एउटी बिरामी हजुरआमाको गन्थनमन्थन ।

Make your destiny. Or else someone will hire you to make theirs.

एउटी बिरामी हजुरआमाको गन्थनमन्थन  ।  

म त बुढी मान्छे ।  धेरै बर्ष बितेछन् ।  नागरिकता बाँड्ने बेला उमेर घटाइदेछन् ।  नत्र त ९० सालको भूकम्प जाँदा म ५ बर्षकी थिएँ ।  जीवन पूरै बितिसक्यो ।  बाल्यकाल देखि  आजसम्म संसार धेरै नियालियो ।  बालबच्चा भए ।  नातिनातिना पनि भए ।  घर गृहस्थीको सबै कर्म गरिसकेँ ।  अक्षर भने लुकी लुकी कपुरी “क “सम्म चिनेकी थिएँ ।  अहिलेजस्तो पढ्न त कहाँ पाइन्थ्यो र ।  अहिले जवानी सकिनेबेलासम्म पढिरहनुपर्ने ! मेरो नातिनीको उमेरमा पछ्यौरामा बच्चा बोकेर घाँस काट्थेँ ।  ति दिन गए। संसारले धेरै फड्को मारेछ ।  कहिल्यै बिरामी परेको थिएन 

आज मनिटरका कर्कश आवाजका बीचमा  अन्तिम दिनहरु पर्खेर बसेकी छु ।  बेड त गजबको छ ।  कमलो लचकदार बेड ।  न्यानो  कोठा ।  तर जस्तो सुबिधा भएपनि ज्यानलाई सुबिस्ता भने छैन ।  हातैभरी निलडाम मात्रै  ।  सुइले नचुमेका नशा कुनै बाँकी छैनन्   शायद । कति तीखा सुइ ।  च्वास्स पार्ने ।  फेरि सुइ तीखो नभए इन्जेक्सन नशाभित्र कसरी पुग्ला र ।  रगत जाँच गर्दागर्दै  शरीरको   रगत नै रित्तियो जस्तो लाग्छ ।  र भन्छु ” ए नानी ।  रगत सकियो बा मेरो ।  ननिकाले हुन्न र “  उत्तर त सबैको उही हुन्छ  ” रगत शरीरले बनाइहाल्छ नि ।  रित्तिन्न  ।  चिन्ता नलिनु ।आमा ।  “   तर मेरो सोझो हिसाबले त्यो सुइभरी निकालेको रगत कहाँ कता बनेर नशामा  निस्कने रहेछ भन्ने  बुझ्न  सकिन ।  ।  रगत पैँचो लगेपछि रगत चढाउनुपर्ने  नि।  तर पर्दैन भन्छन् सिस्टर नानीले ! हरेक दिन रगत जाँच्न लगिरहन्छन् ।  रोग पत्ता लगाउन रगत जाँच गरेको रे ।  पहिले जस्तो नाडी छामेर पत्तो  पाउने रहेनछन् अचेलका डाक्टरले ! 

दमको रोगले च्यापेको छ रे मलाई । मुटु पनि कमजोर भएको छ ।  शरीर सुन्निएको त्यसैले हो रे ।  अली अली म्रिगौलामा पनि असर पुगेको छ रे ।  अवस्था गार्हो  नै छ  रे ।  मैले सुन्छु कि भनेर ढोका बाहिर भनेका डाक्टरले ।  मैले थाहा पाउँदिन कि भनेर ।  निभ्न लागेको बत्ती निभ्नु भन्दा अगाडि टाठो बल्छ ।  मेरा कानले भने अझै साथ छोडेका छैनन् भन्ने के थाहा ।  त्यसैले छट्पटी हुन्छ मलाई ।  भागूम जस्तो लाग्छ ।  शरीर कमजोर छ ।  नाकमुखमा अक्सिजन लगाएका छन् ।  बेलाबेलामा    अप्ठेरो हुन्छ ।  र निकाल्न खोज्छु ।  नर्स नानीहरु पहरा नै दिएर बसेका हुन्छन् ।  उनीहरु  आउँछन्  र फेरी लगाइदिन्छन् ।  यो दोहोरी चलिरहन्छ ।  खै किन हो यति   सार्है माया गरेका ।  धेरै बाँचेर पनि के गर्नु थियो र मलाई ।  अक्सिजनको मूल्य धेरै रहेछ ।  बाँच्नलाई पनि र खर्चमा पनि।  घरमा  अक्सिजन नराखी त मलाई घर लैजान सकिन्न रे ।  त्यो गाउँमा कसरी पुर्याउने होला ।  मेरा गाउँमा रुखले अक्सिजन नदिनेरहेछन् र भनेर सोधेको त डाक्तर बाबु हाँस्दै थिए ।  नातिले एक दिन पढेको सुनेकी थिएँ “ बाँच्नलाई अक्सिजन चाहिन्छ ।  रुखले अक्सिजन प्रदान गर्छन्   ” ।  सहरतिरका रुखले मात्रै  अक्सिजन दिने रहेछ क्यार !  एक दिन बिहान डाक्टरले घरमा १६ घण्टा अक्सिजन लगाएर बस्नुपर्छ भनेको सुनेँ ।  अरु बेला अप्ठेरो लागेर फुकालिदिन्थे अक्सिजनको मास्क ।  त्यो सुनेको दिन म पुरै ज्ञानी बनेर लगाएँ ।  ६ महिनालाई अक्सिजन यतैबाट पुग्छ कि भनेर ! 


बेलाबेला श्वास बढ्छ मेरो ।  श्वास लिन गार्हो   हुन्छ ।  बाहिरै घ्यार्घ्यार आवाज सुनिन्छ ।  प्राण जान्छ कि जस्तो हुन्छ ।  एउटा ठिटो डाक्टर अाइपुग्छन् ।  देख्दा आफ्नै नातिको जस्तो झझल्को आउने ।  आला लगाएर सुन्छन् ।  र केही औषधी दिन भन्छन् ।  त्यो ओक्तोले केही समय काम गर्छ ।  हल्का भएजस्तो हुन्छ ।  यो प्रकृया दोहोरिरहन्छ ।  रोगसँग  लड्दै गर्छ मेरो शरीर ।  मनले त दु:ख नपाउन सजिलो अवसानको कल्पना गरिरहन्छ । निलडाम  नभएको कुनै ठाउँ छैन ।  सुन्निएका खुट्टा र हात बिस्तारै  चाउरिएका  छन् ।  पिसाब पनि कति बिधि लाग्ने रैछ ।  औषधीले गर्दा होला । पानी फेरी खानै नदिने ।  मुख सुकेर भिजाइदिन्छन् बेला बेला ।  तर तिर्खा त मेटिन्न ।  मुटु कमजोर भएकोले पानी धेरै भएर शरीर फुल्छ भनेर नदिने भन्छन्  ।  कस्तो रोग लागेछ ! पानी पनि खान नपाइने । डाक्तरले  गाली मात्रै   गर्छन् पानी लुकेर खाएको होला भनेर ।  बोत्तल पनि नजिकै राख्न दिएनन् ।  

वरिपरी  हेर्दा पनि माया लागेर आउँछ ।  भर्खरको नयाँ ठिटो आफ्नो अगाडिको बेडमा देखेँ ।  अघिल्लो दिन अर्कै बिरामी देखेकी  थिएँ  त्यो बेडमा ।  राती गार्हो भएर एक हूल सेता कोटहरु जम्मा भएका थिए ।  बिचरा  ती नानीका बाबुले कति माया गर्थे ।  अहिलेको बाबुलाई भने किड्नीको समस्या रहेछ ।  बिहान एक जना पाको देखिने डाक्टरको कुराबाट ठम्याएकी मैले ।  त्यो बाबुलाई रातभरी ठाडै बस्नुपर्ने ।  खोकी पनि उस्तै सार्हो ।  सानो उमेरमा के लागेछ त्यस्तो रोग ! मलाई पनि अली अलि सजिलो हुन्छ ।  अनी फेरी च्यापिरहन्छ ।  दु:ख दिने चक्रिय  नियम होला भगवानको ।  सजिलै  भगवानको   घर जान पाए हुने जस्तो लाग्छ ।  

एकदमै सास्ती भयो ।  सजिलो उपाय छैन बाबु भनेर सोध्छु डाक्टरलाई । मेरो आयु पनि त्यो कलिला उमेरका बाबुलाई दिन पाएको  भए जाती हुन्थ्यो भन्ने तर्कना गर्छु ।  “ ठीक हुन्छ आमा ठीक हुन्छ ।  नाअत्तिनुस् ।  “ भनेर भन्छन् डाक्टर बाबु र सिस्टर  नानी ।  म भन्छु ” डाक्टर बाबु ।  तिमी आफ्नो काम गर ।  दुई चार दिन अलि सजिलो बनाउने प्रयास गर ।  तर म अब चाँडै बिदावारी माग्दै छु । त्यसपछि  भगवानलाई म सोध्नेछु  ” रोग किन लाग्छ ? “ 

( एक दमको रोगीसँग ICU मा  उपचारको क्रममा देखेका मनोभावको चित्रण गर्ने असफल प्रयास गर्दै छु ) 







Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा