कल्पनामा बिरामी जाँच्नुपर्दा ।

कल्पनामा  बिरामी जाँच्नुपर्दा । 

कार्यस्थलको सहजताले कार्यसम्पादन दुरुस्त हुन्छ भन्ने कुरा पक्कै हो । त्यसैले त कार्यस्थलमा भौतिक पुर्वाधारको निकै महत्व हुन्छ । कार्यालयको घडीले १० बजाउँदै छ । आनन्दसँग बिरामी हेर्न पाउँदा निकै खुसी पनि लाग्ने गर्छ । बाटोमा धुलो र धुवाँमा  चरम छाला चरचराउने गर्मीमा हिँडेर ओ पि डि कक्षमा छिर्दा चिसो वातावरणले गर्दा ताजा महसुस हुन्छ । दिमाग चल्न पनि बस्ने र काम गर्ने वातावरण सहज हुनुपर्ने हुन्छ । हुप्प गर्मीबाट ओ पि डि कक्षमा आउँदा चिसो महसुस हुँदा बिरामी पनि आधा सन्चो भएको महसुस गर्छन् । धेरै बेर बसौं जस्तो लाग्ने रहेछ सायद। बसेको टुलबाट उठ्नै ढिलो गर्छन् । किस्तावन्दीमा समस्या सुनाउने गर्छन् । 
टिकेट पनि एक जना चिकित्सकलाई ५० भन्दा बढी नकाटेको खबर आउँछ काउन्टरबाट । आरामले नहतारिकन बिरामी हेर्न पाइयो भनेर मजा आउँछ । कति टाढाबाट आएका बिरामीलाई नाडी छामेर फटाफट हेरेर औषधिमात्रै लेखेर पठाउन नपरेको दिन  कतै अन्याय गरेको महसुस हुँदैन । 
ओ पि डि भित्रको सरसफाइ देख्दा मन पनि हरर हुन्छ । टेबुल पनि एकदम स्थिर । हात अड्याउँदा, लेख्दा पनि नहल्लिने । सफा हरियो रङको कपडाले ढाकेको । एउटा कुनामा राम्रो बोत्तलमा मध्यम चिसो पानी राखिएको छ । कागजपत्र उड्लान् कि भनेर "पेपर वेट " पनि छ । रक्तचाप मापन गर्ने यन्त्र प्रयोग गर्न निकै सजिलो । तापक्रम नाप्ने थर्ममिटर पनि छ । हेर्दा नै आनन्द आउने । बिरामी पनि कस्तो राम्रो सफा  वातावरण भनेर मनमा खुसीको सन्चार हुने । भुइँ दिनमा दुईपटक पोछा लगाएर सफा गरिएको । जे होस् ओ पि डि कक्ष कति सफा र राम्रो । लाइनमा पनि ४ कुनामा रहेका चिकित्सकका लागि ३-४ जना मात्रै ओ पि डि कक्षमा छिर्ने संयन्त्र ।  सेवाग्राहीले पनि स्मृतिका कुनामा कैद गर्न मिल्ने दृश्य । साथमा अस्पतालको प्रगती र जुजारुकता देखेर साँच्चै देशमा  परिवर्तन भएको महसुस गरेर जान्छन् । 
यस्तै ओ पि डीमा मस्त बिरामी हेर्दै गर्दा एक जना ६५ वर्षीय बुवा लाइन मिच्दै भित्र प्रवेश गर्छन् । र टेबलमा कागज तेर्स्याउँछन् । 
यसो नियालेर हेर्दा बाजेले त माथी केही कपडा नलागाएका रहेछन् । एउटा हातमा टिकेट , अर्को हातमा आफ्ना लुगा समाएको देखिन्छ । पसिनाले निथ्रुक्क भिजेका रहेछन् ।  ओ पि डि भित्र प्रवेश गर्दा एकाएक स्वर्गमा पुगेको अनुभुती भएको उनको हाउभाउबाट थाह हुन्छ ।
" किन लाइन मिचेको बुवा ? केही विशेष  हतार छ  ? " म सोध्छु । 
बाजे भन्छन् " बाबु ।मलाइ औषधि लेख्दिनु । म अहिल्यै  पाल्पा फर्किन्छु । बहुत गरम भयो । एक मिनेट बस्न सक्दिन । कि मलाइ यहि ए सि लगाएको ठन्डा कोठामा बसाउनु । बाहिर लाइनमा सक्दैन म । " 
यो सुनेर म गलल्ल हाँस्छु । दिनमा एउटा सेवाग्राही चाहिँ यस्तै फरासिलो र हसाउने आउन् जस्तो लाग्छ । बाजेलाई एक पटक पुनः हेरेर मनमनै मुस्कुराउँछु । र फटाफट औषधी लेख्छु । बाजे कक्षबाहिर जाने बित्तिकै घामलाई सराप्न थाल्छन् , " मधेस कस्तो गरम । बाफ रे बाफ । " 
म पनि सपनाबाट झल्यास्स हुन्छु । घडीले २ बजाएको रहेछ ।  वरिपरि हेर्दा त गर्मीले बाफ्फिएको ओ पि डिमा २५-३० जनाको भिड जम्मा भैसकेको रहेछ । घेरेर बसेका रहेछन्। टेबल पनि हल्लिन थाल्छ । सपनामा देखेको सफा हरियो कपडा कतै देखिन्न । बिरामीको लाइन पनि हाटबजारमा सब्जी किन्न लागेको जस्तो अनुभुती हुन्छ । सर्टमा जनैले नक्सा बनाइसकेको रहेछ । पंखाले पनि गरम हावाले घुम्दै स्तुतिगान गाउँदै छ " घ्वा.....घ्वा...."  
पुनः जाँगर बटुलेर रिपोर्ट हेर्दै बिरामी धपाउँदै गर्छु । आज पनि कोल्ड कफिले खल्ती खाली गर्नेमा निस्चित हुन्छु । यो कुट्कुटे गफ लेखेर छाप्न दिने र नदिनेमा मन दोधारमा  पर्छ । ए सि आदिबाट हुने  बिजुलीको खर्च जोगाउन सफल भएमा कतै पदक नै पो दिने हुन्  कि भनेर ।😆

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा