क्याबिन न. ६०७

अस्पताल क्याबिनका सात महिना ।  

रुपाको अहिले सातौँ  महिना बितरहेको छ  ,एउटा अस्पतालको क्याबिन कोठामा । ६०७ नम्बर कोठा ।  उनको जीवनको अबिस्मणिय अंक हुन्छ शायद । यी  उनका  संघर्षका दिनहरु  हुन् ।  अस्पताल घरजस्तै  महसुस गर्न थालिसकेकी छन् उनले  ।  अस्पतालका  सैयासँग अनौठो सम्बन्ध गाँस्न  पुगिसकेकी छन् रुपाले ।  ।  अनौठो किन  भन्दा   प्रिय  नहुँदा पनि प्रिय हुन पुगेको सम्बन्ध ।  उनीसँग  अरु उपाय पनि त छैन  प्रिय नमानी । सधैंजस्तो  उनका  छालाले स्पर्श गरेका छन्   । मायालु हातहरुको मात्र हैन ।स्प्रिटको चिसो स्पर्श र सुइको तीखो  घोचाइ पनि छन्  ।  औषधी दिन र रगत जाँच  गर्न अनगिन्ती स्पर्शहरु ।  सुइ दिने सिस्टर र डाक्टर त मायालु नै मान्छिन् । सुइको तिखोपनालाई दोष दिन्छिन् ।  कुनै सुइ सिधै नशामा, कुनै मासुमा त कुनै छालामा ।  सयौँ सुइहरु परिसकेहोलान्  ।  कति त ढाडमा पनि ।  नसा नभेटिँदा धेरै पटक घोच्नुपरेको पनि छ ।  त्यसको खलपात्र  घोच्ने ब्यक्ति हो  कि सुइ हो  ।  वा आफ्नै शरीर भन्ने कुरामा अन्योल मान्छिन् रुपा  ।  जे होस् म पनि कहिलेकसो उनको सुइको कथाको एउटा खलपात्र हुन पुगेको छु ।  

सलाइनका बोत्तल कति  सकिए ।  केही पत्तो छैन ।  सुरु सुरुमा हिसाब राख्ने गर्थिन् ।  तर अचेल यतिका महिनासम्म त गणितिय गिन्तिको के अर्थ होला र !  सलाइनको थोपाको रफ्तार कहिले छिटो त कहिले ढिलो ।  एकनासको रफ्तारमा दिन नमिल्ने ।  उस्तै उनको जीवनको  रफ्तार पनि ।  कहिले सुस्त अनुभव त कहिले द्रुत ।  शरीर तंग्रिदाको  समय हर्ष हुने ।  खस्किँदा सिथिल हुने ।  जीवनका  आशाहरु निरासामा परिणत हुने गर्छन्  ।  सपनाहरु भत्किने  एकै क्षणमा ।  आफ्नो प्राणवायुको साक्षात्कार  उनलाई  धेरै पटक भएको छ ।  । उनी भित्रको रोग समयसमयमा जिस्किरहन्छ ।  ठट्टा  गरिरहन्छ ।  लाज पनि मान्दैन ।  अस्ति भर्खर थला पार्ने गरी घायल गरेको ।  फेरी घायल गर्न खोज्छ ।  उनको मनमात्र घायल नभएको हो । मन घायल भए त के आशाले अडिने थिन्  र रुपा यो संसारमा ? 

 रुपाको रोगलाई किन डरलाग्दो भनेको होलान्  त ! उपचारमा असिम धैर्यता चाहिने ।  कुनै एकीन टुङो नभएको ।  खर्च पनि उस्तै धेरै ।  उतारचढाव पनि धेरै भएर होला ।  कुनै दिन त इहलीला सकिने नै छ ।  भगवानले मनुष्यजातिबाट  लुकाएको कुरा त्यही हो ।  कहिले अन्तिम क्षण भन्ने थाहा नहुने ।  आज भोलि पर्सी कुनै दिन त अवस्य हो ।  मिति थाहा नभएकोले अजर अम्मर  हो कि भन्ने भ्रम पर्ने त हो ।  कन्सिरी फुल्ने दिन हो कि जुङाको रेखी आउने दिन ।  भर्खर बैस चड्दा हो कि कुप्री परेर चाउरी परेपछि ।  कसैलाई केही पत्तो त छैन ।  त्यही रहस्यको गुदी नपाएर सुखसयल त्यागेर  सिद्धार्थ ज्ञानको  खोजिमा निस्किएथे रे । त्यो बोधिसत्व ज्ञान त रुपालाई सोधे पनि थाहा हुन्छ होला ! 

बुद्धत्व  जे जस्तो जिनिस भएपनि संसार एउटा भ्रम नै हो । हुन त सबैको जीवनको  आयु क्षण क्षण  गर्दै घट्छ नै ।  तर त्यसको आभास सबैलाई हुँदैन ।  कुनै एउटा निहुँले  एक दिन त छोड्नु नै पर्छ ।  फरक यति  मात्र छ कि रुपाको  अगाडि एउटा निहुँ छ ।  उनका अनुशासनहीन  रक्तकोषिकाहरु । किन म्युटेसन भयो केही थाहा छैन । केही कसैको बिगार कहिल्यै  गरेको जस्तो त लाग्दैन        रुपालाई । त्यसैले त उनलाई यो धर्म  ,पाप ,पून्य, स्वर्ग, नर्क आदि कुरा बनाइएका कुरा हुन् जस्तो लाग्छ ।  आँफैसँग प्रश्न सोध्छिन्  ,” मलाई नै किन ? “  मैले आजसम्म उत्तर दिन  नसकेको एउटै प्रश्न हो त्यो । शायद देवताहरुको मिटिङमा गोलाप्रथा गरेर रोग भिडाइने रहेछ कि ! प्रारब्धलाई कारक मानेर उत्तर दिएर के गर्नु? मन सन्तोष गर्ने उत्तर मात्रै त हो ।  सामान्य  ब्यक्तिले नदेखेको नबुझेको कुरा न हो । त्यसको स्पष्ट उत्तर हुँदो हो  त सबै बुद्ध  हुन्थे ! 

उनका शरीर भित्रका रक्तकोशीकाहरु बहुलठ्हिपन गर्छन् रे। सेतो रक्तकोष (wbc )घटेर निकै दु:ख दिन्छन् ।  मिलोमतो गरेर होला ।  ति कोषिकाको सँख्या एकै पटक घट्छन्  त कहिले बढ्छन । खेलाँची गर्छन् ।  अनि रुपालाई रोगसँग लड्न गर्हो पर्छ ।  फेरी सुइ लगाइन्छ  उनका शरीरमा ति  कोशीकाको फौज तयार गर्न ।  केही दिनमा फेरि उनी तङ्रिन्छिन । उनको रोग नै उस्तै दु:ख दिने ।  रगतको क्यान्सरको  रोग ।  त्यसैले त रक्त कोशीकाहरु अनुशासनहिन भएका छन्  ।  आफ्नो मनमर्जिमा चलेका निर्लज्ज कोशीकाहरु दौडिरहेका छन्  उनका नशाहरुमा ।  खर्चिलो भएपनि  “ केमो”  दिएर रोक्ने प्रयास निरन्तर जारी छ  ।  जीवन आशा र प्रयासको मिलन त हो । जिउने आशा र जिउने प्रयास ।  जीवन मृत्‍यु त हाम्रो हातमा नहुने भन्छन् ।  के प्रयास नै नगर्ने त ! 

कपाल पनि  झर्दै पलाउँदै गर्छ शिशिर बसन्त रितुका पातजस्तै ।  तर कपाल पलाउँदैमा उनको जीवनमा बसन्त भने आउँदैन ।  वाकवाकी पनि कती सारो ।  खाना पनि नरुच्ने ।  बिष हो कि औषधी भन्ने कुरामै मनले प्रश्न गर्छ विवस भएर ।  कुनै कुराको अंमल नपरेको शरीरमा किन यसरी उनका रक्त कोशीकाहरु बहुलाएका होलान् त ? के अंमल सेवन गर्नेहरुमा त्यही अंमलको डरले अनुशासित  हुने हुन र ?  बेलाबेलामा  सोचमग्न हुन्छिन्   रुपा ।  उनको १२ कक्षा पढेपछि गर्ने भनेर  बुनिएका सपनाहरु पूरा गर्न सक्छिन् होला त ? उपचारमा आशा भने छ । तर कहिलेकसो आत्तिन्छिन् ।  उनको मुटुको गति बेजोड दौडिन्छ ।  निद्रा पनि लाग्दैन ।  डर लाग्छ संसार छोडिने हो कि भनेर ।  जीवनबोधको एउटा सानो उत्कृष्ट नमूना ।


क्याबिनका सात महिना कटिरहेका छन् ।  कहिले रुँदै त कहिले हाँस्दै ।  आँसु  मात्र नदेखिएका हुन ।  पिर त गहिरो छ ।  नाप्न धेरै मुस्किल छ बाहिर देख्नेलाई ।  त्यो दु:ख नाप्ने असफल प्रयास मात्रै हुनेछ ।  सम्पन्नताले क्याबिनको बसाइ बसेकी हैनन् रुपा ।  रक्तकोशीकाहरुले साथ नदिएर पो हो ।  कमजोर शरीरले रोगसँग लड्न नसकेर हो ।  इन्फेक्सनबाट  जोगिनका निम्ती  हो ।  

औषधीमा निकै पैसा पर्छ ।  ।  “केमोको” औषधी पुर्याउन सितिमिती नसकिने ।  त्यसैले त केमोको हरेक थोपा औषधी अनमोल लाग्छ मलाई ।  कहिलेकाँही उनले सोध्ने गर्छिन्  ” डाक्टर शम्भु ।  मेरो औषधी किन यति बिधि  महँगो ? “.   मसँग उनलाई चित्त बुझ्ने उत्तर कहिल्यै हुँदैन ।  तर म उत्तरको लागि मात्रै भन्छु ,“ अप्ठेरो रोग भनेर जति पनि तिर्छन् भनेर औषधीको भाउ बढाएका होलान्  है रुपा । “.    उनले भन्छिन्  “सुगर र प्रेसरको  औषधी जस्तै  सहज र सस्तो बनाइदिए  जाति हुन्थो नि । सुगर प्रेसर जस्तै घरघरमा घुस्नुपर्ने हो र मेरो रोग ! “.    उनले कसैलाई पनि यस्तो रोग नलागोस् भनेर प्रार्थना गर्छिन् सधैं  ।  

अस्पतालको   सैयामा पुगेपछि  एउटा तत्वज्ञान खुल्दो रहेछ ।  मन सङ्लिँदै जाने रहेछ ।  जीवन आशाहरुको मृगत्रीष्णा हो । जिउने आशाको मृगत्रिष्णा ।  त्यही मृगत्रिष्णालाई  सत्कर्मले रङिन बनाउने नै जीवन जिउने कला रहेछ । स्टेव जब्सका अन्तिम दिब्यबाणिहरु सबैले थाहा पाए ।  उपेन्द्र देवकोटाको अन्तिम घडीतिर खुलेको ज्ञान पनि सुने सबैले  ।  तर रुपाको कथा कतै चर्चामा आएन । हरेक जीवन एउटा कथा रहेछ । केही कथित त धेरै अकथित ।  सामान्य जीवनमा बिशिष्टता खोज्न सकिने रहेछ  ।  त्यसैले त भन्छु मैले स्टिव जब्स र देवकोटा हरेक दिन देखिरहेको हुन्छु ।  रुपा त एउटा प्रतिनिधिपात्र मात्र हो ।  रुपाजस्तै सुरज, कीर्तिका आदि नामका क्यान्सरदर्शीहरु यी   क्याबिनमा संघर्षका समय ब्यतित गरिरहन्छन् ।  र म सबैको जीवनको मर्म थोरै भएपनि  अनुभुती गर्ने प्रयास गर्दछु ।  

एक रक्तक्यान्सरदर्शीको मनको आवाजलाई शब्दमा ब्यक्त गर्ने असफल प्रयास गर्दै छु  ।  धन्यवाद   ।  

उही
क्यान्सरदर्शी

प्रतिनिधिपात्र रुपा 


Comments

  1. बिचरा।🙏🙏 The Voice of Painful soul. 👍️👍️👍️

    ReplyDelete

Post a Comment

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।