धामीले अस्पताल नजानुभन्दा ।


धामिले अस्पताल नजानु भन्दा । 

एउटै समयमा फरक फरक चेतना , फरक फरक आर्थिक अवस्था, फरक पहुच फरक बुझाइका कथाहरु देख्ने मौका सायद सबै चिकित्सकलाई हुन्छ होला । कतै एक पटक हाछ्यु आउँदा डाक्टर खोज्दै दौडिने व्यक्तिहरु छन् भने सोही समयकालमा महिनौंसम्म बिरामी हुँदा पनि अस्पतालको छाया पनि पर्न नहुने मानसिकताका व्यक्ती पनि छन् ।  बेलाबखतमा दुर्गम जिल्लाबाट सल्लाह गर्न फोन आउने गर्छ मलाई । अन्दाजी पाँच वर्षको बालक निकै सिकिस्त अवस्थामा अस्पतालको एमर्जेन्सी विभागमा आइपुग्छ । उसका बाबुले बिरामी भएको १ महिनामा अस्पताल ल्याउने कष्ट गरेकोमा आस्चर्य मान्ने कि टिठ मान्ने भन्ने दुविधा थियो । 

आश्चर्य मान्ने हो भने अचेल स्वास्थ्य संस्था नभएको कुनै जिल्ला नगरपालिका, गाउँपालिका छैन होला । स्वास्थ्यका चेतनामूलक चेतावनी र जानकारी नपुगेको कुनै क्षेत्र छैन होला । तर पनि अन्धविश्वासलाई चिर्ने गरी मन्जुश्रीको खड्ग जस्तो कुनै उपाय सुझेनछ अहिलेसम्म । वास्तवमा भन्नुपर्दा चेतनाको विकास शताब्दी पछाडी पर्नुलाई टिठलाग्दो अवस्था नै मान्नुपर्छ । 

एक महिना पुगेछ बच्चालाई ज्वरो आएको । तर हरेक दिन धामीको शरणमा जाँदै गर्दा आयुका रेखाहरु छोटिदै गएको पत्तो पाएनछन्। अन्त्यमा जब बच्चाको होस नै गुम्ने अवस्थामा पुग्छ । तब बल्ल अस्पतालको शरणमा आइपुग्छन् ती निर्दोष बालकका अज्ञानि बाबुआमा । एमर्जेन्सिमा आइपुग्दा निकै सिकिस्त देखिन्छ । स्वासको गति निकै बढेको छ । पसिना पसिना छ । ज्वरो रन्किएको छ। सरिरमा अक्सिजनको मात्रा निकै कम छ । एक्स रे गरेर हेर्दा दायाँ फोक्सोमा पुरै पानी जमेको देखिन्छ । सुइले पानी निकाल्न खोज्दा पुरै पिप निस्किन्छ । सहज अनुमानले त्यो क्षयरोग हुने सम्भावना देखिन्थ्यो । एक महिनासम्म फोक्सोको बहिरी झिल्लीमा पिप जमेर बसेको त्यो बालकलाई बचाउन निकै मुस्किल हुन्छ । त्यो पिप सकेजती निकाल्ने कोशिश गरिन्छ । यस्तो बेलामा पाइप छिराएर पिप निस्किन दिन पर्ने हो । तर त्यस्तो किसिमको पाइपको अभाव हुन्छ । हेराहेर्दौ आफ्नो अगाडिको त्यो बालकको अवस्था ओरालो लाग्छ । उसका आयुका अन्तिम पल नजिक आइपुग्छन्। न त कुनै एन्टिबायोटिकले नै काम गर्ने समय छ ।  न त त्यो रोग पालेर छिप्पिएको अवस्थामा पिप निकाल्ने प्रयासले पिप कम भएर नै ज्यान जोगाउन सकिने अवस्था छ । त्यो ब्याक्टेरियाको संक्रमण शरीरभरी फैलिएर धेरै अंगहरुलाई अपुरणिय क्षति पुर्याइसकेको छ । यो सब हुनुको जड समस्या के हो त ? म एक क्षण घोत्लिन्छु । त्यो दुर्गम डोल्पाबाट फोनमा भएको सरसल्लाहमा त मलाई यति विक्षिप्त बनाउछ भने उपचारमा प्रत्यक्ष सम्लग्न ती डाक्टरको मन कति कुडिएको होला । 

अर्को विस्मयपुर्ण कुरा के भन्दा एक हप्ता अगाडि मात्रै त्यो बालकको दिदिको यहि कारणले मृत्यु भएको थियो । दुवै पटकमा अस्पतालमा आउँदा निकै ढिलो भएको देखिन्छ । धामिले अस्पताल कुनै हालतमा जान नहुने सल्लाह दिएको कारणले समयमा उपचारबाट बन्चित ती कलिला बालबालिकाको आत्माले कसरी शान्ति प्राप्त गर्ला त । 

त्यो फोक्सोमा जमेको पिप अन्धविस्वासको पिप थियो । रोग फोक्सोमा भन्दा पनि चेतनामा लागेको थियो । रोगी चेतनाले गर्दा  त्यस्ता पिपहरुले  महिनौँसम्म शरिरमा आस्रय पाउनु  अस्वभाविक हुन सक्दैन । समाज,  शिक्षा , स्वास्थ्य सबै क्षेत्रलाई त्यो बालकको फोक्सोमा जमेको पिपले प्रश्न चिन्ह गरिरहेको थियो,  " के मलाई निकाल्न सक्दैनौ ? " । त्यो बालकको अन्तिम इहलिला सम्पुर्ण स्वास्थ्य, शिक्षा र समाजका लागि व्यङ्ग्यको क्षेप्यास्त्र भन्दा कम थिएन । 


 अन्धविश्वास निकै अन्धो हुन्छ । अरुले प्रदान गरेको दृष्टिले पनि देख्दैन । ज्ञानको उज्यालोले अन्धविस्वासको अन्धकार भेदन गर्न शताब्दी लाग्न सक्छ । त्यसैले अन्ध विस्वास हटाउन अन्ध विस्वासमा विस्वास गर्ने व्यक्तिहरुभन्दा अन्धविस्वासलाई प्रश्रय दिने जड व्यक्तिमा धामी झाक्रीजस्तालाई चेतना दिने कार्यक्रम सशक्त गर्दा फलदायी हुने थियो । परम्परामा विस्वास लाग्छ र तोड्नै सकिन्न भने पनि अस्पताल जानै हुन्न भनेर त कम सेकम कसैले नभनिदिएमा राम्रो हुन्थ्यो । जस त अस्पताल र डाक्टरले नपाउलान् । तर समयम  उपचार प्राप्त गर्न सकेमा ज्यान जोगिने आश त हुन्थ्यो । 

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा