अनौठो आकर्षण

उसलाई देख्न त १ वर्ष अगाडि नै देखेको हो । फेसबुक पेजमा । त्यति बेला नै अनौठो आकर्षण भएको थियो । सितिमिति कसैको प्रोफाइल नहेर्ने मैले उसको प्रोफाइल हेर्न भने १ घण्टा खर्च गरेकी थिएँ । तर कहिल्यै प्रत्यक्ष नभेटेको हुनाले रिकुएस्ट पठाउन भने सकिन । त्यसपछी त्यो आकर्षण एकाएक सेलायो र मानसपटलबाट पनि हरायो । जीवनका मोड परिवर्तन भए । पढ्न थाले म । 

लगभग एक वर्ष पछि फेरि सामाजिक सन्जालमा आँखा डुलाउने क्रममा उसैलाई देखेँ ।फेरि किन हो उसको प्रोफाइल हेर्न मन भयो । एउटा अनौठो आकर्षण भयो । म आफैलाई विस्वास भएको थिएन  । मलाई त्यति सजिलो गरि आकर्षण कसैप्रती हुदैनथ्यो । र गर्व पनि लाग्थ्यो मायाजालमा नफसेकोमा । देवदासको स्त्री रुप नभएकोमा बडो घमण्ड थियो । तर यो मनुवा कहाँबाट फेसबुकमा देखा पर्यो । र मेरो चयन चोरेर मानसपटलमा राज गरिरहेको छ । 

यो सब नैसर्गिक आकर्षण मात्रै हो । वास्ता नगरेमा हराउँदै जान्छ भनेर सोचेकी थिएँ । जसलाई Infatuation भनिन्छ । प्रेम भन्ने कुरो देख्दैमा पर्ने कुरा हैन । त्यो फोटो देखेर बसेको आकर्षण ठीक हुन सक्दैन । त्यसैले वास्ता गर्दिन भनेर अठोट गर्छु । 
अठोट बरफजस्तै रहेछ मेरो । उसको अस्तित्वको सम्झना हुने बित्तिकै  केही क्षणमा पग्लिने । र पुनः उसकै ध्यान गर्ने । 

कुनै बेला लाग्छ मलाई समयले बदला लिन खोजिरहेको छ । कति केटाहरु मेरो पछि लागेर कुरा गर्न खोज्थे । कति जनालाई मैले सोझै अस्विकार गरेँ । कतिलाई मीठो भाषामा अस्विकार गरेँ । कतिलाई उत्तर नदिइकन केही नबोली अस्वीकार गरेँ । ती सबैजनाले मलाई सराप नै दिएका थिए कि । कुनै बेला म पनि उस्तै एकोहोरो आकर्षणमा परेर त्यो भाव बुझ्न परोस् भनेर । जे होस् म बुझिरहेकी थिएँ यो मन कस्तो बैरि हुन्छ भन्ने कुरा । 

ऊ मेरो कल्पनाको राजकुमारजस्तो लाग्छ मलाई । सबै कुरा मिलेको । ह्यान्ड्सम , शान्त, शालीन र विलक्षण । मैले एक पटक पनि नभेट्दै उसको जादुले मलाई वसिभुत गर्दै थियो । उसको स्केच निकै मन पर्छ मलाई । उसका स्केचहरु निकै राम्रा हुने । त्यही देखेपछी मेरो मनमा एउटा बटन थिचिएको थियो । आकर्षणको वटन । त्यो आकर्षणको तापक्रमले मेरो मन उकुसमुकुस भएको थियो । त्यसैले मलाई सबैभन्दा मन पर्ने र विस्वास गर्ने दाइलाई नभनी बस्न सकिन । त्यसैले एक दिन आँट गरेर भनेँ । तर नाम भनिन । कुरा गर्दागर्दै दाइले नाम पनि पत्ता लगाउनुभयो । अनि जिस्काउन थाल्नुभयो । केटा असल नै छ भन्ने थाहा भएपछि उ सँग कुरा गर्ने मन भयो । 

उसलाई फ्रेन्ड रिकुएस्ट पठाउन पनि मैले ठूलो आँट गरेकी थिएँ । मेरो अहमले कदापी मानिरहेको थिएन ।  मेरो जिवनको एउटा मात्रै व्यक्ती ऊ नै हो जसलाई मैले आफै फ्रेन्ड रिकुएस्ट पठाएकी थिएँ । 

त्यसपछी त मैले हरेक दिन उसको स्टोरी हेर्न लागेँ । मैले पनि हरेक दिन केही न केही स्टोरीमा राख्न लागेँ । मेरो एउटै ध्याउन्न हुन्थ्यो कि उसले मेरो स्टोरि हेर्यो कि हेरेन । हेर्यो भने केही प्रतिक्रिया नदेखाएकोमा खुब रिस उठ्थ्यो । र अहिले पनि  उठ्छ ।

 फेसबुकमा कुराकानी औपचारिकतामा मात्रै सिमित हुनाले केही प्रगती होला भन्ने आश नै छैन । केटीको स्वभाव नै लजालु । मलाई पनि लाज लाग्छ । उसैले कुरा गरे हुन्थ्यो जस्तो लाग्छ । उसलाई पनि मप्रती आकर्षण भए हुन्थ्यो जस्तो लाग्छ । तर उसका उत्तर निकै छोटा हुने गर्छन् । म चाहन्छु कि उसको कुरा विवेचनात्मक प्रश्नको उत्तरजस्तै लामो होस् । तर उसको कुरा केवल संक्षिप्त उत्तरमै सकिन्छ । जसरी उ मेरो सपनामा आउँछ । त्यसरी नै उसको सपनामा म प्रवेश गर्न पाउने इच्छा भैरहन्छ । 

एक पटक भेटेर कुरा गर्ने धोको पूरा होला भन्ने आशमै महिना बितिसक्यो । तर पूरा हुन सकेको छैन । दिनमा एक पटक भएपनि उसको बारेमा नसम्झेको दिन छैन । दाइसग भेट्दा उसको बारेमा कुराकानी भैरहन्छ । दाइले त सिधै कुरा गर्न भन्नुहुन्छ । तर मलाई आँट छैन । र  डर पनि लाग्छ - केही गरी उसले मलाई अस्विकार गर्यो भने । अप्राप्तिको पीडा सहने आट छैन । त्यसैले त भाग्यकै भरमा उसको चियोचर्चा गरी बसिरहन्छु । 

 

Comments

Popular posts from this blog

अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!

मृगौला रोगको एउटा गोठालो यात्रा

बाटो बिराएका रोगहरु ।