दसैंमा सेतो कोट

दसैमा सेतो कोट 

घटस्थापनाको  दिन ।  बिदाको दिन ।  रमाइलो दिन ।  दसैं प्रारम्भ हुँदाको तिथि ।  जमराले अस्तित्व पाउने दिन ।  खुशीको चाड ।  उमङको चाड ।  स्कुल पढ्दाका  दिनहरु झल्झल्ती याद आउने कहिलेकसो अचेल ! तम्घासबाट एक दिनको बाटो हिंडेका दिनहरु स्‍मृतिमा अझै ताजा छन् ।  

पहाड घर जाँदा सार्है रमाउने मन हुन्थ्यो ।  रौँदिको उकालो चढ्दा  आसिनपसिन हुन्थ्यो ।  साँझमा घर पुगिन्थ्यो ।  समय सँगै बिस्तारै  बिदा घट्दै गए ।  हेर्दा हेर्दै घटस्थापनाबाट सर्दै सर्दै सप्तमी कि अस्टमिमा घर जाने दिन आए ।  जती बिदा कटौती भए पनि देशको प्रगती त उस्तै होला !!  

समय बित्दै गए ।  रितुहरु फेरिदै गए ।  दसैंहरु आउँदै जाँदै गरे । दसैं त सधैं उस्तै त हो । शरद रितुमा सधैं आउँछ अनि जान्छ पूरा   चहलपलसाथ  । मेरो लागि न त यो चाड पर सर्छ  न त अगाडि ।  न अरु कसैका लागि ।  परिवर्तन त केबल आफ्नो अवस्था र परिस्थितीमा हुने रहेछ ।  ।  

बिदाका दिन कट्दै कट्दै  अचेल शून्य भएको छ ।  पहिले पहिले छुट्टीमा घर गइन्थ्यो ।  अचेल छुट्टीमा घरबाट छुट्टी माग्नुपर्छ । 
........
“ कहिलेको टिकेट लिइस् त बाबु ।  “  घरबाट  आमाले फोन गर्नुहुन्छ  बिहानै  ।  पूरा आशाका साथमा ।  

“ छुट्टी मिल्दैन ममी ।  आउन सकिन्न जस्तो छ ।  “ म भन्छु ।  पूरा मलिन स्वरका साथमा ।  

“ पाँच दिनको छुटी मिलाउनु जसरी भएपनि ।  भैरवस्थान जानुपर्छ सपरिवार ।  धेरै बर्ष भयो जाने भनेको ।”  द्रिढताका साथ स्वर सुनिन्छ ।  

“ मिल्दैन ममी ।  छुट्टी भन्ने हुँदैन ।  काम छोड्न मिल्दैन ।  नाइट ड्युटि आदि छन् ।  तिहार र दसैंमा एउटा रोज्नुपर्ने अवस्था छ ।  “ म आफ्नो अवस्था सुनाउँछु ।  

“ मिलाएसी जे पनि मिल्छ ।  जसरी भएपनि मिलाउनु ।  “ पूर्ण आदेशसरह सुनिन्छ अब ।  अब बुझाउन खोजेर सफल भइन्छ जस्तो लागेन ।  
  “मिल्यो भने आउँछु “ भनेर वार्तालाप मोड्छु ।  र अरु कुरा गरेर फोन काट्छु । मिल्ने त कुनै हालतमा  थिएन ।  

दसैं नजिकिँदै गर्दा यो गतिलो जिनिस पढिएछ जस्तो लाग्दैन हरेकबर्ष   ।  चाडपर्व  दिन रात भन्न नपाइने तर सबैलाई सानैदेखि   चाखलाग्ने जिनिस रहेछ  ” डाक्टर “ ।  रहर लागेर नै पढेको हो ।  अब जे छ त्यसलाई आत्मसात गर्नुको बिकल्प त छैन।  

छोराछोरी  डाक्टर भयो भनेर खुशी हुने मनहरु कति  धेरै छन् ।  चाडपर्व आउँदा मलिन हुन्छन् ।  तर अरुले लगाएको जुत्ता कत्तिको सजिलो छ भन्ने कुरा आँफै नलगाएसम्म बुझ्न् सकिन्छ जस्तो लाग्दैन । कागजमा मात्रै मिति मिलाएर ड्युटि गर्न नमिल्ने ।  के गर्नु ? न दसैंको ड्युटि पछि  गर्दिन्छु भनेर हुने ।  दसैंमा नागरिकता नबाँडे पनि हुन्छ ।  प्रशासन बन्द भए पनि केही फरक पर्दैन ।   ।  बैन्क पनि बन्द भए हुन्छ ।  केही दिन ढिला भएर केही हुँदैन ।  तर दसैंमा मान्छे बिरामी हुन्नन् भन्ने छैन ।  सिकिस्त हुदैनन् भन्ने पनि छैन। 

अमेरिका भएको छोराछोरीको आशा भन्दा नेपाल भित्रै बढी आशा हुनु स्वाभाबिक नै हो ।  यति सानो नेपालमा पनि २०० कि मि तय  गर्न एक दिन नै लाग्छ ।  बुलेट ट्रेन हुन्थ्यो त बिहान बेलुका घरबाट आउन सकिन्थ्यो होला ।  भबिश्यमा कल्पनामा रमाउनु बाहेक अहिले कुनै उपाय छैन ।  

सानोमा रामायण र महाभारत धेरै हेरिएछ ।  त्यसैले कहिले कसो त जादु र चमत्कारले चुट्की भरमा सबै समस्या समाधान गरेको कल्पना गर्न मन लाग्थ्यो  ।  आज पनि मलाई कल्पनामा डुब्न मन लाग्छ ।  नारद मुनीले श्रीक्रिश्णले त्यति धेरै गोपिनिहरुलाई समय कसरी दिन्छन् त भनेर खोजिनिती गर्दा हरेक गोपिनिसँग एकै समयमा श्रिक्रिष्न पाएका थिए रे ।  हजारौँ अवतार लिएर सबैसँग एकैसाथ समय ब्यतित गर्न सक्थे रे। भगवान राम पनि सबै प्रजाका घरमा  एकैपटक पुग्थे रे। मलाई पनि दुई जना मात्र हुन सके त काम नै फत्ते हुने ।  आँखा चिम्लिन्छु ।  ध्यान गर्छु ।  द्रिढ  इच्छा   गर्छु ।  र आँखा खोल्छु ।  सबै उस्तै छ ।  म एउटै छु ।  आँखा चिम्लिदैँमा सिरियलमा जस्तो चमत्कार के हुन्थ्यो र !! 

.............  “ के छ बाबु ।  आउने भइस् ।  “ बुवाको फोन आउँछ ।  

“ उम् ।  आउन सकिन यसपटक ।  पेशा नै त्यस्तै पर्‍यो ।  “ म भन्छु बाध्यता झल्काउँदै ।  

“ त्यसो भनेर कहाँ हुन्छ ।  यतिका  महिना भइसक्यो ।  दसैंअंा त आउन पर्‍यो  ।  ब्यक्तिगत जीवन मिलाउन नसके त सन्तुलन बिग्रिन्छ ।  “  दिब्यज्ञान  दिन खोज्दै हुनुन्छ बुवा ।  

ब्यक्तिगत जीवनको स्वाद कस्तो हुन्छ ! तीन बर्ष भइसक्यो  त्यती मजाले चाख्न पाएको छैन ।  खानाको सन्तुलन मिलाउन त हम्मे हम्मे हुन्छ ।  

“ अब नमिल्ने  कुरामा के कुरा गर्नु ।  ९९ प्रतिशत म आउन सक्दिन ,बुवा  ।  आदि........ “  म भन्छु निराशाका साथ । .."........... ।  

यी कुराहरु सोच्दै थिएँ ।  सम्झना हुन्छ झट्ट ।  आज त मेरो मनप्रिय साथी प्युठान  जान लागेको दिन ।  स्वास्थ्य शिबिर सन्चालन  गर्न र घुम्न ।  उनलाई भनेको त थिएँ हिंड्ने बेला कल गर्नु भनेर ।  शायद उनले बिर्सिछन् होला ।  मैले अलिक ढिला सम्झिएँ ।  उत्त्निखेर कल गर्ने प्रयास गरे ।  टावर लागेन ।  अनि  मेसेज गरेँ ” शुभ यात्रा ।  “  हिंड्ने बेलामा प्रार्थना र शुभकामना गर्‍यो भने भगवानको खातामा पुग्छ रे सुरक्षाको जिम्मा  ।  जे होस् मैले मनबाटै प्रार्थना गरेँ ।  

 फिल्टर भएर बचेको थोरै मूल्यवान समयको सदुपयोग कसरी गर्ने भनेर चिन्तन गर्छु बेलामौकामा ।  अन्तर सम्बन्धलाई सुधार गर्नुपर्ला  भन्ने सोचले मनप्रिय साथीलाई सम्झिएँ ।  उनी पनि ब्यस्त छिन्  अचेल ।  फिल्टर  भएको समयमा मलाई कतै अटाउँछिन भन्ने आस छ ।  इष्टमित्रलाई सम्झिएँ । शुभकामनाका शब्दहरु उपहारस्वरुप पठाएँ ।  शब्दहरुमा खेल्ने प्रयास गर्दै छु । कनिकुथी शब्दहरु टपक्क टिपेर लेख्ने प्रयास गर्दै छु ।  ।  यसपटक दसैंमा म रमाउँदै छु ।  कलम ,आला, सेतो कोटका  साथमा ।  समयसँगै बोध हुँदैछ ” मानव  सेवा नै भगवानको  सेवा ।  “

बिजया दशमीको  शुभकामना । 
#स्वास्थ्यजीवन
#स्वस्थ बिचार।  













Comments

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।