रोगको भुकम्प, पैसाको पराकम्पन ।

रोगको भुकम्प, पैसाको पराकम्पन ।  

जीवनमा घटनाक्रमलाई  पर्दामा एक पछि अर्को गरी ओल्टाइपल्टाइ हेर्दै गर्दा सम्पूर्ण अहम्  मेटिएर जान्छ ।  दु:ख आफैलाई   नपर्दासम्म महसुश गर्ने निष्फल प्रयास मात्रै  हुने रहेछ  । कुनै दिन आँफैलाई पर्दा भने भीरबाट खसे जस्तै हुन्छ । स्वस्थ रहँदासम्म जीवनमा आकांक्षा धेरै हुन्छन् ।  दुनियाँ कुरा जीवनको प्राथमिकतामा परेका हुन्छन् ।  धन सम्पत्ति एेश आदिको आर्जनमा जीवन पुरै  ब्यतित हुन्छ ।  आफ्नो शरीरका अङ्गहरु कत्तिको कष्टमा छन्  भनेर हेर्ने फुर्सद निकालिँदैन।  

फुर्सद त केवल अस्वस्थ हुँदा हुन्छ ।  नमीठो फुर्सद हुन्छ ।  रोगको प्रकृतिअनुसार  मनग्गै फुर्सद पाइन्छ अस्पताल सैयामा ।  बाध्यताले  सिर्जना गरेको फुर्सद हो त्यो ।  तर आफ्नो फुर्सद हुँदा  बाँकी जगतको फुर्सद हुँदैन । 

एक जना अस्वस्थ हुनाले परिवार र इष्ट्मित्रलाई समेत फुर्सद निकाल्न पर्ने हुन्छ ।  स्वास्थ्यलाई ध्यान दिने  फुर्सद नहुँदा अस्वस्थ भएर फुर्सद पाउँदा पछुतो हुन्छ । 

शायद यिनै बिचारका तरङहरु  केही महिनापूर्व अपर्झट एक हर मुडोजस्तो हुन पुगेकी हर्कबाहादुरको मनबाट मन्थन  भएका विचार होलान्  । त्यसैले त अचेल उनी  आफ्नो नियमित चेकजाँच  गराउन ओ पि डि मा देखा परिरहन्छन् ।  प्रेसरको औषधी नियमित सेवन गर्छन्  ।  र चुरोट पनि परित्याग  गरेका छन्   ।  

करीब दुई महिनापूर्व एमर्जेन्सी ड्युटिमा हुँदा रातीको ११ बज्दै गर्दा अन्दाजी  ४५ बर्षको खाइलाग्दो शरीर देखिने एक पुरुष  ब्यक्तिलाई  आफन्तजनले एक्कासी यमर्जेन्सीमा आत्तिँदै लिएर आउँछन्   ।  मोबाइलमा केन्द्रित मेरो ध्यान भंग हुन्छ ।  ती व्यक्तिको मुख बांगिएको रहेछ ।  दाहिने हर नचल्ने भएछ ।  बोली लर्बरिँदै गएछ ।  आँखाले बाँया तर्फ मात्रै हेरेको देखिन्छ ।  बोलेको नबुझिने, एकतर्फी हातखुट्टा  नचल्ने देखेर पक्षघात भएको अनुमान लगाउन कत्ति  बेर लागेन । 

करीब डेढ घण्टा अगाडि एक्कासी त्यस्तो लक्षण देखिएर अस्पताल कुदाएका रहेछन्  ।  प्रेसरको  औषधी सेवन नगर्ने मुढे अठोट लिएका अर्धज्ञानी मान्छे रहेछन् उनी !  समयको लीला न  हो । लक्षण नभएसम्म नखाने जिद्दी गरेकोमा एक्कासी  बज्रपात्  भएर पक्षघात  देखियो । 

टाउकोको सि टि स्क्यान तुरन्तै गर्न लगाएर हेर्दा रगत जमेको देखिएन ।  अर्थात्  अहिलेको उपलब्ध उपचार पद्धती अनुसार लक्षण सुरु भएको ४. ५ घण्टा भित्रमा औषधी  दिन सकेमा पक्षघात फर्किन सक्ने सम्भावना बढी हुन्छ ।  

जीवनभर कुनै हर नचलेर, बोली नफर्केर अरुको साहारा  लिएर जिउनुपर्ने बाध्यता बाट जोगाउन सकिने एउटा प्रभावकारी उपचारबाट कोही पनि बन्चित हुनुहुँदैन भन्नु अतिसयोक्ती हुँदैन होला ।  

घर रुकुम थियो उनको ।  काठमाडौ कुनै अरु काम विशेषले आएर फर्किने योजना रहेछ त्यो दिन ।  तर काम पूरा हुन नसकेको हुनाले फर्किन नसकेका रहेछ्न् ।  भाग्यवादमा विश्वाश नगरेपनि काम फत्ते नहुनाले उनलाई बिपत्तीमा उपचार सहज हुन जुरेछ । थोरै समय भएकोले उपचार पद्धतिको सम्पूर्ण फाइदा बेफाइदाका कुराहरु बुझाएर औषधी प्रयोग गर्ने कुरामा सहमति बन्यो ।  तर समस्या एउटै मात्र रह्यो ।  पैसाको समस्या ।  समय थोरै ,पैसा लाग्ने धेरै ।  तर उपचारको सफलता खुशीलाग्दो हुने सम्भावना बढी ।  

चल्दै नचलेको हातखुट्टा चल्दा र नफुटेको बोली पुन: फुट्न थाल्दा खुशी किन नहोस् त ! यस्तो अवस्थामा कति तनाव हुन्छ भन्ने कुरा भुक्तभोगीले मात्रै   बुझ्न् सक्छन्  । एकातर्फ दीर्घकालीन अपाङ्गताबाट जोगिन सकिने उपचार छ भने अर्को तर्फ समयको कडा पावन्दी र औषधीको चर्को मूल्य छ । मात्रै ४.५ घन्टाको समय । 

विपतले खबरदारी गरेर आउँदैन ।  आउँदो हो त पूर्वतयारी गर्न मिल्थ्यो ।  रगतका गुच्छाहरु मात्तिएर ,उछिट्टिएर मस्तिष्कका रक्तनलीमा ब्लक गर्छ ।  मस्तिष्क  रगत संचार विना  केही सेकेन्डमा  छट्पटिन  र मर्न थाल्छ ।  जसको परिणाम स्वरुप प्यारालाइसिस हुने गर्छ ।  त्यही रगत सन्चारको  बाटो ब्लक भएको नशा समयमै  खोल्नका लागि त्यो औषधि प्रयोग गर्न सकिन्छ । तर एकैपटक १५ मिनेट भित्रमा सालाखाला १ लाख रुपैयाँ तिरेर उपचार गर्ने औषधी किनेर ल्याउनु भन्दा जो कोहीलाई धौ धौ हुन्छ । 

 अचानक परिआएको प्यारालाइसिसको भुइँचालोमा औषधिको पैसा जोहो गर्ने पराकम्पनले  सेकेन्ड सेकेन्डमा मनमा झड्का दिइरहन्छ ।  त्यसमाथि उपत्यका बाहिरको यहाँ कोही चिनाजानी नभएको मान्छेलाई त हम्मेहम्मे हुन्छ ।  न बैंक  खुलेका हुन्छन्  । न त य•टि• यम् भए पनि  एकैपटक त्यति पैसा निकाल्न सकिन्छ ।  नगदी पैसा पनि नहुन सक्छ । कस्तो तनाव हुन्छ होला । अनुमान लागाउन सकिन्छ त ?

वजन अनुसार औषधीको मात्रा दिनुपर्ने हुँदा  त्यो खाइलाग्दो शरीरलाई १ लाख भन्दा बढी  नै लाग्ने निस्चित थियो ।  त्यो बेलामा त त्यो शरीर दुब्लो भएको भए धेरै जाती हुने थियो जस्तो लागेको थियो । 

पैसा नतिरेसम्म फार्मेसिबाट औषधी उपलब्ध नहुने भयो ।  यो क्रममा  ४. ५ घण्टाको सुनौलो समय बित्दै जान्छ ।  त्यो समय बित्यो भने औषधी प्रयोग गर्ने वैज्ञानिक आधार नै रहँदैन  । 

बिपत देख्दा नराम्रो कुराको आंकलन सजिलै गर्ने मनको नैसर्गिक गुण हुने भएर होला । आफ्नो आँखा अगाडि भविष्यको बाङगो शरीर ,लुला हातखुट्टाहरु, लर्वरिएको बोली र परिवारजनको स्याहार सुसारको दृश्य नाचिरहन्छ  ।   परिवारजनको सहयोग नभएर कुनामा पल्टिरहेको अर्धमुडो शरीर र पुठामा हुने गहिरा घाउहरुको कल्पना हुन्छ । 

शायद त्यस्तै कल्पना उपचारमा संलग्न मुख्य डाक्टरले गरेर होला । आँफै जिम्मा बस्ने मौखिक सहमतिमा औषधी जबर्जस्ती लिएर आउँछन् ।  र औषधी समयमा दिन सकिन्छ । तर यो बिडम्बनाको  कुरा हो ।  यस्तो महत्वपूर्ण उपचारमा सरकारको  कत्ति पनि ध्यान पुग्न सकेको छैन ।  हार्ट याट्याक(हृदयघात) हुँदा भने पैसा पछि तिर्ने उधारो वचनमा पनि मुटुमा जाली रखिने व्यबस्था  छ । 

त्यसमा बिपन्न कोष आदिबाट सबैजनालाई सुबिधा दिने गरिन्छ ।  तर जीवनभर अपाङ्गताको जोखिम बोकेको मस्तिस्ककोघात हुँदा भने फार्मेसिबाट तत्काल पैसा नतिरेसम्म औषधी उपलब्ध नहुने ? कस्तो नसुहाउँदो कुरा !  जसरी क्यान्सर ,किड्नी फेलर, अल्जाइमर  आदिमा सरकारबाटै आर्थिक सहयोग गरेको देखिन्छ । 

त्यसरी नै अरु रोगको भन्दा कम खर्च लाग्ने र राम्रो सफलता देखिएको यो मस्तिष्कघातमा प्रयोग हुने औषधी सर्वसुलभ हुनु आपरिहार्य देखिन्छ ।  सहज व्यवस्थापनका लागि हास्ताक्षरमा दम भएकाहरुको ध्यान जाओस् भन्ने सदिक्षा । केही त पुण्य काम गरौं न बोली भएकाहरुले । संसद भवन एक दिन यस्तो कुराले पनि जुरमुरियोस् न । कुनै एक दिन त यो कुराले पनि मिडियाजगतमा विशेष अग्रस्थान पाओस् न ।  म त केवल एक मुक दर्शक मात्रै  न हो ।  

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा