स्वास्थ्य समस्या र भ्रमहरु ।

स्वास्थ्य समस्या र भ्रमहरु । 
स्वास्थ्य चेतना समाजको दर्पण हो,  राज्यको सफलताको सुचक हो । स्वास्थ्य सम्बन्धी सहि विचार र चेतनाले स्वास्थ्य समस्याको निराकरण गर्न उल्लेखनीय भुमिका निर्वाह गर्छ । भ्रमको खेतीले रोग छिप्पिने, ढिला उपचार हुने र आर्थिक भार बढ्ने हुनाले केही स्वास्थ्यका समस्या र सो सम्बन्धी हाम्रो समाजमा व्याप्त भ्रमहरुलाई चिर्ने प्रयास गर्नु आवस्यकता हो ।

के मोटोपन रोग हो त ?
मोटोपन एक्काइसौं शताब्दिको एउटा महामारीजस्तै हो । " कस्तो खाइलाग्दो बच्चा रहेछ । "हाकिमजस्तै देखिएछ " " पेट नलागे कहाँ पत्याउँछन् त !" यस्ता वाक्यहरुले मोटोपनालाई प्रतिष्ठित बनाउने गरेको पाइन्छ । मोटोपन कुनै प्रतिष्ठाको विषय हैन । भुडीको आकार कुनै व्यक्तित्वको चिनारी हुन सक्दैन । यो  एउटा समस्या हो । अझै स्पष्ट भन्नुपर्दा   समस्याको जालो निम्त्याउने एउटा प्रमुख कारक तत्व हो । मोटोघाटो बच्चा देखेपछि हुरुक्कै हुने र ठिक्कको ज्यानमा निराश हुने अभिवावकको सोचाइले खानपिनको अनुशासन बिग्रेको छ । रोग लाग्नुभन्दा पहिले नै रोकथाम गर्ने कार्यलाई Primary Prevention भनिन्छ भने रोग लाग्न सक्ने सम्भावना देखेर आफ्ना दैनिक जिवनका राम्रा बानीहरु बनाएर  रोग लाग्ने सम्भावना न्यूनीकरण गर्ने प्रयासलाई Primordial prevention भनिन्छ । वर्तमान शिक्षा पद्धतिमा primordial prevention लाई विशेष जोड दिनुपर्ने खाँचो छ ।  खानपिन, निष्कृय जीवनशैलीका कारण मोटोपन बढ्दै गएको र मोटोपनसँगै दीर्घ रोगहरु पनि बढ्दै गएको छ । मोटोपन अहिलेको एक महामारी हो । WHO अनुसार विस्वको मोटोपन सन् १९७५ भन्दा तीन गुणा बढेको देखिन्छ । सन् २०२० मा ५ वर्ष मुनिका  ३९ करोड जना बच्चामा  मोटोपना रहेको देखिन्छ । विश्वको अधिकांश जनसंख्या कुपोषणभन्दा मोटोपनाले गर्दा हुने मृत्यु भएको क्षेत्रमा बसोबास गरेका छन् । त्यसैले मोटोपनलाई नियन्त्रण गर्नु आजको आवस्यकता हो । BMI( Body Mass Index) हिसाब गर्दा निम्न अनुसारको सूत्र लगाइन्छ ।
BMI = तौल ÷ (उचाइ मिटरमा )^२
यसको हिसाब गर्दा एसियाली  र पस्चिमा देशहरुलाई फरक विश्लेषण हुन्छ । एसियनहरुको खानपिन र जिवनशैलीले गर्दा यसको मापन २३ भन्दा बढी भएमा मोटोपन मानिन्छ भने पस्चिमाहरुलाई २५ भन्दा बढी भएमा मोटोपन मानिन्छ । त्यस्तै एसियनहरुको लागि पेटको गोलाई पुरुषलाई ९० से मि र महिलालाई ८० से मि भन्दा बढी भएमा मोटोपन मानिन्छ । पस्चिमाहरु भन्दा हाम्रो जस्तो देशको लागि मापनको परिमाण कम तोकिनुमा हाम्रो मुलुकमा मुटुका समस्या पस्चिमाहरुभन्दा कम BMI मा नै हुने हुनाले हो ।  अर्थात BMI २३ हुँदैबाट हाम्रो मुलुकमा रक्तचाप, मधुमेह , मुटुका समस्याहरु   बढी रहेको पाइएको छ । तसर्थ पेट लाग्नुलाई समृद्धि भन्दा पनि रोगको सुचक मान्नुपर्ने हुन्छ । र मोटोपनलाई खाइलाग्दो राम्रो ज्यान भन्ने भ्रमबाट सम्पुर्ण अभिभावक लगायत मुक्त हुनु स्वस्थ सुन्दर भविष्यको निर्माण हो  ।

रक्तचाप
हाल सरुवा रोग निकै नियन्त्रणमा पुगिसकेका छन् भने नसर्ने दीर्घकालीन रोगहरुले नेपाली समाजलाई गाँजेको देखिन्छ । कारण : खानपान र निष्क्रिय जीवनशैली । धेरै क्यालोरी दिने Junk खानेकुराहरु , धुम्रपान, मध्यपान, अकर्मण्य जिवन्शैली,मोटोपन  सबैले रक्तचाप र मधुमेहको समस्या बल्झाइरहेको स्पष्ट  अध्ययनले  देखाएको छ । सन्  २०२१ को विश्व स्वास्थ्य सङठनको रिपोर्टअनुसार ४६ प्रतिशत व्यक्तिहरुले आफुलाई रक्तचाप भएको कुरा थाह नभएको देखाउछ । ४२ प्रतिशत रक्तचापका बिरामीले मात्रै औषधी नियमित सेवन गरिरहेको देखिन्छ । प्रत्येक  ५ जना रक्तचापको लागि औषधि सेवन गरिरहेको बिरामी मध्येमा  १ जनाको मात्रै  रक्तचाप राम्रो नियन्त्रण ( Good Control) मा रहेको देखिन्छ । नेपालको विभिन्न अध्ययनअनुसार २० प्रतिशतको हारहारिमा रक्तचापको समस्या रहेको देखिन्छ ।
यो तथ्यांकअनुसार रक्तचापसम्बन्धी समस्यालाई अझै पनि राम्रोसँग सचेतना गर्न नसकेको पाइन्छ । उपचार , ज्ञान र विचारमा निकै दुरि रहेको छ । केही मिथ्या भ्रमहरुले गर्दा औषधि उपलब्धता बाहेक पनि  रक्तचापको नियन्त्रणमा चुनौती थपिएको हो ।
१. एक पटक खान सुरु गरेपछी जिवनभर खानुपर्छ ।
यो भ्रम हाम्रो नेपाली समाजमा निकै व्याप्त देखिन्छ । एक पटक रक्तचापको समस्या एकिन भएपछि लगभग सबै व्यक्तिहरुले जिवनभर नै औषधि सेवन गर्नुपर्ने कुरा सत्य हो । तर जिवनभर औषधि खाने झन्झट मानेर औषधि सेवन नगर्नु भनेको मुर्खता हो । रक्तचाप सहि नियन्त्रणमा नहुनाले हृदयघात, मस्तिष्कघात( प्यारालाइसिस) , मृगौला फेल आदि जटिल समस्याहरु निम्तिने कुरालाई मनन गर्नुपर्ने हुन्छ । एउटा ट्याब्लेट औषधिले जटिल  समस्या न्यूनीकरण गर्नेहुनाले रक्तचापको औषधि सेवन गर्नु आर्थिक रुपले पनि बुद्धिमानी हो ।

२. मलाई केही भएको नै छैन । औषधि खानैपर्छ र !!
हो । लक्षण देखिएमा औषधि सेवन गर्ने हो । लक्षण नभएको व्यक्तिले औषधि सेवन गर्नु भन्दा निरर्थक लाग्न सक्छ । तर  रक्तचाप बढ्नु नै एउटा शरिरको लक्षण हो भनेर मान्नुपर्छ । सबै व्यक्तिलाई रक्तचाप बढ्दैमा चक्कर लाग्ने , घुमाउने, टाउको दुख्ने हुँदैन । आश्चर्य लाग्न सक्छ निकै कम व्यक्तिलाई मात्रै त्यस्ता लक्षणहरु देखिन्छन् । त्यसैले त रक्तचापको समस्यालाई Silent Killer भनेर उपमा दिइएको छ । समयसमयमा ब्लड प्रेसर परिक्षण गरौं । औषधि सेवन गर्न अल्लमल्ल नगरौँ ।

३. प्रेसर बढेको थियो। औषधि नखाइ मैले कन्ट्रोलमा राखेको छु ।
यो एउटा घातक भ्रम हो । प्रेसर कन्ट्रोल गर्ने नाममा करेलाआदिका जुस खाँदै बस्नु र तितोले प्रेसर घटाउँछ भनेर भन्नू घातक सोच हुन् । यदि साँच्चै नै घटाउने रहेछ भने पनि त्यसको मात्राआदिमा राम्रो अध्ययन नभएकोले पुष्टि गर्ने कुनै वैज्ञानिक आधार छैन । एउटा महत्वपुर्ण कुरा के हो भन्दा नुन कम गर्नाले रक्तचापमा ३ देखि ७ मि मि मर्करी मात्रै कम हुने देखिन्छ । प्रेसर घटाउने उपायमा सबैभन्दा बढी मोटो व्यक्तिले तौल घटाउनाले देखिएको छ।  मोटो व्यक्तिले १० के जि तौल घटाउँदा ८-१० mmHg ले प्रेसर घटेको पाइन्छ । त्यसैले रक्तचापको बिरामीले औषधी सेवन नगरी प्रेसर घटाउँछु भनेर बस्नु जोखिमपुर्ण छ । मोटोपन घटाउनु, नुन कम गर्नु, फलफुलको सेवन, व्यायामआदिले औषधिको मात्रा भने कम गर्छ ।

मधुमेह
मधुमेहको समस्या बुढ्यौलीमा मात्रै नभएर अधबैँसेहरुमा पनि व्याप्त देखिन थालेको छ। कम उमेरबाट नै मधुमेह देखिनु भबिष्यमा राज्यलाई स्वास्थ्य उपचारका लागि थपिने भारको पुर्व सुचना हो । घतलाग्दो कुरा त के हो भने विकासोन्मुख मुलुकमा यसको समस्या दिनानुदिन बढ्दै गएको छ । सन् २०१९ मा यो विस्वको ९ औ घातक रोगको रपमा देखा परेको थियो । सन् २००० देखि २०१६ सम्ममा मधुमेहको कारणले अकालमा मृत्यु हुने संख्या ५ प्रतिशतले बढेको थियो । एक अध्ययनअनुसार २३ प्रतिशत व्यक्तिले मात्रै आफुलाई मधुमेह भएको बारेमा थाह नपाउने गरेको देखिन्छ । नेपालमा पनि विभिन्न अध्ययनले  ८ देखि १५ प्रतिशत जनसंख्यामा मधुमेहको समस्या रहेको पुष्टि गरेको छ । 
मधुमेहको विषयमा पनि भ्रमहरु पालिएका छन् । भ्रमको भेदन गरी सहि विचार स्थापित गर्नु आजको चुनौती हो ।
१. लक्षण नै नभइ औषधि खानपर्छ र ?
अधिकांश मधुमेहको बिरामी नियमित रगत जाँच, अपरेसन गर्नुभन्दा अगाडि गरिने नियमित जाँच, अन्य कुनै रोगको उपचार क्रममा देखिने गर्छ । मधुमेहका लक्षण जस्तै धेरै पिसाब लाग्नु, तौल घट्नु, तिर्खा बढी लाग्नु मधुमेह छिप्पिसकेपछी देखिने लक्षणहरु हुन् । मधुमेहको लक्षण देखिएपछी मात्रै औषधि सेवन तथा खानपिनमा परिवर्तन ल्याउने विचार पाल्नु मुर्खता हो । मधुमेहले हृदयघात, मृगौला फेल , पक्षघातका समस्या निन्त्याउने प्रमुख कारक तत्व हो । मधुमेह भएका बिरामीले नियमित रगतको जाँच गर्नु मुनासिव हुन्छ। वर्षको एक पटक पिसाबको, मृगौलाको, र आँखाको पर्दाको  जाँच गर्नु उपयुक्त हुन्छ भने बेलाबेलामा रगतमा सुगरको जाँच गरेर चिकित्सकको सल्लाहमा औषधि घट्बढ गर्नु उचित कार्य हो ।

२. प्रश्न:  आँखा कहिले जाँच गराउनुभयो ?
    उत्तर:  आँखा जाँच गरेर चस्मा लगाएको हो ।
मधुमेहले आँखाको लेन्स देखि भित्री पर्दामा असर गर्ने हुँदा मधुमेहको असर हेर्नको लागि नानी फुल्लाएर जाँच गर्नुपर्ने हुन्छ । जसलाई Dilated Eye Examination भनिन्छ । Retina मा असर गरेको धेरै पछि मात्रै दृष्टिमा असर गरेको थाह हुने हुनाले नियमित आँखा जाँच गराउनु पर्छ । अँाखा जाँच भनेको चस्मा लगाउनको लागि मात्रै गरिने जाँच होइन भनेर बुझ्नु जरुरी छ ।

३. मधुमेह भएपछी खाना खानै पाइन्न !
यो पनि एउटा भ्रम हो । चिनीयुक्त कुराहरु मात्रै वर्जित हुन् । जस्तै मिठाई, चिया , गुलिया पक्वानहरु ।  भात खानै नमिल्ने भन्ने भ्रमले धेरै बिरामिहरुले खाना नमिठो बनाएर आटो आदि खाने गर्छन् । धेर खान नहुने तर थोरै सबै कुरा खान मिल्ने हुनाले मधुमेह भएपछि केही पनि खान पाइन्न भन्ने भ्रम हो ।  आहारविहारमा ध्यान दिनु अनिवार्य छ । तर सबै कुरा बार्नु पोषणको दृष्टिकोणबाट हानिकारक छ ।

जन्डिस
विगतको दशकमा हेपाटाइटिस A र E  गर्दा हुने जन्डिस शुद्ध खानेपानीको जनचेतनाले कम भएको हो । तर कम हुन नसकेको भनेको जन्डिसमा मुख बार्नुपर्ने भ्रम नै हो । जन्डिसलाई मुख बार्ने हेतुले बिरामीलाई पोषण निकै कम पुगेको हुन्छ । कुपोषण हुँदा जन्डिसले बढी असर गर्ने कुरा भने कसैले बुझ्दैनन् ।  माछा मासुअन्डा आदि सबै कुराबाट वर्जित गरिन्छ । तर ती सबै कुराको जन्डिस घट्ने र बढ्ने सँग कुनै सम्बन्ध छैन । बेसारले जन्डिस बढ्छ भन्नू सबैभन्दा ठूलो भ्रम हो ।   जनमानसमा यति गहिरो भ्रम छ कि बेसारको जन्डिससँगको नातो भ्रमको खेती हो भनेर भन्दा चिकित्सक नै आक्रमणमा पर्ने सम्भावना हुन्छ । तात्पर्य के हो भन्दा जन्डिस हुँदैमा नियमित शुद्ध  खानपानका कुरा बार्नुपर्दैन । र बार्नु हुँदैन । 

समाजमा मौलाएका भ्रमहरुले स्वास्थ्यको सेवा प्रभवकारितामा असर गर्ने र प्रत्यक्ष जनताको स्वास्थ्यसँग सम्बन्ध हुने हुनाले यस्ता भ्रमहरुलाई चिर्न आ आफ्नो स्थानबाट भुमिका पालना गर्नु उचित हुन्छ । चिकित्सकीय दृष्टिकोण समय र अनुसन्धानसँगै परिवर्तन हुँदै जान सक्छन्  । तर वर्तमान अवस्थामा पुष्टि भएका वैज्ञानिक सिद्धान्तलाई भने पालना गर्नुपर्छ।


Comments

Popular posts from this blog

त्यो एक खिल्ली चुरोट किनेको दिन ।

अप्रिय अंक १००० ।