अ....क्सि ......ज....न......

अ....क्सि......ज..........न .......

कोभिडको आँधी यस्तो वेगले फैलिएको छ कि त्यो वेग थेग्ने सामर्थ्य कुनै मनुष्यको छ जस्तो लाग्दैन । हरेक व्यक्तिको परिवारमा कोहि न कोहीलाई त्यो आँधिले रुमलेको होला । फोनले विश्राम पाएको रेकर्ड छैन । " अक्सिजन कम भयो । बेड छ ?""  आइ  सि यु को व्यवस्था गर्न सकिन्छ ? "  यस्ता अनगिन्ती कलहरुले फोन व्यस्त हुने गर्छ । नचिनेको नम्बर त उठाउन पनि डर लागेर आउँछ । 

कोभिड भाइरसले शरिरमा यस्तो उत्पात गर्छ कि शरीर पुरै अक्सिजनको भोको हुन्छ । अनेकौं दृश्यमध्य एक दृश्यले मानसपटल केही दिन सम्म रिगाइरहन्छ मलाई । एक २५ वर्षको पुरुष कोभिडसँग जुधिरहेका  छन् । उनले श्वास तान्न नसकेको पीडा कस्तो हुँदो होला जब अगाडि देख्ने डाक्टर नर्सलाई त्यो दृश्य  देखेर पीडा हुन्छ । यस्तो देखिन्छ कि केही कुराले श्वास पुरै खिचेर बाहिर  लैजाँदै छ।  स्वासको लागि छट्पटिरहेको दृश्य । केही कुरा भन्ने प्रयास गरिरहेका हुन्छन् उनी। तर शब्द पनि पूरा गर्न नसक्ने हुन्छन् । गा ……………र्हो .......भ.............यो ............. बा...........बा ...............

सायद यमदुतहरु प्राणवायु खिच्ने प्रतिस्पर्धामा छन् । यसो खिच्न खोज्छन्  यमपासमा खिया लागेर हो कि अड्किन्छ । न पुरै श्वास बन्द हुन्छ । न श्वास पुरै रहन्छ । केही सेकेन्डमा फेरि लामो श्वास आउँछ । अनि त्यो श्वास फेरि सतही हुन्छ ।  अक्सिजन एकैपटक २० प्रतिशतमा झरेर जान्छ । र फेरि अक्सिजनको मात्रा बढाउँदा केही बढेजस्तो हुन्छ । ६० प्रतिशत पुग्छ ।  घोप्टो सुताउँदा कति गार्हो हुन्छ होला ।  तर घोप्टो नसुती कुनै उपाय नै छैन । अक्सिजनको मात्रा केही बढेर जान्छ । केही  आशा पनि बढेर जान्छ। तर ७० प्रतिशत भन्दा उकालो लाग्दैन ।  अनि फेरि घटेर जान्छ । राम्रो सँग घोप्टो सुताउन सक्दैनन् उनका बुवाले । त्यसैले म आफै होम्मिन्छु । जबर्जस्ति घोप्टो बनाउँछु ।  जति प्रयास गर्दा पनि बढ्ने केही उपाय देख्दिन म । 

बा..........बा ................म ............बाँच.............दिन ..........त्यस्तो अक्सिजन नपुग्दा पनि होश भने पूरा छ । कस्तो निर्दयी कोभिड । लाग्छ कि यसपटक त संसारको अक्सिजन पुरै सक्ने दाउमा छ। र अक्सिजन खपत यस्तो बढेको छ कि कुन बेला " सिस्टम फेल" हुन्छ भन्ने डर छ । 

आइसी यु मा भेन्टिलेटरमा राख्न  सकिन्छ कि भनेर बेडको लागि फोन गर्छु । तर कतै उपलब्ध हुँदैन । म बिरामीको बुवालाई निरिहताका साथ भन्छु " माफ गर्नुहोला । मैले तपाइँको छोरालाई बचाउन सक्दिन आज । म प्रार्थना मात्रै गर्न सक्छु । " पीडाले रन्थनिन्छन् उनी । मान्छे असल रहेछन् " डाक्साप । मैले तपाइँलाई के भनम्। हामी सबै निरीह छौँ । "  यतिन्जेल कयौं कलहरु आइसकेछन् । फोन हातमा लिन नपाउँदै एउटा कल आउँछ । एकदमै मिल्ने असल साथीको फोन हुन्छ । फोन उठाउन नपाउँदै हतास स्वरमा भन्छ  " साथी । आमालाई आइ सि यु नै चाहिने भयो । के छ ?  खाली भयो कि नाइ  । "  म केही बोल्दिन । बस नेट्वोर्क समस्याको भान परोस् भनेर मौन रहन्छु । अर्को वार्डमा भर्ना गरेर राखेको दुई दिन भएको थियो । 
अर्को कल आउँछ "  डाक्टर। जति गर्दा पनि बेड न. ७ को स्याचुरेसन् ४० पर्सेन्ट छ । " 

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा