बेड न. ५२ को एक वर्ष ।


गएको मङ्सिर १७ गते १ वर्ष बितेछ । जन्मदिन आदि हुँदो हो त हर्ष उल्लास हुन्थ्यो होला माहोल । तर रोगको उपचार गर्न अस्पताल सैयामा बसेको १ वर्ष  भयो। दशैँ तिहार आदि सबै चाड्पर्व आए र जिस्काउँदै गए । हरेक दिन बिहान डाक्टरहरु आउँछन् । " के छ महेश ? " भन्दै सोध्ने गर्छन् । कहिले मुसुक्क हाँस्दै जिस्काउँछन । कहिले गम्भीर हुन्छन् । ज्वरो आउँदा धेरै गम्भीर हुन्छन् । ज्वरो निको नहुँदा जाँच गर्न नशाहरुबाट रगत निकाल्न पर्छ भन्ने थाहा छ उसलाई।  त्यसैले  डाक्टरले सोध्ने बेलामा  ज्वरो आएको छैन भन्दिन्छ महेशले । सबै डाक्टर र नर्सले  उसलाई चिन्छन् । उसलाई नचिन्ने डाक्टर र नर्स पनि कोहि  छैनन् होला । कसका हात कोमला छन् , कसको बोली मीठो छ आदि सबै कुरा उसले अनुमान लगाएको  छ । बेलाबेला जिस्किँदै भन्ने पनि गर्छ । " डिजे डाक्टरको हात कोमल छ । " 

हात खुट्टाका नशाले चिसोतातो थाहा नपाउने ,दुखेको थाहा नपाउने,खुट्टा कमजोरीले गर्दा  हिंड्न् नसक्ने  रोग लागेर हेरचाह विना बसेको महेशलाई १ वर्ष अगाडि भर्ना गर्दा पनि समय लागेको थियो । ज्वरो र घाउले गलेको जीर्ण शरिर, पिन्चे स्वर, हड्डीछाला मात्रै देखिने हातखुट्टा  देख्दा उपचार गर्ने आँट बटुल्न नै साहसी काम हुने देखिन्थ्यो ।  उसको पुठ्ठामा भएको गहिरो घाउले उसको हेरचाह गर्दिने मान्छे नभएको कुरा प्रष्ट देखिन्थ्यो । हिंड्न् नसक्ने,आफै दिशापिसाब गर्न नसक्ने र विस्तारामा लामो समय ओल्टाइपल्टाइ नहुँदा उसको घाउको दुर्दशा देख्दै आङ जिरिङ हुने खालको थियो । त्यो दुर्गन्धित  घाउ लिएर  महिनौं बसेको महेशको प्राण नै आजित भैसकेको थियो ।  शरीरको त्यो दुर्दशा देखेर छिमेकीले उपचार  गर्न टिचिङ अस्पतालमा ल्याइ पुर्याउनु नै मानवताको रुप देख्न सकिन्थ्यो भने वास्ता  नगरेका बाबुआमाको बाध्यता वा आर्थिक पीडाको चरमोत्कर्ष देख्न सकिन्थ्यो । तर १ वर्षसम्म पनि अस्पतालमा ती बाबुआमा कहिल्यै नदेखिनुले कतै जिवनको अवमूल्यन रहेको समाजबाट महेश आएको रहेछ कि भन्ने आँकलन गर्नु गलत नहोला । 

एउटा श्वास फेर्दै गरेको १६ वर्षको केटालाई उपचार गर्न ती छिमेकीले ल्याउन त ल्याए । तर असिम धैर्यता र पैसाको खाँचो पर्ने रोगमा कति दिन नै साथ दिन सक्थे र ! त्यो घाउको अवस्था हेर्दा कतैबाट पनि ठिक हुने आश देखिँदैनथ्यो ।  पुठ्ठाका हड्डीहरु देखिएको घाउलाई निको बनाउन धेरै मिहिनेत र समय लाग्ने निस्चित थियो । त्यो घाउसँग हरेक दिन कोहि न कोहि डाक्टर घन्टौं सङ्घर्ष गरिरहेका हुन्थे । उ दुखेर रुन्थ्यो । घाउ दुखेर रुन्थ्यो ।  मन दुखेर रुन्थ्यो ।  डाक्टर त्यो अवस्था देखेर मनमनै रुन्थे ।  त्यो दुर्गन्धित घाउले समाजको आर्थिक तथा मानसिक गरिबीको चित्र प्रस्ट देखाइरहेको हुन्थ्यो । त्यो दृश्य आँखा अगाडि देख्ने सबै डाक्टरको मनमा खिन्नता छाउने गर्थ्यो । भाग्य कोर्ने बिधाता , मनमा हरि नभएको समाज र ढोङले भरिएको भोटको राजनिती देखेर सधैं वाक्क लाग्थ्यो । कहिलेकाहीं त्यो सब ड्रेसिङआदिको काम बालुवामा पानी राखे जस्तो पनि लाग्थ्यो । बाबुआमा र इश्वरको माया पाउन नसकेको घाउलाई डाक्टरले मात्रै के गर्न सक्थे र ! भाग्यले एउटा  रोगको परिक्षा दियो  र त्यो परिक्षामा बाबुआमा फेल भए । सम्भवत: पुरै समाज नै फेल भयो ।  फलस्वरूप एउटा श्वास फेर्दै गरेको भोक ,माया, सुख दु:ख आदि अनुभुती गर्न सक्ने मन एउटा अस्पतालको सैयामा १ वर्षदेखि बाँधिन  पुग्छ । 

लामो समयको उपचारपछि हेर्दै नजिक जान मन नलाग्ने घाउ हेर्ने लायकको हुन पुग्नु नै एउटा ठूलो जित हो । सबैको सम्बेदना, करुणा र सहयोगले एउटा आत्मा तंग्रिन पुगेको देखिन्छ । शरीर तंग्रिन त अझै समय लाग्ने कुरा निश्चित छ । उसलाई  निकै मिठो बोल्ने, ढाडस दिने  र  घरबाट अन्डा ल्याएर खुवाउने डाक्टरलाई भने सायद बिर्सिन सक्दैन होला । अस्पतालमा बेड्चार्ज , औषधि , खाना आदिको जोहो गर्न डाक्टर र नर्सहरुले धेरै मिहिनेत गरेर १ वर्षसम्म हेरचाह गरेका छन् । उसको लागि एउटा राम्रो "व्हिल चियर" को व्यवस्था गर्ने प्रयास पनि जारी छ । सहयोग गर्ने इच्छुक उदार मनलाई हृदयदेखि स्वागत छ ।  उसको रोगको उपचार अब एउटा सुमधुर वातावरणमा हेरचाह गर्नु मात्र नै हो । अस्पतालमा बस्दा  बस्दै नयाँ नयाँ इन्फेक्सन हुने सम्भावना भएकोले उसलाई हेरचाह गर्ने कोहि व्यक्ति वा संस्थाको मन जाग्नु नै प्रभावकारी हुन्छ । सधैं कताकता राजनैतिक भुलभुलैयामा दिग्भ्रमित हुने सरकारको कुनै निकाय रहेछ भने खबर नपुगेको भए खबर पुगोस् भन्ने सदिच्छा मात्रै त गर्न सकिने होला । भोट पनि नबढ्ने र फाइदा नहुने ठाउँमा कसको पो जाङर आउला र !! घाउ सफा गर्न नसकेर हार खाएको पनि हैन । उपचार गर्न नसकेर दातृ मन खोजेको पनि हैन । एउटा समाजको दरिद्रताले छिन्न्भिन्न भएको शरीर र मनलाई अस्पतालले जोडेर एउटा दरिलो आत्मामा परिणत गरिसकेपछि हेरचाह गर्न सुम्पिन खोजेको मात्रै हो । डाक्टरको कर्म रोगीलाई उपचार गर्ने हो । समाजको दरिद्रताको उपचारको जिम्मा कसैले लिए कति जाती हुन्थ्यो होला । त्यो सैयामा फेरि अर्को "महेश"को उपचारको खाँचो छ । 

Comments

Post a Comment

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।