साँच्ची ! त्यो बिहानी कति बेला होला ?

त्यो बिहानी कती बेला आउला ?

देश पुरै चुनावमय भएको छ । समाचारमा चुनावी सरगर्मीले तताएर हेडलाइन्स जति चुनाव केन्द्रित  छन्। भोट के होला कसरी तान्ने होला भन्दै झन्डाहरु खिचातानी गरिरहेका छन् । मौन अवधी सुरु भइसकेको छ । मौन रहँदा जसरी विचारहरुका ज्वारभाटा आउँछन् त्यसरी नै चुनाव जित्ने मौन तिक् डमहरुको बाढी पनि आउँदा हुन् ।  उम्मेदवारले नै जानुन् । मलाई त केवल बिहान कहिले हुन्छ भन्ने चिन्ता छ । त्यसैको पिरलो छ । रात नै कति लामो भएको महसुस हुन्छ ।
( तत्व ज्ञान : समय वास्तवमै सापेक्ष कुरा रहेछ । )

एक २० वर्षिय महिला बच्चा जन्मेको ४ दिनमा स्या स्यात गर्दै एमर्जेन्सिमा आएकी छन् । उनको स्वासदर नै ५० नाघेको छ । निकै अप्ठेरो महसुस भएको देखिन्छ । स्वा ..स्वा ..स्वा...स्वा..

एक पटक ५० पटक श्वास फेरेर विचार गर्नुहोस् त !! कति गार्हो हुन्छ । कोभिडलाई जितेकाहरुले त कटु अनुभव नबिर्सेका होलान् । तर बिरामी नभएको व्यक्तिलाई मैले भनेका कुरा शब्दका अतिरन्जना मात्रै लाग्न सक्छ ।  छातीको एक्स रेमा हेर्दा उनको मुटु सुन्नेको छ ।  यो डेलिभरी पश्चात् देखिने मुटुको समस्या हो जसमा मुटुले पम्प गर्न सक्दैन । फोक्सोका श्वास फेर्ने प्रणालीमा पानी भरिएर अक्सिजन र कार्बन डाइअक्साइडको आदन प्रदान हुन सक्दैन । जसले गर्दा अक्सिजनको उच्च Demand ले गर्दा श्वास छिटोछिटो फेर्न पर्छ । लामो समय सोही अवस्थामा रहँदा श्वास प्रणालीका मांस्पेसी थाकेर आफ्नो कार्य गर्न छोड्ने अवस्था आउँछ । त्यसपछिको दृस्यमा स्वासको गति घट्छ । साथमा प्राण्वायु पनि बिस्तारै छोड्दै जान्छ । स्वा ............स्वा ..............स्वा........................

(  र यो सबै देख्न बाध्य चिकित्सकलाई कस्तो छट्पटी होला ! कल्पना गर्नुहोस् त । )

कुनै ठूलो अस्पताल सिघ्र पठाउन सडक बाटो छैन ।  प्लेन दिनको सबेरै बिहान एक पटक मात्रै उड्छ । मौसम खराब भए त्यो पनि उड्दैन । हेलिकप्टर लिफ्ट गर्न पनि महाभारत प्रक्रिया नै हुन्छ । उपचार गर्ने प्रयास गर्न मन छ । तर औषधि छैन । ज्ञान छ तर प्रयोग गर्न सकिन्न । यस्तो अवस्थाका बिरामीलाई सहरतिर सघन कक्षमा राखेर उपचार गर्ने गरिन्छ । त्यो औषधि हरेक अस्पतालको एमर्जेन्सिमा हुनु आवस्यक हो । त्यस्ता औषधि दुरदराजका अस्पतालमा म्याद नाघेर सकिनु ओअनि जायज हो । किनभने त्यस्तो जटिल अवस्थाको बिरामी यदाकदा आउने गर्छ । जसरी मरुभूमिमा एक थोपा पानीको महत्त्व हुन्छ , त्यसरी नै  त्यो समयमा त्यस्ता औषधि सबैभन्दा महत्त्वपूर्ण हुन्छ । प्रशासनले यो कुरा बुझ्न निकै जरुरी हुन्छ । त्यस्ता औषधिको म्याद सकिनु राम्रो हो । जनता त्यस्ता जटिल रोग लिएर नै आएनन् भनेर खुसी हुनुपर्छ । तर औषधिको प्रयोग नहुनु र  म्याद सकिन्छ भनेर औषधि किन्न जागर नगर्नु अज्ञानता नै हो । नियमित रुपमा त्यस्ता औषधि खरिद गरिनुपर्छ ।

भएको श्रोतसाधनको भरपुर प्रयोग गर्न खोज्दै छु । सबै प्रयास गर्दै छु ।  तर उनको स्वासदर देखेरै मन आत्तिन्छ । बेलाबेला घडी पनि हेर्छु । बल्ल ११ बजेछ भनेर त्यो लामो रातको कल्पना हुन्छ । बिहानी हुन बाँकी रहेको समय हिसाब गर्छु । किनभने उनलाई विशेष उपचारको खाँचो छ । मसँग औषधि छैन । त्यो औषधिको गुण भएको स्थानीय स्तरमा पाइने कुनै प्राकृतिक तत्व छ कि भनेर मनमा आउँछ । सम्झिन्छु "यार्सागुम्बा । " खोज्छु गुगल गरेर । तर यार्साको इश्ववरीय स्थानका दुनियाँ ज्ञान भेटिन्छ । त्यो सब मलाई फिका लाग्छ ।  उनलाई छोड्न सकेको छैन । कतै श्वास नै बन्द हुने अवस्था आयो भने श्वास नलीमा पाइप सम्म छिराउने आँट गरेको छु । ४ दिने शिशु पनि भोकै छ । उसको भविष्य आमाको फेल भएको मुटु तङृने आशमा झुन्डिएको छ । मनमा जति छट्पटी भएपनि बिहानी कुर्नुको कुनै उपाय देख्दिन । साँच्ची ! त्यो बिहानी कति बेला आउला ?
(कथाको परिवेश फोनमा प्रत्यक्ष सुनाइरहेका एक चिकित्सकको मनोभावको चित्रण गर्ने असफल प्रयास)

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा