साइत मिलेका बिरामी ।

साइतका बिरामी ।  

आजसम्म बिहान उठेर नित्य कर्मस्थलमा जान मन नलाग्ने दिनहरु धेरै भए ।  बिरक्त लाग्दा दिनहरु ।  मन भए पनि नभएपनि  जानु त छ नै ।  त्यही मानिसहरुको भिडमा ।  यो कुनै हाट बजारमा लाग्ने भिड भने हैन ।  मेला पनि हैन ।  यो सबै दुखी मनहरुको भिड हो ।  नेपाल भरीका पीडित शरीर र मनहरुको केन्द्रबिन्दु ।  शरीर थला  परेपछि मात्रै पुगिने ठाउँ  ।  जीवनमा कहिल्यै जान नपरे भाग्यमानी भइने ठाउँ ।  त्यो हो अस्पताल एमर्जेन्सी ।  सबैका निम्ती आफ्नै बिरामी एमर्जेन्सी ।  दुई चार दिन एमर्जेन्सी कक्षको बास प्राय् ९० प्रतिशत बिरामीका कथा होलान् ।  

भर्ना हुन कुर्नुपर्ने हुँदा कतिजना हार खाने ठाउँ ।  कति  यस्तै रहेछ भनेर पचाउने ठाउँ ।  कतिजना कहिले  रहेछ भर्ना  गर्ने भनेर अचम्मित पर्ने  ठाउँ ।  कति  एक दिन त पालो अाउला भन्दै आश गर्ने  ठाउँ ।  कति  बाठाजनहरु गोरु बेचेको नातो लगाएर भन्सुनको प्रयास गर्ने ठाउँ ।  कतिजना सेतो कोट लगाएका सबैलाई झन्झट नै लाग्ने गरी भर्ना कहिले भन्दै सोध्ने ठाउँ ।  सबैजनाको एउटै उत्तर “ बेड खाली  भएपछि ” ।  त्यतिन्जेल सम्म एउटै बेड्मा तीनजना मिलेर बस्नुपर्ने बाध्यता ।  “ गार्हो भयो डाक्साप ।  तीनजना एकै ठाउँमा ।  भर्ना गर्दिनु न ।  “  “ कस्सो चार जना हुनुभएनछ ।  आज प्रयास गर्छु ।  बचन भने दिन सक्दिन ।  उपचार चाँही यँहीबाट  सुरु भैसक्यो । “ सबैलाई एउटै उत्तर ।  कति रुखो उत्तर मान्दा हुन् मनमनै ।  

“ यो कता बुझाउने ? “ “ खुन तान्यो पाइपले निकल्दिनु न सिस्टर” “ भिडियोको डाक्ट्र कता जानुभयो .” “ यो रगत तान्दिनु न “ आदी अनगिन्ती प्रश्नहरुको  चपेटामा हरेक दिन ।  रिसेप्सनको कर्मचारीजस्तो ।  उत्तर दिनु आफ्नो एउटा बिरामीमा केन्द्रित ध्यान भंग  ।  नदिनु कसरी नदिनु ।  सबैलाई नयाँ परिबेश न हो ।  अत्तालिएका मनहरुले सेतो कोटलाई त सोध्ने भए ! त्यसैले एक दिन त सेतो कोट नलगाइ नै काम गरेँ ।  

एक हप्ता भइसकेछ ।  औंलामा गिन्ती वार्डको खाली बेडहरुको संख्या आएको ।  मुस्किलले एउटा दुइटा  बेड ।  आज त अलिक धेरै खाली बेड आए दुई चार जना दुखी आत्माहरुलाई केही खुशी बनाउन सक्ने आश थियो ।  तर आज पनि उस्तै ।  दिनभरिको आज प्रयास गर्दिन्छु भन्ने कुरा पुन: फ्लप ।  मुख देखाउन लाज लागेर घर जान हतारो लाग्ने ।  फेरि अर्को दिन उस्तै दिनचर्या ।  भर्ना नगरिदिने  मानवता हराएको डाक्टरको दिनचर्या ।  

एकाबिहानै एउटा खुशीको खबर आयो ।  “ एउटा आइ सि यु बेड खाली भयो ।  भर्ना गर्दा हुन्छ ।  “   त्यो खुशीको खबर कसैको प्राणपखेरु उडेर र घरपरिवारमा आँसुले स्थान लिएर आएको थियो ।  के गर्नु? सबैको नजरमा मानवता हराएको डाक्टर जाती परियो ! ! कतैको दु:खले कतै मुस्कान छरिएला भन्ने आश ।  सोही समयमा एक जना बिरामी नेपालगन्जबाट रेफर गरी अाइपुगेका थिए ।   आधा घण्टाभन्दा बढी भएको थिएन ।  

सो बिरामीको प्रेसर कम भएको र इन्फेक्सन शरीरभरी  फैलिएको हुनाले अाइ सि युको  लागि उपयुक्त “ क्यान्डिडेट “ थिए ।  उनको भर्ना केही समयमा नै भयो ।  मुस्किलले पाइने अाइ सि यु खाली हुन पुग्नु र सोही समयमा अाइपुग्नु सन्जोग परेको थियो ।  उनको भर्नापस्चात ३ जना उस्तै उपयुक्त ”क्यान्डिडेट ” अाइपुगे । मेरा मनमा भने “ बिचराहरुको साइत मिलेनछ । “ भनेर भाग्यवादले जन्म लियो ।  उनीहरुका लागि अर्को दिनसम्म पनि बेड मिलेन ।  समयमै  उपयुक्त उपचार गराउन बाहिर जाने उपाय भनिएपनि आशले हो कि खर्चको पवन्दिले हो  कोही पनि गएनन् ।  

सबैजना एमर्जेन्सिमा आफ्ना जीवनका कथा बुन्न थाले ।  पर्खाइ, अनिँदा रात ,दौडधुपको शारीरिक थकान तथा हतास मनका कथा ।  सानो छँदा हजुरबुवाले भन्नुहुन्थ्यो ” बाबु ।  साइत मिलाएर हिंड्नुपर्छ ।  घडी पला बार दिन आदि ।  चन्द्रमा दाहिने पार्न पर्छ ।  “   के गर्नु?  रोग पनि साइतमा लाग्नुपर्ने रहेछ ,हजुरबुवा ।  

दु:ख परेर  आएका बिरामी ।  कसैले त हेर्दियोस् भन्ने चाहना र आवश्यकता पनि ।  तर खाली भने कोही पनि हुँदैनन् ।  सबै आ आफ्ना  काममा ब्यस्त ।  सबै बिरामीलाई आफ्नै बिरामी मात्रै  बिरामी ।  हुन त स्वाभाबिक पनि हो ।  मनुश्यको  मन अचेल अर्को मनुश्यलाई प्रयोग गरेर आफुलाई चाहिने कुरा प्राप्त गरेर खुशी हुने संस्कारमा हुर्केको छ । वास्तवमा त प्रकृतिको बस्तुहरु प्रयोग गरेर मनुश्य खुशी हुनुपर्ने ।  “ एक घण्टा भैसक्यो  ।  औषधी दिन आउनुभएन । रगत जाँच गर्ने भनेको रगत अहिलेसम्म नतान्दिने ।  “ आदि आत्मकेन्द्रित समस्याहरुको साङ्लो सबैजनाको हुन्छ ।  

प्रथमिकताका आधारमा गर्नुपर्ने बाध्यता हुन्छ डाक्टर र सिस्टरको । त्यसमाथि   कोही बिरामी आफन्तीको पेलेरै कुरा गर्ने प्रब्रित्ती नौलो होइन ।  पिट्न सम्म पछि नपर्ने रवाफ हुन्छ ।  तर केही दिन एमर्जेन्सीको बातावरणले आत्मज्ञान प्राप्त हुन्छ शायद  थोरै बिरामीमा ।  “बिचरा डाक्तर र नर्स दुबैलाई गार्हो रहेछ ।”  तेस्रो दिनमा स्वर नम्र हुन्छ उनिहरुको  ।  दया र करुणा पलाउँछ होला ।  सबै किसिमका रोगको बिरामीसँगको संगत हुने त्यस्तो  बैतरणिजस्तो ठाउँ । ।  सधैं जोखिममा रहेपनि न कुनै सुबिधा न कुनै सम्मान ।  तर सबैलाई लाग्ने ” मानवता  हराएका डाक्टर तथा नर्सहरु । “  धेरैका आशा अनुरुप सेवा गर्न नसक्ने ।  भनेको बेला सलामी पानी नचडाइदिने .............   ।  शायद हाम्रो स्वास्थ्य प्रणाली  नै कतै चुकेको छ ।  ठूलाबडाले अबमुल्यन गरेको पेशा न हो हाम्रो ! ! 

धनले माया गरेकाहरु सामान्य उपचारपस्चात बेड खोज्न प्राइभेट पनि जान तयार हुन्छन्  ।  धनलाई माया गर्नुपर्नेहरुको  खल्तिमा बेरिएर बसेका नोटहरु एक पछि अर्को निस्किँदा हरेक पटक मुटु काँप्छ ।  नोट सकिन्छ तर जाँच सकिन्न ।  बिचरा धनको पोको हेरेर रोग लागेको भए पो ! अन्तिममा हार खाएका अनुहार एउटा जिवित आत्मा भगवान भरोशा फिर्ता गर्न वाध्य हुन्छन् ।  मानवता नभएका हामी डाक्तर र नर्स पनि एउटा दु:खदशा दर्शनबाट मुक्ति  पाउँछौ । धनलाई माया गर्नेहरु भने बेड खाली हुन्छ कि भन्ने आशले बसिरहन्छन् ।  बाहिर प्राइभेट अस्पतालका  अाइ सि यु नजाने अठोट गर्छन् ।  जीवनसँग जुवा खेल्छन् । साइत चाँही तिनै धनलाई माया गर्नुपर्नेहरु र धनलाई माया गर्नेहरुलाई चाहिने रहेछ ।  

उही 
भर्ना नगर्ने डाक्टर ।  








Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा