Dear friend , Bikas , Archimedes and Narayan Gopal

विकास, नारायण गोपाल ,आर्किमिडिज र प्रिय साथी 


किर्तिपुरमा  त्रिभुवन युनिभर्सिटी पछाडि अवस्थित एउटा घरको एउटा कोठामा मधुर गीत बज्दै छ ।  संगीत कोठाको भित्ता  भित्तामा ठोक्किएर गुन्जिदै छ ।  संगितको ध्वनी केही लिक पनि भइरहेको  छ झ्यालबाट बाहिर ।  एउटा भौतिकशास्त्रको विद्यार्थी बुझन प्रयासरत छ भौतिकशास्त्रका सिद्धान्त  । शब्दहरुमा जिवन्तता देख्न थालेको छ उसले ।  पहिले पहिले शब्दहरुमा ध्यान जान्थेन ।  केबल संगीतमा मात्र रमाउने काम हुन्थ्यो विकासको ।  आज नारायण गोपालको गीतले बिकासको   मन सुम्सुम्याउँदै  छ ।  “एउटा मान्छेको मायाले  ......”  

कोठामा एउटा खाट ,एउटा टेबुल ,एउटा कुर्सी ,एउटा ह्याङर ,एउटा झ्याल छ ।  उसको जीवनमा “एउटाको “ महत्व धेरै छ ।  जिवन पनि एउटै हो ।  पुनर्जन्ममा विश्वाश नगर्ने  भौतिकवादी न हो रमेश ।  उसको हात भने बेलाबेलामा  मोबाइलमा गैरहन्छ ।  उसको मोबाइल पनि एउटै छ ।  उसको मनप्रिय साथी पनि एउटै छ ।  उनको मेसेज आउँछ  कि भन्ने प्रतिक्षामा छ ।  आज उसलाई पढ्ने मन त छैन।  तर नपढी  नहुने छ ।  पाना पल्टाउँदा ” आर्किमिडिजको  सिद्धान्तमा “ आँखा पर्छ ।  खाना खाएर बसेको भएर होला ,लामो हाइ गर्छ ।  आँखा टल्पल हुन्छन् ...........।   उनको  ”हाइ ” को पर्खाइमा हुन्छ ।  छिनछिनमा इन्बक्स हेर्छ  ।  तर आज पनि रित्तो  हुन्छ ।  

आज धेरै दिन बितिसकेको छ ।  दुई हप्ता भैसकेछ उसको मनप्रिय साथीसँग कुराकानी नगरेको ।  त्यसैले उ केही बेचैन छ ।  केही निरास छ ।  अचेल उनी निकै ब्यस्त छिन्  ।  शायद त्यसैले होला विकासको  मेसेज इन्बक्स रित्तो भएको ।  केवल नेपाल टेलिकमको  रिचार्ज गर्ने निर्देशन मात्र ! आशा गर्छ आज मेसेज आउँछ  कि भनेर ।  तर सुर्यास्तसङै उसको आशा पनि अस्ताउँछ   ।  

उसलाई आफ्नो जीवन पनि रित्तो अनुभुती हुन्छ आफ्नो मोबाइलको इन्बक्स जस्तै । केबल दैनिक जीवनका रेगुलर कार्यहरुमात्र ।  र बाँच्न चाहिने निर्देशन मात्र ।  भोकले खान निर्देशन ।  निद्राले सुत्न निर्देशन  ।  जीवनचर्या चलाउन  परिवार र समाजको  काम  गर्ने निर्देशन ।  एक किसिमले खल्लो दैनिकी भनुम् ।  उनले बाचा  गरेकी थिन्  ।  फुर्सद हुँदा सम्झिन्छु भनेर ।  त्यसैले आशामा मोबाइल हेरिरहन्छ बिकास ।  सतर्क रहन्छन् उसका कानहरु ।  मेसेजको टुङ्टुङ  सुनिन्छ कि भनेर ।  

धेरै खयाल गर्छ विकासले  आफ्नो साथीको । उत्तिकै माया पनि गर्छ ।  बेलाबेलामा  मेसेज पठाउने गरेको थियो “ टेके क्ययर डियर ।  .............  ”  तर उनले भने सम्झिन छाडेकी हुन् कि जस्तो छ ।  आँफै सम्झिन्छु भनेर बाचा  गरेकी थिन् ।  त्यसैले घरिघरि मेसेज गरेर डिस्ट्र्ब  गर्न चाहँदैन ऊ ।  त्यही बाचाको आशामा बसेको छ बिकास ।  उनले  फिल्टर  गरेर बचेको  समयमा सम्झिन्छिन् कि भन्ने आस  अझै जिवित राखेको छ।  सायद विकासको  जस्तो मनोभाव उनको  थिएन होला ।  विकास न उनको परिवार न उनको पहिलेदेखिको साथी ।  आज बल्ल बुझ्दै छ विकासले  ।  त्यसैले बेचैन छ ।  यो बुझ्दै गरेको आभास हुँदा उसको मनमा चस्स हुन्छ ।  हृदयलाई  सुम्सुम्याइरहेको गीतले अब घोच्न थाल्छ ।  


विकासको    कुलत भने छैन।  ।  न सिगारको साथ न सोमरसको साथ ।  सिगारको साथ हुन्थ्यो त धुवाँ  र संगितको  ध्वनी १०० बर्ग फुटे सिलिङमा जुहारी खेल्थे होला । विकासको  नसा भनेकै भौतिकशास्त्र ।  हालसालै नयाँ नसा थपिएर दुइटा नसा भएका थिए ।  एउटा साथीको नसा ।  र अर्को भौतिकशास्त्रको ।  दुई हप्तासम्म हुँदा पनि उनको नसाले छोडेको थिएन ।....... गीतको मधुर आवाज सुनिन्छ ” मान्छेको माया यहाँ खोलाको पानीजस्तो ..........”    ।  मुरीमुरी धन्यवाद दिन्छ मनमनै नारायण गोपाललाई ।  मिठा यथार्थपरक शब्दमा मिठो स्वरले  जीवन दिएकोमा ।  विकाससँग  त्यही संगीत त छ हिजोआज जिवनमा रङ भर्न ।  


मनको गर्हौ भाव पन्छाउन सके हल्का हुन्छ ।  विकास यो कुरा बुझ्दै थियो ।  आशाका पोकाहरु मिल्काइदिए जीवन खुशी हुन्छ भनेर ।  मन चङ्गा हुन्छ ।  हुन त ठुलो आशा गरेको त हैन ।  केवल शुभरात्री शुभबिहानी । बेला बेला सन्चोबिसन्चोको  मेसेज ।  र केही मिठा बात ।  मनको रेजोनेन्स मिलाउन खोजेको मात्र ।  उनको मनको आयातन फराकिलो भएको भए भावनाहरु फुट्बल खेल्थे होला । शायद ग्राउन्ड्मा प्रबेश नै हुन पाएन विकास ।   ।  उनलाई डिस्ट्र्ब  गर्ने मन त थिएन विकासको ।  त्यसैले ऊ पर्खिन्छ ।  अर्को गीतको  आवाज गुन्जिन्छ   “ पर्खिबसेँ आउँला भनी ........” 

आर्किमिडिजले   बाथटबमा  नुहाउँदा पानीमा हल्का हुनुको रहस्य पत्तो पाएका थिए रे ।  “युरेका “ भन्दै पागलजस्तै नग्न  दौडेका थिए रे। नयाँ आबिष्कारको खुशीमा ।विकास  उफ्रिन सकेन ।  दौडिन पनि सकेन ।  तर मनको तनाब र अशाहरु किनारा लगाउन सकेमा मन हल्का हुने कुराको अनुभुती गर्छ ।जति मनका कुराहरु पाखा लगाउन सकिन्छ त्यती नै जीवनयापन हल्का हुन्छ ।  भौतिकशास्त्रको जिवन्त प्रयोग ।  विकास त उनीसँग  पेरिस जान चाहन्थ्यो ।  लेक्साइड घुम्न चाहन्थ्यो ।  पहिलोपटकको भेटमा नै रेजोनेन्स मिलेको अनुभव गरेको थियो ।  जन्मदिन बिशेष महसुस गरी  मनाएको थियो उनको उपस्थितिले । मन देखि आभारी थियो अबिस्मरनिय साँझको लागि ।  आदि इत्यादि सम्झनाहरुले बिकासलाई  काउकुती लगाइरहेको थियो। ।  सायद डोपामिन उसको शरीरमा बढेको थियो। उनलाई काउकुती नलाग्दासम्म न त भेट होला  न त बात ! केवल दुई दिनको यादमात्रमा सिमित  ।  

यो सम्झिंदै गर्दा उसले एउटा औँठी  निकाल्छ त्यही एउटा टेबुलको  ड्रवरबाट ।  धातुले बनेको त्यो औँठीमा उसले आफ्ना मनका  गाथा  कैद गरेको थियो  ।  उनीलाई  मन पर्ने धातुको थियो त्यो ।  राशी अनुसारको  धातु ।  स्‍मृतिको गहिरो तहमा लेखेको थियो एक दिन उसले ।  मार्केटमा सँगै हिंडेको  बेला उनले खुशी हुँदै देखाउँदै गर्दा । त्यो बेलाको उनको अनुहारको चमक सम्झिँदा पनि मनै प्रफुल्लित बनाउने ।  प्रस्ट छ स्‍मृतिको एउटा बिशेष पानामा ।  त्यो सबै गाथा फुकाउने सोचमा थियो ।  

भेट्ने इच्छा धेरैपटक जाहेर गरिसकेको थियो। तर समय मिलिरहेको थिएन त्यो उपहार  दिन ।   उनी औधी ब्यस्त जो थिन्  ।  उनी ब्यस्त हुँदै थिन्   ।  बिकास अभ्यस्त हुँदै थियो । उनको उपस्स्थिती विना  जीवन जिउन अभ्यस्त ।  बिकासका  सबै  अन्तर्मनका भावनाहरु  अब सदैब कैद पो हुने हुन् कि ! मजाले फुकेर फिजारियोस् भन्ने मनमा इच्छा  गर्छ  ।  कैद भएको भावलाई सम्मान गर्ने तर ग्रहण नगर्ने उनको मनोभाव हुनुपर्छ भन्ने आत्म बोध गर्छ विकासले    ।  औँठीलाई मुठ्ठिमा कस्छ ।  लामो सुस्केरा लिन्छ ।  

मन सफा हुँदैमा गतिलो मान्छे मात्र भइने रहेछ ।  मनको साथी नहोइने रहेछ शायद !  फ्रायड बा ले पनि निचोड निकाल्न नसकेको नारी मनको बनावट भौतिकशास्त्रीले   के बुझोस् ।  बिचरा बिकास ! त्यत्तिकैमा गीतको सूचिबाट अङ्रेजी गीत सुनिन्छ ” अई  वान्ना ग्रो ओल्ड विद यू ..” ।  उसलाई मन पर्ने गीत हो यो ।  तर आज किन हो त्यो गीत फिका लाग्छ  उसलाई ।  रिमोटको बटन थिच्छ गीत परिवर्तन गर्न ।     

बिकास झसँग हुन्छ ।  आफ्नो टाउकोमा दण्डस्वरुप पिटेजस्तो  गर्छ ।  भोलिको परिक्षाको तयारीमा भौतिकशास्त्रको  सूत्रहरुमा ध्यानमग्न  हुन्छ ।  ........  यथार्थबोध हुन्छ ।  उनिसँगको छोटो समयको संगतले पनि एउटा दिब्यज्ञान  प्राप्त हुन्छ ।  आर्किमिडिजको सिद्धान्तमा गहन बुझाइ । 

पार्श्वमा ” ......आल अफ मि .............” अङ्रेजी संगीत गुन्जिदै छ ।  मनले उनको कुशलमंगलको कामना गर्छ विकासले ।  छिटो भेट होस् भन्ने इच्छा   गर्छ ।  सम्झिन्छ आफ्ना रुमानी सम्झनाहरु ।  अनि एक क्षणमा सपनामा डुबुल्की  मार्छ ।  उनी फर्किनन् आज सपनामा पनि ।  आफ्नो सपना पछ्याउँदै विकासको  सपनामा आउने बाटो मोडिछ्न् होला ।  एक मन बिकासले सोच्छ मेसेज नगर्दा बढार्नुपर्ने धूलो हावाले उडाएर लगेजस्तै भए होला उनलाई । यो सोच्दा फेरी सोच्छ ” उनी त्यस्ती पटक्कै  छैनिन् ।  उनी पक्का   आउँछिन् ।  उनी इग्नोर गर्दिनन् ।  “ 

तर उनी ब्यस्तताले गर्दा सम्झिँन फुर्सद नमिलेको हो भन्ने कुरालाई तथ्य मान्छ ।  र चङ्गा हुन्छ ।  उनी आउँछिन्  भन्ने अशा राख्छ ।  विश्वाश राख्छ ।  शान्त  रेस्टुरामा फेरि भेट हुनेछ ।  बात हुनेछ ।  समयको घेराविना बात  हुनेछ ।  कफी सेलाउने पनि छैन ।  फाट्ने पनि छैन।  र  उनलाई त्यो औठी दिनेछ । धेरै बोल्ने भएपनि सितिमिती नखुल्ने बिकास  उनिसँग पूरै खुल्न चाहन्थ्यो  ।  धेरै बोल्दैमा मान्छे खुल्दैन भन्ने सपाट उदाहरण हो बिकास ।  

जे भएपनि  दीपावलीको अवसरमा उनको सुस्वास्थ्य र उज्ज्वल भबिष्यको कामना गर्छ ।........  ”  ..यो सम्झिने मन छ .......”    ।  गीतहरुको सूची  पनि सकिन्छ ।  
स्वा ........   स्वा ........   ।  

उही 
भौतिकशास्त्री
संगीतप्रेमी 
एउटा मान्छे 
एकतर्फी अनुराग
( बिकासप्रति  समर्पित )

Comments

Post a Comment

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।