Fear of Doctor and patient

भयबित डाक्टर  र भयबित बिरामी ।

" डाक्टरकोमा जान डर लाग्ने भो ।  कहिले नक्कली  डाक्टर  ।  कहिले कहाँ अस्पातलअं मान्छे मरेछन् ।  अहिले आन्दोलन रे । मेरो पित्तथैलिको  अपरेसन गर्ने भन्थे ।  अब डर  लाग्यो ।  …….पैसा मात्र लिन्छन् ।  …। " भन्दै एक खाइलाग्दो जिउडाल भएकी उमेरले सालाखाला ३० देखिने चाडपर्बका मौसमी वस्त्रले सुसाज्जित महिला आफ्नो साथीलाई सुनाउँदै थिइन् ।  केहि असन्तुस्टि, केहि रिस र केही भय उनको  आवाजमा मिश्रित  थियो ।  र केहि सत्य केहि भ्रम र केहि अज्ञानता थियो उनको बिचरामा र मनोबिज्ञानमा ।  बेलाबेलामा कुरामा पूर्णबिराम लगाइदिने कोहि भए हुने जस्तो लागेको थियो मलाई ।


भर्खरैको चिकित्सकहरुको  आन्दोलनको सरगर्मी र त्यसको चित्त नबुझ्दो अबतरण  पस्चात मनमा उमंग पलाउला भन्ने  उद्देस्यले दसैं मनाउन नारायणगढ जाँदै गर्दा  सार्वजनिक बसको यात्रामा सुनेँ  यी कुराहरु ।  ती कुराहरुलाई गम्भिरतापुर्बक बिचार  गर्न वाध्य भएँ ।  धेरै कुराले च्वास्स पार्यो मलाई ।  यसो बिचर गर्दा यतिका बर्षमा बिरामीको उपचार  गर्न  र सल्लाहा दिन बाहेक केही ज्ञान  सिकिएको छैन ।   ।  उपचार गर्दै गर्दा  हरेक दिन आफ्नो चिकित्सा ज्ञान केही माझिएको अनुभुती हुन्छ ।  तर जनमानसको मनोबिज्ञान  र सोचको एउटा  प्रतिनिधि उदाहरण प्रत्यक्ष अनुभव गर्दा नरमाइलो लाग्यो ।  त्यसैले शब्दमै उतारेर भए पनि प्रतिक्रिया दिने प्रयास गरेँ ।

किताबमा  लेखिएको जस्तो बिरामी सधैं कहाँ हुन्छ र ! बिरामी कुनै बस्तु हैन ।  न त रोग त्यसको "फिचर ।  "  बिरामी त एउटा ब्यक्ती हो ।  जसलाई  लक्ष्यणहरुको संग्रह अध्ययन गरी सबैभन्दा मिल्दो रोगको उपयुक्त उपचार गरिन्छ ।  चिकित्सा शास्त्र गणितीय फर्मुलामा चल्दैन । धेरै जसो  रोगको सहि तरिकाले खोज्दा सहि निदान हुन्छ भने केही  रोग मायाबी निस्कन्छन्  ।  ति मायाबी रोगले चिकित्सकक्लाई पनि  रणभुल्ल पार्छन् ।  बिरामीसँग  रोग मात्रै  नभएर उसको  चेतना ,मनोबिज्ञान  ,बिचार  सबै साथमा हुन्छ ।    ।  चेतना भएकै हुनाले बिरामी बस्तु कदापि  मान्न मिल्दैन । मानिस बिचारले बनेको हुन्छ ।  उसको बिचार र मनोबिज्ञानले डाक्टरलाई दानब देख्दछ भने विश्वाशको  कमीले  ताल्मेल मिल्दैन । दुई बिचको बिस्वासको तार कमजोर हुनु असफल उपचारको पहिलो नमिठो सुरुवात हो ।  बिडम्बना  भन्नुपर्छ ।  त्यो  बिस्वासको  तार अहिले चुडिएको छ ।   ।

हाल  दुबै पक्षमा मनभित्रको भयको आयतन फराकिलो हुँदै  गएको देखिन्छ । डाक्टरलाई बिरामी उपचार  गरेर बिनाकारण  कुटाइ खाइञ्छ कि भन्ने भय भने बिरामीलाई यो कतै नक्कली डाक्टर हो कि  अथवा कतै उल्टोसुल्टो उपचार हुने हो कि भन्ने भय ।  एक अर्कासँग  भयको बातावरणमा त दुबैजना उम्कने र जोगिने परिपाटी सिर्जना हुन्छ नै । उपचार गर्ने डाक्टर अरुको ज्यान बचाउने ध्यान भन्दा आफ्नै टाउको जोगाउने ध्याउन्नमा हुनु अस्वाभाबिक नहोला । त्यसैले मेरो अनुरोध " हामीलाई डाक्टर  नै रहने गरी विश्वाश गर्नुहोस् ।  हामीलाई वकिल नबनाउनुहोस् ।  "

मानवीय त्रुटी सबैबाट हुन्छ ।  डाक्टर  पनि एउटा  चिकित्सासम्बन्धी केही ज्ञान लिएको मानव हो । तर त्रुटि न्यून भन्दा पनि न्युन हुन डाक्टर   अत्यन्तै सम्बेदनशिल हुनु आवस्यक हुन्छ ।  किनकि डाक्टर एउटा रोगीको जीवन र उसँग जोडीएका जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दछ ।  गल्ति गर्नेलाई उन्मुक्ती हुनुहुँदैन  ।  चाहे त्यो डाक्टर होस् वा बिरामीको  मृत्युपस्चात हुल्दंगा  गर्ने लाशका ठेकेदारहरु  ।  एउटा कुराको अपरेसन गर्नुपर्नेमा अर्को अपेरासन गर्नेलाई कानुनले कस्नुपर्छ नै ।  तर सबै भबितब्यका घटनालाई  अनुसन्धान बिना भीडको अवेसले लापरबाहीको  संज्ञा दिएर लाशमाथि ब्यापार गर्ने हो भने बारम्बार घटिरहने कुट्पिट र हातपातका घटनाले असुरक्षित महसुस गरेर डाक्टरले बिरामीको रोगलाई सुरक्षाको तराजुमा  तौलिन थाल्छ ।  बिरामीको सामाजिक आर्थिक मनोबैज्ञानिक  सबै पाटोहरु ओझेलमा पर्दै जानेछन् ।  दया र करुणाले भन्दा रोगको प्रक्रिती हेरेर बिरामी हेर्ने र पन्छाउने बानी बिकास हुन्छ  नै  ।  त्यसैले मेरो अनुरोध " हामीलाई सुरक्षित महसुस हुन दिनुहोस् ।  अनि मात्रै हामी तपाईंको रोगलाई र बिचारलाइ महसुस गर्न सक्छौँ ।  "


फलानो रोगको बिरामी भर्ना भए यति दिन भर्नाको यतिउती पैसा भनेर बिरामीलाई मौद्रिकिकरण  नगरिएको पनि हैन ।  त्यस्तो गरी नाफाघाटाको तराजुमा तौलेर इमान्दार ब्यापारिक सेवाको भावनालाई कुल्चिँदै बिरामीलाई केबल पैसाको रुपमा हेर्ने पनि छन् यहाँ ।  सेवा र सुबिधा अनुसार शुल्क हुनु बेठीक हैन ।  तर शुल्क र सेवामा फरक भएर निजी ब्यापारिक दृष्‍टिकोणका अस्पतालबाट धेरै बिरामी नठागिएका पनि हैनन् ।  तर पूर्वाधार , स्थान ,जनशक्ति र नियत केहि पनि अध्ययन  नगरी कुना कुनामा पोल्य्क्लिनिक ,अस्पताल आदि खोल्न अनुमति दिने बढी दोषी हुन् कि आफ्नो ज्ञानलाई सदुपयोग गर्न खटिएको तलबी डाक्टर ? जसलाई केहि तलब दिएर नियुक्ति गरिएको हुन्छ ।  बास्तबिक संचालक सँग त बिरामीको भेट नै हुँदैन ।  कमसेकम यमर्जेन्सीमा भेटिने पहिलो डाक्टर भन्दा माथि धेरैले भेटेका हुदैनन् ।  खर्च भएको सबै पैसा डाक्टरले लग्यो भन्ने सोच पनि गलत हो ।  डाक्टरले प्राप्त गर्ने केहि मात्रै  हो ।  त्यसैले मेरो अनुरोध " आवेशमा डाक्टरमाथि हातपात नगर्नूहोस्  ।  ऊ त एउटा अगाडि राखिएको  सिपाही मात्र हो ।  "

सबल उपकरण ,सबल पर्याप्त जनशक्ति खडा नगरिकन जबर्जस्ति सेवा दिनुपर्ने अवस्थामा डाक्टरको मात्र दोष देख्नु कत्तिको न्यायोचित होला  ? बिरामीको पीडाको सबैलाई चिन्ता हुन्छ ।  तर सेवामा खटिएको डाक्टरले कस्तो अवस्थामा काम गरेको छ भन्ने कसैलाई चिन्ता हुँदैन। अचानाको पीर्   खुकुरीले कसरि जानोस र ! बिरामीको चाप अनुसार जनशक्तिको ब्यबस्था गर्न नसक्ने सरकारले डाक्टरलाई  मात्र कानुनमा कस्न खोजेको देख्दा सरकारको गृहकार्य नपुगेको प्रस्ट  हुन्छ ।  सेवाबिस्तार सँगै  पर्याप्त जनशक्ति नखटिँदा  उपचारमा  दुर्घटनाको सम्भावना बढ्छ नै   ।  अब के  त्यसको दोष  पनि डाक्टरलाई नै दिने ?  डाक्टरले  आराम गर्ने मौका पाए कि पाएनन् ।  पारिश्रमिक उपयुक्त छ कि छैन ।  उपकरण कमसल र कमजोर भएर अप्ठेरो त छैन ।  यी कुराहरु  नितान्त डाक्टरका मात्र चासोको बिशय सोचिन्छ ।  कसैको ध्यान पुग्दैन ।  सबैलाई डाक्टर भनेको सुविधाले भरिपूर्ण भएको पैसा कमाउन मात्रै     बसेको जस्तो लाग्दो रहेछ ।  फुर्सदमा सबैले नेपालका डाक्टरको सुबिधाको अध्ययन गरे आफ्नो सोच र वास्तविकता उजागर होला । ।

कार्यस्थलमा डाक्टरलाई बिरामी हेर्न राम्रो बिपी सेट पनि चाहिन्न ! तापक्रम नाप्न त हातैले छामेर भैहाल्यो ! ओटी लाइट नभए टुकीले नि अपरेसन चलिहाल्छ !! अपरेसन पछि पोस्ट अप वार्ड किन चाहियो र !! त्यसलाई रेखदेख  गर्न नर्सिङ स्टाफ राख्न परेन ! !  यो सुन्दा बढी भने जस्तो लागे पनि दुर्गमको  अस्पतालमा यस्ता अनेक समस्याहरु दिनहुँ झेल्नुपर्छ । अवस्था यस्तै नै  हो ।  कसैले भन्ला कि " डाक्टरले आफुलाई काम गर्ने बातावरण  असजिलो र जोखिमपूर्ण  भए किन आवाज उठाउनुहुन्न? ". मेरो कुरा बिस्वास गर्नुहोस् " हामी  काम गर्ने कारिन्दा हौँ ।  हामीसँग सोधिदैन ।  र हामीले भनेको पनि सुनुवाई हुँदैन ।  "

मिडियाले जनमानसको बिचारलाई आकार दिने काम गर्दछ ।  संचारको प्रगति भए लगत्तै समाचार प्रेषण  हुने असंख्य ईन्टरनेटका साइट र पत्रपत्रिकामा अधिकाम्श  अध्ययन र अनुसन्धान बिना चिकित्सा सम्बन्धी घटनाहरु  प्रकाशित गरेको पाइन्छ ।   ।  सामचारले  अबचेतन मस्तिस्क त असर गर्छ नै ।  मेडिकल बिज्ञान सम्बन्धि ज्ञान  नभएका व्यक्तिहरुमा भ्रम सजिलै फैलाउने  काम पनि गरेको छ ।  जसले गर्दा डाक्टर र बिरामी बिचको सम्बन्धको दूरी बढ्दै गएको छ ।  त्यसैले सबै समाचार सत्य होलान् भनेर बिस्वास गर्नुपूर्ब बुझ्ने प्रयत्न गरौँ ।  नकारात्म्क सोच्न सजिलो हुन्छ ।  नकारात्मक सोचले आफ्नै बिचार  प्रदुषित नगरौँ ।  केहि समय अगाडि नक्कली डाक्टर भनेर प्रपञ्च रचेर  समातिएका डाक्टर पछि निर्दोश साबित हुनु नै एउटा यस राज्यमा भएको गैरजिम्मेवारीको नमुना हो ।  भ्रमपूर्ण समाचार छाप्दा दिर्घकालीन असर पर्ने हेक्का राखौँ ।  त्यसैले मेरो अनुरोध "  हाम्रो चिकित्सा क्षत्र मिडिया संक्रमित छ ।  जिम्मेवार संचार माध्य्म र आम  नागरिकले  सोचेर बुझेर प्रतिक्रिया दिने गर्नुपर्छ ।  "

डाक्टरले बिरामीसँग  सुधार्नुपर्ने मुख्य पाटो भनेको सम्बाद हो ।  बिरामीसँग कुरा नगर्दा बिरामीका आफन्ती अन्योलमा हुन्छन्  ।  उनीहरुको मनमा संकाले ठाउँ लिन्छ ।  बोल्दा पैसा पर्ला जस्तो गर्ने डाक्टर पनि छन्  ।  बिरामीलाई यथेस्ट समय दिएर कुरा गर्ने डाक्टर पनि छन् ।  बिरामीले आफ्नो उपचारको बारेमा जान्न पाउने हक छ ।  डाक्टरले उपचारको बिबिध पक्ष बिरामीलाई भन्नुपर्छ ।  सबै चिकित्सकहरुमा मेरो अनुरोध " केहि समय खर्च गरौ बिरामीको संका उपसंका निबारण गर्नलाई ।  "   बिरामीसँग मेरो अनुरोध " तपाईं सोध्नुहोस् ।  संका  हटाउनुहोस् ।  हामि आफ्नो ज्ञानले सकेसम्म बुझाउने प्रयास गर्छौ ।  हामीलाई बिस्वास गर्नुहोस ।  हामीलाई सुरक्षीत महसुस हुन दिनुहोस् ।  "  गल्ति भए माफी माग्दै सबै सुखी रहून् भन्ने मेरो शुभकामना ।  ।





Comments

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।