पहुँच के हो - दुरी वा चेतना ?

पहुँच के हो - दुरी वा चेतना ?



के दुरी नै हो त पहुँच नहुनुको समस्या ? एउटै घरभित्र बस्ने व्यक्तिहरुमा दुरी कम त हुन्छ , तर आत्मीयताले कोशौँ टाढा हुन सक्छ । व्यक्तिको घर दैलो आँगनमा स्वास्थ्य संस्था हुन त सक्छ तर उसैलाई ठूलो समस्याग्रस्त रोग लाग्न सक्छ । दुर्गमता भौगोलिक मात्रै हुँदैन । व्यक्तिको चेतनाले पनि सेवालाई दुर्गम बनाउने गर्छ । जहाँ चेतनाको कमी हुन्छ त्यहाँ सेवाप्रवाहले मात्रै कार्य पुर्ण हुँदैन । सेवा लिन पनि चेतनाको आवस्यकता हुन्छ ।

झट्ट हेर्दा १०-१२ वर्षकी , ज्यान मोटाएको , गोलो अनुहार, फुक्क फुलेको पेट भएकी छोरीलाई उसकी आमाले पिठ्युँमा बोकेर ओ पि डि प्रवेश गर्छिन् । टुलमा राख्छिन् । बच्चाको ओ पि डि मा जानुपर्नेलाई झुक्केर फेरि यता ल्याएछन् भनेर टिकेटमा नाम र उमेर हेर्छु । तीन पटक त्यो नानीलाई र कार्डमा लेखेको विवरण तुलना गर्न खोज्छु । पत्याउन गार्हो हुन्छ । किन्चित पत्यार नै लाग्दैन , ती आमाले आफ्नी २४ वर्षकी छोरीलाई अस्पताल ल्याएकी हुन्  भनेर । उनको बालपन कहिले आयो  र कहिले सकियो !! उनको किशोरावस्था कहिले फक्रियो र कहिले जवान भइन् !!  उनका साथीहरु वयस्क छन् कि बालक छन् !! यी सबै आस्चर्यजनक प्रश्नहरु एकाएक ठेलम्ठेल गरेर मनमा आए । नाम त प्रिया रहेछ । कति मीठो नाम । तर नामानुसार जीवन जिउन बन्चित प्रिया ।

उनी सानैदेखि फुक्क फुलेकी रहेछिन्  । गोलोमोलो शरीरलाई  पुस्टिएको ज्यान मान्ने हाम्रो समाजलाई त नौलो कुरो नै लाग्ने भएन । कुनै रोगको शंका मान्नु त झन पाप नै हो कि भन्ने जस्तो गर्छन्  । खेती किसानी गरेर जीवन धान्ने परिवारलाई बच्चाको पढाइ कत्तिको अब्बल छ भनेर ध्यान कम नै हुन्छ । लेख्न पढ्न जाने जागिर खान्छ । नभए खेती किसानी नै गर्छ भनेर उत्ति महत्व नदिने बानी हुन्छ । उनको पढाइ पनि त्यस्तै नै रहेछ । पढेको कुरा स्मरण गर्न गार्हो हुने र भुल्ने हुनाले पढाइ गतिलो नभएकोमा दु:ख भने मानेका थिए ती बुवा आमाले । बल्लतल्ल ६ कक्षा पढ्दै रहेछिन्। धेरै अल्छी गर्छ भनेर पनि गुनासो रहेछ । त्यही पनि जीवनचर्या चलिरहेको थियो आफ्नो छोरीलाई दुई चार वटा टिप्पणी गर्दै " कस्तो सुतेको सुत्यै गर्छ। अल्छी । राम्रो सँग पढ् । "

हरेक कुराको एउटा सिमा हुन्छ । त्यो परिधि नाघेपछि बल्ल आत्तुरी हुन्छ । वर्षौदेखिको कमसल गुणस्तरको जीवन बिताएकी छोरीलाई हिंड्न् नसक्ने भएपछि अस्पतालको खोजीमा हिँड्न  बाध्य हुन्छन् । र चार महिनामा बल्ल प्रादेशिक अस्पताल आइपुग्छन् । धेरै टाढाबाट !! मात्रै  २४ किलो मिटर  टाढा कपिलवस्तुबाट !! सायद प्युठानको स्याउलीबाङबाट पनि एक महिनामा त बुटवल आइपुगिन्छ !!

स्वास्थ्य संस्था नजिक नभएको पनि हैन । सानोमा भ्याक्सिन लगाएको पनि रहेछ । स्वास्थ्यसंस्थामा तौल नापेको पनि रहेछ । गाउँघरे क्लिनिक नभएको पनि हैन । तर कसैलाई पनि त्यो उमेर र शरिरको कत्ति पनि तालमेल नमिलेको ध्यानमा आएन त ?? त्यो बालकमन , किशोरमन र जवानीमनका वसन्तहरुबाट अन्योलमा रहेको त्यो नानीको मनलाई कसैले छाम्न सकेनन् त ??  हिपमा दुख्दा दुखाइको औषधी दिएर थामथुम पार्ने क्लिनिकको मनमा त्यो  कलिलो देखिने शरीर किन दौडिन सकेन त भनेर प्रश्न नै जन्मिएन त ? के २४ किलोमिटर सार्है टाढा नै हो त !!  फेरि हाछ््छ्यु  आउँदा काठमाडौ दौडिहाल्ने उग्र चेतना पनि हामी माझमै विद्यमान छ ।

सबैको मनमा जिज्ञासा हुन सक्छ  त्यो नानीलाई के भएको रहेछ त !  ती २४ वर्षकी नानीलाई थाइराइड हर्मोनको कमी सानैदेखी भएको थियो । जसले गर्दा उनलाई " hypothyroidism " को समस्या भएको रहेछ । अर्थात् थाइराइड हर्मोनको कमी भनेर बुझ्न सकिन्छ । यो हर्मोन जीवनको गुणस्तरको हर्मोन हो । जसको कमी समयमै परिपुर्ति नगर्नाले प्रियाले गुणस्तरयुक्त जीवन बिताउन सकिनन् । र अहिले उनका हड्डीहरु आफ्नो वास्तविक उमेर अनुसार वृद्धि हुन सकेनन् , जोडिन सकेनन् । बच्चाको हड्डी जस्तै भएर बसिरहे । थाइराइड हर्मोनको कमीले बुद्धिमा तिक्ष्णता हुन पाएन । शरिरमा  फुर्ती हुन पाएन । छाला राम्रो हुन पाएन । शरीर र दिमाग  उर्जाविहिन भयो । चुस्त दुरुस्त इन्जिनविनाको गाडीजस्तै जीवन  कमसल बन्न पुग्यो ।
यो सबै कुराको दोष कसको हो त ?
नियती वा चेतनाको ।
राज्य वा समाज ।
बाउआमा वा स्वास्थ्य संस्था ।
रोग पहिचान गर्न नसक्ने समाज वा स्वास्थ्यकर्मी । 
च्याउजस्तै उम्रिएका चिकित्साविज्ञान संकाय पढाउने कलेजहरु ।

सायद उत्तर विचारविमर्शको विषय होला ।तर सत्य जे हो भन्दा  शिक्षाले चेतना जन्मिन्छ । चेतनाविना न अधिकारको ज्ञान  हुन्छ न सुविधाको  सदुपयोग हुन्छ । स्वास्थ्यको पहुँच केवल भौगोलिक मात्रै हुँदैन ।  दुरी मात्रै दुर्गमको मापन यन्त्र हुन सक्दैन । चेतानाशून्य समाजमा आँगनकै सुविधा पनि प्रयोगमा आउँदैन । तसर्थ , पहुँच के हो - दुरी वा चेतना ? विचार गरौं ।

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा