Five rupees note outside ICU

आइ. सि .यु बाहिर पाँच रुपैया  

केही मलिन अनुहारहरु एउटा अाइ सि यु कक्षबाहिर प्रतिक्षामा बसिरहेका छन् ।  स्वजन र आफन्तको प्रतिक्षामा  ।  कहिले निको   भएर पून: भेट्न्  पाइन्छ  कि भन्ने आशमा ।  बेला बेला माइकिङबाट आवाज आउछ ” फलानोको मान्छे संपर्क राख्नु “ ।  सबै जना सतर्क हुन्छन् ।  कान तिखा हुन्छ्न् केही क्षण ।  आफ्नो बिरामीको अप्डेटका लागि बोलाएको हो कि भनेर ।  भित्र जटिल   रोगसँग लडिरहेका छन् ति सबै मलिन ब्यक्तिका जीवनका प्रिय आत्मीय पात्रहरु ।  कोही मृत्‍युसँग लडिरहेका छन्  ।  कोही सुधारको क्रममा छन्  ।  सबैका मनमा भय  छ ।  स्वजन फर्केर लैजान पाइने हैन कि भनेर ।  आशा पनि छ सघन उपचारको  ।  सबै बिरामीहरुको  मुटुका गतिबिधी मनिटरमा प्रकाशित भएका हुन्छन् ।  ती  मनिटरको कर्कश आवाज पनि सुनिन्छ ।  त्यो कर्कश  आवाज बेड्मा सुतिरहेका बिरामीहरुको आर्तनाद जस्तो प्रतीत हुन्छ  बेला बेला ।  

त्यही प्रतिक्षारत ब्यक्तिहरुका माझमा एक अन्दाजी ६० बर्षका नमिलेको ढाका टोपी ,मैलो कमिज ,रङ उडेको पाइन्ट र पुरानो कोट लगाएका ब्रिद्ध छन्  ।  चाउरी परेको अनुहारमा  खोप्ल्टा परेका गाला छन् ।  दुब्लो ज्यानमा हात खुट्टाका नशा गजब सँग देखिन्छन् ।  इस्टकोट पनि लगाएका छन्।  धेरै पुरानो इस्टकोट हुनुपर्छ । दुई ठाउँ टालेको ।  गोल्डस्तारको थोत्रो जुत्ताले अगाडि भागमा  मुख खोलेजस्तो देखिन्छ ।  हाँसेको हो कि रोएको पत्तै नपाईने ।  

ती बुवाको अनुहार मलिन छ ।  सबैभन्दा निराश ।  यत्रो हस्पिटलमा के कता भनेर थाहा पाउदँदैनन् ।  एउटै काम फत्ते गर्न धेरै समय बिताउँछन् ।  धेरै टाढाबाट आफ्नी छोरी बिरामी भएर ल्याएका छन् ।  छोरीलाई एकासी खुट्टा    र हात चलाउन  गार्हो भएको थियो ।  कमजोरी भएको थियो। र त्यो बिस्तारै  बढ्दै गएर घाँटी  उठाउन  पनि नसक्ने भएकी छन्  ।  ।  श्वास फेर्न नै कठिनाई  हुँदै थियो ।  रोगको प्रकृतिले गर्दा एउटा महँगो औषधी चलाउन  पर्ने भएको छ ।  

“ बुवा ।  छोरीको अवस्थाले गर्दा एउटा औषधी चलाऊन पर्ने देखिन्छ ।  अली महँगो पर्छ ।  जतिसक्दो छिटो चलाउन  सके ज्यान बचाउन सकिन्छ ।  के गर्ने  बुवा ।  आशा त्यही ओक्तोमा छ ।  .........“ म भन्छु ।  आफ्नो मन गर्हौ बनाइ ।  उनको अवस्था हेरेर त्यो उपाय होला भन्ने कुरामा सन्देह छ मेरो मनमा ।  गर्नसकिने अस्पतालबाट छुट मिलाइसकेको थियो ।  बाँकी मेरो हातमा केही थिएन ।  सबै कुरा भनी म भित्र जान्छु ।  

खाजा खान पर्ला भनेर केही समयमा  निस्किन्छु ।आइ सि यु बाहिर तिनै बुवा एउटा कुनामा बसेका  रहेछन् ।  उनी गन्दै थिए ।  आफ्नो भित्री खल्तिबाट कुटुरो निकाली ।  त्यो कुटुरोको साहारामा उनी आएका थिए काठमान्डौसम्म ।  म एक क्षण अडिन्छु ।  पाँच रुपैयाँको  नोट गन्दै छन् ।  त्यो सानो मुठो पैसामा पाँच रुपैयाका नोट धेरै छन् ।  त्यो द्रिश्य देखेर मेरा मनमा प्रस्नहरुको ट्राफिक  जाम हुन्छ । हजारौ खर्च हुने आइ.  सि.  यु बाहिर त्यो सानो कुटुरो पैसाको के दम ! भर्खर भुड्की  फोरेर निकालेजस्तो लाग्ने ।  राष्ट्र बैन्कको भुड्की भए केही हुन्थ्यो होला ।  

त्यो पैसाको कुटुरोमा निरिहता झल्किन्छ ।  गरीबीको कथा भेटिन्छ  ।  जीवनका भोगाइ अनुमान लगाउन सकिन्छ  ।  पैसा नहुँदाको दारुण अवस्था देखिन्छ ।  सबैभन्दा महत्वपूर्ण कुरा  “ देशको अवस्था ” बुझिन्छ ।  ति बुवाले पूराना पाँच  रुपैयाका नोट गनिराखेको समयमा कति तारे होटेलमा राष्ट्रको  ढुकुटीबाट फजुल खर्च भएका होलान्  ।  कतै बिटोका बिटो  पैसा टेबुलमुनिबाट  आदनप्रदान भएको होला ।  कमिसन बाँडिएका होलान्  ।  अडिटका नाममा पर्सेन्ट छुट्याइएका होला । पर्सेन्ट नछुट्टिए बेरूजु हुने मजाको चलन ! त्यसको भुक्तभोगी म ।  

स्वास्थ्यको सेवामा ब्रह्मलुट भनेर कथा बनाउन सजिलो छ। ति बुवाको अवस्थालाई समाचार बनाउन सजिलो छ । उपचारलाई सहज बनाउन कहाँ बाट पहल हुन पर्ने हो ।  मैले बुझेको छैन।  अहिलेको अवस्था हेर्दा स्वास्थ्य क्षत्रलाई सकेसम्म पेलेर लगे सहज हुने जस्तो देखिन्छ सबैको बुझाइमा ।  कानुनले पेलेर स्वास्थ्यमा कार्यरत सबैलाई वकिल भएर काम गर्ने बातावरण बन्दै छ ।  कहाँ के गर्दा कानुनबाट बाँचिन्छ भन्ने ध्याउन्न ।  प्रेरणा भन्दा दिक्दारिपन  बढी ।  

हरेक बेडमा तन्ना फेरिन्छन् ।  दिसापिसाब ब्यबस्थापन गरिन्छ  ।  बिरामीका कपडा फेरिन्छन्  ।  शरीर सफा गरिन्छ पुछेर ।  कपाल कोरिन्छ  ।  हरेक समयमा कोही न कोहीका आँखा मनिटरमा परिरहन्छ ।  कतै सिधा धर्को देखाउने त हैन भनेर । जानेबुझेसम्म औषधी मिलाइन्छ ।  सबैजनालाई  ब्यस्तता छ ।  कोही खाली बसेको देखिन्न ।  आ आफ्ना काममा सबै ब्यस्त ।  कोही न कोही सदा खटिएको नै छ ।  त्यसैले त यो चलेको छ ।  तर पनि अझै पेल्नुपर्छ यी डाक्टरजतिलाई ! 

बिरामीका आफन्तहरुको  आफ्नै कथा छ ।  अचकल्टो  निद्रा उनिहरुको पनि हुन्छ ।  घरजस्तो  चयन त के नै होला र ।  उनिहरु पनि ड्युटिमै  छन् ।  ड्युटि चलेकै छ सबैको ।  यस्तो प्रतीत हुन्छ ।  हस्पिटल भनेको ड्युटिको घर ।  नामकरण पनि ड्युटिघर राख्नुपर्ला ! 

सबैका आफ्नै समस्या ।  आफ्नै कर्तब्य ।  आफ्नै कथा ।  प्रत्येक ब्यक्ती एउटा सिंगो उपन्यास ।  तर त्यो ५ रुपैया नोटको कथाब्यथा कसले बुझ्ने ।  के राष्ट्रले निशुल्क उपचार गराउन क्षमता राख्छ  त ? हरेक कुरामा शुल्क अवस्य लाग्छ ।  निशुल्क भन्ने हुँदैन ।  एउटा खाडल पूर्न अर्को खाडल बनेजस्तै हो । त्यही पनि निशुल्क शब्दको लोकप्रियता कहिल्यै छाड्ने भएनन् नेतागणले ।  ब्यबस्थापनको मात्र खाँचो हो ।  सिफारिस भएसी सबैले “बिपन्नको “ सुबिधा हुने देश हो ।  रोग लागेपछि सिफारिस भैहाल्यो ।  डाक्टरलाई  मात्र पेलेर त्यो पाँच  रुपैयाका कथाको समाधान हुँदैन ।  त्यस्ता कथा हामी दिनहुँ देख्छौँ । भोग्छौँ ।  तर ति बिबशताका कथाहरु धेरै यतै ओझेल भएर जान्छन् ।  

पावरमा भएकालाई लोकप्रियताका लागि स्टन्ट गरे भोटको खेती भयो नै ।  हेर्दा सुन्दा आकर्षक  बाली ।  तर  बिउ भने मक्किएको ।  राम्रो बलियो सिस्टमको बिउ रोप्ने कि सपना बाँड्दैमा र डाक्टरलाई  कुन्ठित पारेर नै स्वास्थ्य सेवा चलाउने । जिम्मा  सबै पावरमा भएका मान्यजनहरुलाई । आफुलाई त फेरी अर्को पाँच  रुपैयाको कथा हेर्नु नै छ हरेक दिन ।  

बिजया दशमीमा सबैमा सदबुद्धी होअोस् ।  शुभकामना ।

Comments

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।