सोफामा एक महिना ।
.....................
स्वास्थ्य मन्त्रालयको प्रशासन शाखा बाहिर सेवाग्राहीको लागि भनेर एउटा सोफा राखिएको छ । पहिले पहिले काठको कुर्सी हुन्थ्यो । अचेल भुइँ भित्ता र फर्निचर सबै उन्नत भएछन् । समग्र देशको स्वास्थ्य मात्रै होला उन्नति नभएको ! एउटा उपन्यास हातमा लिएर बसेको छु कुर्ने समय बिताउनलाई । दुई चार पाना पढ्छु ।
फेरि भित्र हेर्छु । कतै मेरै काम पो गर्न लागेका छन् कि भन्ने आशमा ! तुकविना कुर्नु निकै पीडादायक हुन्छ । त्यो छट्पटी काम गर्न नपाउँदा खट्पटी हुने व्यक्तिले राम्ररी बुझ्न सक्छ । सधैंजस्तो कर्मचारी आउनेजाने क्रम चलिरहन्छ। कसैका हातमा फाइल छन् । कसैका हात रित्तो छ । चिनेको कोहि छैन । सबैका घाँटीमा परिचयपत्र झुन्डिएको छ । त्यसले नाम, वतन र पोस्टको परिचय आधिकारिक दिन्छ । तर व्यवहारको परिचय भने दिँदैन त्यसले ।
त्यस्तैमा एक जना चिनेजस्तो लाग्ने भर्खर जुँगाको रेखी बसेको दुब्लो जिउडालको युवक मेरो नजिक आइपुग्छ । मेरो छेउमा बस्न इशाराले अनुमति माग्छ । र थचक्क बस्छ । म चिन्न सक्दिन उसलाई ।
बोल्न सुरु गर्छ " दाइ । मलाई हजुरले पक्कै चिन्नुभएन । म हजुरको छिमेकी कृष्ण अन्कलको छोरा हुँ । म यसो बुझ्न आएकोमात्रै हो । अनि हजुर किन यहाँ यसरी उपन्यास पढ्दै हुनुहुन्छ त । " बल्ल चिनेँ अमर रहेछ भनेर । धेरै वर्षपछि भेट्दा खुसी लाग्छ ।
अमरको ठाउँमा अरु कोही भएको भए घाउमा नुन छर्किएकोमा मलाई रिस उठ्ने थियो । तर दुख प्रदायक मन्त्रालयको रिस निर्दोष भाइलाई पोख्न उचित मानेन मेरो विवेकले ।
म भन्छु " उपन्यास पढ्नु मेरो सौख हो । काम नहुँदा समय बिताउनलाई पढ्ने कोसिस गर्छु । छोटकरीमा भन्दा मेरो जागिर नै यही हो। हा ....
...हा...... । " उ पनि गलल्ल हाँस्छ ।
तर उसलाई चित्त नबुझेजस्तो भावमा उत्तर दिन्छ " दाइ! तपाईंले त एम डि पढिसकेको हैन र । त्यस्तै सुनेको थिएँ । तपाईं यसरी दिउँसो सोफामा बसेर उपन्यास पढेको त खासै राम्रो मानिन त । "
मैले भनेँ " पढेको हैन, अमर । पढ्नुपरेको हो समय कटाउनलाई । "
भाइले अझै देश बुझ्न फुर्सद पाइसकेको रहेनछ भन्ने लाग्छ मलाई । मोटो मोटो चस्मा लगाएको र शिरपाउ हुलिया हेर्दा नै सबैको मानसिक शब्दकोषमा रहने पढन्तेको परिभाषा हुबहु मिल्ने रहेछ । सानो छँदा पनि उस्तै पढाकु नै थियो । किताब र पुस्तकालयबाट फुर्सद भनेको अन्तर्राष्ट्रिय फुट्बल खेल हेर्न मात्रै निकालेको हुनुपर्छ। हुन त देशको समाचार सुनेर हर्ष हुने ठाउँ पनि त हुनुपर्यो ।
मैले जवाफ दिएँ , " पढेर मात्रै कहाँ हुन्छ र । पढ्नु र प्रयोगमा ल्याउनुमा भिन्नता हुन्छ ... " मेरो फोन आउँछ । साथीको फोन रहेछ। अचेल कता काम गर्दै छु भनेर बुझ्नलाई फोन गरेको रहेछ । मैले हेल्थ पोस्ट सरहको प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्दै छु भनेर भनेको भाइको ध्यानमा परेछ । त्यसैले उसले जिज्ञासाले सोधिहाल्छ, " दाइ ! तपाइँले अहिले के काम गर्नुहुन्छ त हेल्थपोस्टमा "
मैले भने, " भाइ! पढेको पनि हो । एम् डी उतीर्ण गरेको पनि हो । जात्रा नै छ यहाँ ...... " म बीचमै रोक्किन्छु । ऊ विस्मयमा पर्छ ।
उसलाई धेरै कुरा भन्न मन हुन्छ । पुरै दिनचर्या नै भन्न मन हुन्छ । तर त्यो भनेर के नै उपलब्धी हुन्छ र ! बिहान १० बजे प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्छु । हाजिर गर्छु । मन नलागी नलागी ओ पि डि को भाँचिन लागेको कुर्सीमा बस्छु। साथमा अर्को एम बि बि एस् सकेर छात्रवृत्ति बोन्ड पूरा गर्न बसेको भाइ पनि बस्छ । एक आपसमा भलाकुसारी गर्छौँ । नाक कान घाँटीका र छालाका बिरामी धेरै आउँछन् । बालबच्चा र स्त्रीरोगका बिरामी पनि हुन्छन् । मैले पढ्न त फिजिसियनको काम गर्ने भनेर पढेको हो । तर ती सबै बिरामी हेर्छौ । वास्तवमै हेर्छौँ मात्रै । खासै केही गर्न सक्दैनौं ।
आफूले पढ्दाबेलाको कार्य सम्झेर अहिले दिक्दारी हुन्छ । ती अधिकांश बिरामी नि:शुल्कमा सप्लाई हुने सिटामोल , खोकीको झोल आदि लिने मनसायले आएका हुन्छन् । टेस्ट गर्न पैसा हुन्न । टेस्ट पनि उपलब्ध छैनन् । औषधि किन्न पैसा छैन । स्वास्थ्य सामाग्री मागफारममै सिमित हुन्छन्। खरिद गर्न बजेट हुन्न । डाक्टर सर्वसुलभ हुनु स्वास्थ्य क्षेत्रको प्रगति र भाषणसामग्री होला भनेर निर्क्यौल गर्छौं ।
यति धेरै कुरा भन्न मन लागेपनि मुस्कान फिँजारेर " म हाजिर गर्छु भाइ " भनेर चुप लाग्छु। उसले केवल मुस्कान मात्रै देख्छ । मनभित्रको दु:ख कसले नै देख्छ र !
उसले हाँस्दै भन्छ " दाइपनि मजाक गर्नुहुन्छ । "
मैले हाँस्दै भन्छु " मजाक त मेरो भैरहेको छु । म के मजाक गर्न सक्छु र , अमर बाबु । स्थानीयमा समायोजन भएको डाक्टरले जुन लेभल पढेपनि फर्केर त्यही हेल्थपोस्टमै काम गर्नुपर्ने बाध्यता छ । अहिलेको कानूनले फुकाउँदैन रे । केवल जाक्दिन्छ तर फुस्किन दिन्न । चक्रव्युह नै हो । त्यसैले अस्पतालसम्म गएर बिरामी हेर्न पाइने केही उपाय बुझ्न भनेर समय समयमा मन्त्रालय धाउने गर्छु। सचिवदेखि सुब्बासम्मलाई घुमीघुमी भेट्ने काम गर्छु। मलाई फनफनी घुमाइरहन्छन् नि त । बुझ्यौ ।४ कि मि मा जिल्ला अस्पताल छ हालै ५० बेडमा स्तरोन्नति भएको । तर मलाई त्यहाँ गएर काम गर्न पनि मिल्दैन रे " उसले सबै कुरा नबुझेपनी बुझेजस्तो गरि टाउको हल्लायो ।
उसले भन्छ " दाइ । मेरो नाम छात्रवृत्तिमा एम बि बि एस् मा निस्केको छ । अब मैले के के ध्यान दिनुपर्छ भनेर हजुर सँग सल्लाह गर्न आएको हो । हजुर स्वास्थ्य मन्त्रालयको कुरुवा कक्षमा भेटिनुहुन्छ भनेर थाह पाएर आएको हुँ । "
म सोध्छु, " तिमी पक्कापक्की छौ यो विषय पढ्नलाई ? भविष्यमा के आश गरेका छौ नि । "
उसले भन्छ " हजुर दाइ । डाक्टर बन्ने ठूलो रहर हो । नेपालमै बस्ने र राम्रो गर्ने हो । "
फेरि पनि भन्न त मन हुन्छ " पढ्नु राम्रो नै हो । रहर पनि राम्रो हो । तर यहाँको सिस्टमले तिमीलाई आजित बनाउँछ । पलायनको मानसिकता विकास हुन्छ नै । रहर पनि कहर बन्न सक्छ । देशमा केही राम्रो गर्ने मन पनि कुन्ठित हुन्छ ।
पढेर सकेपछि यस्तै मन्त्रालयमा घनचक्कर खानुपर्छ । तिम्रो सम्मान कसैले गर्दैनन् । आदर्श मात्रै छाँट्छन् । मन्त्रालयका भित्ता कुर्सिहरु नै यो दैनिक चर्तिकला देखेर दयावान हुन्छन् होला । तर मन्त्रालय हो कि दु:ख दिने यन्त्रालय हो । यो अरुलाई दुख दिएर नै सुखभोग गर्छ............. ! " तर केही भन्दिन ।
मनकै कुरो सुनेजस्तो गरी हठात् उसले भन्छ " छोड्दिनु न त यो जागिर । टन्टै साफ"
मैले भन्छु, " हो बाबु । राम्रो आइडिया दियौ "
भावनात्मक बाटो जुन देख्दा राम्रो देखिने र सुन्दा राम्रो सुनिन्छ, त्यस्तो बाटो पहिल्याउन सकेकोमा उसलाई तारिफ गर्नै पर्यो । अध्ययन गरेको पाँच वर्ष पूरा नगरी नेपाल सरकारले अगेनाको खरानीसम्म खोजेर तिराउँछ भनेर भन्दा उसको कलिलो मस्तिष्कले नबुझ्ला भनेर भनिन ।
देशलाई त होनहार चिकित्सकको सधैं आवस्यक्ता छ । यस्तो पढ्न नै रुचि भएको र देशको सेवा गर्ने मनसाय भएको भाइलाई सत्यतथ्य भन्नुहुँदैन । देशलाई घाटा हुन सक्छ । सबै भन्न लागेका कुराहरु मनमै खर्लप्पै निल्छु । त्यसैले भन्छु " बधाइ छ भाइ । राम्रोसँग पढ । निरन्तर पढ । स्वागत छ। "
कुरा गर्दैगर्दा सचिवसँग भेट्ने समयको जनाउ घडी बज्छ ।
यस्तो दुख दिने यन्त्रालयलाई मन्त्रालय बनाउने कामपनि तिम्रै जिम्मेवारीमा पर्यो। तिमी यो दिन नबिर्सिनु। सम्झाउनपरे त्यो कुर्सिमा कुरेरै बसौला।।।
ReplyDeleteहस दाजु । सम्झिरहन्छु ।
Delete