कोभिड खोप किन नलगाउने ?



स्नातकोत्तर अध्ययनपस्चात प्राथमिक स्वास्थ्य केन्द्रमा समायोजन भएको हुनाले त्यहाँ काम गर्न  गएको  थिएँ । कोभिडको भ्याक्सिनको कार्यक्रम राखिएको समय  परेछ । आफू नयाँ भएको हुनाले त्यहाँको वातावरण बुझ्ने कोशिसमा थिएँ ।  स्नातकोत्तरको अध्ययन पश्चात् प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्न बाध्य हुनु राज्यको लागि नै जनशक्ति सदुपयोग नहुनु हो । न आएका बिरामीलाई रोगको वास्तविक निदान गर्न सकिन्छ न त भर्ना गरेर उपचार गर्ने संयन्त्र  नै हुन्छ । भ्याक्सिन, जुकाको औषधी आदि रोग निवारण गर्ने  कार्यका निम्ती भने उपयोगी हुन सक्ला ।  म कार्यरत स्वास्थ्य केन्द्रले पनि ठुलो भुभागलाई सेवा दिनुपर्ने हुँदा भ्याक्सिन नपुगेर रोइलो हुने अनुमान गरेको थिएँ । तर आशाभन्दा विपरित हुन पुग्यो । 

टन्टलापुर घाममा वडा वडाका जनताहरु  भ्याक्सिनको लागि दर्ता गरेका छन् । लामबद्ध लाइन लगाएर भ्याक्सिनको पालो कुर्दै छन् । एक आपसमा भलाकुसारी गर्दै छन् । भ्याक्सिनका बारेमा सुनेका सत्य असत्य कुराहरु भनिरहेका छन्  । " चाइनिस भ्याक्सिन हो । डुप्लिकेत  हुन्छ । कसलाई पता छ  ! " भ्याक्सिनले प्यारालैसिस गर्छ रे । भ्याक्सिनको काम छैन । भ्याक्सिन एक्स्स्पेरिमेन्ट गरिरहेछन् " आदि  मनगढन्ते कुराहरु चर्किँदै थिए । यसै पनि ३५० जनालाई लगाउन मिल्ने गरी आएको भ्याक्सिनले यति धेरै मानिसहरुलाई कसरी पुर्याउने होला भनेर चिन्तित थिएँ म । तर आश्चर्य ,बल्लतल्ल ९० जना जति मात्रै पुगे ।  जनतामा खबर नपुगेर कार्यक्रम त असफल हुने भयो भनेर सबै महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई फोन गर्न थालियो । सबैको एउटै उत्तर " सर। सब डराइरहेछन्। जति बुझाउन खोज्दा पनि बुझ्दैनन् । " एक त सेवाग्राही नै कम देखिए । त्यसमाथि लाइनमा एक अर्का विचमा भएका मनगढन्ते कुराहरुले धेरैलाई भड्काउने काम गर्यो । त्यस्ता कुराहरु गर्ने व्यक्तिहरुलाई बोलाएर सम्झाउन पनि खोजियो । सबैले जानेसुनेको महाराजगन्ज टिचिङमा हुँदासम्म त मैले  भनेका कुराहरु मान्छेले  विश्वास गर्थे । त्यहाँ त मैले भनेका कुरामा विश्वास नै गरेनन् । ठाउँको प्रभावको पहिलो अनुभव भयो । व्यक्ति त उहि नै हो , ठाउँ फरक भयो । जनतामा बसेको ठुलो ठाउँ र सानो ठाउँको छापको असर हो भनेर चित्त बुझाएँ ।  र विश्वासको जरो पनि कम हुनु स्वभाविक नै हो । 

भ्याक्सिन निशुलक प्राप्त गर्न पाउनु नै भाग्य हो ।निशुल्क प्राप्त भएको भ्याक्सिन हुँदा त भ्याक्सिन लगाउने नलगाउने जनमानसमा दुविधा छ भने शुल्क लिएर लगाउन पर्ने भए त उपस्थिति शुन्यसरह नै हुन्थ्यो होला । हुन त शुल्क तिरेको सक्कली र निशुल्कको जिनिस नक्कली भन्ने आशंका पनि हुन सक्छ ।  कोभिडको उपलब्ध जुनसुकै भ्याक्सिन लगाउँदा नगन्य बेफाइदा होला ।जस्तै: ज्वरो आउने, शरीर गलेजस्तो हुने, एलर्जी  हुने, खोपेको ठाउँमा दुख्ने सुन्निने  । कसैलाई भ्याक्सिनको एलर्जी भएर सिकिस्त पारेको इतिहासमा रहेछ भने पनि विशेष निगरानिमा लगाउन सकिन्छ । जो कोहिलाई पनि एलर्जी हुन सक्ने हुनाले र भएको खण्डमा उपचारका निम्ति औषधिहरु तथा चिकित्सकको विशेष निगरानी हुने हुँदा भ्याक्सिन लगाउनु नै बुद्धिमता हो । त्यसमाथि कोभिड  भ्याक्सिनको प्रभाव भने निकै राम्रो रहेको विभिन्न अध्ययनले देखाएका छन् । भ्याक्सिन लगाएर हुने जोखिम नलगाउदा हुने कोभिडको जोखिम भन्दा निकै कम रहेकोले भ्याक्सिन लगाउन विशेष जोड गर्नुपर्ने हुन्छ । 

सुरुसुरुमा मानिसहरु खोप लगाउन निकै डर मान्ने गर्थे । विफरको खोप लगाउदा मान्छेहरु भाग्ने गर्थे ।  हाम्रो देशमा धेरै वर्षको परिश्रम पस्चात खोप कार्यक्रमले राम्रो सफलता हासिल गरेको देखिन्छ । बच्चालाई खोप लगाउन पर्छ भन्ने चेतना विकास भैसकेको र मनमस्तिष्कमा  नामेट भैसकेको छ । यद्यपि पूर्ण खोप सम्भव नहुनुमा अशिक्षा, गरिबी, चेतानाको कमि र  भौगोलिक विकटता नै रहेका छन्  । समाजको शिक्षाको अवस्थाले चेतनाको स्तर झल्किने गर्छ । अशिक्षा र गरिवी स्वास्थ्यको पहुँच र चेतनासँग अन्तरसम्बन्ध राख्ने गर्छ ।

स्वास्थ्य शाखाका कार्यहरु बुझेर योजना बनाउन स्वास्थ्यकै जानकार व्यक्तिलाई दिनु उत्तम हुन्छ । सबै कुरा बाटो खनेजस्तो हुँदैन । सधैं बाटो बनाउने र  पिच गर्नेमै स्थानीय निकायहरुको ध्यान गएकोले स्वास्थ्य सेवामा चौतर्फी फड्को मार्न नसकिने हुन सक्छ । स्थानीय तहका जन प्रतिनिधिहरुले कमसेकम कार्यरत चिकित्सकको कुरा सुनेर योजना बनाउने भए कति जाती हुन्थ्यो होला ! विडम्बनाको कुरा । स्वास्थ्य क्षेत्रमा कार्यसम्पादनका लागि  मन फुकाएर काम गर्ने वातावरणको कमी देखिन्छ । योग्यता अनुसार काम गर्न र यथोचित सुविधाहरु नपाउनुले तिक्तता जम्मा हुने गर्छ ।  जसले गर्दा चिकित्सकमा राष्ट्रबाट नै पलायनको मानसिकता बढ्दो छ । जसलाई अस्वभाविक मान्न पनि सकिन्न । 

कोभिडको भ्याक्सीन लगाउन आनाकानी  गर्नु बुद्धिमानी पटक्कै हैन। अब कोभिडको प्रकोप बढ्दै जाने अवस्यम्भावी छ । त्यसैले मास्क लगाउने ,हात धुने , भ्याक्सिन लगाउने कामहरु अनिवार्य रुपमा गर्नुपर्छ । चिउडोमा मास्क लगाउनु फेसन हुन सक्ला । तर कोभिड्बाट सुरक्षा हुन सक्दैन । भ्याक्सिन नलगाएर कोभिड हौवा हो भनेर खोक्रो फुर्ती झार्ने काम मात्र हो । तर कोभिड लागेर  बाँच्न मुस्किल भएको  अनुभव जानाजान खोज्नु मुर्खता नै हो । भ्याक्सिनका सम्बन्धमा अफवाह फैलाउने कामले जन सहभागिता कम देखिन्छ । त्यस्ता कुराहरुको पुष्टि सामाजिक सन्जालमा खोजेर भन्दा   चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । भ्याक्सिन लगाऔँ , सचेत नागरिकको धर्म पालन गरौं । 

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा