विवाह संस्मरण- काउकुतीदेखि विवाहसम्म ।




(पढ्दा धैर्यता राख्नुहोला! विषय लामो रहेको चेतावनी  )                            

काउकुती                                          

भैरहवाबाट फर्किँदै थिएँ । घरमा एउटा सानो काम थियो । कोभिडले कन्तविजोग पारेको बेलामा त्यो यात्रा गर्नु पटक्कै मन थिएन । तर जीवन स्थिर त रहँदैन । विभिन्न आयामहरुलाई सन्तुलनमा राख्न सक्नु नै जीवन जिउने कला हो । सामाजिक सन्तुलन ,  भावानात्मक सन्तुलन र कार्य सन्तुलन सबै मिलाउनु कुशलता हो । त्यसमा सकेसम्म चुक्न नचाहने मलाई कोभिडले चुक्ने मौका दिन खोजेको थियो । 


पानी सिम सिम परिरहेको थियो । म एयरपोर्टको टर्मिनलमा थिएँ । फ्लाइट ढिला हुने निस्चित थियो ।  एक घण्टा अगाडि नै पुगेकोले मलाई समय कटाउन निकै मुस्किल हुँदै थियो । फोनमा चार्ज खपत कम  गर्नुपर्ने  हुनाले गेम्स आदि खेल्न पनि सकिन । एकाएक म बसेको सिट अगाडि एउटी सुन्दर नानी बसिन् । मिलेको जिउडालमा लाम्चो लाम्चो अनुहार भएकी ती नानीको अनुहार कता चिनेजस्तो लाग्यो । कतै पहिले भेटेको जस्तो लाग्यो । कुनै सूक्ष्म  आत्मीयता भएको अनुभव भयो । मलाई उनले आकर्षण गरिन् कि उनको उपस्थितिले भन्ने कुरामा दुबिधा थियो । जे होस्  उनको उपस्थितिले मनमा संगीत भर्दछ । गित भर्न बाँकी रहेको मीठो  संगीत । वरिपरि अरु पनि राम्रा युवतीहरु थिए । उनले नै किन आकर्षित गरिन् त ? यसको उत्तर अर्धचेतन मस्तिष्कको गहिराइमा होला ।  


 हेर्दा कम बोल्ने देखिन्थिन्  । मास्कले मुख छोपेको थियो । नयनहरु आकर्षक नै देखिन्थे । त्यो पूर्ण अनुहार हेर्न मन लागिरहेको थियो । त्यो मास्क पछाडिको अनुहारको कल्पना गर्दै थिएँ । अनायास बोल्न मन लाग्यो । केही कुराकानी गर्ने प्रयास गर्दै थिएँ । तर अन्जान मान्छेसँग नबोल्ने कसम नै खाएकी हुन् जस्तो भान भयो । वातावरण सहज बनाउने प्रयास गर्दै थिएँ । अलि अलि बोल्दै थिइन् । उनलाई घुम्न मन पर्ने रहेछ । ट्रेकिङ आदिमा रुचि रहेछ । बेलाबेला मुसुमुसु हाँस्ने पनि गर्थिन् । ओठमा मुस्कान फिँजारिदा अझै राम्री देखिन्थिन्  ।  अल्पभाषी हुनाले धेरै कुरा थाहा हुन सकेन । तर मेरो मनले केही कुराहरु आँकलन  गरिसकेको थियो । 


मेरो फ्लाइट छुट्ने बेला भएछ । माइकिङ हुन्छ " श्री एअर लाइन्सको उडान न. ६७८ बाट काठमाडौं तर्फको  उडानको लागि पाल्नुहुन अनुरोध गरिन्छ । " 

उनको बुद्ध एयरको फ्लाइट रहेछ ।  हातमा  समाइरहेको टिकेटबाट थाह पाएँ । मलाई भने बुद्ध एयरको टिकेट नकाटेकोमा पछुतो भइरहेको थियो । अझै केही ढिला भए त अझै खुसी हुने थिएँ त्यो बेलामा। यत्तिकै बोल्न गएकोमा उनले भने कस्तो पातकी  केटा रहेछ भनेर सोचिन् होला ।  


फोन न. माग्नै आँटेको थिएँ । उनको मामा टुप्लुक्क आइपुगे " भान्जी । फ्लाइट हल्का ढिला हुने भयो । " उनका मामा फिल्मको खलपात्रजस्तो महसुस भयो त्यो क्षण  । तर गन्तव्य त एउटै हो भनेर मनलाई आफ्नै विचारले  सुम्सुम्याउँछु । उतै फेरि भेटाउनेछु भन्ने आशा पलाउँछ । 


बाइ बाइ पनि भन्न मन थिएन । फेरि भेट्ने जो इच्छा थियो । समयको इच्छाको अगाडि कसको के लाग्छ र !! मन नलागी नलागी म  उठेर लाइनमा लामबद्ध भएँ । तर चुम्बकले तानेजस्तो म उनीतिर खिचिएको थिएँ । लाइनको पनि अन्तिममा बसेँ । कसैले ध्यान दिएर हेरेको भए लाग्थ्यो होला कि म जत्तिको धिरजवान मनुष्य नै छैन । वास्तवमा मेरा पाइला नै अघि सर्न कत्ति मानिरहेका थिएनन् । 


सिट न.०७ मा बसेँ । प्रिय अंक परेछ ।  कोभिडको भाइरस त्यहाँ भित्र हावामा छ कि भन्ने निकै डर थियो । हातमा स्यानिटाइजर खन्याएर हात धुने त बानी नै परिसकेछ। साइडमा बसेको केटाले भाइजर नलगाएकोमा खुब रिस उठिरहेको थियो । विमान परिचारिका पि पि ई लगाएर ओहरदोहोर गर्दै थिइन्  । उसले नलगाएको भाइजर पनि लगाएको देखिन् जस्तो लाग्यो। केही नबोलेको हुनाले । 


उनलाई फेरि सम्झेँ । अनि रिस पनि शान्त भयो । एउटा मनोवाद सुरु भयो,"  म यत्तिकै उनीसँग आकर्षित भएको हो । पहिले नभेटेको मान्छेसँग एक घण्टामा कसरी आकर्षण हुन सक्छ ।  समयले जम्काभेट त गरायो । तर फ्लाइट फरक परेर बाटो छुट्टिसक्यो । उनलाई म बाट भने उम्केको जस्तो भएको थियो । भेट गर्नमा कत्ति रुचि  थिएन सायद ........ । " 


विमान उड्ने वेला हल्का झड्का महसुस भयो । पहिले पहिले हुन्थेन त्यस्तो । तब ३५ मिनेटको यात्रा तय गर्नुपर्ने थियो । कोभिडले गर्दा विमानमा पानी र पि नट्स पनि बाँड्न वर्जित गरिएको रहेछ । 

"कस्तो न्यास्रो यात्रा । " भनेर मनमनै सोच्दै थिएँ  ।  भगवानले सुनेछन् सायद,   विमान त हल्लिन पो थाल्यो । यात्रामा रस भर्नको लागि त्यो इच्छा त गरेको थिइन । विमान दायाँ बायाँ  तल माथि हल्लेको हल्ली गर्छ । यस्तो लाग्यो कि त्यो  आकाशको बाटोमा पनि खाल्डा रहेछन् । देवताहरुका कर्मचारीले बाटो बनाउँदा  पनि घुस खाएछन् । कलियुगको आकाशमा खोट नहोला भन्न पनि सकिएन । 


मौसम खराबीका कारण विमान हल्लिन गएकोले धैर्य धारण गर्न माइकिङ भयो । सबैजनाको मुटुले ठाउँ छोडिसकेको थियो । आकाशमा भित्ता र भिर नहुनाले विमान कतै ठोक्किन्न  भनेर मनलाई शान्त बनाउन खोजेँ । तर पहाडहरु सम्झेर मनको शान्ती भङ्ग भयो । वास्तवमा भन्नुपर्दा त्यस्तो झड्का कहिल्यै महसुस भएको थिएन । सायद जिवनको अन्तिम नै त्यही दिन थियो कि भन्ने धेरैलाई पक्कै लागेको होला । मलाई पनि त्यस्तै लाग्यो । विमानबाट त कोही पनि सकुशल फर्किन्न भन्ने समाचारहरु झल्यास्स याद हुँदा मनोभाव अझै  कहालीलाग्दो भयो । 


त्यो डर मैले पहिले कहिल्यै महसुस गरेको थिइन । मनुष्यलाई मृत्युसँगको  डर हुन्छ कि जिवनका इच्छाका पोकाहरु पूरा  नहोलान् भन्ने डर हुन्छ भन्ने नजिकबाट अनुभुति गर्दै थिएँ । मलाई केवल याद आयो " परिवार र उनको । " मात्रै एक घण्टा भेट भएको र म प्रति अनुराग नभएको मान्छे त्यो बेलामा सम्झिनु अनौठो लाग्यो ।"  शिवोहम् " जप्दै थिएँ ।  


१५ मिनेटजतिमा विमान शान्त भयो । बाहिर बादलहरु पनि शान्त भएछन्  । पवन पनि शान्त भएछ सायद । त्यो समयमा मनमा विचारहरुका धेरै ज्वारभाटाहरु उम्रिएका थिए । आफूभित्र नियाल्न मनुष्यलाई परिस्थितिले धकेल्नुपर्ने रहेछ । नभए त शरीर र मस्तिष्क अहम् को थुप्रो त हो । उनलाई पनि बेला बेला सम्झिरहेँ । बिर्सिन खोजेँ । तर जबर्जस्ति बिर्सिन सकिन । त्यसैले मनमा आउने विचार रोक्ने प्रयास गरिन । 


उनलाई मैले चिनेको पनि थिइन । एक पटक साक्षात्कार  गरेको भरमा मलाई उनको अनुभुतीले सताइरहेको थियो । काउकुती पनि लगाइरहेको थियो । अनौठो काउकुती । हर्मोनशास्त्रलाई दोष दिन मन लाग्यो । तर मनमा  कुविचार भने कत्ति थिएनन् । 


विमानबाट ओर्लिएपछि यताउता हेरेँ । उनी कतै देखिन्छिन् कि भन्ने आशमा । सुस्त सुस्त गेट बाहिर निस्किँदै थिएँ । सरसामान लिने ठाउँमा एक नजर लगाएँ ।  तर उनले कतै दर्शन दिइनन् । त्यसपछि  ट्याक्सी खोजेँ । भैरहवामा जस्तै पानी सिम सिम परिरहेकै थियो । भैरहवा र काठमाडौंको पानी पार्ने बादल दौँतरी रहेछन् कि !

ट्याक्सीमा बसेपछि घरमा कल गर्छु भनेको घरबाट नै कल आयो । सकुशल भएकोमा ढुक्क हुनुभयो । आकाशको रौद्र स्वरुपसँग डर हुने नै भयो । मोबाइलले आफू निभ्न लागेको चेतावनी दिन लागिसकेको थियो । नेट चलाउन आफ्नै कोठामा पुगेपछि सहज हुने भयो ।

 उनले त मलाई खोज्ने सम्भावना न्यून थियो । तैपनी एक पटक त सम्झिन् कि भनेर मनको  एउटा  कुनाले आश भने गरेको थियो । आफुले चाहेजस्तो आंकलन गर्नु मानवीय स्वाभाव नै हो ।   उनलाई त्यो जबर्जस्तीको सानो भेटले जबर्जस्त असर त पक्कै पारेन होला । तर त्यो  पुर्व अनुमान गरेर बस्नु निष्क्रियता हो भन्ने  ठानेँ । उनको मनको कुराको अन्दाज गरेर फैसला मैले आफै किन गर्नु !   


एक क्षण राम्रोसँग विचार गरेँ । उनलाई खोज्ने निर्णय गरेँ । कुनै कुरामा धेरै जोड गर्नु पर्यो भने सधैँ समयले   न्याय गर्छ भनेर कुरा टार्दिने गर्थें । त्यो बेला भने मैले उनलाई खोजेर समयलाई न्याय गर्छु भन्ने लाग्यो ।  जिवनमा कसलाई भेटिन्छ भन्ने कुरा समयले निर्धारण गर्छ । तर  जिवनमा को  रहिरहन्छ भन्ने व्यवहारले निर्धारण गर्छ । त्यसैले मलाई अलि सक्रिय हुन मन लाग्यो । 


आफू भित्रको त्यो अनौठो काउकुतिलाई शान्त पार्नु थियो ।  कतै उनको मनमा पनि काउकुती लागेको भए भनेर कस्तो आशा गरेको मेरो मनले !  नलागेको भए पनि पछि आफैलाई देखेर प्रयास गरेकोमा खुसी नै लाग्नेछ भन्ने सोचेँ । त्यसैले धेरै महिनादेखि निष्क्रिय रहेको  इन्स्टा खोलेँ । नाम त मैले टिकेटबाट  सम्झिसकेको थिएँ ।  र  "सर्च" गरेँ  ...... .....। 

 इन्स्टामा खोजी ।  

मेरो मनले त उनलाई रोजिसकेको थियो । उनको खोजीकार्यका लागि भएको व्याकुलतालाई नै शब्दमा लेख्दा एक अनुचछेद बन्थ्यो होला । म सामाजिक सन्जालमा खासै सकृय नरहेको कारण उनलाई भेटाउन मुस्किल हुने पक्का थियो  । सायद भाग्यले साथ दिने सोचेको रहेछ । इन्स्टामा फेला पारेँ । उनलाई इन्स्टामा फेला त पारेँ । तर इन्स्टाको प्रोफाइलको फोटो बाहेक अरु सबै हेर्ने अनुमति रहेनछ । सो अनुमतीको लागि उनलाई फलो गरेँ । अब अर्को व्याकुलता थपिएको थियो । के उनले स्विकार गर्लिन् त एक पटक मात्रै देखेको व्यक्तिको अनुरोधलाई ? 


एकपटक देख्दैमा उनले रुचाउने संकेत देखेको थिइन । उनले फलो गर्लिन् भन्ने झिनो आशमा राती सुत्ने बेलामा हेरेँ । केही उत्तर आएको रहेनछ। मेरो झिनो आश पनि मनको आशाको त्यन्द्रोमा अड्किन पुग्यो । जुन टुट्ने पक्कै थियो ।
अर्को दिन पनि उनको सम्झना आइरहयो । यसरी मलाई कसैले प्रभाव पारेको थिएन । त्यो प्रभाव सामान्य  आकर्षणभन्दा बढी नै थियो । मेरो मनले त उनलाई रोजिसकेको थियो । उनको बानी व्यवहार आदि केही थाहा थिएन । तर म आकर्षित भइसकेको थिएँ । 

प्रार्थना गरेको थिएँ कि उनी सबै कुराले अब्बल होउन्। रुपले मात्रै  त धोका दिन सक्छ । तर मलाई यति विस्वास थियो । उनी मलाई मन पर्नेछिन्।  किनभने उनको नजिक हुँदा त्यो आभास भएको थियो । विवेकले सोचेको होइन  । विशुद्ध मनले खेलेको लिला थियो । त्यो नदेखिने अब्स्ट्राक्ट मनलाई कसरी प्रमाण माग्नु ? कसरी ठिक बेठिकको तराजुमा तौलिनु ? कसरी निर्दोष र अपराधी छुट्याउने विवेकको अदालतमा उभ्याउनु ?    यसैलाई सायद Intuition भनिन्छ होला । 

अब त उनले मेरो अनुरोध स्विकार गर्दिनन् भन्ने मलाई निस्चित भइसकेको थियो । निराशामा मान्छेले सोमरसको साहारा लिन्छ । तर म अझै निराश हुन चाहन्नथेँ । त्यसमाथि सोमरसले मलाई आकर्षण गर्दैन । कहिले कसो सानो पलले फरक पार्ने रहेछ । राती नौ बजेतिर ipad हेर्दा उनले फलो व्याक गरेकी रहेछिन् । कुरा कसरी सुरु गर्ने भनेर म अल्ल्मल्ल परेको थिएँ । तर पनि आफै सुरु नगरी नहुने मैले बुझिसकेको थिएँ ।  कहिले कहिले त कसले सुरु गर्ने भन्ने हुन्छ नि ! तर यहाँ मैले नै सुरु गर्नुपर्ने थियो । आशामा जिन्दगी अडिएको हुन्छ । उनलाई " Hi" भनेर लेखी पठाउँछु । त्यसपछि सोध्छु " के तिमी कसैसँग आफ्नो मनलाई बाँधेकी छौ  ? " 

कसैको बाँधिएको मन फुकेर बसाइ सर्न निकै गार्हो हुन्छ । स्वतस्फूर्त मन आफै नसरेको अवस्थामा भने त्यो सर्दैन पनि । त्यसको उत्तर "छैन " भनेर मेरो मनले चिताएको थियो । नभए त कुरा सुरु गर्दा नै ब्रेक लगाउन पर्थ्यो ।  केही घण्टापछि आशा गरे अनुसार उनले कसैसँग हाल मन नबाँधिएको स्पस्ट गरिन्। त्यसपछी अलि अलि कुरा गर्न खोजेँ   । के कुरा गर्दा ठिक हुने के गर्दा बेठिक हुने भन्ने हेक्का भने मलाई हुँदैन  ।

 साथिहरु भन्ने गर्छन्  केटीसँग कुरा गर्दा तौलेर गर्नपर्छ । आफुलाई कहिल्यै अनुभव थिएन ।  युद्धमा लड्न गएको पनि त हैन पाइला फुकि फुकि कदम चाल्नुपर्ने । बम नै त नपड्केला ! जे होस् । कुरा गर्न मन लागिरहन्छ । आफ्नै मनलाई निमोठेर फाल्दिम् जस्तो पनि हुन्छ बेला बेला । एकतर्फी रुचि स्पस्ट हुन कति नै समय लाग्छ र ! बालुवामा पानी हाल्दा हराउने मात्रै हो । उनीसँगको कुराकानी पनि त्यस्तै थियो ।

 उनलाई कत्ति रुचि थिएन भनेर मैले राम्ररी  बुझेको थिएँ । मेसेजको रेप्लाई गर्ने तरिका,  समय र प्रसङ्गबाट जाँगर भएको नभएको थाहा पाउन धेरै गार्हो हुन्न । उनले रुचि विना नै मेसेज रिप्लाइ गरेको महसुस हुन्थ्यो। त्यसैले मलाई पनि यो फिल्मी कुराको पछाडि लाग्न मन हुँदैन । फिल्ममा मात्रै होला एक पटक देखेरै माया बस्ने । माया त परको कुरा हो । यहाँ त नैसर्गिक आकर्षण सम्म एकतर्फी थियो । उनको  बानी नै त्यस्तै होला भनेर कुरा गरिरहन्छु । 

मनले उनलाई रोजिसकेकोले होला घमन्डीको उपमा  दिन मन हुन्न । प्रमाणविनाको विश्वास परमात्मामा गरिन्छ । त्यस्तै मलाई पनि समयमा विस्वास थियो । समयले भेट गराउनु अकारण भने पक्कै नहोला भन्ने आफ्नै सिर्जित विस्वास  । म उनको मेसेज कुरेर बस्थेँ। तर उनले मेरो मेसेज कहिल्यै कुरिनन् । म बेरोजगार । उनी रोजगार ।  उनी रोजगारमा भएर होला भनेर चित्त बुझाएँ । सानो सानो कुराले चित्त बुझाउने कस्तो नराम्रो बानी मेरो । यस्तो बानी नभएको भए म उनको बाटो हेरेर बस्दिनथेँ होला । 
                                              
एक दिन उनको फोन नम्बर माग्ने मन भयो । के थाहा ! फोनमा कुरा गर्ने वातावरण मिल्यो भने "कनेक्सन" बन्थ्यो  कि । झिनो आश भएपनि म फोन नम्बर मागेँ । उनले सोझै अस्विकार गरिन् । उनीसँग  पहिलो पटक मेरो चित्त हल्का भारी भयो । मैले फोन गरेर उपद्रो गर्ने पनि होइन । न त उनलाई दु:ख दिने नै नियत थियो । असल नियतमा कसैले शंका गर्दा  चित्त भारी हुन्छ  भन्थे । हो रहेछ । 

कुटिल नियतले गरेका क्रियाकलाप पो कृत्रिम हुन्छ । चित्त भारी हुँदैन  । बरु ईर्ष्यालु हुन्छ । कार्यसिद्धि मात्रै मुख्य उद्धेश्य हुन्छ  । म त मनमा हरि राखेको व्यक्ति ।  त्यसैले म कुरा नगर्ने निर्णय गर्छु । मेरो मनको हितका लागि  सोच्छु उनी घमन्डी नै रहिछिन् कि । इगो शान्त नगरे मन बिरामी पर्छ । त्यसैले जो समयको इच्छा भनेर कुरा नगर्ने निर्णय गरेँ । मेरो आफैमाथि विस्वास उड्न खोजेको थियो । प्रमाणविना कसैमाथि आफ्नो मन बिसाउन नहुने रहेछ । मनमा काउकुती लाग्नबाट रोक्न पर्ने रहेछ ।  तर के अचम्म भएछ उनले नम्बर दिइन् ।                                                                  

शिष्टाचार र मनको खेल । 

कसैले आफुलाई वास्ता गरेको छैन भने कुरा गरिरहन मुनासिव हुँदैन । उनले पनि मलाई कत्ति वास्ता गरिनन्। फोन नम्बर सम्म दिन अप्ठ्यारो मान्नेसँग कुरा गर्ने मन त हुँदैन । सधैं आफै कुरा गर्ने प्रायास गर्नुले एकतर्फी प्रयासको विफलता जनाउँछ । त्यसैले म लागिरहन मन हुँदैन । उनको भाग्यमा अरु नै  कसैको स्थान लेखिएको  हुनपर्छ भनेर मेसेज गरिन। उनीसँग नबोल्ने निश्चय दृढ भयो  मेरो । दुई दिन बित्यो, उनको कुनै खबर आएन । समय मिलेन भनेर सोच्ने हो भने सानो मेसेज गर्न कति नै समय लाग्ने थियो र ! वास्तविकतामा भन्नुपर्दा म कुनै प्राथमिकतामा परिन । 

म पनि अब आफ्नो कामको सुरमा लागिसकेको थिएँ । मनमा विचार आयो । " कोही मान्छे किन हेर्दा मनले खान्छ तर व्यवहारमा मिल्दैन । व्यवहार कति राम्रो भएको मान्छे आकर्षक नहुने हुन सक्छ । मन नै वैरी हो । आकर्षण नभएसम्म मन पग्लिन्न ।  मनको आकर्षण हुन लामो समय साथमा संगत गर्नुपर्छ होला। त्यसपछि न कपाल न शरीर न अनुहार। वास्तवमा व्यवहारको मात्रै हिसाब हुन्छ । यो हिसाब गर्न दिमागले कहिल्यै नछोड्ने नै होला है  । " तर यहाँ उनको मनलाई कसरी वैरी भन्नू । चित्त नबुझे बुझेन । 

आफूलाई वास्ता नगर्ने केटीलाई धेरै फकाउने प्रयास  गर्नु खासमा बुद्धिमत्ता होइन। एक जना साथीले भनेको थियो " जीवनमा आफूलाई मन पर्ने साथी भएन भने आफूलाई मन पराउनेसँग जीवनको भविष्यको कल्पना गर्नु उत्तम हुन्छ। किनभने उसले आफूलाई कहिल्यै छोड्दैन । " हुन त यस्ता दर्शनका कुराले  जीवन  संतोषी बनाउने मात्रै त हो । 

 मैले फकाउने प्रयास गर्न चाहिन । त्यो म जान्दिन । र उनी पनि त्यस्तो क्रियाकलाप रुचाउने जस्तो लागेन मलाई । समयले इच्छा नगरेको कुरामा जोड गर्नु खास राम्रो कुरा होइन ।  आफ्ना विचारहरुलाई मन्थन गरेर चित्त शुद्ध गर्ने प्रयासमा लागेँ । अर्थात् उनका अवशेष मेटाउनमा लागेँ । 

मैले त उनीप्रति आफ्नो केही भावना राखेको थिएँ। त्यसलाई " Interest " अर्थात रुचि भन्छन् होला ।  मप्रति उनको रुचि नहुनाले मैले उनलाई सम्पर्क नगर्ने निश्चय गरेँ । मप्रति रुचि राख्ने कतै त हुनैपर्छ नि। कसैको जिवनमा धेरै ठोक्किन जानु Noise हो । म सधैँ music मात्रै हुने प्रयास गर्छु । कसैप्रति अनुराग हुनु नहुनु  व्यक्तिगत कुरा हो । उनको अनुरागको पात्र अझै समयले जुराइसकेको  छैन । पुनः समयलाई जिम्मामा छोड्छु ।

उनले सम्पर्क गर्न नखोज्नु मलाई " Noise" मानेकी हुनुपर्छ । यति विचार मन्थन गरेपछि मेरो मन हल्का भयो । फेरि चङ्गा भएँ । केही गुमेको महसुस भएन । "शिवोहम शिवोहम्"                                                                               

एक जना साथीलाई पनि आफ्नो कुरा सुनाएँ ।  ऊ सधैं यति सकारात्मक हुन्छ कि मन खुसी बनाउने उपाय खोज्न  उसलाई भेट्न पर्छ । नभन्दै उसले भन्यो " समय मिलेन होला। फोन नलाग्ने भएर पो हो कि । आशा राख्नुपर्छ । " 

मैले भनेँ " कुरा त सहि हो । तर आशा भनेको मनको भ्रम हो। भ्रम कुनै वेलामा सुखदायक पनि हुन्छ । र दु:खद पनि हुन सक्छ । " 

 हाम्रो कुरा नभएको तेस्रो दिन भयो। मलाई उनको आश थिएन । तर खै के अचम्म भएछ " तपाईं राम्रो लेख्नुहुँदो रहेछ भनेर मेसेज गरेकी रहेछिन्। "तपाइँको इन्स्टा स्टक गरेकी थिएँ । " भनेर ठट्यौली  भावमा पनि लेखेकी रहेछिन्। म बडो कन्फुजनमा परेँ । 

भर्सेला परोस् । एकतर्फी अनुरागलाई सफल पार्ने प्रयास गर्दिन । उनले यत्तिकै पठाएको मेसेज हो । म पुनः आफ्नै मनको खेलमा पर्दिन भनेर दृढ भएँ । तर त्यन्द्रोजतिको  खुशी नलागी पनि बस्न सकिन । उनको थोरै भएपनि भावना नमिसिएको मेसेज थियो ।  पठाइहालम् न भनेर पठाएको मेसेज थियो भनेर  थाहा हुँदाहुँदै पनि मलाई किन अलि अलि खुसी लागेको ? मनको खेलमा म हारेँ । केही खुसी,  केही शिष्टाचार, केही विस्वास आदि कुरालाई केलाउँदा शिष्टाचारलाई भएपनि धन्यवाद भनेर भन्ने निर्णय गरेँ । "Thank you". 

विवाह, अन्योलता र निर्णय । 

मनुष्यको जन्म कर्म, कर्तव्य र बन्धनले बाँधिएको स्वतन्त्र  जीवन हो । स्वतन्त्र शब्द नै अचम्मको छ आफै । निष्फिक्री जीवन जिउनुलाई स्वतन्त्र भन्ने कि कर्तव्यपरायणतामा स्वतन्त्रता महसुस गर्ने । यी सबै व्यक्तिका विचार र आत्मस्पर्शका कुरा हुन् । विवाह पनि जीवनको एउटा खुड्किलो हो । दुई दशकभन्दा बढी समय कुनै अर्को घरको रहनसहनमा हुर्केको व्यतिसँग तारतम्यता खोज्नु सानो कुरा हैन । 

विवाह गर्नु कुनै फिल्मको एक्सन र रिटेक गर्ने कुरा हैन । विवाहपस्चातको जिवनमा तनाव सिर्जना भयो भने जीवन नै भताभुङ हुने गर्दछ । त्यसैले आफुले विवाह गर्न खोजेको व्यक्तिको सबै कुरा थाह नहुन्सक्छ । केहि दिनको भेटमा त पटक्कै थाहा हुँदैन । हुन त वर्षौंसम्मको भेटपछीका विवाह पनि सफल हुन नसकेका उदाहरण प्रशस्तै छन् । भेट्ना साथ विवाह भएका विवाह पनि सफल देखिन्छन् । वास्तविक तत्व के हो त सफलता र असफलताको ? त्यो सबैका भनाइ र विचार फरक पाइन्छ । मलाई त आफू राम्रो हुनु र विवाह गर्ने व्यक्तिलाई बुझ्न सक्नु र स्वीकार गर्नसक्नु नै मुख्य कुरा जस्तो लाग्छ । 

करिब सात महिना बितेछ उनीसँग कुरा गर्न लागेको । मलाई त पहिलो भेटमा नै उनलाई मेरो ब्रह्मले रोजिसकेको थियो । किन रोज्यो त्यो थाहा भएन । आनिबानी रुचि आदि केही कुरा पनि थाहा नहुदै किन मेरो आत्माले उनलाई नै खोज्यो भन्ने थाह थिएन । डर पनि थिएन । विवाह भनेको त हाम फाल्नु जस्तै त हो । तैरिन सकियो भने जीवन नै मधुवन हुन्छ । बिस्तारै उनी मलाई मन पर्न थालिन् । 

अवगुण मात्रै हेर्न खोज्यो भने कोहि पनि व्यक्ति Perfect भेटिन्न ।  सायद मेरो ब्रह्मले मलाई सहि बाटो नै देखाएछ । उनी भने सुरुमा मलाई विकर्षण मात्रै गर्न खोज्थिन्। म पनि समयसमयमा भाग्ने निर्णय  गर्थेँ । तर उनी मेरो मानसपटलमा घुमिरहन्थिन्। आफुलाई वास्ता नगर्ने व्यक्तिलाई धेरै मान गर्नुहुदैन भन्ने चाणक्य नीति सानैदेखि अध्ययन गरेको छाप थियो ।  कहिलेकसो त दिक्दार नै लागेर मनमनै निर्णय गर्थें  " आज म उनीसँग कुरा नगर्ने प्रण गर्छु ।"  तर सधैं कुनै न कुनै कुराले सम्बन्धको तार टुट्नै लाग्दा जोगिन्थ्यो । 

विवाहको पूर्वदिन । 

उनी सँगको कुराकानी आज सातौँ महिना चलिरहेको छ । र विवाह गर्ने निर्णय पनि भएको छ । भोलि बिहेको दिन । आज छट्पटी चलिरहेको छ । कस्तो अनौठो छट्पटी । साँझमात्रै त हो मेहेन्दी कार्यक्रममा सहभागी भएको । कहिल्यै थाह नपाएको र यदाकदा हिन्दी सिरियलमा देख्ने गरेको मेहन्दी कार्यक्रमलाई भारतको स्वाद मिसिएको नवीन कार्यक्रम हो जस्तो लागेको थियो । 

मेहन्दीमा जान लाज लागिरहेको थियो । तर उनले भनेपछि मन राख्न पनि जानै पर्छ भनेर जाने निर्णय गरेको थिएँ ।  त्यसकै लागि भनेर लगाउने कपडाको रोजाइ गरिसकेका थियौँ । त्यसमाथि मामाले मलाई लिन नै आउने भएपछि त अवस्य जानपर्छ भनेर तयार भएको थिएँ । बिहानदेखि दिउँसोसम्म बजार दौड धुपमा हिँडेको थिएँ । यो बिहेको समयमा जति गरे पनि अन्तिमसम्म केही न केही बाँकी रहने नै रहेछ । 

मेहेन्दीमा मैले के गर्नपर्छ भन्ने कुरो थाह थिएन । थाह नभएपनि खाली हात जान अप्ठ्यारो हुने हुँदा फुलको गुच्छा किनेर राखेको थिएँ । तर हिड्ने बेला त्यो  फूलको bouquet विर्सिन्छु । बाटोमा किन्न्नुपर्ला भनेर हिँड्छु । जति विज्ञान पढेपनि हिँडिसकेको साइतमा बाटो फेरि फर्किन हुन्न भन्ने कुरामा विस्वास भने कहिल्यै नजाने । 
मामासँग गफ गर्दागर्दै बुटवल आइपुग्यो । उनको घर पुग्न थालियो । तर गिफ्ट पसल नै भेटिन्न बाटोमा । बुटवलको धुलाम्मे खाल्डाखुल्डीको सडकमा कार लिएर जाँदा फर्किँदासम्म त  कार्यक्रम नै सकिने डर हुन्थ्यो ।  त्यसैले घर मुनि गाडी रोकेर मामा र म भाट्भटेनी गयौं । तर मैले खोजेको रातो गुलाबको bouquet भेट्न सकिन्न । बल्लतल्ल दुई चारवटा फुलहरु बटुलेर एउटा कामचलाउ bouquet बन्यो । हामी घरमा प्रवेश गर्यौँ । त्यहाँ त माहोल निकै रमाइलो भइसकेको रहेछ ।

 प्रवेश गर्ने बित्तिकै एउटै किसिमका सारीहरुमा सुसज्जित नारीहरुको जमात देखेर मुटुको धड्कन नै बढ्यो । धड्कन बढेको महसुश गर्दै थिएँ । उनी सबैजनाको बिचमा मेहन्दी लगाउँदै थिइन् । उनलाई हेर्न  म निकै आतुर भइसकेको थिएँ । उनी निकै राम्री देखिएकी रहेछिन्। हुन त सधैं राम्री देखिन्छिन् । उनको अनुहारमा रहेको चमकले मलाई सुरुमै प्रभावित पारेको थियो । हरेक पटक उस्तै प्रभाव पारिरहन्छ । उनको अनुहारमा मुस्कान फिँजारिंदा ब्रह्म नै जागृत भएको महसुस हुन्छ मलाई । त्यो अड्को पड्को बनाएको फुलको Bouquet दिएर आफ्नो धड्कन सम्हालेर राख्छु । धन्न त्यो फुलको गुच्छा तयार गरेछु । 

केही समयमा सबैजनाले नाच्न कर लगाउँछन् । मलाई नाच्न फिटिक्कै नआउने । दुवैजना नाच्ने बेला सबैले हेर्छन् । सबैका आँखा केवल हामी दुई जनामा । उनी असाध्यै राम्री देखिएकी छन् । म एक टकले उनलाई हेरिरहन्छु । र नजानी नजानी हल्लिरहन्छु उनको तालमा । म उनको ध्यानमा हुन्छु । वरिपरिका मान्छे सबैजना बिर्सिन्छु । गीत सकिने बेलामा उनको कानमा खुसुक्क भन्छु " आइ लभ यु डियर । " त्यसको उत्तर दिने मौका उनले  पाउन्निन् । म उत्तरको प्रतीक्षामा रहिरहन्छु ।  


विवाहको दिन । 

अर्को दिन- विवाहको दिन । सबेरै उठेर पूजा गर्नुपर्ने थियो । त्यही विहान कपाल दार्ही सबै मिलाउनुपर्ने पनि थियो । मेकअपको लागि घरमा नै बोलाएको थिएँ । पूजाले गर्दा मेक अप नभ्याउने डर थियो । तर दुवै काम सकियो । जन्ती हिँड्ने साइत हुन लाग्दा मैले आफ्नो पोशाक लगाउँछु । लगाउँदा मिल्दैन । फसाद पर्छ । इङेजमेन्टको दिनमा पनि अन्तिम घडीमा कोट पैन्ट लगाउने बेला निकै कस्सिएको महसुस भएको थियो । तर पनि लगाउनै पर्यो । व्यस्तताले गर्दा विवाहको दिनभन्दा अगाडि पोशाक सामग्री टेस्ट गर्ने मौका नै मिलेन । यु ट्युब हेरेर कोट, माला, खुकुरी भिर्न खोज्दै थिएँ । त्यो कोट बनाउने स्नेहाको बहिनीलाई नै भिडियो कल गरेर लगाउने तरिका थाहा पाएर लगाएँ । 

फोटोग्राफरहरुले राम्रो फोटो निकाल्न खोज्छन् । तर त्यहाँ कसैलाई चासो नहुनाले धेरै महत्वपूर्ण क्षणहरुका फोटो कैद हुन पाउँदैनन्। फोटोले पछिसम्म बिहेको दिनलाई जिवन्त बनाइरहन्छ । त्यसैले त फोटो खिच्ने लहड धेरै देखिन्छ अचेल । दुवोको माला लगाएको फोटो पनि खिच्न पाइन । सबैजनाको भिडमा फोटो खिच्ने कार्य ओझेलमा पर्यो ।
घरबाट शुभ साइतमा नै निस्किन्छौँ । इङेजमेण्टको दिनमा हामी घरबाट हिंड्न् ढिला हुन्छ । बहिनीहरुविना टिकाटालो गर्न नजाने भनेर कुर्दाकुर्दै १ घण्टा अबेर भएको थियो । यो नारी श्रृङ्गारले समय नै थाह नपाउने ! 😆 समयलाई सम्मान गर्न नसक्नु आफ्नै वचनको सम्मान नगर्नु हो । त्यसैले विवाहको दिन भने साइतको पालना पक्का गर्ने कुरामा दृढ़ थियौँ  । बिहेको साइत दिउँसो भएकोले बिहे ढिलोसम्म हुने प्रष्ट देखिन्छ । 

सजिएको कारमा बस्दा मलाई आफ्नो बिहे हुन लागेको कुरामा पत्यार नै लागेको थिएन । जीवनको महत्त्वपूर्ण दिन । नयाँ जीवन सुरुवात गर्न सहयात्रीसँग बाँधिने दिन । केही छट्पटी हुन्छ। हल्का डरको महसुस हुन्छ । महाराजा पार्टी प्यालेस पुगेपछि कारबाट निस्किन्छु म । सबैजनाको विचमा एउटा फरक बेहुलो पोशाकमा म उभिएको छु ।  विवाहको दिन अन्तिमसम्म पनि केहि न केही छुट्छ भनेको सहि रहेछ । बेहुलालाई ओडाउने छाता छुटेको थाहा भएर तुरुन्तै छाताको जसोतसो  बन्दोबस्त हुन्छ ।   

                                                स्वयंवर |                    
सबैले मलाई नै हेरिरहेका छन् । लाग्छ म त्यो दिनको नायक हुँ । जीवनमा एक पटक मात्रै यस्तो क्षण सबैलाई मिल्ने रहेछ । तर म चाहन्छु जीवनभर नै सबैको आँखाको नानी भएर बस्न सकूँ। मेरो मनमा केही पनि हुँदैन । सबै सोचविचार लोप हुन्छन् । उनी सजधज भएर रातो सारीमा आउँछिन् । निकै राम्री देखिन्छिन् । उनलाई कसले लिएर आएको छ भन्ने पनि हेक्का रहन्न्न । तर उनी भरखर आँसु पुछेर आएकी जस्ति देखिन्छिन्। कालो चस्मा लगाएको हुनाले जहाँ जसलाई हेरेपनि छुट थियो मलाई । तर म उनलाई नै हेर्छु । पछि सम्झिने बेलामा अरु कोहि याद रहन्न ।                                                                          

उनी कलशको जल धारा लगाउँदै मेरो वरिपरि घुम्छिन्। मलाई पिर्कामाथि उभिन लगाइएको हुन्छ । अहिले सामाजिक सन्जालमा व्यापक पिर्के सलामी सायद यहि बिहे कार्यबाट सापट लिएका होलान् नेतागणहरुले !!  उनलाई चक्कर लागेको रहेछ । त्यो कुरा पछि मात्रै थाहा पाउँछु । 

उनले मलाई स्वयम्बरको औँठी लगाइदिन्छिन्। मैले पनि उनलाई औँठी लगाइदिन्छु । एक अर्कालाई वरमाला लगाइदिन्छौँ । एक अर्कालाई जीवन साथीको रुपमा रोजेको सामाजिक र धार्मिक प्रमाण त्यही स्वयम्वर नै होला । नाम त स्वयंवर हो । तर कतिले स्वयंवर वास्तवमै गर्न पाए होलान् त ? लगभग शतप्रतिशतमा वर वधुको भन्दा दुई घरका बा आमाको "स्वयंवर" हुने गर्थ्यो । अहिले पनि वरमालाले स्वयंवर गर्ने एउटासँग ,मन ले स्वयंवर अन्तै गर्ने जोडीहरु कति होलान् । मनका कुरा कसले पो जानोस् र ।

 बाबुआमाको करकापमा स्वयंवर गर्न परेमा त्यो स्वयंवरको अर्थ के रहला र । तर मलाई भने वास्तविक स्वयंवर नै गर्ने भाग्य मिल्यो । उनलाई वरमाला लगाइदिँदा मनमा उनी मात्रै थिइन्। म मेरो ध्यानसिद्धिमा सफल भइसकेको थिएँ । पत्नी भनेको एउटा ध्यान हो । जसले ध्यान गर्न सक्दैन । तन र मनबाट इमान्दार रहन सक्दैन । 

स्वयमवर पश्चात् विवाह मन्डपमा बसिन्छ । उनी मेरो दायाँ तर्फ बस्छिन् । एउटा लगनगाँठो बनाउने रहेछन् । सम्बन्धको चिनारी हो रे त्यो । बिचमा दक्षिणाको पोको बनाएर दुईटा टुप्पा एक अर्काको काँधमा राखेर पुजापाठ गर्न पर्ने रहेछ । म कहिले कालो चस्मा त कहिले साधारण चस्मा फेरिरहन्छु । फोटो फरक फरक आओस् भन्ने हेतुले । जसो जसो बाहुनबाजे उसो उसो स्वाहा भनेको के रहेछ भन्ने पनि थाहा हुन्छ । जहाँ जहाँ बाहुनले पुजा गर्न भन्छन् तहाँ तहाँ पुजा गरेजस्तो गरेर मन्डपका कृयाकलाप सकिन्छ ।

 सिन्दुर हाल्ने बेलामा फेरि महसुस हुन्छ कि मैले उनीसँग विवाह गर्दै छु । साथमा नयाँ जिम्मेवारी पनि महसुस हुन्छ । पन्डितले मलाई उनलाई उठाएर बायाँतर्फ राख्ने निर्देशन गर्छन् । मैले जसोतसो उनलाई उठाउने प्रयास गर्छु । इच्छा विपरित शरीर उठाउन त भारी हुने रहेछ । मुटु बायाँमा हुने भएर होला बेहुलीलाई उठाएर बायाँ स्थानमा राख्नु पर्ने । संस्कारले प्रावधान गरेको सांकेतिक  सम्मान मान्नुपर्यो ।                                                                                        

यस्तै क्रममा वरवधुको  पाउको जल खाने कार्यक्रम सुरु हुन्छ । तर त्यो प्रचलन मलाई भने मन पर्दैन । त्यसैले मलाई जाँगर लाग्दैन। र पाउको जल त अरुलाई  स्वीकार गर्ने कुरै भएन । जे होस् हिन्दु संस्कारले छोरीलाई देवीकै दर्जा दिएको मान्नुपर्छ ।  त्यो गोडा धुने ताउलीमा खुट्टा डुबाएर दुई बुढी औंलाहरुको जल खाने बेला अनवरत चिसो हुन्छ । उनका पैतला कति चिसा भएका होलान् भनेर सोच्छु । म पुनः विवाहपुर्वको दुई दिन अगाडिको स्मरण गर्छु ।   

 दुई दिन अगाडि मात्रै  Prewedding photoshoot का लागि गजेडा तालमा हुँदा  उनको पहिरनमा चिसो मौसमले चिसो नजर पारेको थियो । गजेडा ताल जान मलाई भने रुचि थिएन । त्यो उजाड तालको वरिपरि कति नै राम्रा फोटाहरु आउलान् र भनेर मन हुँदैन । नाम पनि गजेडा ताल । सुन्दै गाँजाको गन्ध आउने !😂 तर उनको इच्छा हुनाले त्यहाँ जान्छौं । उनका स्कुलदेखिका साथीहरु पनि आएका हुन्छन्- सपना र बन्दना ।  हिउँका  बीचमा पनि नायिकालाई समर लुगा लगाउँदा कस्तो जाडो नहुने रहेछ भनेर सोच्थें । तर त्यो सब त फोटोका लागि पो रहेछ ! चिसो सिरेटो सहेर भए पनि फोटो भने खिचाउन सफलता प्राप्त भयो । उनी त्यो रातो पोशाकमा निकै मनमोहक सुन्दरताले खुलेकी थिइन् । कति सुहाएको होला भनेर उनलाई हेरेर म आफै मन्त्रमुग्ध थिएँ । ज्याकेट सुइटर त त्यो पहिरनमा कत्ति नसुहाउने नै हुन्थ्यो ।

                                                  
कन्यादानको बेला मैले दुवै हात उनलाई अँगालोमा बेर्न पछडिबाट अगाडि  लगेर  एक माथि अर्को अञ्जुली बनाउन पर्ने रहेछ । त्यसरी नै अाधा घण्टा जति उभिन पर्ने । अगाडिबाट अँगालो मार्न चाहिँ बिहे पछि मात्रै लाइसेन्स पाइने रहेछ जस्तो लाग्यो ।😆  खाइलाग्दो ज्यान परेको भए कति गार्हो हुने थियो होला 😅 !! उनी लुरी भएपनि पोशाकले गर्दा  ठिक्क अञ्जुली बनाउन पुग्छ । कन्यादानको कार्य पनि समाप्त हुन्छ । 
                                                       
 फेरि मन्डपमा रहेका कार्य सुरु हुन्छन्। त्यो सकिएपश्चात् हामी फोटो खिचाउन व्यस्त हुन्छौं । त्यसपछि फेरि सम्मान लिन जान पर्ने । टोपी परिवर्तन गरिदिने रहेछन् । खाममा दक्षिणा राखेर दिने रहेछन् । एउटा सुट्केस पनि जिम्मा लगाउने रहेछन् । लाग्दै थियो बिहे भनेको पुर्ण रुपमा संस्कारको अर्थशास्त्रको गणित हो । ज्वाइँलाई विशेष सम्मान गर्ने  अर्थशास्त्र ।  

सालीहरुले जुत्ता लुकाउने प्रचलन ठट्टाको एउटा रुप हो । एक आपसमा झिम्मिनका लागि बनाइएको चलन जस्तो लाग्छ मलाई । जुत्ताको मोलमा कुरा नमिलेर अड्किरहेको थियो । अन्तिमसम्म पनि जुत्ता दिने कुनै छाँट देखिएन । जुत्ताको मोलमा मेरो पेशाको मोल पनि जोडिएको जस्तो लाग्यो । हेर्दा सुन्दा भयंकर सम्पन्न देखिने । वास्तवमा संघर्ष मैदानमा मात्रै  देखिने ।   त्यसैले पेशाको मैदानमा नउत्रेकाहरुसँग कुरै मिलेन ।  मेरो पेशाले सोचेजस्तो मोल दिन सक्दैन भन्ने हेक्का सायद मलाई मात्रै थाहा छ । अरुलाई त डाक्टर भए खाली चेक नै दिन सक्ने हो भन्ने लाग्दो हो । हिँड्ने बेलामा बल्ल लुकाएको जुत्ता प्राप्त हुन्छ । 

कारमा बस्नुपूर्व नै उनी निकै भावुक भएकी थिइन् । साथमा सम्पुर्ण परिवारजन नै छोरी विदाइ गर्दा भावुक थिए । तर मैले नबुझेको एउटै मात्रै कुरा थियो । म भावुक किन बनेँ ? मेरा नयनबाट आँशुमात्रै झर्न नसकेका रहेछन् । मन भने गर्हौ नै हुन्छ । सायद म उनलाई औधी माया गर्छु । त्यसैले उनको आँसु देख्दा म आफै भावुक हुन्छु । ज्वाइँ अगाडिको सिटमा बस्नुभएको हुन्छ । उनलाई हँसाउन विभिन्न ठट्यौली गर्नुहुन्छ । म पनि ढाडस दिन खोज्छु " तिमी मसँग छौ । चिन्ता नगर प्रिय । " 

घर पुगेपछि बेहुलीको मुख हेर्ने कार्यक्रममा उनलाई अप्ठेरो नहोस् भनेर अनेक हेक्का राख्छु । विवाहको लामो कार्यक्रमले थाकेकि देखिन्छन् । दिनभर अपरेशन गर्दा उभिने क्षमता भएकी उनी विवाहको पोशाक, पुजापाठले थाकेकी हैनन्। विवाहको दिन नै  छोरीहरुको जीवनको सबैभन्दा थकानपुर्ण दिन हो जस्तो लाग्छ मलाई । गधेपच्चीस उमेर एउटा घरमा हुर्केर अर्को घरमा जाने दिन शरीर र मन दुवैमा भारी हुने दिन हो । उनको भार कम गर्ने कोसिस गर्न सक्थेँ । तर त्यो पहिले कहिल्यै नभोगेको विछोडको भावनाको वजनलाई उनले नै कुशलतापुर्वक विसाउनु पर्ने हुन्छ । उनी त्यो विछोडको भावनालाई नयाँ मिलनसँग अभ्यस्त हुँदै कतै पनि विछोड नभएको महसुस गर्न  समय लाग्दैन भन्ने कुरामा निस्चिन्त छु म । अर्को दिनको काम हुन्छ चतुर्थी पुजा ।

 विहान ३ घण्टाजतिमा चतुर्थी सकिन्छ । खाना खाइसकेपछि उनी आफ्नो कोठामा जान्छिन्। उनी निकै थाकेको हुनाले होला आराम गर्दा गर्दै निदाएकी रहेछिन् ।  म जाँदा  उनी गहिरो निद्रामा बेडमा कोल्टे परेर निदाएकी हुन्छिन् । मलाई पनि निद्रा लागेको हुन्छ । उनलाई चलाउन मन लाग्दैन । अमूल्य निद्रा बिथोल्नु भनेको पाप गरेजस्तो लाग्छ मलाई ।  त्यसैले भुइँमा नै बेड बनाएर सुत्छु । केही क्षणमा मेरा थकित नयनहरु आफै बिस्तारै टालिन्छन् । 

रिसेप्सन पार्टी 

अर्को दिन विहानै चार बजे ब्युटी पार्लर जानुपर्ने हुन्छ । उनलाई ब्युटी पार्लर छोड्छु । दिउँसो लुम्बिनी जाने कार्यक्रम हुन्छ फोटो खिच्नलाई । अचेल Postwedding photoshoot भन्ने रहेछन् । उनी असाध्यै राम्री देखिन्छिन्। त्यसैले लुम्बिनीमा सबैको आँखा उनीमाथि नै हुन्छ । अरुलाई त हामी फिल्ममा हेरो हेरोइनको अभिनय गरेको जस्तो लागेको रहेछ । हुन पनि उनी बिछ्ट्टै राम्री परीजस्तै देखिएकी थिइन् । फोटो खिचेर ५ बजे पार्टी प्यालेसमा आइपुग्छौँ । त्यसपछि सुरु हुन्छ अर्को थकानपुर्ण समय । उनको शरीरले त्यस्तो भारी लेहङा कसरी थामिरहेको होला भन्ने चिन्ता थियो मलाई । उनी खोक्न थालेपछि त चिसोले उनलाई समाउने हो कि भनेर चिन्ता हुन्छ । 

रिसेप्सन पार्टीमा अप्रत्याशित उपहार भने हामी दुई जनाको फोटो एउटा काठमा स्केच गरेको फोटो थियो । त्यो स्केच मेलाई एकदम मनपर्ने बहिनी सुस्मिताले दिएकी थिइन्। त्यसैले त्यो उपहार सधैँ सुरक्षित राख्ने जिम्मेवारी स्वत: हुने भयो ।  पाहुनाहरुसँग उभिएर भेटघाट गर्दै फोटो खिचाउँदै गर्दा गाला दुखेर विजोग हुन्छ । फोटोमा हाँस्नैपर्ने । नयनका कुना नहाँस्दासम्म त हाँसो  प्राकृतिक देखिन्न । तर पनि मुस्कान विनाको फोटो र अभिवादनले कार्यक्रम खल्लो बनाउने पक्षमा हामी थिएनौँ । सकेजति हाँस्ने प्रयास गर्छौँ ।  त्यसैले अब त्यो अनुभव गर्न बाँकी भएकालाई एउटा दिव्यज्ञान सिर्जना हुन्छ " भोक नलागेपनि रिसेप्सनमा बेहुलाबेहुलीले पहिले नै  पेटभरि खाना खानु । "  यो दिव्यज्ञान हामीलाई विजय ज्वाइँले दिनुभएको थियो । 


एयरलाइन्स, हनिमुन र अल्ट्रालाइट । 

हनिमुनका लागि पोखरा जाने कुरा तय थियो । पोखरा पहिले गैसकेको ठाउँ हुनाले उनलाई भने खासै रुचि थिएन । म ६ वर्ष पोखरा बसेको हुनाले केही नयाँ त थिएन । तर पनि समयको पावन्दिले गर्दा पोखरा जाने कुरामा राजी भएकी थिइन् । मलाई भने उनी बिरामी पर्ने चिन्ताले सताइरहेको हुन्छ । उनलाई रुघाखोकी लागेको केही दिन भइसकेको थियो । त्यसैले त प्लेनबाहेक अरुमा लामो यात्रा गर्न नपर्ने गरी घुम्ने योजना बनाएको हुन्छु । भैरहवाबाट पोखरा जान टिकट सकिन लागेको रहेछ । गुन एयर लाइन्सको एउटामात्र टिकेट देखेर टिकेट काटिहाल्छु । त्यो एयरलाइन्समा अहिलेसम्म चढेको थिइन। उत्साहकासाथ प्लेन चढ्न भैरहवा विमान्स्थलमा पुग्छौं । त्यहाँसम्म उनको मामाले पुर्याइदिनुहुन्छ । 

प्लेनभित्र चढिसकेपछि सबै उत्साह हराउँछ । कता हो कता माइक्रोबस चढेको अनुभुती हुन्छ । भर्खर बिहे भएकी बुढीसँग पनि बस्न नमिल्ने गरि एउटा एउटा छुट्टाछुट्टै सिट । उनलाई हाँस्दै भन्छु"  बरु माइक्रोबसमा सँगै बस्न मिल्छ यार । "   एअर होस्टेसले पनि हिल जुत्ता लगाउनै नमिल्ने । अग्लो मान्छेको त ढाड नै बाँसजस्तै निहुरिनुपर्ने । जे होस् गुन एयरलाइन्सको टिकेट अन्तिमसम्म बचिरहनुको कारण पत्ता लाग्यो । तर पोखरासम्म पुर्याएर गुन एयर लाइन्सले गुन पनि लगायो । त्यसैले गुनको गुन पछिसम्म  सम्झिरहने भैयो । 

पोखरामा नयाँ केही गर्ने हेतुले अल्ट्रालाइटमा चढ्ने योजना बुटवलदेखि भैरहवा विमानस्थलको छोटो सफरमा बनेको थियो । उल्ट्रालाइटमा उनीसँगै आकाश उढ्ने इच्छा जाग्छ । म त कल्पनामा पुरै आकाश उनीसँग सयर गर्छु । त्यसैले त्यसको बारेमा बुझ्न कार्यालय पुग्छौँ । त्यहाँ पुग्दा निराश हुन्छु म । त्यो अल्ट्रालाइट पनि गुन एयरलाइन्सकै भाइ परेछ ! सँगै चढ्न नमिल्ने रहेछ । 

आकाशमा उढेर प्रकृति हेर्ने इच्छाले चढ्छौँ छुट्टाछुट्टै । पोखरा उपत्यका पूरै देखिने रहेछ । हिमालको नजिकसम्म लिएर जाने हुनाले त्यो मनोरम दृश्य हेर्न लायक हुन्छ । चिसो बतासले खुट्टामा हानेको पनि बिर्सिन्छु म । तर आकाशको बाटोमा पनि खुब हल्लाउँदै लैजाने रहेछ । मलाई वाक्वाकी लाग्छ । त्यसैले पाइलटलाई त्यो फिस्टे जहाजलाई तल झार्नको लागि इशारा गर्छु । त्यो हावाको वेगमा बोलेको केही नसुनिने ।  पाइलटले बिस्तारै एयर पोर्टमा झार्छ ।    

                                                                                         
मलाई त्यो वाक्वाक लाग्न छोड्दैन । लगत्तै उनको अल्ट्रालाइट पनि फर्किएर आउँछ । उनी भने पुरै रोमान्चित भएकोमा खुसी लाग्छ । तर म भने पुनः  कहिल्यै नचढ्ने कुरा व्यक्त गर्छु । तीनचार घण्टासम्म त्यो आकाशको धङधङी रहिरहन्छ मलाई । त्यसपछि म उनलाई हरिहर गुफा लिएर जान्छु । त्यहाँ पुग्न ४५ मिनेट्जति हिंड्नुपर्छ । उनको हिँड्ने इच्छा पनि केही पूरा होला भन्ने मेरो अनुमान थियो । बिरामी भएपनि घुम्न नछोड्ने निकै अटेरी छन् उनी। जे होस् उनलाई नयाँ स्थान हुन्छ त्यो। 

तीन दिनको पोखरा बसाइपछि हामी चितवन जान्छौं । चितवनबाट देवघाट घुम्न जान्छौं । हजुरबुबा हजुराअामालाई पनि भेट्छौँ । त्यहाँ अवस्थित मन्दिरहरुको दर्शन गर्छौं । उनलाई भने कस्तो मन्दिर मात्रै घुम्ने बुढा परेछ भनेर पक्कै मनमा लागेको हुनुपर्छ । त्यसैले अल्ट्रालाइटमा यात्रा गर्दा जस्तो खुशीको भाव अनुहारमा झल्किन्न । अपेक्षाहरुको पिँजडाले दुख मात्रै दिन्छ भन्ने दिव्यज्ञान उनमा प्रवेश गरोस् भनेर मन्दिरमा कामना गर्छु । 

त्यो रात सौराहा बसेपछि अर्को दिन बुटवल फर्किन्छौं । विदा पनि सकिन्छ । विवाह सकिन्छ ।  हनिमुन पनि सकिन्छ । फेरि उहि आ -आफ्नो कर्मथलो जानपर्ने  । यसपटक भने मलाई कर्मथलो फिर्ता हुँदा मन चङ्गा हुँदैन । उनको अँगालोबाट छुट्नुपर्दा अपुरो महसुस हुन्छ ।@Savi                         
  ( यस विवाह कार्यक्रम सुसम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण इष्टमित्रहरुमा हार्दिक आभार ) 

Comments

Post a Comment

Popular posts from this blog

अप्रिय अंक १००० ।

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।