हतियार विना भाइरससँग युद्धमा ।

हतियार विना भाइरससँग युद्धमा ।

केही समय अघि स्वासप्रस्वासबाट सर्ने भाइरसले प्रकोप लिँदै थियो छिमेकी मुलुक चिनमा । हामी मस्त मगन थियौं   पर्यटक आगमनमा । हामी मस्त थियौं सम्मेलन सभा गोष्ठी  र चलचित्र हलमा ।  हिँडिरहेका थियौँ न्यु रोड र ठमेलका बाटाहरुमा । रमाइरहेका थियौ पशुपतिनाथको सन्ध्या आरतिमा । भेला भैरहेका थियौं बजारहरुमा । भिडको माझमा । चिनको समाचार सुन्दै बसिरहेका थियौँ । भाइरस सँग लड्न चिनले १० दिन भित्रै  १००० बेडको अस्पताल बनायो भनेर । हामी चिनको तारिफ गर्दै आफ्नो देशमा हुँदो हो त मेलम्ची जस्तै हुन्थ्यो भनेर हास्यौँ । लज्जास्पद कुरा पनि पचाउने बानी छ नि त हाम्रो !

हाम्रा देशमा त पशुपतिनाथले रक्षा गर्छन् भनेर आत्मबल बढाउने कार्य मात्र भयो । यो श्वास प्रस्वास बाट सर्ने रोग हो। आत्मबल कम भएर लाग्ने मानसिक रोग हैन । महामारी फैलिएर चिनको बोर्डर नाघे पछि मात्र चासो बढ्न थाल्यो । नाम पनि " कोभिड १९ " भनेर बल्ल हेक्का भयो । यहाँ "हामी " भनेर निर्णय गर्ने तहका ब्यक्तिलाई भन्न अधिक बेस हुन्छ होला । म र मेरा साथीहरु त सामान्य डाक्टर त हौं । बिरामी हेर्न खटिएका निर्णायक  हस्ताक्षर नचल्ने डाक्टर  । फुर्सद भएसम्म फेस्बुकका भित्तामा शब्दहरु लेख्न मात्र सक्ने । लुकेको डर ,असन्तुष्टि  फेसबुकमा मात्रै  पोख्न सक्ने । महामारीका बारेमा दुई चार शब्द जनहितमा जारी गर्ने सानो प्रयास  गर्न सक्ने । तर सधैँजस्तो अगाडी उभिएर काम गर्न पर्ने । अझै नचेतेको सरकारी सयंत्रले छात्रवृत्तिमा पढेका भर्खर डाक्टर हुन पुगेकालाई कठालो समातेर विना सुरक्षा अगाडि खटाउने कार्य गर्न तत्पर छ । कलिलो मस्तिष्क देशप्रति सधैं नकारात्मक नै रहने भयो । लाग्छ हाम्रो देशमा छात्रवृत्तिमा पढ्नु भनेको पाप हो । 

भाइरसले हाम्रो देशलाई उफ्रिएर युरोपका देशहरुमा पुगेपछि  बल्ल हाम्रो आँखा आधा खुलेजस्तो देखिन्छ । कति त दंग पनि परे । " ए । हाम्रो देश त सुरक्षित पो छ त। "    श्रेय लिनलाई कसैले कारण देखाउन नसकेर न हो । नभए त श्रेयको होडबाजी चल्थ्यो होला ।  गुणगानले संचार रङिन्थ्यो होला ।  १४००० भन्दा बढीको ज्यान भाइरसले गर्दा गैसकेपछी  मात्रै सुषुप्त र सुस्त अवस्थाबाट हाम्रो देश  जागेको जस्तो देखिन्छ । तर के गर्नु ?  बिडम्बना हो ।  " उजेली पुजेली दिन गुमाइ अँधेरी रातमा बिस्कुन सुकाइ " भन्ने उखान चरितार्थ नै भएको मान्नुपर्छ ।

  हुन सक्छ केही प्रयासहरु भैरहेका थिए होला । मैले यसरी भन्दा केही सज्जन ब्यक्ति हरु जसले यो बिश्व महामारीको गम्भीरता बुझेर प्रयास गरेका छन् , उनीहरुलाई रिस पनि उठ्न सक्छ । तर म र मेरा साथीहरु  त एउटा अग्रपंक्तिमा खडा हुने डाक्टर  न हो । आफुले देखेसम्म  त तयारी पुरै कमजोर छ ।  विश्व स्वास्थ्य संगठनले जोखिमयुक्त क्षेत्र घोषणा गरिसकेपछि मात्र पर्यटन वर्ष २०२०  स्थगित गरेको देखेँ ।  नभए त बिदेशी पाहुना स्वागत गर्दैमा फुर्सद थिएन । कस्सो कोरोनाको स्वागत भएनछ । सामान्य रुघाखोकी मानेका थिए होला सबैले ।  २०१९  मा देखा परेको भाइरसले २०२० मार्चमा आएपछि मात्र हाम्रो देशलाई  तताएको देखिन्छ । सानो देश भनेर तयारी गर्ने मौका दिएको पो थियो कि !

 विकसित मुलुकहरुलाई सम्म नतमस्तक बनाएको भाइरसले हाम्रो जस्तो तयारी कत्ति पनि नपुगेको देशमा कस्तो हालत बनाउने हो भन्ने कुरा " pandemic" भन्ने शब्दलाई राम्रोसँग बुझेकाले मात्र कल्पना गर्न सक्छन् । अरुलाई त यो सुगर प्रेसरको रोग जस्तै मानेको हुनुपर्छ। बढी कल्पना गर्ने क्षमता रहेछ भने जाजरकोटको हैजा जस्तै मानेको हुनुपर्छ । कल्पना गर्न कठिन भए  एक पटक सन्  १९१८ सालको स्प्यानिश फ्लूको इतिहास पढ्ने कि !

तयारी गरेका छौं भन्नेलाई मैले देखेको तयारी प्रष्ट भन्न मन लाग्छ  । तीन महिना बितिसक्दा पनि ठोस योजना के छ त भनेर हामी कसैलाई केही पनि थाहा छैन । मास्क किनेर पनि पाइन छडिसकेको छ । स्यानिटाइजर र मास्कमै कुरा अड्केको देख्छु म  । एमर्जेन्सिमा कार्यरत डाक्टरलगायत कर्मचारीलाई मास्क उपलब्ध गर्न पनि हम्मे हम्मे भएको छ ।  संकास्पद बिरामी आउँदा पनि आवस्यक पहिचान गर्ने ठोस योजना  तथा सामग्री(PPE)  केही उपलब्ध छैन । विना मास्क र स्यानिटाइजर काम गर्न बाध्य छन् ।  तर  दिनभर एमर्जेन्सिमा बसेर बिरामी हेरेका डाक्टरलाई अर्को दिन बन्द कोठामा बोलाएर बिरामी नहेरेको आरोप लगाइन्छ । जहिले  पनि भिलेन हामी साना डाक्टर नै !!  संक्रमित भए सबैलाई अवस्य सर्ने पीर बढी भएर सुरक्षा मागेको हो ।

ज्यानको माया त किराफट्याङ्रालाई हुन्छ् भने हामी त मन मस्तिष्क र विवेक भएका मान्छे हौं  । आइ सि यु , भेन्टिलेटर आदि कता ब्यबस्था भएको छ । थाहा भएन । यस्तो अवस्था देखेर त मलाई सरकार तथा प्रशासनको तयारीमा खेद प्रकट गर्न मन लाग्छ ।  अग्रपंक्तिमा रहेर  बिरामी हेर्नुपर्ने डाक्टर तथा नर्सलाई आवस्यक सुरक्षा सामग्री उपलब्ध गराउन नसकेमा संक्रमित स्वास्थ्यकर्मीबाट नै महामारी फ़ैलिने कुरा नबुझेको हो कि भन्ने लाग्छ । अथवा बुझेर पनि युद्धमा होमिन पठाइएका अग्रपंक्तिका सिपाहीहरु सरह मानेको हुनुपर्छ । जसको कुनै लेखाजोखा गरिन्न।  जसलाई प्रयोग गरिन्छ युद्ध जित्न । तर सुरक्षाका नाममा एउटा भाला मात्रै प्रदान गरिन्छ । यो महामारी हो ,कुनै सस्त्र अस्त्रको युद्ध हैन । आगाडि  खटिने डाक्टर तथा अन्य कर्मचारिबाट यो भाइरस  सबैमा फैलिने अबस्यम्भावी छ  । डाक्टर भगवान हैन। केही सीप र ज्ञान भएको सामान्य मनुष्य मात्र  हो ।

आजसम्म कहिल्यै स्वास्थ्यमा न्यूनतम  १०  प्रतिशत बजेट छुट्टिएन होला । सधै ४  ५ प्रतिशतमै झुलिरह्यो । त्यो पनि धेरै त ट्रेनिङ गोष्ठिमै सकिन्थ्यो होला। वास्तबमा भन्नुपर्दा  वास्तविक सेवा प्रदायक अस्पतालको अस्तित्व सरकारलाई भएको महसुस खासै भएन । अब त्यहाँ कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीको अस्तित्वबोधको त आश के गर्नु ? त्यसको लागि लडाइँ लड्ने प्रयास गरेको त जुग बितिसक्यो ।  यो हाम्रो मात्रै समस्या हैन। यो बिस्वब्यापि समस्या पनि हो । सबैलाई बन्दुक, गोली  बारुद, बम आदि बनाउनमै ध्याउन्न छ । तर अहिले आँखाले नदेखिने सुक्ष्म जीवाणु  कोभिड 19 ले राम्रै पाठ सिकाइरहेको छ  सम्पूर्ण विश्वलाई  । ती युद्ध सामग्री सबै फिका भए नि त अहिले !!

सर्बसाधारणलाई त महामारी बाट बच्ने उपायको  सूचना तिब्र गरिएकै  छ । तर अझै पनि हल्का रुपले लिएको जस्तो देखिन्छ । नेपालमा त एउटै केस "पोजिटिव"  छैन भनेर ढुक्क भएको होला । तर इटलिमा पनि त पहिले एउटै केस थिएन । अहिले सबभन्दा भयावह स्थिति त्यहीँको  सुन्नमा आएको छ । त्यसैले भिड्भाड नगरौं र सकेसम्म सामाजिक दुरि कायम गरौं भनेर मात्र हुँदैन। त्यसलाई पालना पनि गर्नुपर्छ र गराउनुपर्छ  । सरकारले दैनिक कमाइबाट रोजिरोटी चल्ने बर्गको जिम्मा लिन सक्नुपर्छ । खाद्यान्न सामग्रीको प्रत्याभुती गर्नुपर्छ । कृत्रिम अभाव र कालोबजारी गर्ने पापी  आत्माहरुलाई कसेर  नियन्त्रण गर्न सक्नुपर्छ । नभए त कसरी सफल होला र सामाजिक दुरी  ! तर भाइरस सर्न बाट रोक्ने एउटा उत्तम उपाय नै त्यही हो ।

कोरोना भाइरस कुनै खेलचारी हैन । परिक्षण नगरी यसको वस्तुस्थिति थाहा हुँदैन । त्यसैले व्यापक परिक्षण , क्वारेन्टाइन, कन्ट्याक्ट ट्रेसिङ  नगरी कोरोनासँग लड्न सकिन्न । प्रयास नगर्नेलाई पशुपतिनाथले पनि बचाउन सक्दैनन् ।  आस्था र विस्वासले मात्र यो युद्ध जित्न सकिँदैन  । सुबिधा भएका नागरिकले आफू  जिम्मेवार भइ रोग सर्न र सार्नबाट बचौँ ।  सरकारलाई पुर्ण सहयोग गर्न सबैजना तयार छन् । कुरा यत्ति हो , सुरक्षाको प्रत्याभुतिको आशमा हरेक दिन तरवारको धारमा खटिएका स्वास्थ्यकर्मिको आवाज सबैका मस्तिष्कमा पुगोस् ।

धन्यवाद ।





Comments

Post a Comment

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा