Einstein, Dear friend and me
आइनस्टाइन र मेरो प्रिय साथी भौतिकशास्त्रको नवीन प्रगतिबारेको सम्मेलनबाट निस्किएपछि, आइनस्टाइनलाई हृदयबाट नै धन्यवाद दिन मन लाग्छ। त्यसैले सोच्दासोच्दै म पूरा कल्पनामा उड्न थालेछु। घोत्लिँदै १९४५ सालतिर पुगेर कल्पनामा डुबेछु—आइनस्टाइनको जीवित जीवनलाई नजिकबाट चियाउन मन लागेर। म स्वप्निल दुनियाँमा आइनस्टाइनसँग कुरा गर्न खोज्दै छु। आज आइनस्टाइन किन हो निकै दंग देखिन्छन्। शायद कुनै भौतिकशास्त्रको सिद्धान्तको रहस्य मिलेको होला। कोठाभरि कोरिएका कागजका खेस्राहरू छरपस्ट छन्। ती भाग्यमानी अक्षर र अंकहरूमा संसारको भविष्य बदल्न सक्ने नियति लुकेको छ। कालोपाटीमा कुनै सूत्रमा खेलिराखेका अंकहरूको जालो देख्छु म । कोठामा प्रवेश गरेको बिहानी सूर्यको किरणमा आइनस्टाइन आफ्नो सिद्धान्त खोज्दै टोलाइरहेका छन्। एउटा काठको कुर्सीमा बसेर मन्द मुस्कुराइरहेका छन्। ठेलीका ठेली किताबहरू पनि आज आइनस्टाइनको मुस्कानमा रमाइरहेका जस्ता लाग्छन्। कोठाको शान्ति अचानक टेलिफोनको घन्टीले भंग हुन्छ। आइनस्टाइनको अर्धस्वप्नमा हलचल आउँछ। केही सजग हुन्छन् । र हातले फोन उठाउँछन्। उनको मस्तिष्क त सूर्यको प्रकाशमा ...