काउकुती ।

भैरहवाबाट फर्किँदै थिएँ । घरमा एउटा सानो काम थियो । कोभिडले कन्तविजोग पारेको बेलामा त्यो यात्रा गर्नु पटक्कै मन थिएन । तर जीवन स्थिर त रहँदैन । विभिन्न आयामहरुलाई सन्तुलनमा राख्न सक्नु नै जीवन जिउने कला हो । सामाजिक सन्तुलन ,  भावानात्मक सन्तुलन र कार्य सन्तुलन सबै मिलाउनु कुशलता हो । त्यसमा सकेसम्म चुक्न नचाहने मलाई कोभिडले चुक्ने मौका दिन खोजेको थियो । 

पानी सिम सिम परिरहेको थियो । म एयरपोर्टको टर्मिनलमा थिएँ । फ्लाइट ढिला हुने निस्चित थियो ।  एक घण्टा अगाडि नै पुगेकोले मलाई समय कटाउन निकै मुस्किल हुँदै थियो । फोनमा चार्ज खपत कम  गर्नुपर्ने  हुनाले गेम्स आदि खेल्न पनि सकिन । एकाएक म बसेको सिट अगाडि एउटी सुन्दर नानी बसिन् । मिलेको जिउडालमा लाम्चो लाम्चो अनुहार भएकी ती नानीको अनुहार कता चिनेजस्तो लाग्यो । कतै पहिले भेटेको जस्तो लाग्यो । कुनै सूक्ष्म  आत्मीयता भएको अनुभव भयो । मलाई उनले आकर्षण गरिन् कि उनको उपस्थितिले भन्ने कुरामा दुबिधा थियो । जे होस्  उनको उपस्थितिले मनमा संगीत भर्दछ । गित भर्न बाँकी रहेको मीठो  संगीत । वरिपरि अरु पनि राम्रा युवतीहरु थिए । उनले नै किन आकर्षित गरिन् त ? यसको उत्तर अर्धचेतन मस्तिष्कको गहिराइमा होला ।  

 हेर्दा कम बोल्ने देखिन्थिन्  । मास्कले मुख छोपेको थियो । नयनहरु आकर्षक नै देखिन्थे । त्यो पूर्ण अनुहार हेर्न मन लागिरहेको थियो । त्यो मास्क पछाडिको अनुहारको कल्पना गर्दै थिएँ । अनायास बोल्न मन लाग्यो । केही कुराकानी गर्ने प्रयास गर्दै थिएँ । तर अन्जान मान्छेसँग नबोल्ने कसम नै खाएकी हुन् जस्तो भान भयो । वातावरण सहज बनाउने प्रयास गर्दै थिएँ । अलि अलि बोल्दै थिइन् । उनलाई घुम्न मन पर्ने रहेछ । ट्रेकिङ आदिमा रुचि रहेछ । बेलाबेला मुसुमुसु हाँस्ने पनि गर्थिन् । ओठमा मुस्कान फिँजारिदा अझै राम्री देखिन्थिन्  ।  अल्पभाषी हुनाले धेरै कुरा थाहा हुन सकेन । तर मेरो मनले केही कुराहरु आँकलन  गरिसकेको थियो । 

मेरो फ्लाइट छुट्ने बेला भएछ । माइकिङ हुन्छ " श्री एअर लाइन्सको उडान न. ६७८ बाट काठमाडौं तर्फको  उडानको लागि पाल्नुहुन अनुरोध गरिन्छ । " 
उनको बुद्ध एयरको फ्लाइट रहेछ ।  हातमा  समाइरहेको टिकेटबाट थाह पाएँ । मलाई भने बुद्ध एयरको टिकेट नकाटेकोमा पछुतो भइरहेको थियो । अझै केही ढिला भए त अझै खुसी हुने थिएँ त्यो बेलामा। यत्तिकै बोल्न गएकोमा उनले भने कस्तो पातकी  केटा रहेछ भनेर सोचिन् होला ।  

फोन न. माग्नै आँटेको थिएँ । उनको मामा टुप्लुक्क आइपुगे " भान्जी । फ्लाइट हल्का ढिला हुने भयो । " उनका मामा फिल्मको खलपात्रजस्तो महसुस भयो त्यो क्षण  । तर गन्तव्य त एउटै हो भनेर मनलाई आफ्नै विचारले  सुम्सुम्याउँछु । उतै फेरि भेटाउनेछु भन्ने आशा पलाउँछ । 

बाइ बाइ पनि भन्न मन थिएन । फेरि भेट्ने जो इच्छा थियो । समयको इच्छाको अगाडि कसको के लाग्छ र !! मन नलागी नलागी म  उठेर लाइनमा लामबद्ध भएँ । तर चुम्बकले तानेजस्तो म उनीतिर खिचिएको थिएँ । लाइनको पनि अन्तिममा बसेँ । कसैले ध्यान दिएर हेरेको भए लाग्थ्यो होला कि म जत्तिको धिरजवान मनुष्य नै छैन । वास्तवमा मेरा पाइला नै अघि सर्न कत्ति मानिरहेका थिएनन् । 

सिट न.०७ मा बसेँ । प्रिय अंक परेछ ।  कोभिडको भाइरस त्यहाँ भित्र हावामा छ कि भन्ने निकै डर थियो । हातमा स्यानिटाइजर खन्याएर हात धुने त बानी नै परिसकेछ। साइडमा बसेको केटाले भाइजर नलगाएकोमा खुब रिस उठिरहेको थियो । विमान परिचारिका पि पि ई लगाएर ओहरदोहोर गर्दै थिइन्  । उसले नलगाएको भाइजर पनि लगाएको देखिन् जस्तो लाग्यो। केही नबोलेको हुनाले । 

उनलाई फेरि सम्झेँ । अनि रिस पनि शान्त भयो । एउटा मनोवाद सुरु भयो,"  म यत्तिकै उनीसँग आकर्षित भएको हो । पहिले नभेटेको मान्छेसँग एक घण्टामा कसरी आकर्षण हुन सक्छ ।  समयले जम्काभेट त गरायो । तर फ्लाइट फरक परेर बाटो छुट्टिसक्यो । उनलाई म बाट भने उम्केको जस्तो भएको थियो । भेट गर्नमा कत्ति रुचि  थिएन सायद ........ । " 

विमान उड्ने वेला हल्का झड्का महसुस भयो । पहिले पहिले हुन्थेन त्यस्तो । तब ३५ मिनेटको यात्रा तय गर्नुपर्ने थियो । कोभिडले गर्दा विमानमा पानी र पि नट्स पनि बाँड्न वर्जित गरिएको रहेछ । 
"कस्तो न्यास्रो यात्रा । " भनेर मनमनै सोच्दै थिएँ  ।  भगवानले सुनेछन् सायद,   विमान त हल्लिन पो थाल्यो । यात्रामा रस भर्नको लागि त्यो इच्छा त गरेको थिइन । विमान दायाँ बायाँ  तल माथि हल्लेको हल्ली गर्छ । यस्तो लाग्यो कि त्यो  आकाशको बाटोमा पनि खाल्डा रहेछन् । देवताहरुका कर्मचारीले बाटो बनाउँदा  पनि घुस खाएछन् । कलियुगको आकाशमा खोट नहोला भन्न पनि सकिएन । 

मौसम खराबीका कारण विमान हल्लिन गएकोले धैर्य धारण गर्न माइकिङ भयो । सबैजनाको मुटुले ठाउँ छोडिसकेको थियो । आकाशमा भित्ता र भिर नहुनाले विमान कतै ठोक्किन्न  भनेर मनलाई शान्त बनाउन खोजेँ । तर पहाडहरु सम्झेर मनको शान्ती भङ्ग भयो । वास्तवमा भन्नुपर्दा त्यस्तो झड्का कहिल्यै महसुस भएको थिएन । सायद जिवनको अन्तिम नै त्यही दिन थियो कि भन्ने धेरैलाई पक्कै लागेको होला । मलाई पनि त्यस्तै लाग्यो । विमानबाट त कोही पनि सकुशल फर्किन्न भन्ने समाचारहरु झल्यास्स याद हुँदा मनोभाव अझै  कहालीलाग्दो भयो । 

त्यो डर मैले पहिले कहिल्यै महसुस गरेको थिइन । मनुष्यलाई मृत्युसँगको  डर हुन्छ कि जिवनका इच्छाका पोकाहरु पूरा  नहोलान् भन्ने डर हुन्छ भन्ने नजिकबाट अनुभुति गर्दै थिएँ । मलाई केवल याद आयो " परिवार र उनको । " मात्रै एक घण्टा भेट भएको र म प्रति अनुराग नभएको मान्छे त्यो बेलामा सम्झिनु अनौठो लाग्यो ।"  शिवोहम् " जप्दै थिएँ ।  १५ मिनेटजतिमा विमान शान्त भयो । बाहिर बादलहरु पनि शान्त भएछन्  । पवन पनि शान्त भएछ सायद । त्यो समयमा मनमा विचारहरुका धेरै ज्वारभाटाहरु उम्रिएका थिए । आफूभित्र नियाल्न मनुष्यलाई परिस्थितिले धकेल्नुपर्ने रहेछ । नभए त शरीर र मस्तिष्क अहम् को थुप्रो त हो । उनलाई पनि बेला बेला सम्झिरहेँ । बिर्सिन खोजेँ । तर जबर्जस्ति बिर्सिन सकिन । त्यसैले विचार रोक्ने प्रयास गरिन । उनलाई मैले चिनेको पनि थिइन । एक पटक साक्षात्कार  गरेको भरमा मलाई उनको अनुभुतीले सताइरहेको थियो । काउकुती पनि लगाइरहेको थियो । अनौठो काउकुती । हर्मोनशास्त्रलाई दोष दिन मन लाग्यो । तर मनमा  कुविचार भने कत्ति थिएनन् । 

विमानबाट ओर्लिएपछि यताउता हेरेँ । उनी कतै देखिन्छिन् कि भन्ने आशमा । सुस्त सुस्त गेट बाहिर निस्किँदै थिएँ । सरसामान लिने ठाउँमा एक नजर लगाएँ ।  तर उनले कतै दर्शन दिइनन् । त्यसपछि  ट्याक्सी खोजेँ । भैरहवामा जस्तै पानी सिम सिम परिरहेकै थियो । भैरहवा र काठमाडौंको पानी पार्ने बादल दौँतरी रहेछन् कि । 

  ट्याक्सीमा बसेपछि घरमा कल गर्छु भनेको घरबाट नै कल आयो । सकुशल भएकोमा ढुक्क हुनुभयो । आकाशको रौद्र स्वरुपसँग डराउनै पर्यो । मोबाइल निभ्न लागेको चेतावनी दिन लागिसकेको थियो । नेट चलाउन आफ्नै कोठामा पुग्न पर्ने भयो ।

 उनले त मलाई खोज्ने सम्भावना न्यून थियो । तैपनी एक पटक त सम्झिन् कि भनेर मनको  एउटा  कुनाले आश भने गरेको थियो । आफुले चाहेजस्तो आंकलन गर्ने मानवीय स्वाभाव नै हो ।   उनलाई त्यो जबर्जस्तीको सानो भेटले जबर्जस्त असर त पक्कै पारेन होला । तर त्यो  पुर्व अनुमान गरेर बस्नु निष्क्रियता हो भन्ने  ठानेँ । उनको मनको कुराको अन्दाज गरेर फैसला मैले आफै किन गर्नु !   

एक क्षण राम्रोसँग विचार गरेँ । उनलाई खोज्ने निर्णय गरेँ । कुनै कुरामा धेरै जोड गर्नु पर्यो भने सधैँ समयले   न्याय गर्छ भनेर कुरा टार्दिने गर्थें । त्यो बेला भने मैले उनलाई खोजेर समयलाई न्याय गर्छु भन्ने लाग्यो ।  जिवनमा कसलाई भेटिन्छ भन्ने कुरा समयले निर्धारण गर्छ । तर  जिवनमा को  रहिरहन्छ भन्ने व्यवहारले निर्धारण गर्छ । त्यसैले मलाई अलि सक्रिय हुन मन लाग्यो । 

आफू भित्रको त्यो अनौठो काउकुतिलाई शान्त पार्नु थियो ।  कतै उनको मनमा पनि काउकुती लागेको भए भनेर कस्तो आशा गरेको मेरो मनले !  नलागेको भए पनि पछि आफैलाई देखेर प्रयास गरेकोमा खुसी नै लाग्नेछ भन्ने सोचेँ । त्यसैले धेरै महिनादेखि निष्क्रिय रहेको  इन्स्टा खोलेँ । नाम त मैले टिकेटबाट  सम्झिसकेको थिएँ ।  र  "सर्च" गरेँ  ...... .....। 

Comments

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।