हस्ताक्षर मनोवाद ।


यस्तो हस्ताक्षर हो जसको मेरो जिवनमा महत्वपूर्ण भूमिका रहेको छ ।


हस्ताक्षर मनोवाद

अस्पताल वार्डबाट लामो समय पश्चात मेरो हस्ताक्षर रहेको कागज हातमा लिएर एउटी   ५० बर्षीय  महिला  निस्किन्छिन् । उनका खाली खुट्टामा कारुणिक  दृश्य पर्छन् मेरा । "खै त चप्पल ? " भनेर प्रश्न गर्छु म । मेरो हस्ताक्षर अङ्कित कागज देखाउँछिन् ।  उनको निरिहता डिस्चार्ज गर्ने समयमा थाहा हुन्छ । उनले  डिस्चार्ज गर्ने काउन्टरमा पैसा तिर्न बक्यौता रहन्छ  । जसको निम्ति मेरो  हस्ताक्षर कमजोर हुन्छ  ।  गभर्नरको हस्ताक्षर कुदिरहेका नोटहरूले मात्रै पार लगाउन सक्ने हुन्छ । एक जना  बिध्यार्थिको उदार मनले मात्र ती नोटहरूको प्रबन्ध गर्न सकियो । मेरो  भित्री चक्षुले उनको भोकले बटारीएको पेटको दृश्य पनि देख्छु । आफ्नो हस्ताक्षर देखेर  मलाई आज हस्ताक्षरको नालिबेली नियाल्न  मन हुन्छ ।

उनका  पाइला धेरै कोश पर हिंड्न पर्नेछ । त्यो पेटले केही दिन विद्रोह नगर्नुपर्नेछ । केवल पानीले शान्त पार्नुपर्नेछ । त्यो हिँड्ने बाटो पनि चिल्ला बाटा भइदिए त हुने । तर विकासे बजेटको विकासी कामले बनेका बाटाहरुले  त्यो खाली  पाइतलालाई शितलता दिने गुन्जाइस नै छैन । समय अगावै मक्किएका सडकहरु  पनि कुनै न कुनै मनमा हरि नभएकाको  हस्ताक्षरको उपज हो ।

समय सन्दर्भ कोरोना कहरमा निम्तिएको बाध्यात्मक लक्डाउनको हो ।  मेरा हस्ताक्षरले उनलाई अस्पतालबाट बिदाइ गर्‍यो । त्यही हस्ताक्षरले  घर पुग्नलाई सहज पनि गरेको होला भन्ने अनुमान छ मेरो । कोभिडको जटिल परिस्थितिमा पनि विभिन्न हस्ताक्षरले आफ्नो कर्म देखाउने मौका पाएका छन् । कसैले कमिसन खाने प्रपन्च गरेर त  कसैले आवश्यकता अनुसार सहयोग गरेर । सुरक्षासामग्रीको ब्यवस्थापन गर्ने हस्ताक्षरलाई सलाम छ स्वास्थ्यकर्मीको तर्फबाट । स्वास्थ्यकर्मीलाई विना कारण कारबाहीको अप्रिय आदेश दिने हस्ताक्षरप्रति खेद छ मेरो ।

लक्डाउनको कडा आदेश दिने हस्ताक्षरले अलपत्रमा परेका मान्छेहरुलाई चिन्न सकेन । सबैको लागि बराबर निर्देशन । घर फर्किरहेका मजदुर देखि अस्पतालबाट निस्केका बिरामी  र कुरुवासम्म  सबैलाई एकै नजरले व्यवहार गर्‍यो । त्यसैले कोहि महाकालीमा हाम फालेर नदी तर्ने साहस गरे । कोही हिंडेर कोशाैँ दुरी पार गर्ने विवशता देखाए ।  तर सोहि समयमा पास प्राप्त ब्यक्तिलाई भने अर्को हस्ताक्षरले नरोक्ने ब्यहोरा दियो । आ- आफ्नो महत्व छ हस्ताक्षरको । शक्ति सङ्घर्षका चपेटामा  परेको  छन् अचेल हस्ताक्षरहरु  ।

कता गए ती संविधानमा देखिने हस्ताक्षरहरु ? चुनावी घोषणापत्रमा राखिने हस्ताक्षरहरु कतै  लुके कि साख गुमाए ? निवेदन छ मेरो , कुनै हस्ताक्षरले ती अलपत्रमा परेका जनताको भोको पेटलाई शान्त गरोस् । घरसम्म पुग्न गाडी व्यवस्था गरोस् । एक छाक नै टार्न भए पनि अन्न प्रदान गरोस् । दस्तखतमा शक्ति हुनेहरूले जिवनमा  एक पटक मनमा हरि जगाउने कर्म गरे कति आशिष दिन्थे होला ती भोका पेट र उदासिएका मनहरुले । ठुला मलहरु खोल्न अनुमति दिने हस्ताक्षरले ती दुखी  मानव आत्माहरुलाई  गिज्याउन खोजेको त हैन नि ?

विल गेट्सको हस्ताक्षरले सधैं दान गर्छ ।  लोभ जागेकाहरुको हस्ताक्षरले सधैं  कमिसन खाने माहोलमा मात्रै  खरिद आदेश दिन्छ । राष्ट्रिय बजेटमा र ्याल काढेर   आफ्नै अनुकूलतामा विनियोजन  गर्ने हस्ताक्षरले के नै कायापलट काम गर्ला र ?  ती पुण्यवान हस्ताक्षर हुन् जसले कुलमानलाई चिनाउँछन् । जसले महाबिर पुनलाई चिनाउँछन् । तर लोभी र पापी हस्ताक्षर ति  हुन् जसले कागजमा  मात्रै योजना पूरा भएको देखाउँछन्। जसले  बलात्कारको अभियोगमा परेकोलाई सम्म उन्मुक्ति दिन्छन् । जसले ठुलो रकम र शक्तिकेन्द्रहरुको  सेटिङमा राज्यको  ढुकुटी कुम्ल्याउँछन् । जसलाई राम्रै मोलमलाईमा अख्तियारबाट  " क्लिन चिट " दिइन्छ ।

कहिले कसो हस्ताक्षरले मान्छेलाई पिरोल्नु पिरोल्छन् ।  आफ्नो मत नमिल्ने र नबिक्ने कर्मचारीलाई सजिलै सरुवा  गर्दिन्छन्। छात्रवृत्ति प्राप्त गरेका डाक्टरलाई बधुवा मजदुरजस्तो कुना कुनामा धकेल्छन्। भन्ने बेलामा स्कोलरसीप, तर ब्यवहार स्पोन्सरसिपजस्तो गर्छन् । माया गरेर राख्नुपर्ने  समयमा लाइसेन्स खारेजीको धम्की दिन्छन् । चिकित्सकमाथि दूरव्यवहार  गर्नेहरुलाई प्रशासनआदिबाट सजिलैसँग माफ गरिदिन्छन् ।  ती सब एक से एक  पिराहा हस्ताक्षर हुन् ।

इतिहासका पानामा ती हस्ताक्षर विशिष्ट हुन् जसले अर्थतन्त्र बलियो बनायो । जसले शिक्षा र  स्वास्थ्य सेवा मजबुत बनायो । जसले भुमि सुधार गर्‍यो । जसले सति प्रथा अन्त्य गर्यो । जसले प्रजातान्त्रको आगमन गरायो ।  यस्ता अनेकौं देशभक्तका हस्ताक्षरहरुले आफ्नो पौरख देखाएर गर्व गर्ने मौका पाए। ती सबै पौरखी हस्ताक्षर हुन् । अचेल त्यस्ता पौरखी र विवेकी  हस्ताक्षर  विरलै पाइन्छन् । हाम्रो देशको विडम्बना सायद यही नै होला ।

भ्रष्ट हस्ताक्षरहरुले सधैं पौरखी हस्ताक्षरलाई जुध्ने गर्छन् । हस्ताक्षरको शान त्यसको सत्कर्ममा हुन्छ ।  न कि पाँडेपजैनी,  नातावाद र कृपावादलाई प्रश्रय दिनलाई । हस्ताक्षरको काम  त त्यस्तो होस् जसलाई सबैले सम्मान गरुन् । शक्तिशाली दस्तखतहरुले आफ्नो विवेक र मान राखिदिए कति जाती हुन्थ्यो होला । त्यही आशा गरेर नै  उमेर जाने भयो ।

उहि
शक्ति नभएको हस्ताक्षर ।



Comments

Post a Comment

Popular posts from this blog

अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!

मृगौला रोगको एउटा गोठालो यात्रा

बाटो बिराएका रोगहरु ।