भ्युटावरबाट नदेखिने अँध्यारो ।



हुन त गर्भअवस्था र सुत्केरी हेर्न नपर्ने भएको ४ वर्ष बितिसकेछ । तर जिल्ला अस्पतालहरुमा काम गर्दाको अनुभवहरु भने समाचार आदिमा कुरा सुन्दा  बेला बेला सम्झना हुने गर्छ । राष्ट्रले जति फड्को मारेको गफ दिए पनि कुनाकुनामा चेतनाको दियो अझै बल्न सकेको छैन । चेतनामा फड्को नमारेसम्म सबै कार्यक्रमहरु विफल हुने गर्छन् । 

डोल्पाको दुनै बजार डोल्पाको सदरमुकाम हो । त्यहाँ एउटा जिल्ला अस्पताल रहेको छ । ढुङा र सिमेन्टले बनेको अस्पताल । वरपरका गाउँहरु जाने बाटो कच्ची नै छन् । कति गाउँसम्म एम्बुलेन्स आदि केहि पनि जाँदैनन् । विजुली बत्ती छ । तर कयौ पटक टर्च बालेर उपचार गर्नुपर्छ । किनभने बत्ती गएपछी फेरि आउन धेरै दिन लाग्छ । अस्पतालको जेनेरेटर बिग्रेको मर्मत गर्न प्रशासनिक झन्झटले रोकिरहन्छ ।  जनसंख्या नै पातलो हुनाले विरामी कम आउँछन । तर जटिल आउने गर्छन् । सानातिना समस्या त मान्छेले यत्तिकै पचाउने बानी परेको जो छ त्यहाँ !  त्यहाँको विषेशता के छ भन्दा बिरामी आउँदा शरीरको रोग मात्रै लिएर आउँदैनन्। साथमा सामाजिक अन्धविश्वासको रोग पनि लिएर आउने गर्छन् । 

यस्तै दुख सुखका विचमा सेवा दिने क्रममा केहो समय पहिले एउटी सुत्केरी महिला आइपुग्छिन्। उनी करिब ४ घण्टा पैदल दुरीमा रहेको एउटा गाउँबाट आएकी हुन्छिन् । उनको अवस्था चिकित्सकीय भाषामा भन्नुपर्दा Hemorrhagic shock को अवस्था हुन्छ । डा रिषभ र डा शंकर  दुवै जना सो खबर पाउने बित्तिकै एमर्जेन्सीमा पुग्छन् । कुरा बुझ्दा ती महिलाले बच्चा जन्माएको ४० घन्टा अगाडि रहेछ । र ४० घन्टा देखि बच्चालाई स्तनपान नगरेको थाह हुन्छ । नवजात शिशुको शरीरमा रक्तप्रवाह पनि निकै सुस्त भइसकेको हुन्छ । शिशु निकै सुस्त हुन्छ । 

साथमा आमाको पनि साल अड्केको र रगत बगिरहेको हुन्छ । ब्लड प्रेसर नाप्दा ब्लड प्रेसर निकै कम हुनाले सुन्न सकिदैन । त्यसमै अर्को दृश्य देखिन्छ - शिशुको नाभीमा कपालले बाँधेको हुन्छ । यो सबै दृश्यमा त्यहाँ उपस्थित डाक्टर र नर्सिङलाई यथेष्ट व्यस्तता र तदारुकता हुन्छ नै । बल्लतल्ल सलाइन चडाएर र हरसम्भव औषधिहरु दिएर आमाको प्रेसर सुनिने  गरि उकालो लाग्छ । सो सँगै सबैजनामा खुसीको ग्राफ पनि एकाएक उचाइमा पुग्छ ।   शिशुको नशा नभेटिनाले सक्सन ट्युबलाई नाकबाट पेटसम्म पुर्याएर सलाइन पानीबाट उपचार गर्न पर्छ । र विडम्बना  यो सबै समयमा टर्च बालेर उपचार गर्नुपरेको हुन्छ । यो दृश्य सायद नेपालको कुनै पनि भ्यु टावरबाट देखिँदैन होला । 


नेपाल सरकारले गर्भवती अवस्थामा ४ पटक स्वास्थ्य सँस्था भेट्नुपर्ने नीति रहेको छ । र Zero Home Delivery को जोडदार प्रयास गरिरहेको छ । तर डोल्पामा एउटा विस्वास गहिरो रहेको छ । सिमेन्टले बनेको अस्पतालमा सुत्केरी गरायो भने चिसो पसेर न्युमोनिया हुन्छ । त्यसैले जब Delivery को समय नजिक हुँदै जान्छ, उनिहरु  सुत्केरी गराउन दुनै बजारबाट आफ्नो घरतिर लाग्छन् । गर्भधारण गरेको सुरुका ६-७ महिनाजति दुनै बजारमा बस्ने  र त्यसपस्चात सुत्केरी गराउन घरतिर जानुले त्यहीँ नजिकै रहेको अस्पताललाई जिस्काइरहेको आभास हुन्छ । अस्पतालमा सुत्केरी गराउन लैजाने हो भने अपरेसन गर्दिन्छन्। घाउ पाकेर मृत्यु हुन्छ भनेर पनि अस्पताल जान डराउने गर्छन् । कहिलेकाहीं त लाग्छ के मातृ स्वास्थ्य कार्यक्रम फगत एउटा कागज मात्रै हो ? 

परिवर्तन अवस्यम्भावी छ । परिवर्तन नै संसारको   एकमात्र स्थायी कुरा हो । एक दिन नेपालको कुनाकुनामा जनचेतनाको स्तर उन्नति होस् भन्ने कामना । यो सबै दृश्य देख्दै र घटना भोग्दै कार्य गरिरहेका डाक्टरहरुले फोनसम्पर्कमा भएपनि यथार्थ वस्तुस्थिति बेलाबेलामा सुनाउने र सरसल्लाह माग्ने हुनाले सो स्थानको स्वास्थ्य अवस्थाको बोध मलाई भइरहने गर्छ । टर्च बालेर पनि सेवा दिइरहेका स्वास्थ्यकर्मीहरुको मन राज्यको वेवास्ताले अहिले कुँडिएपनि भविष्यमा आत्मसन्तुष्टिको एउटा मीठो याद दिलाउने छ । 

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा