चम्चाले पस्किएको तरकारी ।


चम्चाले पस्किएको तरकारी ।
बिहानैदेखि दिनभर लेखेको लेख्यै छु । पसिनाले शरीर  निथ्रुक्क भिजाउँछ । सर्टले कुनै अज्ञात  देशको नक्सा देखाउने गरी शरीरमा टाँस्सिएर आकार बनाउँछ । सायद प्रशासनिक उदासीपन र अनुदारताको नक्सा होला ।  त्यो पंखाको हावा त कता कता ।

एकै पटक धेरै जना बिरामीको भिड । कसैलाई रिपोर्ट देखाउने चटारो । कसैलाई औषधि लेखाउने चटारो ।  मलाई भने पानी पिउन र पसिना पुछ््न मै चटारो । पिसाबबाट जाने पानी सबै पसिनाबाट । हल्का झिँजो पनि लागिरहेको हुन्छ । गर्मी , भिड , लेखनदासको कार्यले । कतै रुखो बोलिएछ भने यहि लेखमार्फत क्षमाको आशा ।

आजसम्म त कसैले  बुझेनन् ," बालेन"ले जितेछन् भने उनका योजनामा अरु कार्यालयबाहेक ए सी सहितको ओ पि डि कक्ष पनि चाहिन्छ है भनेर चिठी लेख्ने मन हुन्छ !
सधैं घरमा खाना खाँदा कहिलेकाहीँ बजारतिरका भान्साघरहरुमा खाना खाने चलनको तीव्रता नेपालमा देखिएको छ । दिनभर पट्यारलाग्दो पसिनाले रुझाएको कार्यबाट उम्किएर साँझपख एउटा रेस्टुरेन्ट जाने योजना बन्छ । टिममा धेरैजनालाई भात प्रिय लाग्ने हुनाले खाना खाने हेतुले भान्साघरतिर लाग्छौँ । त्यहाँ पुगेपछि सुरु हुन्छ भुँडीको इतिहासमा छलफल ।

केही वर्ष अगाडिसम्म भुँडीको महिमागानको एउटा समय थियो । भुँडीको महिमागान यस्तो थियो कि भुँ डी  नहुनेको "पर्सनालिटी"  नै हुन्न भन्थे । उस्तै परे भुँडीको आकारले गर्दा  साहुजनहरुलाई त टेबलको आवस्यकता नै पर्दैन होला । डाक्टर पनि कपाल फुलेको र पेट लागेको डाक्टर नै बढी पाको र अनुभवी मान्ने गरिन्थ्यो । सायद अहिलेपनि गरिन्छ । त्यही भुँडी हो जसले भैरव अर्याललाई कालजयी निबन्ध सिर्जना गर्ने प्रेरणा दिएको थियो ।

त्यो पर्वतजस्तो चुलिएको  भुँडी मधुमेह, प्रेसर जस्ता दीर्घ रोगको क्रिडास्थल हो भन्ने कुराको चेतना अहिले फैलिएको छ । तौल घटाउन अल्छी गरेपनि इच्छा भने सबैको हुन्छ । हाम्रो टिम पनि ज्यानले त  खाइलाग्दो नै थियो ।

हाम्रो आहारको मुख्य तत्व भनेको भात नै हो । भात दाल तरकारी सबैको रुची । सधैं खाएपनि कहिल्यै छोड्न नसकिने । कस्तो जिनिस रहेछ चामल !! घरमा भात, रेस्टुरेन्टमा फ्राइ राइस, चाडपर्वमा सेल । बिहान बेलुका भात । केही नभए एक छाक त भात हुनै पर्यो । आहारमा कार्बोहाइड्रेटको मात्रा बढी भएको र आधुनिकीकरणसँगै मौलाएको आलस्यपनाले दक्षिण एसियामा मधुमेह र उच्च रक्तचापको समस्या बढेको पक्कै हो । किशोरावस्थादेखि नै अधिकांस व्यक्ति मेटाबोलिक सिन्ड्रमको शिकार छन् । तर हामी खाना नै अर्डर गर्छौं । स्वादले तथ्यलाई जितेको अवस्था ।

१५ मिनेटजतिमा एक जना भाइले पूरा ठाट्बाँठ्का साथ खाना लिएर आउँछन् । काँसको  थालको एउटा छेउमा सर्लक्क मिलेको पर्वत आकारको भातको गोलाकार चुली, एउटा मध्यम खालको कचौरामा दाल, गुन्द्रुकका केही रेशा , तरकारीको नाममा एउटा कुनामा दुई तीन पिस आलु , र चिन्न नसकिने थोरै अर्को कुनै तरकारी । भन्नुपर्दा मुस्किलले एक चम्चा तरकारी ।

सागको नाममा एक चिम्टीमा पनि पुरा  नअटाएको जति साग। म देख्छु " त्यो भात पस्किने भाँडो कति ठूलो ।"  तरकारीआदिको त कति साना चम्चाजस्ता डाढु र पन्यु ! ती ससाना पन्यु र डाडु त भान्साघरले नै फ्याक्टरीलाई बनाउन लगाएको हुनुपर्छ !!

खाना पस्किसकेपछि एउटा सानो ताप्केमा तात्तातो पग्लेको घिउ लिएर आउँछ । सार्है नै मीठो होलाजस्तो ।
भाइले भन्छ " सर।  घ्यु राखम्  "
मलाई भने त्यो भाइले  " कोलेस्टेरोल कोलेस्टेरोल , भुँडी भुँडी, ग्यास्टृक ग्यास्टृक  " भनेजस्तो लाग्छ ।
मनले नमानी नमानी भन्छु, "  एक चम्चा राख्नुस् न त "
उसले ह्वाम्मै खनाइदिन्छ भातको पर्वतमा । दालको कुण्डमा ।
खाना खासै मिठो त हैन । तर भोकले भोजन मीठो नै गराउने गर्छ । स्वाद फेरिँदा मीठो नै लाग्छ । त्यो चिम्टि भरको तरकारीको त्यान्द्रो एक दुई गासमै सकिन्छ । तरकारी थप्नु पर्यो भनेर हेर्दा हेर्दै १० १२ गाँस खाइसकिन्छ ।

भाइ आउँछ कचौराहरु एक आपसमा जोडिएको भाँडो लिएर । भाइले तरकारी राख्छ कि भनेर हेरेको चम्चाले धेरै खस्ला कि खस्ला कि जस्तो गरेर राख्छ ।
" सर! अरु केही थप्ने " भनेर सोध्छ । उसको हँसिलो अनुहार पुलुक्क हेर्छु । साहुले पस्किन त राम्रै सिकाएका रहेछन् !   मलाई भने मनमनै चिड्चिडाहट हुन्छ ।

अलि दुई चार चम्चा राख न भाइ भन्दा अलि राखेजस्तो गर्छ । तर उही चिम्टिभर । त्यो चम्चाको ठाउँमा  डाडु भए नि कति राम्रो हुन्थ्यो । यहाँ को छुच्चो भन्ने नै थाह भएन ।  आफू कति छुच्चो हुनु भनेर त्यही  चिम्टीको तरकारीले नै काम चलाउँछु ।

साँच्ची । मैले त्यो पापडको बारेमा त भन्नै बिर्सेछु । दुईटा स-साना पापड पनि हुन्छन् । त्यो हुनु र नहुनुको केहो स्वाद हुन्न । केवल जिब्रोलाई जिस्काउन राखेजस्तो । आलु भुजिया पनि त्यस्तै ।

त्यो तरकारी पस्किने चम्चा र भात पस्किने ठूलो पन्यु साट्न मन लागेर आउँछ। चम्चाले भात र पन्युभरी तरकारी पस्किने भए दक्षिण एसियामा देखिने पर्वतसरी  भुँडी कम हुन्थे होला । प्रेसर र सुगरका औषधि कम खपत हुन्थे होला ।

यति के सोच्दै थिएँ । भाइले पुनः खाना थप्ने कि भन्दै प्लेटले भात निकालेर सबैलाई पस्किँदै हिड्छ । थोरै राख भन्दा ग्वम्मै राख्छ । यस्तो लाग्छ खानाको पैसा जति सबै भात र घ्युको पैसा तिरेको हो । आज भातको लागि पैसा तिर्ने , भविष्यमा औषधिको लागि ।

यस्तै सोच्दै म घर पुग्छु । भान्सामा तरकारी राखिदिनुभएको रहेछ । मम्मीले बनाएको आलु, भिन्डी र सिमीको तरकारी धित मर्ने गरि खान्छु । मम्मीले त त्यो चम्चाले पस्केको तरकारी कुन चाहिँ दिव्यदृष्टिले देखिसक्नुभएको रहेछ । भात बढि लागेर त होला,  हाइ हाइ गर्दै कतिखेर भुस भएछु! सपना देख्छु " नेपाल सब्जी-तरकारी  निर्यातमा विस्वमा अग्रस्थानमा । " अनि सपनामा एउटा प्रण पनि गर्छु " भोलि उठेर बारी खन्छु । तरकारीमा पानी लगाउँछु । "

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा