Einstein, Dear friend and me
आइनस्टाइन र मेरो प्रिय साथी
भौतिकशास्त्रको नवीन प्रगतिबारेको सम्मेलनबाट निस्किएपछि, आइनस्टाइनलाई हृदयबाट नै धन्यवाद दिन मन लाग्छ। त्यसैले सोच्दासोच्दै म पूरा कल्पनामा उड्न थालेछु। घोत्लिँदै १९४५ सालतिर पुगेर कल्पनामा डुबेछु—आइनस्टाइनको जीवित जीवनलाई नजिकबाट चियाउन मन लागेर। म स्वप्निल दुनियाँमा आइनस्टाइनसँग कुरा गर्न खोज्दै छु। आज आइनस्टाइन किन हो निकै दंग देखिन्छन्। शायद कुनै भौतिकशास्त्रको सिद्धान्तको रहस्य मिलेको होला। कोठाभरि कोरिएका कागजका खेस्राहरू छरपस्ट छन्। ती भाग्यमानी अक्षर र अंकहरूमा संसारको भविष्य बदल्न सक्ने नियति लुकेको छ। कालोपाटीमा कुनै सूत्रमा खेलिराखेका अंकहरूको जालो देख्छु म । कोठामा प्रवेश गरेको बिहानी सूर्यको किरणमा आइनस्टाइन आफ्नो सिद्धान्त खोज्दै टोलाइरहेका छन्। एउटा काठको कुर्सीमा बसेर मन्द मुस्कुराइरहेका छन्। ठेलीका ठेली किताबहरू पनि आज आइनस्टाइनको मुस्कानमा रमाइरहेका जस्ता लाग्छन्।
कोठाको शान्ति अचानक टेलिफोनको घन्टीले भंग हुन्छ। आइनस्टाइनको अर्धस्वप्नमा हलचल आउँछ। केही सजग हुन्छन् । र हातले फोन उठाउँछन्। उनको मस्तिष्क त सूर्यको प्रकाशमा नै जमेको हुनपर्छ । आइन्सटाइनले फोनको अर्को छेउबाट एउटा मृदु स्वर सुन्छन्—सायद अन्तरङ्ग मिलेको साथीको। धेरै समयपछि आइनस्टाइनको मनमा नयाँ तरंग बग्छ। भौतिकशास्त्रका आयामभन्दा बाहिरको अनुभूति होला शायद। पूर्वतर्फको पर्खालमा झुन्डिएको ऐनामा ध्यान पर्छ। त्यसमाथि धूलो जमेको रहेछ। हत्केलाले पुछेर आफूलाई नियाल्छन्, मुस्कुराउँछन्। जिङ्रिङ्ग परेको कपाल मुसार्छन्। हेर्दा कपालले स्याहार नपाएको देखिन्छ। ऐनाका लागि आजको दिन खुशीको दिन होला ।
एकाध घण्टामा ढोकाबाट ढकढक सुनिन्छ। विस्तारै प्रवेश गर्छिन् आइनस्टाइनको मनप्रिय साथी। शिष्टाचारपूर्वक अर्ध-अंगालो मार्छन्। ओभरकोट आज आइनस्टाइनलाई निकै सुहाएको छ। दुवै बसेर मीठो भलाकुसारी गर्दैछन्। आज दुवैलाई फुर्सद छ कि जस्तो छ। कोठामा भौतिकशास्त्रभन्दा भिन्न एक उर्जाको अनुभव हुन्छ—रसायनशास्त्र हो कि हर्मोन्शास्त्र! पक्कै दुवैको डोपामिन लेभल बढेको होला। त्यसैले यति खुशी देखिन्छन्। बीच–बीचमा आइनस्टाइन आफ्नो सिगार सल्काउँछन्। सिगारको धुवाँ आजको वार्तालापको साक्षी बन्छ। कालोपाटीका सूत्रहरू पनि समाधान नपाएर अलमलमा परेजस्ता छन्। निर्जीव दर्शकहरू आज आइनस्टाइनलाई हेरेर अचम्मित छन्।
मलाई भने दुबैबीचको केमिस्ट्री मिलेको जस्तो देखिन्छ। त्यसको प्रभाव समय–सापेक्ष देखिन्छ। आइनस्टाइन सबै कुरा बिर्सेर उनीसँगै एकनास कुरा गर्दैछन्। मलाई भने पट्यार लाग्न थाल्छ र म पुनः २०१८ को दिवाकालीन बादल लाग्दै गरेको दिनतिर प्रवेश गर्छु। समयको यात्रा वास्तवमा मनको यात्रा रहेछ। प्रकाशको गतिभन्दा द्रुत मनको गति—त्यसको हिसाब किताब भौतिकशास्त्रीहरूले नै जानून्! १९४५ बाट ७३ वर्षको यात्रा एकै क्लिकमा।
एउटा रेस्टुराँमा म बसेको छु। यहाँ शान्ति छैन—मान्छेहरूको तीता–मिठा अपरिष्कृत आवाजहरू ठोक्किएर गुन्जिरहेका छन्। एक किसिमको कोलाहल छ । तर त्यो ‘noise’ ले मलाई छुन सकेको छैन। अशान्तिमा पनि म शान्त छु। अगाडि एक प्रिय साथी छिन्। साथी त थोरै औँलामा गन्न सकिने होलान्, तर आजको दिनले केही विशेष अनुभूति दिएको छ। मनमा तार्किक भाव छैन—भावशून्य छु। कुनै क्लेश छैन, द्वेष छैन। नैसर्गिक हर्मोनका कुविचारहरू कतै हराएकाजस्ता छन्। मन एकटक छ। मुटुको गति भने हल्का बढेजस्तो। नाडी छामेको भए थाहा हुने!
पुराना दिनमा कफी कहिले चिसो, कहिले फाटेको। तर आज भने कफी तातो नै रहने जस्तो लाग्छ। विश्वस्त छु म। शायद केमिस्ट्री मिल्न खोजिरहेको होला। एकतर्फी मेरो मनलाई केमिकल्सले भ्रमित गरिरहेको पनि हुन सक्छ। उनको डोपामिन लेभल जाँच्ने उपकरण त छैन मसँग । उनी जे महसुस गरून्, मेरो अन्तरङ्ग भने उमङ्गित छ। के यो रासायनिक लफडा मात्रै हो त ? म मान्दिनँ। रसायनले आत्मालाई छुँदैन; मन र शरीरलाई मात्र छुन्छ। म त फ्रायडलाई नै चुनौती दिन चाहन्छु—मेरा रसायन जाँचेर हेर्न र मलाई गलत सावित गर्न ।
उनी पूरै सुसज्जित भएर आएकी छैनन्। तर त्यसले केही फरक पार्दैन। उनी यस्तै सुन्दर लाग्छ मलाई । कमलको फूलमा हिलो लाग्दैन भन्ने मेरो विश्वास छ । उनको कालो ज्याकेटमा सहरको धूलोले आश्रय पाएको छ—मानौँ उनले सहर नै बोकिरहेकी छन्। चस्मामा पनि धूलो अडिएको छ। ती धूलाका कण कति भाग्यमानी !! त्यस आकर्षक नयनको दृश्य नजिकबाट हेर्न पाएका। म त इर्ष्या गर्दै थिएँ । केही बेरमै उनले चस्मा पुछिन्। ती कणहरूको भाग्य पनि फेरियो। त्यही भएर भनिन्छ होला, "राजा रंक र रंक राजा हुन बेर लाग्दैन।"
जस्तै भए पनि म आज भावशून्य छु। तर्करहित छु। आग्रह–पूर्वाग्रह शून्य छु।
एकनासले आफ्ना पट्यारलाग्दा गफ सुनाइरहेको छु। उनलाई पट्यार लाग्यो कि लागेन, भन्न सक्दिन। शायद शिष्टाचारले सुनिरहेकी होलिन्। अनि मेरो प्रिय कफी आइपुग्छ। उनलाई भने गर्मीले सताएको रहेछ, त्यसैले आइस्क्रिम मगाउँछिन्। घामलाई सराप्न मन लाग्छ एकछिन—समयले केमिस्ट्री मिलेन भन्न खोजेको हो कि! जे भए पनि कफी र आइस्क्रिम एक–अर्कासँग resonance मिलाउन खोज्दै छन्। कति मिल्ला? त्यो त भविष्यकै गर्भमा छ भन्छिन् उनी।
उनी निकै कम बोलिरहेकी छिन्। म एकोहोरो बोलिरहेछु। बोलेका कुरा आफैँलाई पनि याद छैन। शायद उनले ‘कस्तो गफाडी!’ सोचेकी होलिन्। तर म भने मनका वास्तविक पाना उघारिरहेको छु। भविष्यमा मिल्ला–नमिल्ला, आजको क्षणमा भने म आनन्दित हुन चाहन्छु। त्यसैले निश्चिन्त छु। केही मिनेट मौन बस्ने प्रयास गर्छु। उनी मलाई बुझ्न खोजिरहेकी होलिन्। दिमाग तेज छ उनको। समयलाई नै त्यसको जिम्मा दिएको जस्तो लाग्छ।
मैले त आइनस्टाइनलाई एक्लै छोडेर समयको यात्रा गरेछु। फेरि १९४५ मा फर्किन्छु—प्रकाशभन्दा द्रुत गतिमा। उनीहरूको वार्तालाप अझै सकिएको छैन। समय बगिरहन्छ। आइनस्टाइनलाई कुनै चिन्ता छैन। त्यहीबेला फोन फेरि बज्छ। फोन उठाउँछन्। अनि थाहा पाउँछन्—उनी बैठकमा ढिला भएका रहेछन्। आज नै उनी आफ्नो सिद्धान्त विश्वसामु सार्वजनिक गर्नुपर्ने दिन हुन्छ । हतारिन्छन्। त्यत्तिकैमा कालोपाटीमा लेखिएको सूत्रमा नजर पर्छ।
सूत्रहरू दिमागमा बेजोड खेल्न थाल्छन्। एक्कासी उनी पागलझैँ उफ्रिन्छन्—जस्तै भरखर जन्मेको पाठो। प्रियको गालामा किस गर्छन् र भन्छन्, “समय सापेक्ष कुरा हो, प्रिय। समय सापेक्ष।” त्यसपछि उदय हुन्छ—आइनस्टाइनको लोकचर्चित सापेक्षतावादको सिद्धान्त। सरल भाषामा भन्नुपर्दा, आगोमा एक मिनेट वर्षझैँ र प्रियसँग एक घन्टा एक मिनेटझैँ। समय–यात्रा र प्रकाशको गतिका सिद्धान्तले २०औँ शताब्दीमा फड्को मार्छ।
त्यत्तिकै टिङटिङ आवाज सुनिन्छ।
बिहानको कठोर अलार्म घन्टी। म झस्याङ हुँछु। आँखा खुल्छ—८ बजिसकेको। प्रिय साथी अलप भइसकिन्। आइनस्टाइन पनि हराए । न समयको यात्रा, न मनको। अब त वार्डतिरको यात्रामा मस्तिष्कले शरीरलाई चलाउन थाल्छ। दाँत टल्काउनेदेखि सेतो कोट भिर्नेसम्म—१५ मिनेटमा मस्तिष्कको स्वचालित ड्राइभिङ। सुरु हुन्छ । मनले त अझै सुतिरहुँ भन्छ। ब्रेक लगाउन खोज्छ। रेजिडेन्सीको उपहार—काम गर्ने र समय मिले सुत्ने।
बाटोभरि अलप भएका दृश्य फर्केर आउन् भन्ने चाहना हुने नै भयो । तन्द्रामा मात्र होइन, पूरा होसमा आइनस्टाइनको सिद्धान्त अनुभव गर्ने मन। पेरिसको आइफल टावरमा त्यो सिद्धान्त पूर्ण रूपले अनुभूति गर्ने सपना—उही मनप्रिय साथीको साथमा। यसपटक कसैले Disturb नगरोस्—न अलार्मले, न नियतिले, न समयले।
सिद्धान्त भौतिकशास्त्रीले कसरी प्रयोग गर्छन् भन्ने कुरा नबुझेपनि, त्यो आफै अनुभव गर्न सकिन्छ । त्यसमा कुनै दुविधा छैन। जीवन्त अनुभव। भावशून्य अनुभव। केमिस्ट्री मिलेको अनुभव। शायद उनलाई पनि मलाई जस्तै अनुभूति भए होला, तर त्यो उत्तर अनिश्चित नै रह्यो। मेरो जन्मदिन उनले बिर्सिएकोले शायद म उनको मनको कुनामा नअटेको पनि हुन सक्छ।
उही—
समयको यात्री,
मनको यात्री।

Dai, continue writing! you are gifted! :)
ReplyDeleteVery different from expected... Beautifully presented.. keep it up!!
ReplyDeleteThank you so much ..
DeleteKasto ramro lakh k。very good writing. Kasle ho janmaday ma birseko
ReplyDeleteThis is a heartwarming read. I smiled multiple times during this read; i thank you for that.
ReplyDelete👏👏👏👏 keep writing
ReplyDelete