न आवास न आवाज ।

 एक आवासीय चिकित्सक जसको आवास र आवाज दुवै छैन ।

पढ्न सुरु गरेको दिन मलाई थाहा थिएन आवासीयको अर्थ । विस्तारै थाहा भयो आवासीय भनेको अस्पताल परिसरभित्र आवासमा बस्ने व्यवस्था भई बिरामीको उपचारमा मात्रै तल्लीन हुनेलाई भनिन्छ । आवासको खड्को जहिले महसुस भए पनि हालको विषम परिस्थितिमा उदाङ्ग भएको छ ।

मेरो १० बर्ष अगाडि सुरु भएको मेडिकल शिक्षाको यात्रा त अझै सकिएको छैन ।  प्रवेश गर्नु नै कतै भुल त थिएन भनेर महसुस नगर्ने सायद कमै होलान् । किन अतिरन्जित गरियो त यो पेशालाई ? त्यसको बिश्लेषणको जिम्मा नेपाली अभिभावकलाई नै छोड्छु । जतिसुकै आकर्षक बजेट नीति नियम ल्याउन खोजिएपनि कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मीलाई भने कहिल्यै समेटिएन । उदारता कहिल्यै महसुस भएको छैन ।  छिमेकीको बारीको अनाज राम्रो देखिन्छ भनेर भन्न सक्लान् ।वास्तविकतामा यो पेशामा उचित सम्मान कत्ति हुन सकेको छैन । न सुबिधामा न सुरक्षामा ।

वर्तमानको कुरा हाल व्यापक आगो सल्केजस्तै सल्किरहेको कोभिडको सम्बन्धमा अर्को चुनौती थपिएको छ । आवासको चुनौती  । आवासको व्यवस्थालाई व्यवास्ता गरिदै आएको त पक्कै हो  । नभए बिसौँ वर्षसम्म पनि आवास नबन्नु जायज मान्न कदापि सकिन्न ।  अस्पतालले आवास उपलब्ध नगराउनाले अहिले डेरामा बसिरहेका अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मीलाई रुचाउन छोडिसके घरमालिकले । अरु बेला डाक्टर संग नजिक हुन मन गर्नेहरु अहिले टाढा हुन खोज्छन् । तर्किएर हिड्न खोज्छन् । रातारात हामी चिकित्सक छुन नहुने समाजका प्राणी परिणत भइसकेका छौँ ।

आखिर दोष कसको ? सुक्ष्म विश्लेषण गर्दा यो देशमा दोष खोज्दै जाने हो भने सबै दोषी नै साबित हुन्छन् होला। अस्पताल प्रशासन देखि मन्त्रालयसम्म । घरमालिकले अस्पतालमा कार्यरत कर्मचारी सम्भावित कोरोना सन्क्रमित हुन सक्ने भनेर सोच्नुलाई गलत त कसरी भन्न सकिएला र ! आफ्नो र आफ्नो परिवारको सुरक्षा खोज्नु हरेक प्राणीको नैसर्गिक वृत्ति  हो । तर  अविवेकी तरिकाले घर नै छोडेर जान भन्नू मानवीयताको पतन हुनुको नमुना हो ।  सुरक्षा अप्नाउन कठिन हुने डेरामा यो समस्या अवस्य उत्पन्न हुन्छ । विनाकारण कसलाई पो कोभिडलाई निम्त्याउनु छ र घरमा । के व्यवस्था मिलाउन सक्छ त सरकारले यी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ? कार्यस्थलमा उस्तै डर र डेरा जान उस्तै समस्या । दुबैतिरको चपेटामा स्वास्थ्यकर्मी कसरी काम गर्न सक्छन् त ?

हाम्रो देशमा मान्छे कोरोनाले मरे पनि जे कुराले मरे पनि डाक्टरको लापरबाही भन्न छोड्दैनन् । जताबाट पनि पीडित र लान्छाना लगाउने त चिकित्सकलाई नै हो । सिस्टमको सबै कमजोरी अन्त्यमा  चिकित्सकमा ठोकिन्छ । निकै सजिलो छ चिकित्सकलाई फुटबल बनाउन । कोभिडले गर्दा मृत्यु हुन नै पर्खिनु त बुद्धिमानी त कदापि हैन । कुनै घर भाडामा लिएर हुन्छ कि होटेल भाडामा लिएर हुन्छ । यसको समाधान त अत्यावश्यक हो । कमजोर व्यवस्थापन नै मुख्य समस्या हो । पैसाको कमी भन्दा पनि असल नियतको खडेरी हो  । यो समय स्वास्थ्य फाँटमा अभुतपुर्व काम गरेर देखाउने मौका हो । जनताको वाही वाही पाउने बेला हो । तर यो आवाज नभएको र आवास नभएको चिकित्सकको कुरो कसले सुन्ने ?

तर एउटा प्रश्न भने धेरैले सोध्ने गर्नुहुन्छ । " बाबु । क्वार्टरमा बस्नुन्छ । " मन चसक्क हुन्छ । उत्तर साधारण " हैन हजुर । डेरामा "

Comments

Popular posts from this blog

अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!

बाटो बिराएका रोगहरु ।

नेपाल पूर्वको यात्रा , सिकाउँछ पाठ धेरै ।