गुन्द्री फाल्दिने डाक्टर

गुन्द्री फाल्दिने डाक्टर  

हल्का आँखा राता छन्    ।  निद्रा नपुगेको छर्लङै अनुहारमा देख्न सकिन्छ ।  आँखा टल्पल पनि छन् ।  धेरै दिनको थकानले शरीर गलेको देखिन्छ ।  इस्टकोट धुने ब्यबस्था  मिलेको देखिन्न ।  आँसु    जसोतसो थामिएका छन् ।  खस्दा होलान्  कतै एउटा कुनामा ।  सबैको सामु खस्न मर्द हुनुको मर्यादाले नदिएको होला ।  मनको बेग त आँखामा झल्किन्छन् नै ।  भाद्गाउँले टोपीमा दुइटा  खुकुरीका बुट्टा एक आपसमा क्रस गरेका छन्  । ती कुदिएका खुकुरीका चित्रले जिन्दगीका  बिभिन्न परिबन्धको  निर्णय जस्तै   संकेत गर्न खोजेको प्रतित हुन्छ ।  निर्दोष चेहरा, शान्त  स्वभाव र सरल जीवन  उनका बिशेषण हुन ।  नेपालको बिकासको      नक्सामा नअटाएको कुनै पश्चिमको कुनाबाट आएका छन् आफ्नी जहानको उपचार गर्न । आफ्नी जहानको मृत्‍युको दोसाँधमा निर्णय  गर्न उनलाई भनिएको छ ।  मेसिनमा राख्ने कि अवस्था गम्भिर तथा क्षिण भएका कारण घर लिएर जाने ।  कति अमानवीय र सम्बेदनाहीन  मानेका होलान्  ति बुवाले मेरा शब्दहरु त्यतिबेला  ! 

हरेक दिन घटनाक्रममा कठिन निर्णय लिने गरिन्छन् ।  त्यसको साक्षात्कार गर्दै बिभिन्न परिस्थितीहरु नजिकै बाट नियाल्ने अनुभव हुन्छ चिकित्सक हुनुको नाताले ।  लामो करिडरमा दौडिरहेका बेलामा कारीडरका छेउछाउमा पल्टिरहेका बिरामी कुरुवाहरु देख्न सकिन्छ ।  मलिनता नाप्ने यन्त्र हुने हो भने फरक फरक मापन गर्न सकिन्थ्यो ।  सबै कुनै किसिमले मलिन छन् भन्नेमा सन्देह छैन ।  लाम्खुट्टेले उठिबास नै लगाउँछन् । त्यसैले होला त्यो परिसरबाट हिँड्दा  लाम्खुट्टे धपाउने धुवाँको गन्धले नाक जिस्काइरहन्छ ।  लम्पसार पल्टिरहेका बेलामा  भर्खर आँखाका परेली टाँस्सिन खोजेका हुँदा हुन् ।  अपर्झट भित्रबाट बुलावट हुन्छ ” ५ नम्बर ”  हिरा माझीको मान्छे । जिउ पूरै भारी भएकोले होला निकै अप्ठेरोसाथ उठ्छन ति बुवा ।  दिनभरी कुदेका छन् ।  कहिले यो औषधी कहिले त्यो जाँच ।  कहिले घण्टा  घण्टामा औषधी थपिने गर्छन् ।  ठूलो  अस्पतालका कुना कुनाका कोठाहरुमा चहार्दा चाहार्दै दिन बितेको हुन्छ ।  फार्मेसीको लाइन, काउन्टरको लाइन आदि सबैले थकान बढाइरहेका हुन्छन् ।  त्यसैले होला ति बुवाले भनेका थिए ” म्याराथन डौडिन भन्दा गार्हो यो दौडधुप  ।  “ म्याराथनको त बाटो सिधा हुन्छ ।  पुरस्कार पनि प्राप्त हुन्छ ।  तर यो मनमा पीडाभरिएको अवस्थामा सिधा बाटो पनि रणभुल्ल हुन पुग्छ ।  त्यस्माथि छरिएका काउन्टरहरु ” क्यास काउन्टर पूर्वमा ,फार्मेसी उत्तरमा ,ल्याब ४०० मिटर पारीको भवनमा आदी ।  “ अनि हरेक पाइलामा पैसाको खाँचो ।  पैसा अभावको पीडा  यस्तै काउन्टरमा गनी गनी दिँदा पत्तो पाइन्छ ।  

केही बेरमा औषधी लिएर आउँछन ति बुवा ।  र आफ्नो जगेर्ना गरी राखिएको भुइँमा  पल्टिन जान्छन् ।  उनी पल्टिने क्रममा मेरो  दृष्‍टि उनको गुन्द्रिमा पर्छ ।  घर बाटै साथमा लिएर आएको हुनुपर्छ त्यो गुन्द्री ।  परालको गुन्द्री ।  आँफैले बुनेका होलान् शायद । उनको जीवनचर्यामा कुनै न कुनै कर्मको नमूना प्राप्त गर्न सकिन्छ ।  हात क्रिम लगाएका जस्ता कमला छैनन् ।  हात खश्रा छन्  ।  त्यो देखेर त उनी मनको चोटले मात्रै  गलेको हुनुपर्छ जस्तो अनुभुती हुन्छ ।  उनकी जहानको  अवस्था निकै गम्भिर रहेको छ ।  शायद कुनै चमत्कारले मात्रै सकुशल घर फर्काउन सक्छ होला ।  तर ति चमत्कार शायद सिरियलहरु र दन्त्य कथामा मात्रै  सिमित हुन्छन् ।  मलाई पनि कुनै चमत्कार भए देखी ति बुवाको मलिन अनुहारमा केही कान्ती आउने थियो भन्ने लाग्छ ।  तर कुनै चमत्कार भने भएन ।  ति बुवाको अनुहार मलिन नै रह्यो ।  मलिन अनुहारलाई बिदाबारी गर्दा बखतमा मलाई पनि एउटा कबिता स्मरण भएको थियो “ आयो टप्प टिप्यो लाग्यो ....” 

खाजा खान  उनी सुत्ने ठाउँ हुँदै जाँदै थिएँ ।   गुन्द्री भित्तामा अडेस लगाएर राखिएको रहेछ ।  म एक क्षण  अडिएँ ।  त्यो गुन्द्री तिनै बुवाको थियो ।  के उनले बिर्सेंका हुन्  त ? अवस्य उनले बिर्सेंका हैनन् ।  आफ्नो पौरखले बनेको गुन्द्री थियो त्यो ।  त्यो उनको उदारपन होला कसैलाई काम लाग्छ भनेर छोडेको हुनुपर्छ ।  मलाई भने किन हो त्यो भित्तामा  ठ्डिरहेको गुन्द्रिले ब्यङ्य गरेको जस्तो प्रतित भयो। भुइमा सुत्नुपर्ने बाध्यताको ब्यङ्य । शारिरिक र मानसिक दुबै रुपले थकित आफन्तजनको कमजोर ब्यबस्थापनाको ब्यङ्य ।  आफ्नो पौरखले केही नथपी अरुले बनाइदिएको सम्रचनामा यथास्थिती हुने नालायकिपनको ब्यङ्य ।  हामी सबैप्रति कठोर ब्यङ्य ।  खै मलाई पीर पर्‍यो ।  त्यसैले तुरन्तै हटाउन लगाएँ  त्यो गुन्द्री ।  किनभने म सँग त्यो ब्यङ्य सहने शक्ती पनि थिएन ।  न त ब्यङ्यको जवाफ दिने शक्ति थियो ।  शायद म त्यो ब्यङ्यको पात्र पनि थिइन ।  

उही 

गुन्द्री फाल्दिने डाक्टर 

Comments

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।