सडक बीचमा उभिएका गोरुहरु ।


 निर्धक्क जीवन सबैको चाहना हो । न कसैको डर न कसैको छत्रछायामा । न कसैले केही गर्ला भन्ने चिन्ता । यस्तो निश्फिक्री जीवन जिउने रहर सबैलाई हुन्छ होला । तर यथार्थ त्यति सजिलो हुँदैन । धन भए धन व्यवस्थापनको चिन्ता । धन नभए धन कमाउने चिन्ता । निर्धक्क त मनुष्य कहिल्यै हुन नसक्ने रहेछ । सबैभन्दा ठूलो लगानी भनेको खुसी हो । हरेक कार्यमा खुसी लगानी गर्न सके जीवन सदाबहार मधुवन हुन्छ । 


संसारमा भुल्न सबैको आफ्नो आफ्नो पेशा हुन्छ । अस्पतालको काम सकेर घर फर्किँदा र काममा बिहान अस्पताल जाँदा बाटोमा अनेक दृश्य देख्न सकिन्छ । गगनचुम्वी आकर्षक होटेलका अगाडिका  बाटोमा कुदेका सिलिक्क परेका चहकिला गाडीहरुदेखि सडक छेउमा आगो बालेर मकै पोलिरहेका दृश्यसम्म देख्न सकिन्छ । बाटोमा हिँडिरहेका कुकुरहरुको रासलीलादेखि चराहरुको आहार जुटाइरहँदाको सजगता सबै देख्न सकिन्छ । 


समय एउटै हो । तर घटित घटना परिघटना त्यो समयका जीवन्त  पात्रहरुको अनुभवमा फरक । त्यो सडकामा यात्रा गरेका र सडक छेउमा स्थिर सबै व्यक्तिहरु आफ्नो मन भित्र एउटा अनुभूति गरिरहेका हुन्छन् सायद । कसैले  गाडी कति बेला आउँछ भनेर कुरिरहेका हुन्छन् । कसैलाई ट्राफिकको चिन्ह कतिबेला बदलिन्छ भन्ने पर्खाइ हुन्छ। सार्वजनिक यातायातलाई भने रातो बत्ती बलिरहे हुन्थ्यो जस्तो लाग्छ।   त्यो यात्रामा एकै समयमा सबैको आ-आफ्नै संसार आ आफ्नै कार्य आ आफ्नै गन्तव्य । 


एउटा दृश्य भने सबैले देखेको तर खासै ध्यान नदिएको दृश्य हुनुपर्छ । सडक विचमा उभिरहेका चौपायाहरुको दृश्य । विगत केही वर्षयता सडक बिचमा धेरै गाई गोरुहरु फिरन्ते घुमिरहेका हुन्छन् ।  त्यो समथर सडकमा हिड्डा खुर नदुख्ने भएर होला । गजक्क परेर राजमार्गमा हिँड्दा विशेष महसुस गर्छन होला । मान्छेजस्तै बोल्न जान्ने भए के भन्दा हुन् !  बस ट्रक टृपर जे आए पनि निष्फिक्री हिडिरहन्छन्। विचमा केही समय अडिरहन्छन्।  जङलसम्म पुर्याउनु भनेर बस आदिसँग लिफ्ट मागेको हो कि चरम डिप्रेसनमा गएर जीवन आहुती 


दिन खोजेको हो । त्यो भने बुझ्न सकिन्न । जे होस् देख्दा आनन्दमय हुन्छन् । मुखभरी केही चपाइरहेका हुन्छन् । हर्न बेस्मरी बजाइरहँदा मात्रै सुस्त गतिमा हिँडेर बाटो छोड्छन्। धन्न राज्यभन्दा जाती रहेछन् भन्ने पनि हुन्छ बेलाबेला । जति धेरै गाडी आए पनि कुनै मतलब छैन । ट्राफिक नियम त झन पालना चौपायाबाट कसरी हुन्थ्यो र ! न रातो बत्ती न हरियो बत्ती न जेब्रा क्रसिङ । हिंड्नको लागि केवल अगाडि खाली भए पर्याप्त ।  बाटोमा हिँड्ने सबै प्रकारका गाडीहरुलाई रोक्न सक्ने तागत पो छ त । बाटो छेउमा पुगेपछि मकै पोलिरहेकी एउटी महिलाको छेउमा गएर मकैका पोस्कर चोर्न खोज्छन् । फलफूलको ठेला देखेर मुख रसाउँछन्। मौका मिले  झ्याम्म खाइहाल्छन्। पहिले फलफुल र पछि लाठी । तर पनि प्रतिक्रियाविहिन हुन्छन् । जता खुट्टाले डोर्याउँछ, त्यतै लाग्छन् । कमसेकम आफ्नै खुट्टाका बलमा त हिड्छन् । राज्यजस्तो दातृ निकायको छडीमा त हिड्दैनन्। 


सोच्दा लाग्छ यति धेरै चौपाया कहाँबाट आए र यो सडकमा घुमिरहेका छन् । यी जङलबाट त पक्कै आएका हैनन्। मान्छेले नै छोडेका हुन् । कसैका नाम तिखे थियो होला। कसैको माले , काले , सेते , राते, टाटे आदि । ती  नाम सबै सडकमा स्वतन्त्र भएपश्चात् विलिन भयो । नेपालमा स्वतन्त्र व्यक्ति विलिन भएजस्तो । 


पाल्न गार्हो भएर त होला  बाटोमा स्वतन्त्र छोडेका।  कृषि क्रान्ति भएर पशु चौपायाको काम नभएर त  पक्कै हैन होला । त्यस्तो क्रान्ति हुँदो हो  त आज कृषि प्रधान मुलुक भन्न लाज हुने अवस्था हुने थिएन । ती पशुचौपाया आज कतै फार्ममा हुन्थे होला । गर्धनमा दाम्लो र बोलाउने नाम सहित ! 


पशु पाल्नको लागि मेहनत बढी , फल कम भएर त हो । जे होस् मनुष्यले पाल्न छोडे पनि निर्धक्क घुमिरहेका फिरन्ते पशुहरु हृस्टपुस्ट नै छन् है । दाम्लो नबाँधिएको स्वतन्त्रताको सन्तुष्टि मिसिएको भएर होला ।  प्रकृतिले सकेसम्म न्याय नै गर्छिन्  । सडकछेउमा फालिएका अन्नआहारले थेगिरहेका छन् । तर  कहिले कसो प्लास्टिक पनि चपाइरहेको देखिन्छ । भोकले भन्दा वातावरणको चिन्ताले हो कि !! 

 

जे होस् ती  स्थिर छन् ।  छट्पटी कत्ति छैन । स्वतन्त्र छन् । तर विना लगाम मनपरी छैनन् । ठुलै बिगार पनि गरेका छैनन् ।  एक छेउमा मस्त अनुशासनमा बसिरहन्छन् मन लागेसम्म । अहिले बनेका रहर लाग्दा भ्यु टावरबाट पनि यो दृश्य देख्न सकिन्छ । तर दु:खको कुरा जति माथि चढेर अवलोकन गरे पनि हामी त्यो चौपायाको सरलता र स्थिरताको अनुभव गर्न सक्दैनौं । 


सडकमा कुकुरले टोकेर मान्छे अस्पताल आइपुग्छन् । तर सडकका गोरुले घाइते बनाएर आएका भने देखेको छैन।   कहिले कसो त लाग्छ यी सबै गोरुहरुले बुद्धत्व नै प्राप्त गरेका छन्  कि !! त्यही सडकमा हिँड्ने मनुष्यजातिले भने केही तनाव केही चिन्ता केहि रिस केही खुसी केही दु:ख आदि मन्थन गर्दै हिड्छौं । अब थोरै चिन्ता पशुचौपाया व्यवस्थापनमा पनि लगाउने हो कि ! 


Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा