Fever and misconception

मौसमी ज्वरो । 

राता राता रसिला आँखा  र नाकबाट पातलो सिङान  रसाउदै प्रबेश हुन्छ ओपिडिमा  एक ७ बर्षिय   बालिकाको ।  उसका  साथमा छन् बाबुआमा  ,दिदी र भाइ  ।  सबैका उस्तै समस्या ।  कोही खोक्दै त कोही नाक सुरुक्क तान्दै पुछ्दै ।  सबैजना खोकिरहेको आछ्यू गरेको देखेर स्वास्प्रस्वासबाट सर्ने रोगका असंख्य किटानु जिबाणुको कोठाभरि ब्रिष्टी सम्झिदा आँफैलाई त कतै समाउने हैन भन्ने पीर  लाग्छ सधैं ।  त्यो जोखिम र पीर देख्ने को नै होला र ! ति सबैलाई ज्वोरोले समाएको एक हप्ता भएको रहेछ ।    उपचार पनि एक हप्ताको नै ।  औषधी भने ट्याब्लेट देखी सबैको प्रचलित "सुइ"  प्रयोग गरिसकिएको रहेछ ।  के को सुइ सँग मतलब राख्दैनन्  बिरामी ।  लेखिएका पर्चा ल्याउने बानी नैँै छैन ।  औषधीको पुर्जा सजिलै बिर्सिन्छन् ।  त्यसमाथि सामान्य  मेडिकलबाट औषधीउपचारको प्रमाण लेखेर दिएको थाहा पाएको छैन मैले ।  अनुमान भने लगाउन सकिन्छ अचेल ।  उहि सर्बब्यापक यन्टिबायटिक ट्याबलेटमा  " सेफिक्जिम "  र सुइमा "सेफ्ट्रायक्जोन" ।  मसँग भने संस्थामा उपचारलाई  निशुल्कको नाममा सिटामोलको अन्तिम पातो ।  दुई चार दिनदेखि सिटामोल सकिने पुर्बानुमानले चिन्तित म ।  यो मौसममा सिटामोलको तुलनात्मक रुपमा  खपत बढी भएछ ।  अन्तिम पातो सिटामोलसंगै बिरामीको सत्तोसराप बढ्ने   निश्चित छ ।  हालको नयाँ सम्रचनामा औषधी स्थानिय तहबाट ततकालै के के जाती प्रकृया  पूरा भएर   प्राप्त हुने  छाट्काट देखिएको छैन । त्यो प्रकृया सकेर पुष महिनापछि  पाएर के गर्नु । 

ज्वरो  नघट्दा बिरामी चिन्तित ।  उपचार गर्ने स्वास्थ्यकर्मी र डाक्टर अझै बढि चिन्तित ।  बच्चाको हकमा भने निकै चिन्तित हुन्छन् अभिभाबक ।  जुन कुरा स्वाभाबिक पनि हो ।  त्यसैले सुरुमै उनिहरुको माग हुन्छ " डाक्साप ! सुइ लगाइदिनु न ।  "  बिरामीको लागि ज्वरो घटाउने  सुइ हो ।  चिकित्सकको धर्मले  दुई तीन दिनको अधिकाम्श मौसमी ज्वोरो रुघाखोकीमा सुइ प्रयोग गर्नु उपचारको प्रणालिमा फिटिक्कै नमिल्ने ।  के गर्नु ।  अचेल सुरुमै कडा मानिने यान्टिबियटिकको प्रयोग सामान्य भइसकेको  छ ।  अहिले ज्वोरोको प्रकोप नै छ देशभरि ।  र औषधीमा " सेफिक्जिम " र यजिथ्रोमाइसिन " आदि नामका यन्टिबायटिकको बढ्दो प्रयोग छ ।  औषधि कम्पनी त मलामाल नै होलान्  ।  तर यन्टिबायटिकको  प्रयोग  सही   भए नभएको एकीन खै कसले गर्ने हो ! कुन चाँहि किटानुहरु  मार्न खोजेको हो धेरैलाई थाहा छैन। अन्धाधुन्ध प्रयोग देखिन्छ यन्टिबायटिकको ।  सबैको रामबाण भनेको "ट्याबमा  सेफिक्जिम र इन्जेक्सनमा सेफ्ट्राय्क्जन ।  "  अलिकत स्पेसल   बन्न खोज्नेले "ट्याब सेफपोडोक्जिम र ट्याब लेभोफ्लोक्सासिन " प्रयोग गरेजस्तो देखिन्छ ।  केही थाहा नपाए सबैलाई यहि  औषधीको साहारा ।  दोष  कसलाई पो दिने ? स्वास्थ्यकर्मीलाई  दोष  दिने हो भने उनिहरुसँग बिकल्प केही छैन। राम्रोसँग कतैबाट निर्देशन दिएको भए पो मान्नु ।  त्यही पनि निर्देशनको कसलाई मतलब छ र ! मेडिकललाई दोष  दिने हो भने ब्यापारी नियतले चलेकोलाई कसरी पूरै नराम्रो पो भन्नु ! कमाउन बसेकोलाई त मौसमी ज्वरो दसैं आए सरह हो ।  तथापि  अन्धाधुन्ध यन्टिबायटिकको प्रयोग भने नियन्त्रण   कहाँबाट गर्नुपर्ने हो ।  त्यो निकायले  अलि  जाङर देखाउदा राम्रो हुने थियो ।  नभए त नेपालको गाउँ  गाउँमा शहर सहरमा कडा यन्टिबायटिकको  प्रयोग गरेर बम पड्काउने चलन ब्याप्त रहने भयो ।  आजलाई त ठीकै  देखिएला ।  तर भबिश्यमा कुनै  यन्टिबायटिकले  काम नगर्ला भन्ने डर हो ।  पछिको लागि भर्सेला परोस्  भने त के लाग्यो र। तर पनि कुनै जाँच  र विवेक  विना सबैलाई एउटै औषधी प्रयोग गरिनु कदापी उचित मान्न मिल्दैन र यो दुरुत्साहित नै हुनुपर्छ।

भ्रम सजिलै फैलिन्छ हावासरी  । ज्वोरो आउँदा  आत्तिनुलाई स्वाभाबिक मान्नुपर्छ ।  उच्च  ज्वोरो आउँदा बिरामी आत्तिएर मेडिकलबाट  औषधि  लिन्छन् ।  बाध्यता पनि हो ।  औषधी दिनेले पनि केही औषधी बिक्ने प्रलोभनले त केही यन्टिबायटिक प्रयोग नगरि ज्वोरो कम हुन्न भन्ने भ्रमले ।  जस्तो यन्टिबायटिकको   प्रयोग गरे पनि अहिले न्वारन गरिएको मौसमी ज्वोरो भाईरसले नै रहेछ भने त कत्ती काम गर्दैन ।  मनको सन्तोष मात्र न  हो ।  ब्याक्तेरिया नै रहेछ भने पनि कुन यन्टिबायटिकले काम गर्ने हो अत्तोपत्तो छैन ।  यही मौसमी ज्वरोमा   पत्ता लगाइएको "स्क्रब टाइफसमा " सबैले जतापनि चलाइरहेका रामबाणले पनि काम गर्दैन ।  यसलाई त " ट्याब डक्सिसाइक्लिन " राम्रो मानिन्छ ।  जुन औषधीको प्रयोग त्यती गरिँदैन ।  कुराको तात्पर्य के भन्दा हामी औषधीको प्रयोगमा  दिशाबिहिन छौँ भन्ने हो ।  आफ्नो मनमा लागेको ,आफ्नो अनुभवले र पहिलेका सिनियर डाक्टरको अनुभबमा हाम्रो चिकित्साबिज्ञान अडिएको देखिन्छ ।  न कि अनुसन्धानबाट प्रमाणित बिज्ञानमा । 

मानानीय स्वास्थ्यमन्त्रिज्युलाई त वीर अस्पातलमा टाइफाइड भनेर उपचार गरेर पछि स्वाइन्फ्लुको कारण पत्ता लाग्यो भने देशका दुर्गम भागमा रहेका ज्वोरोले प्रताडित धेरै बिरामीले टाइफाइडको उपचारका रुपमा " ट्याब सेफिक्जिम " र " ट्याब  यजिथ्रोमाइसिन " पाउनुलाई अन्यथा मान्न सकिने स्थिती पनि रहेन ।  देश गरीब भएर हो कि स्वास्थ्य प्रणालि  कमजोर भएर हो  अनुसन्धानका अाधारमा    औषधी चलाऊने बानी बिकास भएको पाइन्न  ।  धेरै यन्टिबायटिक सुनेका भरमा र कम्पनिको  प्रचारका अाधारमा     चलाऊने गरेको पाइन्छ   ।  अहिले ज्वोरो आएको बिरामीमा सुइ नलागाउने हो भने नजानेको डाक्टर भन्छन्   ।  अनी उतै मेडिकलतिर लम्किन्छन् बिरामी ।  यो सुइ प्रतिको मोह गहिरो छ बिशेषगरी गाउँ  गाउँमा ।  जे होस् सलामी पानी र सुइ अचुक औषधी हुन् ख्याती कमाउनलाई ग्रामीण  भेगमा । 

भाईरसले नै ज्वोरो आएको रहेछ भने पनि त्यसको रगतको नमूना   लिएर हुन्छ कि कसरी हुन्छ निर्क्यौल गरी बिशेष उपचारको       लागि सरकारले  देखिने गरी पहल गर्नुपर्ने हो ।  मौसमी ज्वोरो भनेर नामकरण गरेर मात्रै  पुग्ला र ? नभए  त त्यस्ता धेरै किसिमका किटानु  मार्ने यन्टिबायटिकको  (broad spectrum ) प्रयोग निरन्तर रहिरहन्छ ।  न बिरामीले जोखिम उठाउन चाहन्छ न त उपचारार्थ स्वास्थ्यकर्मीले ।  ढुक्क  नभएसम्म त सबैले रामबाण  चलाउने नै भए ।  त्यसैले अनुसन्धानका अाधारमा स्पस्ट  नीति   तथा निर्देशन हुनु अत्यन्तै जरुरी देखिन्छ ।  हालको अवस्थामा बिबेकपूर्ण तरिकाले औषधी प्रयोग गरौ भन्ने अभिलाषाका साथ अहिले भनिएको मौसमी ज्वोरो छिट्टै नियन्त्रण होअोस्  भन्ने मेरो  सदिक्षा  ।

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा