्छ भन्ने विश्वाशको जरो मनमस्तिष्कमा गहिरो छ ।  उनलाई एउटा खोकीको औषधी लिनपर्छ बेलाबेलामा ।  “ नयाँ रहिछन्  डाक्तर त ।  त्यो ओक्तो नै थाहा पाएनन्  ।  “ भुसा ” छोड्ने अर्ती मात्रै दिने नानीहरु............  ! “  लामो सुस्केरा हाल्दै भारी बोक्छिन् ।   त्यही बेलामा उनको पटुकाभित्र लुकाइराखेको एउटा सिगरेट खस्छ ।  पातमा  बेरिएको सिगरेट  ।  भारी बिसाएपछि सल्काउने पालो थियो होला त्यसको ।  

सानैदेखि नफरत रोपिएको थियो चुरोट प्रति मेरो मनमा ।  त्यसको गन्ध पनि सहन मुस्किल ।  चुरोट त बिष पो हो ।  हरेक क्षण  आयु कम गरिरहेको हुन्छ ।  क्यान्सरजन्य रोगको प्रमुख कारक तत्व चुरोट ।  चुरोटको बद्ख्वाँइ जति  गरे पनि कम हुन्न होला । तर अचम्मको कुरा ।  उत्पादन भने कहिल्यै नरोकिने ! जानिजानी  बिषको उत्पादन  सधैं ।क्यान्सर बाँड्ने  तर चुरोट खान हुन्न चाँहि  भन्ने । कर जति  लागेपनि खपतमा कत्ती कम नहुने कस्तो बिशेष जिनिस  रहेछ चुरोट ! 

चुरोट एक खिल्ली बाट दुई तीन हुँदै कति हुने केही भर हुँदैन  ।  एक पछि अर्को सल्किन्छ  । चुरोटको साथी सलाई पनि गजक्क हुँदो हो ।  नशा सकिएपछि तलतल लागिरहने ।  निकोटिन जब रगतमा पुग्छ र दिमागको “प्लेजर” सेन्टरमा  हिट गर्छ ।  तब  त्यसको नशा लाग्छ ।  चुरोट उपहार दिएर महाराजाहरुलाइ खुशी पारेका कथा कथामात्रै हैन रहेछन्  ।  चुरोटको पावर बिचित्र रहेछ  ।   सबै एक खिल्ली चुरोटको कमाल ।  क्यान्सर हुने डरभन्दा निकोटिनको प्लेजरको प्रभाव बढी हुने ।

चुरोट नहुँदो हो त मान्छे के गर्दा हुन ! त्यही चुरोटमा हुने पदार्थलाई पातमा राखेर खान्थे होला ।  पहिले पहिले चिटिक्क  परेको फिल्टर  भएको सिगरेट कहाँ आउथ्यो र? त्यहिपनि  पातमा मोलेर भएपनि  खान्थे ।  तिनै आमाले खाएजस्तै । 

सदाजस्तै ओपिडी सकिएपछी  चौरमा निस्किएको थिएँ म ।  माघको महिना थियो। बिरामी छिट्पुट आउने मौसम थियो त्यो ।  तिनै बुढी आमै एक भारी दाउरा जङलबाट बटुलेर चौरबाट हिड्दै  थिन्  ।  बेलाबेला ओक्तो लिन आउने रहिछन् त्यो बाटो ।  घरको दुरी पनि नजिक नै पर्दो होला । खोकीको ओक्तो रहिछ उनलाई चाहिने ।  त्यो पनि मंगलवारको दिन । त्यो सिरप औषधी बच्चाको लागि सरकारी सप्लाई हुन्थ्यो। तर उनलाई भने त्यही झोल नै चाहिने ।  नत्र ओक्तो नलाग्ने रे ! बसुन्जेल स्ट्कमा राखेर भएपनि उनको लागि सधैं उपलब्ध गराइराखेँ मैले ।   उनले दाउराको भारी बोकेको सधैंजस्तो देखिरहेको थिएँ ।  मनमा प्रश्न उब्जिएको थियो। ।  “कति बर्षकी आमा होलिन्  ?” 

 एक दिन सोधिहालेँ   ” आमै  ।  डोको त बडेमानको छ ।  उस्तै भारी दाउरा ।  कती बर्षकी हुनुभयो ? “ 

“ चार  बीसमा तीन बढी भयो बाबु ।  नयाँ डाक्टर बाबु जस्तो छ नि अस्पतालाँ ।  ,“ मुस्कानसहित यति भनेर आफ्नो बाटो लागिन् ।  

नजिकैको परिसरभित्रको चियाचमेना खाने ठाउँमा  तिनै आमा एक दिन सिगरेट पिउँदै  थिन् ।  उही पातमा बेरेर  बनाएको सिगरेट ।  उनी सार्है  आनन्द मानेर पिउँदै थिन् ।  हामीलाई देखेर होला अप्ठेरो मानेर लुकाउन खोजिन् ।  “ आमै लुकाउन पर्दैन ।  मैले देखिसकेँ ।  हाम्ची ,अब १० हजार जरिवाना लाग्ने भओ ।  “   हाँस्दै भनेँ  ।  स्वास्थ्यकेन्द्रको बोर्डमा प्रष्टसँग टाँसिएको  नियम पो हो त ।  

उनी पनि मुख छोप्दै हाँसिन्  ।  र भनिन्  “ कहाँ हुन्थ्यो र ल्याउने हो १० वटा हजार ।  खेला गर्नुन्छ बाबु ।  कहाँ .......“   

“यो भुसा छोड्नुभयो भने राम्रो होला ।  खोकी पनि लाग्दैन  ।  धेरै बाँचिन्छ  । “  मैले उनको बोली खस्न नपाउँदै भनेँ  ।  

ठुलो हाँसो  हाँस्दै निसंकोच भनिन्  “ बाबु ।  पहिलेका डाक्तर बाबुले पनि त्यही भन्थे । म त छोड्न सक्दैन ।  अली बढी बचेँर चुरोट खाँदाखाँदै मर्ने उपाय्  भए भन्नु ।  चुरोट छोडेर त म बाँच्दिन ।  जिउने उमेर बाँचिसकेँ ।  अब केही बाँकी छैन। भुसामा त मेरो खुशी छ् ।  रहर नै त्यही हो  ।  “   उनका ओठका किनार फिजारिन्थ्यो ।  

“ फिल्टर भएको पिउनुपर्छ त आमै ।  यस्तो भुस भरेर पातमा बेरेर नि खान्छन त ।  “  म भन्छु मायाका साथ ।  फिल्टरले हानी केही कम होला कि भन्ने झिनो आशमा ।  उनले छोड्ने आश त देखिँदैनथ्यो ।  

“ रुपैया  चाहियो नि बाबु त्यस्तो चुरोटलाई त ।  फ्री मा कल्ले दिन्छ  र ? येही ठीक छ मलाई त “  भन्दै मुसुक्क हाँस्छिन्  ।  कति मिठो  मुस्कान ।  द्वेषरहित मुस्कान ।  र एक लामो सर्को तान्छिन् आनन्द मानी ।  धुवा उडाउँछिन् ओठ  खुम्च्याइ ।  

ति आमैको रहर देखेर मलाई पो इर्ष्या  लाग्यो ।  कति खुशी हुन सकेकी ।  त्यस्तो ढल्किँदो उमेरमा भारी बोकेर तल माथि गर्छिन् ।  मुस्कुराउँदा अनुहारका  मुजा परेका छाला एक साथ फिँजारिन्छन्  ।  नाकमा झुन्डिएको बुलाकी पनि गर्वसाथ गजक्क  परेजस्तो प्रतित हुन्छ ।  ।  दु:खको कत्ती लेस मानेको देखिँदैन।  उनलाई आफ्नो उमेरको जोड सम्म धौ धौ हुन्छ ।  मलाई भने त्यो सानो ठाउँमा कति  छिटो पट्यार  लागिसकेको थियो ।  दुई महिना नबित्दै ।  कहिले भागुम् जस्तो भइसकेको थियो त्यहाँका अभावहरुको साङ्लोबाट ।  

उनको रहर नै चुरोट पिउने ।  सारा उमेर त्यही गाउँमा सकिएको पत्तै भएन उनलाई ।  मलाई भने किन हो उनको रहर पूरा  गर्न अनायास मन लाग्यो ।  डाक्टरको धर्मले त फिटिक्कै दिँदैन ।  त्यही पनि मैले एक खिल्ली सबभन्दा राम्रो ब्रान्डको चुरोट र एक कप चिया अर्डर गरिदिएँ । र भनेँ ” कसैलाई नभन्नु है ।  “   उनी अलिकत संकोच मान्दै लिइन् ।  

मैले किनेको पहिलो चुरोटको खिल्ली थियो त्यो ।  उनी भने रहर मान्दै त्यो चुरोट  सकिन्जेल तानिराखिन् ।  म हेरिरहेँ ।  बोर्डमा टासिएको नियम बोर्डमै रहुन् ।  बरु सिगरेट बनाउनेलाई जरिवाना लगाउनुपर्ने । खुलेआम क्यान्सर बाँड्नेलाई जरिवाना लगाउनुपर्ने ।  

उनका जीवनका कयौँ इच्छाहरु त्यही धुवामा रुमलिँदै  उडेको महसुस गर्दै थिएँ ।  उनले त्यही धुवासंगै आफ्ना  कति आशाहरु धमिलिएको देखिहोलिन् ।  ।  धुवामा नै आफ्ना मनका गुनगुनको बिस्कुन सुकाइहोलिन् ।  आफ्ना  कथाब्यथालाई चुरोटको धुवामा अक्षर बनाइ रचेकी होलिन्  ।  प्रत्येक सर्को सँगै उमेर सेकेन्ड मिनेट गर्दै  घट्दै गएको बैज्ञानिक तथ्य पनि महसुस गर्दै थिएँ ।  सोच्दै थिएँ ।  तर पनि उनको उमेर कम गर्ने तागत त्यो धुवाँमा थिएन सायद ।  

उनको साथी भने पनि दुस्मन भने पनि त्यही धुवा  ।  उनका कथाहरु अचेल “ओल्डफेसन “  भैसकेछन् । नातिनातिनाहरु एडभान्स भइसके ।  बिचरा ति आमालाई के थाहा ! सबै मोबाइल ,टि भि ,युट्युब आदिमा मस्त र ब्यस्त ।  कसलाई पो रहर होला सल्लिपिर पन्छाएर अगेनोको जोहो गरेको कथा ।  नाम्लोले थाप्लोमा बनाएको बाटो हेर्ने रहर कसलाई होला र ।  न त डोकोले कति भारी दाउरा बोक्यो भन्ने कथा सुन्न आतुर होला कोही ! नकहलिएका  कहानीहरुमा शब्द भरिदिने को भेटिएला र ? त्यसैले धुवा त छ सधैंको एक मात्रै सङिनी । मनमनै भनेँ  ”, तिमी “ओल्डफेसन”  भएछौ आमै ! तिमी ” आउट्डेटेड ” भइछौ ! “ 

उनको मुस्कान बेजोड  थियो। ।  आत्मादेखि उद्भव भएको मुस्कान ।  फोटोमा कैद गरे शताब्दीको उत्कृष्ट फोटोबाट सम्मानित हुन्थ्यो होला ।  जसको जति मुस्कान गहिरो र निस्चल प्रतीत हुन्छ उसले त्यती नै गहिरो दु:ख भोगेको हुन्छ ।  सुखसयलले  मात्र कृत्रिमताको जन्म दिन्छ ।  दु:खबोधले त नयाँ काँचुली फेरेको मनुष्य  निर्माण गर्छ ।  त्यसमा कृत्रिमताको  लेस रहँदैन ।  झुसिल्किराबाट पुतली राम्रो र सुन्दर बनेजस्तै ।  त्यस्तै संघर्षबाट जन्मिएको हाँसेको ओठ ,आँखा र चाउरिएका अनुहार सुन्दर देखिन्छ ।  प्राकृतिक देखिन्छ । पवित्र देखिन्छ ।  नपत्याए एक पटक नेल्सन मन्डेला ,मदर टेरेसा बिबेकानन्द, फ्लोरेन्सको तस्बिरहरु नियाल्ने कि ।  

ठीक गरे कि बेठीक गरेँ त्यो मलाई थाहा भएन ।  आज पनि ति आमाले मुसुक्क हाँस्दै खुशी हुँदै सम्झिन्छिन् रे  “ पहिलेका डाक्तर बाबुले मलाई एक खिल्ली  चुरोट दिएका  थे। ....... “ 

मैले किनेको  त्यो पहिलो खिल्ली चुरोट नै उनले आफ्नो अन्तिम खिल्ली मानेर सदालाई परित्याग गरिदिएको भए म खुशी हुन्थेँ होला ।  
र बेलाबेलामा सोच्छु  ” के त्यो भारी अचेल कम  भए होला  त ? “ 

उही 
चुरोट दिने डाक्टर  



Comments

  1. मान्छेलाइ परिबर्तन गराउन चाहनास्वरुप "कसैलाई नभन्नु है" भनी दिनुभएको उपहारले ती आमाको बानी सुधार आहोस।🙏 रार्मो लेख।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।