मणिग्राम चोकमा दुई संसार ।

 छिटो र ढिला उठ्नु पनि सापेक्ष कुरा हो । हस्पिटल जान नपरेको दिन ९ बजे पनि छिटो हुन्छ । ल्होसारको विदाको दिन मस्त सुत्ने मौका मिल्यो । त्यो दिन घाम पनि राम्रो लाग्यो । मन पनि रमाइलो, दिन पनि घमाइलो । तर आजको दिन  घमाइलो हुने संकेत देख्दिन ।  बिहान ढिला उठ्छु । घडीले ८ बजाउनै आँटेको रहेछ । पर्दा उघारेर हेर्दा बाहिर त हुस्सु नै हुस्सु हुन्छ। फेरि सुतिरहन मन लाग्छ । तर मलाई सुत्ने सुविधा थिएन । त्यो बेला घरको कोठाभित्रै बसेर काम गरेर जागिर खान मिल्ने साथीहरूको खुब ईर्ष्या लाग्छ । जसोतसो उठेर नित्यकर्म गर्छु । 

खान पकाउन पनि ढिला भएको थियो । मनमा भने दुविधा भयो - सार्वजनिक बस चढ्ने कि बाइकमा अस्पताल जाने । त्यो हुस्सु देखेर त बसमै जान मन लाग्यो । तर खाना खाएर निस्किदा घडिले ९ बजाइसकेकोले बसमा जान ठिक लागेन । १० बजे त ठ्याक्क पुग्नुपर्यो । समयलाई सम्मान गर्न सकिएन भने समयले आफ्नो सम्मान गर्दैन भन्ने कुरामा मेरो विस्वास छ । त्यसैले बाइक स्टार्ट गरेँ । हातमा पन्जा लगाएँ । ज्याकेट लगाएँ । टोपी लगाएँ । हेल्मेटको सिसामा रहेको शीत पुछेँ । मनमा लाग्दै थियो म कुनै युद्धका लागि तयार हुँदै थिएँ । हुन त युद्ध नै थियो , जाडो हावा र हुस्सुसँग । 

हुस्सुले गर्दा केही देखिन्न । मोटरसाइकल र गाडीका अगाडीका बत्ती  बलेको देखिन्छ । पुरै हुस्सुमय हुन्छ  बाटो । आफ्नो अगाडिको केही मिटर बाटो बाहेक टाढाको दृश्य सबै ओझेलमा हुन्छन् । ५-६ किलोमिटर पछि चस्माभरी शित पर्छ । अगाडि केही देखिन्न । बाइक रोक्छु । चस्माको शीत पुछेर हेर्ने प्रयास गर्छु । अलि दृस्य बढ्छ । हेल्मेटको सिसा पनि पुछ्दै सोच्छु - यो हुस्सु त चसमिसहरुको दुश्मन नै रहेछ । सुस्त सुस्त चलाइरहेको हुँदा बाटोमा दृश्यहरु नियाल्ने फुर्सद पनि हुन्छ । 

बाटोको छेउमा केही व्यक्तिहरु आगो बालेर ताप्दै हुन्छन् । जाडोले थुरथुर गर्दै शरीर खुम्चाउँदै कामिरहेका छन् ।  । आगोको अगाडि हात सेकिरहेका छन् । पन्जाभित्र पनि चिसो लागिरहेकोले हातमा  आगोको ताप पर्न पाए मेरा हातका औंलाहरुले कति चयन मान्थे होला भनेर सोच्छु  । तर त्यो समय मसँग थिएन । 

फेरि बाइक स्टार्ट गर्छु ।  गति बढाउन डर लाग्छ । कतै हुस्सुभित्रबाट कुनै गाडी, व्यक्ति वा जनावर टुप्लुक्क अगाडि आइपुगे भने ठोक्किएर बित्यास पर्ला भनेर गति मध्यम राख्छु । स्कुल पोशाकमा भारी झोला बोकेर स्कुल बसको  प्रतीक्षामा कुरिरहेका विद्यार्थी देखिन्छन् । मलाई मेरो विगतको याद झलझली दिलाउँछन्। कुनै बेला म पनि यस्तै हुस्सुका विचमा स्कुल बस कुरिरहेको हुन्थेँ । फरक त केवल समयको हो । उनीहरु भविष्यको कल्पनामा पढिरहेका होलान् । म विगत सम्झेर रमाइरहेको छु । उनिहरु आजको होमवर्क बिर्सेको सम्झेर डराइरहेका होलान् । म दिनभरी पट्यार लाग्दो ओ पि डि को भिड सम्झेर पट्यार मानिरहेको छु । तर बाटो त त्यही नै हो । म अहिले  कार्यस्थलतर्फ । उनीहरु भविष्यको बाटो कोर्न स्कुलतर्फ । 

हुस्सुले फेरि चस्मा समात्छ। फेरि रोकिएर पुच्छु । यस्तैगरी ४ पटक रोकिन्छु । हुस्सुको महिमा चस्मा लगाउनेले बढी बुझ्ने पक्कै हो । कपडा मज्जाले लगाएको हुनाले चिसो भने महसुस हुन्न। तर घुडामुनि भने चिसो महसुस हुन्छ। त्यो Wind Sweater जस्तै जाडोको लागि Leg Sweater खोज्नुपर्ने टड्कारो पर्यो । थर्मोले मात्रै युद्ध लड्न सकिने रहेनछ । 

बाटोमा कुकुरहरु पनि हुस्सुमा रणभुल्ल परेका हुन्छन् । विचराहरुको त लुगा पनि छैन ।  त्यो चीसोमा कठ्याङृदै गड्यौलोजस्तो भएर बाटो छेउमा   सुतिरहेका हुन्छन् । हुन त प्रकृतिले जाडोमा चिसोबाट बच्न कुकुरको शरीर रौँमय बनाएको  हुन्छ । तर प्रकृतिले चिसोबाट बच्न पुग्नेगरी मनुष्यलाई रौँमय बनाएको हुँदैन । त्यसैले त होला " सप्तरीमा चिसोबाट दुई वृद्धको मृत्यु । " भनेर समचार सुनिने । प्रकृतिले त कसैलाई लाखापाखा गर्दैन । । एउटा राम्रो ज्याकेट, सिरक किन्ने क्रयशक्ति वा इच्छाशक्ति नहुनु कसको दोष होला त ? 

बाटोमा चारपाङ्रे गाडीहरु पनि गजक्क परेर कुदेका छन् । गाडीलाई शितले माया गरेपनि भित्र बस्नेलाई जाडो नहुने । चारपाङ्ग्रे भित्र सवारी हुनेलाई बाहिरको हुस्सुले असर  गर्दैन । त्यो हुस्सुले गाडीको गतिमात्रै कम गर्ने  त होला । अरुलाई नभए पनि चस्मा लगाउनेलाई त चारपाङ्रेको आवस्यकता राम्रै रहेछ भनेर ज्ञान हुन्छ । 

प्रकृतिले लाखापाखा गर्दैन भनेर सोच्दै हुन्छु । मणिग्राम चोक आइपुग्छ । घामका किरण देखेर छक्क पर्छु । रमाइलो लाग्छ । हुस्सु पनि निकै पातलो हुन्छ । मिठो हावा चलेको हुन्छ। सुर्यले आफ्नो उपस्थिति बेजोड जनाउने संकेत देखिन्छ । त्यसपछी त चस्मा पुछन पनि रोकिनुपर्दैन । घामले बुटवलसम्म पुग्दा त ढाडमा न्यानो हुन्छ । लगाएको कपडाभित्र उकुसमुकुस हुन्छ । त्यो leg sweater को इच्छा पनि हराउँछ ।  बाटोमा रोकिएर साइलेन्सरको तातो हातमा सेक्ने दयापुर्ण कार्य पनि सम्झनामा रहन्न । मणिग्राम चोक त दुई सन्सार छुट्याउने सिमाना रहेछ । लाग्छ दुईटा देशको सिमानामा घाम र हुस्सुले आ-आफ्नोतिर पहरा दिइरहेका छन् ।  प्रकृतिले अन्याय गर्दैन भनेर कसरी भन्ने ? 

ठ्याक्कै दस बजे ओ पि डि को कुर्सीमा बस्छु । ज्याकेट खोल्छु । अनि मोबाइलमा scroll गर्छु । नेपाल टेलिकमको संदेश आएको रहेछ " तपाइँको डाटा प्याक सकिन लागेको छ । "   कस्तो संयोग !!  सुरुमै दुईटा समाचारको हेडलाइन्स देख्छु - १.  " चिसोको कारण कपिलवस्तुमा  एक वृद्धको निधन । " २. सवारीसाधनको  भन्सारमा १०० प्रतिशत वृद्धि । " 

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा