परपिडक कुर्सी ।

परपीडक कुर्सी । 

मान्छे त्यो बेलासम्म निरोगी हुन्छ जबसम्म रोग लाग्दैन । रोग लागेपछिको आर्थिक भौतिक र मानसिक तनावको अन्दाज आफै नपरेकालाई पटक्कै हुँदैन होला । हिसाबकिताबले चल्ने मान्छेले त्यो पीडा बुझ्नै सक्दैन । रोगले पहिले नै कसैलाई लोकसेवाकोजस्तो  सूचना दिएर आउँदो हो त तयारी गर्न हुन्थ्यो नि । पढ्दा पढ्दै आधा उमेर सकिसक्दा पनि स्थिर जागिरमा बस्न असमर्थ हुनुपर्ने   डाक्टरको एउटा सानो प्रसङ्ग जोड्न मात्र खोज्दै छु । प्रसङ्ग एउटा डाक्टरको तर समस्या भने सबैको। 

सरकारी कर्मचारीतन्त्रको कत्ति हेक्का नभएकालाई मन्त्रालय रणभुल्ल हुने स्थान हो । सायद मन्त्रालयका भित्ताहरु सधै रुन्छन् होला । सोझा मान्छेलाई घुमाउने र पिल्सिने कृयाकर्म देखेर । किनभने भित्ताले  गतिला प्रशासकको फोटोको स्पर्श विरलै पाउँछ होला  । एउटा भर्खर कन्सल्टेन्ट तह उतिर्ण गरेपस्चात कागजपत्रहरु बोकेर निन्याउरो अनुहारमा एक डाक्टरको प्रवेश हुन्छ । 
पास भएपछि मुहारमा उज्यालो देखिनुपर्ने । तर मलिन छ अनुहार । त्यो मलिनताका पछाडि कारण अस्पतालमा रोगसँग सङ्घर्ष गरिरहेकी उनकी आमा हो । न उनले सोचेका थिए न त उनको परिवारले नै त्यो बज्रपात ।

 रक्तकोषिकाहरुको एकाएक बहुलठ्ठीपनले अनावश्यक रक्तकोषिकाहरु उनको आमाको शरीरमा नचिरहेका छन्् । बेलाबखतमा रगत कम भएर दु:ख दिन्छन्   । हरेक दिन रातो रगत र  सेतो रगत जुटाउनु नै महाभारत हुन्छ ।  रक्त कोषिकाहरु टुक्रिनु रगतको दैनिकी जस्तै हो  भने रगत खोज्न हिड्नु  उनको दैनिकी बनेको छ अहिले  । केमोथेरापीको झिनो आशले रक्त क्यान्सरलाई परास्त गर्न सकिने विस्वास लिएका छन् । त्यसैले उपचार हुन सम्म काठमाडौँमा नै कुनै अस्पतालमा  पोस्टिङ् गर्ने आग्रह गरेका हुन् । न कि कुनै रहरले । आफ्ना मान्छेलाई गुमाउन कसले चाहन्छ र ।  रक्तक्यान्सरको उपचार राजधानी बाहिर नहुनुमा उनको के दोष  र ! स्वास्थ्य सेवाको  विस्तार भाषणमा मात्रै सिमित हुने हाम्रो देशको राजनितीले प्रशंसनीय फड्को मार्ला भन्ने आश मात्रै हो । राज्य नै मेडिकल क्षेत्रबाट मुनाफाको लागि र्याल काड्नेको हितैषी भएको आरोपमा डा के सि अन्सन बस्न बाध्य हुनु लज्जास्पद नै हो । 

सायद मन्त्रालयको प्रशासनिक कुर्सिमा आसिन्न दिग्गजहरुलाई रोगको कुनै अनुभुती नै छैन । कागजका जोरजाम गरेर नै बित्ने रहेछ । रकमी कागजलाई शिरोपर गरि द्रुत कार्य गर्ने  र बाँकी कागजलाई प्रकृयाको लामो लाइनमा अनुशासित गर्ने संस्कार बसेको माहोलमा उदारपन र सिष्टाचार अपेक्षा गर्नु उचित नहोला ।  त्यसैले त कति कठोर स्वरमा उनको मनोबल गिराउने शब्द बोल्ने गर्छन् । त्यसमाथि  बलिदान फिल्मको डायलगलाई आधुनिक बनाएर भावानात्मक अड्चन थप्ने " तपाइँलाई कुरेर कति आमाहरु बसिरहेका होलान् ? उनिहरुको उपचार गर्नुपर्दैन । " आमाको उपचारको लागि सहज हुने जायज कारण देखाउँदा पनि करारको केही अवधि काठमाडौँमा गर्छु भन्न नपाउने ? आफू लायक नभएपनि अरुलाई आदर्शको सिद्धान्त छाँट्ने मान्यजनसँग प्रतिवाद गर्न उनले रुचाएनन् । अस्थिर मनले एकाग्रता गुमाएपछि उपचार उत्कृष्ट गर्न सकिन्न भन्ने कुरा कसरी बुझाउनु  ! एक मनले  यो सोच्न पनि बाध्य भए " कस्तो जागिर हो त यो ? आफ्नै मान्छेलाई खाँचो पर्दा पनि उपस्थित हुन नसक्ने ? " । त्यो कुर्सिमा मानवता नदेख्दा अचम्म मान्नुपर्ने अवस्था भने थिएन । सुन्दै आएको कुरो प्रत्यक्षदर्शी भएको मात्रै हो । पहिले मतलब हुन्थेन अहिले आफैलाई पर्दा चित्त नबुझेको न हो ।  त्यो व्यवहार सामान्य परम्परा होला भनेर माने सोझो मनलाई अनावश्यक तनाव लिन पर्दैन । कुर्सी दोषी हो कि व्यक्ति दोषी हो । त्यो कुर्सिमा बसेपछि व्यवहारको हावापानी नै परिवर्तन हुने रहेछ । " आमाको उपचार गर्न किन बस्नुपर्यो ? त्यो त साथी भाइलाई भने भैहाल्यो । " यो वचनले उनलाई सुइले रोपेभन्दा तीखो  बिझ्यो । वश चल्ने हो भने तु देश छोड्ने इच्छा जाग्छ ।  के सरकारी सम्यन्त्र सबै नातावाद कृपावादले मात्रै टिक्न र झेल्न  सकिने हो त ? भनिदिने मान्छे भए जसो भन्यो त्यस्तै हुने। नहुने हो भने पेलिनुपर्ने । त्यही स्थानमा पहुँचवालाको समस्या हुन्थ्यो भने काम नै छिटो छरितो र बोली पनि मसिनो हुन्थ्यो होला हगि !

 त्यसैले त त्यो कुर्सिलाई नाम दिएको छु " परपिडक कुर्सी " ।  प्रशासनिक कडकपनकामा केही मात्रा मानवता र बुझाक्कीपनको मिठास मिसिएको भए कति जाती हुन्थ्यो होला । विवेक पनि जागोस् भन्ने सदिच्छा मात्र त गर्न सकिने होला । कोभिडले रण्भुल्ल पारेको मन्त्रालयमा एउटा आवाज विहिन पीरमा परेको डाक्टरको कुरो सुन्ने को होला र !! ढिलोचाँडो मीठो वा नमिठो समाधान  निस्किनु छ नै । जस्तो भएपनि  उनलाई प्रकोप नै पर्ने त हैन । अप्ठेरो मात्र हुने हो ।  कथा प्रसङ्ग एउटा डाक्टरको मात्रै भनेर आत्मविलाप गरेको  हैन । सबैको समस्या हो भन्दा गलत दाबी हुँदैन होला ।  यस्ता प्रसङ्ग हाम्रो दैनिकी हुनुबाट कहिले छुट्कारा पाइने हो र थितिले बेथितिलाई विस्थापन गर्ने हो भन्ने अहम् प्रश्न हो । उदाहरण सानो झिनोमसिनो भएपनि संस्कार झल्किन्छ, सोच प्रष्टिन्छ  ,कार्यशैली उदाङ्ग हुन्छ । जस्तो शासक उस्तै प्रजा,  जस्तो प्रजा उस्तै शासक । 

राजनैतिक नियुक्तिले कुर्सिमा बस्न पुगेकाहरु जनता भन्दा राजनीतिका बफादार हुनु स्वभाविक हो ।  स्वार्थपूर्तिका कार्यका लागि हस्ताक्षर बलिया  हुन्छन् भने उचित कुरालाई हस्ताक्षर निरीह हुन्छन् । जसरी ती डाक्टरको समस्यामा हस्ताक्षर लचिलो हुन सकेनन् । सानादेखि ठुला कुरामा  राजनैतिक दबाब , पार्टीको भक्ति वा रकमको खेलो नै चाहिने ? त्यसैले त सबै ठाउँबाट यो बन्द हुनुपर्छ । सबै नियुक्तिमा हिसाबकिताब हुने परम्पराले जगतको भलो जति हुनुपर्ने हो त्यसको एक छेउ पनि हुन सक्दैन । कसैले तर्क गर्ला आफुले भनेको मान्ने कर्मचारी हुँदा काम गर्न सजिलो हुन्छ । तर आदेश दिनेको मनमा हरिको बास पनि त हुनुपर्यो !!

Comments

Popular posts from this blog

अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!

मृगौला रोगको एउटा गोठालो यात्रा

बाटो बिराएका रोगहरु ।