पटुकाभित्रको सय रुपैयाँ ।

पटुकाभित्रको सय रुपैयाँ ।

एउटै संसारभित्र अनेक संसारमा अनेक मनुष्य बाँचिरहेका हुन्छन् । यहि विश्व त हो कतै रसिया युक्रेन युद्ध गरिरहेका छन् । कतै इजरायल प्यालेस्टाइन एक अर्कामाथि धावा बोलिरहेका हुन्छन् । कतै शीत युद्द चलिरहेको छ । टेक्नोलोजीको दुनियाँमा ए आइको प्रयोग अत्यन्तै बढेको छ । हाम्रै देशमा गणतन्त्र, राजतन्त्र आदि बहस भइरहेको छ । र यहि देशमा कतै कुनामा यी सबैबाट बेखबर व्यक्तिहरु आफ्नो दैनिक कार्यमा भुलिरहेका छन् । बिहान बेलुका छाक टार्नु नै उनीहरुको संसार हो । त्यस्तै मेरो लागि  अचेल सहिद गङालाल अस्पताल नै संसारमा सिमित भएको छ ।

यो अस्पतालको एमर्जेन्सीमा हरेक दिन भिड नै हुने गर्छ  । साँझपख एक जना ७६ वर्षीय वृद्ध आमा छाती दुखेर अस्पताल आइपुगिन् । नुवाकोटबाट त्यहाँ आइपुग्दा चार घन्टा मात्रै भएको रहेछ । चुरोट चाहिँ उनको प्रिय चिज रहेछ । आमाको लक्षण, इ सि जि आदि हेरिसकेपछि सक्दो छिटो मुटुको नशा चेकजाँच गरेर हेर्नुपर्ने देखियो ।  जसलाई "एन्जियोग्राफी" भनिन्छ । "स्टेन्ट " हाल्नुपरेमा "एन्जियोप्लास्टी" भनिन्छ ।  त्यसका लागि क्याथ ल्याबमा स्थानान्तरण गर्नुपर्ने हुन्छ । आफुले लगाइरहेका लुगा फेर्नुपर्ने हुन्छ । ती आमाले पटुका खोल्न पटक्कै मानिनन् । पटुका चरप्प कसेर बाँधेकी आमाले कसैलाई छुन पनि दिइनन् । त्यो सङ्घर्ष देखिरहेको थिएँ  ।  आमाले त्यस पटुकामा मुटुको टुक्राजस्तै गरी के लुकाएर राखेकी रहेछन् भनेर कौतुहलता बढ्यो ! बल्लतल्ल त्यो पटुका फुकाल्नको लागि राजी भइन् । त्यस पटुकामा बेरिएर राखेका केही सयका नोट रहेछन् । छोरा बुहारी कसैलाई पनि त्यो कुटुरो दिन मानेकी थिइनन् । हृदयघात भएर मुटु बिरामी परिसक्यो उनको मुटु भने त्यही पटुका र पटुकाभित्र अड्केको रहेछ ।

जसोतसो उनको अपरेशन सफल भयो । उनी केही दिनमा घर विदा पनि भइन् । तर अनेक प्रश्न र प्रश्नका उत्तरहरुको लागि त्यो पटुकाले घचघचाइरहको थियो । उनको सानो संसारमा केही सय रुपैयाँको नोटको महत्व कति विशाल रहेछ । कसैलाई त्यो हरियो नोटले केही महत्व राख्दैन । तर उनको लागि त त्यो ज्यानभन्दा पनि ठूलो रहेछ ! उनको त्यो पैसा कसैको  चिनो हुनसक्छ । नाति नातिनालाई चकलेट किनिदिने इच्छा हुनसक्छ । गाडीको भाडा हुन सक्छ । एउटा सिगरेट खान साँचेको हुनसक्छ । छोरा बुहारीमाथिको निर्भरतामा आफ्नै जिवनमा अत्याचार लागेको हुन सक्छ । आकास्मिक खर्चको लागि लुकाएर राखेको धन हुन सक्छ ।  उनले सधैं बाँचेको  परनिर्भर जीवनमा पनि केही न केही साँचेको  स्वतन्त्रताको झल्को खोज्ने प्रयास  हुनसक्छ । उनलाई आफ्नो मुटुको अवस्थाको प्रवाह थिएन । न उनको पटुकाभित्रको पैसाले त्यो मुटुलाई तङ्ग्राउने दम नै थियो ।

कसैले पटुका फुकाल्न नदिने संघर्षलाई छुच्चोपनको संज्ञा दिन सक्छ। तर उनले पैसा जुटाउनका लागि गरेको सङ्घर्ष  कसैले देख्दैन । आफ्नै इच्छालाई मारेर जोगाएको पैसा न हो । त्यो पटुकाले वास्तवमा सामाजिक सुरक्षा कमजोर हुनुको अवस्था जनाउँछ । जीवनभर दु:ख  गरेर राज्यलाई योगदान दिए पनि आकास्मिक अवस्थामा आफै बलियो नभए स्वास्थ्य , कानुनी , सामाजिक कुनै उपचार सम्भव हुन्न । स्वास्थ्य उपचार सरकारी अस्पतालमा निशुल्क हुनु अनिवार्य हो । त्यसको लागि राज्य बलियो हुन जरुरी हुन्छ । नभए ती आमाको पटुकाभित्र साँचेको एमर्जेन्सी टिकेट पनि लिन पुगनपुग हुने सय रुपैयाँले  सधैं खिसीट्युरी गरिरहनेछ । मुटु रोगको हकमा राज्यले राम्रो सुविधा दिएको कुरोमा दुईमत भने छैन । एक लाखसम्म खर्चलाई हाल बिमा भएको खण्डमा थप दुई लाखसम्म व्योहर्ने कुरा सकारात्मक नै मान्नपर्छ । यसको आर्थिक व्यवस्थाका लागि दीर्घकालीन अर्थनीति सरकारले लिएको होला भनेर आशा पनि गरौँ ।

अस्पतालबाट पनि केही नपुगेको रकममा आकस्मिक कोषबाट भर्पाइ गरेर डिस्चार्ज त भइन् । तर मुटुको लागि नियमित औषधि सेवन गर्न पटुकाको पैसो फुक्ला त ! वा ती हरिया नोटले  पुग्ला त! स्वास्थ्य बिमा गर्नको लागि सुझाव पनि दिइयो । जानुभन्दा पहिले ती आमालाई एउटा प्रश्न सोधेँ " त्यो पटुकाको पैसाले के गर्ने आमै ? "
उत्तर सपाट प्रष्ट भनिन्  " एक्लो छु । तलतल मेट्न पर्छ । सिगरेट किन्न पर्यो.......। "




Comments