उपचारमा अटेरीपन ।
उपचारमा अटेरीपन ।
" डाक्टर ! बिरामी घर जाने रे ! " यमर्जेन्सिबाट बिहानै फोन आउँछ । आँखाले भर्खर आराम पाउने मौका पाएका थिए । मिठा सपना त द्युटिमा कहिल्यै देख्न पाइने कुरै भएन । पेशाको कर्म नै त्यस्तो । रातिको २ बजे भर्ना गरेको बिरामी बिहान ६ नबज्दै घर जान भन्नू अस्वभाविक लागेर एमर्जेन्सी जान्छु । जाँदा लिफ्ट प्रयोग गर्छु । लिफ्टमा नै क्षणभर आँखालाई आराम दिन पाइने लोभले ।
ज्वरो श्वास फेर्न गार्हो र खोकी लागेर आएका ती बिरामी हालको अवस्थामा कोरोना शंका गर्नु कुनै गल्ती थिएन । शरीरमा अक्सिजन नपुगेर मेसिनले जम्मा ७० प्रतिशत देखाइरहेको थियो । उनको छातीको एक्स रे मा दुबै फोक्सोमा न्युमोनियाको लक्षण देख्न सकिन्थ्यो । हेर्दा कोरोनाको बिरामी भन्दा फरक थिएन । उनलाई आइ सि यु स्थानान्तरण गर्ने सोच बनाएको थिएँ । भर्ना भएको ४ घण्टा नपुग्दै घर लिएर जान खोजेको मलाई चित्त बुझेको थिएन ।
बिरामीको जहान मुर्मुरिँदै थिन् । हाम्रो रेखदेख भएन भन्दै कराउँदै थिइन् सिस्टरहरुसँग । तर केही क्षण अगाडी मात्रै प्रेसर आदिको जाँच गरिएको थियो । उनको मनको भडासको झटारो निस्केको सजिलै बुझ्न सकिन्थ्यो । बिरामीको रगतमा अक्सिजनको मात्रा कम भएर समस्या थियो । हालको कोभिडको महामारीमा मास्क लगाउन गाह्रो मान्नेहरुलाई यो बिरामीको श्वास फेरेको देखाइदिन मन लागेर आउँछ । त्यो कोरोना संक्रमण नभएर अरु कुनै न्युमोनिया पनि हुन सक्थ्यो । ठिक हुन सक्ने सम्भावना भएको बिरामी लागेको थियो मलाई । तर श्रीमतीले बस्दै नबस्ने ढिपी गरिन् । जति सम्झाउँदा पनि मानिनन् । उनको सामाजिक र आर्थिक सकस पोखिएको महशुस गरेँ । हातमा सानो बेरिएको पैसाको कुटुरो, सानो सानो कुरामा झिझोपना उपचारका लागि दौड्धुपमा सुस्तपन सबै केही संकेत गरिरहेका थिए । उपचारमा मन नहुनुको संकेत हो कि मन हुँदाहुँदै असमर्थताले बाध्यताको संकेत हो , त्यो बुझ्न सकिन ।
कारण बुझ्न खोजिरहेको थिएँ । तर पुष्ट कारण फेला पारिन । बल्लतल्ल खर्चले नधान्ने भएर घर फर्किने कुरो गरिन् । यम्बुलेन्सको १२००० भाडा तिरेर आएको बिरामीले थप १०००० जति जोहो नगरी काठमाडौसम्म आएको पत्याउन मनले मानेन । आँकलन गर्नु सिवाय कुनै विकल्प थिएन । विकल्प भएकाहरुको नितिले यस्तो बिरामी समेट्न सकेन । हेल्थ इन्स्योरेन्सले केही गर्ला भन्ने आश जिवित नै छ मेरो ।
दिनभर रक्सीमात्रै पिउने श्रीमानबाट आजित भएकि पो थिइन् कि । उपचार गर्ने बेलाको खर्चले आत्तिएर हो कि । जे भए पनि उनी दृढ थिइन् । रक्सीले उनको श्रीमानको ज्यान त गलाएको थियो । उनको आफ्नो जीवन पनि कतै गल्दै गएको पो थियो कि । अनुमान मात्रै लगाउन सक्थेँ म । एक जनाको खराब बानीले सम्पुर्ण परिवारलाई धन मन सबैमा क्षती पुर्याउँछ भन्ने दृश्य नजिकैबाट देखिरहेको थिएँ । खराब बानी थाहा हुँदाहुँदै रोगको खाडलमा सबैलाई डोर्याउनु गैरजिम्मेवारी हो । ती पुरुष पक्कै पनि गैरजिम्मेवार थिए । श्रीमतीका कोमला हातले गिट्टी कुटेर आर्जेको पसिनाको मूल्य तिनपानीमा रित्याउनु क्षमा योग्य कदापि हैन । हुन सक्छ देशगालबाट मात्रै जोगिन काठमाडौ ल्याएका थिए कि । समाजमा फुर्सदिला मान्छे धेरै हुन्छन् । नारदहरुको समूहले उपचार नगरेकोले पापी करार दिने हुन् भन्ने डर त हुन्छ नै । ठूलो ठाउँ पुगेर फर्किएपछि डाक्टरले अब बाँच्दैन भनेर भनेको भने सबैको सहानुभुती पनि प्राप्त हुने नै भयो । समाजमा पहिचान र अस्तित्वको सङघर्ष लड्नै पर्यो !!
कारण जे जस्तो भएपनि कोरोनाले संक्रमण गरेको हुन सक्ने प्रबल सम्भावना भएको हुनाले टेस्ट नगरी पठाउन उचित लागेन । त्यसैले टेस्ट गर्ने प्रबन्ध मिलाउन द्रुत गतिमा प्रक्रिया चालेँ । तर उनको ढिपी मेरो गति भन्दा द्रुत र अटेरी थियो । त्यसैले स्वाब परिक्षण आफै निकाल्न कर लाग्यो । स्वाब निकाल्न गएको बेला बिरामीले ख्वाक्क खोक्दा कोरोनाको भाइरसजति सबै आफैतिर आएको जस्तो लाग्यो । आफुलाई सुरक्षित गर्ने पि पि इ लगाएर गए पनि डर भने लाग्छ नै । स्वाब संकलन गरे पनि रिपोर्ट नआउँदासम्म बिरामिलाई पठाउन नमिल्ने हो । नपठाउने प्रयास पनि गरेँ । तर मेरो केही सीप लागेन । ब्यक्तिगत अधिकारका कुराले धम्क्याउन पनि थालिन् उनले । स्वतन्त्रताको प्रयोग अलि बलियो नै छ । समाजदेखि न्यायालयसम्म ।
आफ्नै इच्छाले बिरामी लगेको कागजमा हस्ताक्षर गरेर आफ्नो श्रीमान् लिएर गइन् । त्यो कागजमा हस्ताक्षर थिएन । त्यो एउटा जिवनलाई आर्यघाट पुर्याउन सबल हस्ताक्षर थियो । मेरो अनुभवले अनुमान गरेसम्म त्यो अवस्थाको बिरामीको नियती सिधै आर्यघाट हो भन्ने कुरामा दुविधा थिएन । त्यो बिरामिको नियती के भयो , त्यो मैले देख्न परेन । चिन्ता त केवल उसको रिपोर्टको भयो । रिपोर्ट आउन २ दिन लाग्छ । रिपोर्टमा कोरोना संक्रमण देखिए फसाद नै पर्ने थियो । धेरै जनालाई कोरोना सरिसकेको हुन्थ्यो ।
अर्को दिन थाहा भयो कि त्यो बिरामिको रिपोर्ट नेगेटिव छ भनेर । बल्ल चयनको श्वास फेर्न सकेको अनुभव भयो । कोरोना संक्रमित भएको भए पनि उनको निम्ति खास औषधिमुलो अझै बनिसकेको छैन । न त ट्रायलको औषधि न त प्रमाणित औषधि नै । बनेका औषधी धान्न नसकिने मूल्यमा छन् । उनको निम्ति केवल डाक्टर र नर्सिङको हेरचाह मात्रै हुने थियो । चालू सबै भेन्टिलेटरमा कोहि न कोहि बिरामी जुधिरहेका थिए । कोहि एक जनाको अवसान अथवा कसैले रोगलाई नजितेसम्म उनको निम्ति भेन्टिलेटर पनि उपलब्ध थिएन । के उनको नियती मृत्युवरण नै होला त ?
Comments
Post a Comment