शरीरको गाँठोले मनमा गाँठो नपरोस् । ।

शरीरको गाँठोले मनमा गाँठो । 

जिवनमा घटनाहरु सधैं सूचना दिएर आउँदैनन ।  कहिलेकाँही बज्रपात पर्ने गरि आउँछन् । स्वर्णिम आशा गरेको  जिवनको अचानक मध्यकाल नपुग्दै जिवनको उत्तरार्धमा परिणत हुनु दु:खद कुरा हो । समिनाको(नाम परिवरर्तित ) शरीरमा  एकाएक समस्या देखिन लाग्छ । स्नातक तह उतीर्ण गरेका धेरै दिन नबित्दै जिवनभर बुनेका  सपनाहरु एकाएक टुटेर जान्छन् । जीवन शून्यसरी हुन्छ । जीवन भनेको कस्तो तत्व रहेछ !  सधैं जिउन मन लाग्ने । अब धेरै समय छैन भनेर थाहा पाउँदा अझै बाँच्न मन लाग्ने । अझै सन्सार देख्न मन लाग्ने । माटोको शरीर भएपनि आफ्नो मन तयार नभएसम्म  माटोमा बिलिन हुन मन लाग्दैन । किनभने यो मनमा इच्छाका पोकाहरु फुक्नु अगाडि नै समयले घण्टी बजाउँदा  झर्को मात्रै लाग्छ  । दर्शनका कुरा जति गरे पनि दर्शनले मनलाई शान्त पार्न सक्दैन। भावनाले दर्शनको " लजिक " मान्दैन । हो समिनाको मनले पनि कसरी मान्छ त ? ३० नपुग्दै उनलाई एक्कासी  रोगले कायल बनाएको छ । आघात तुल्याएको छ । 

खाना रुचि कम हुनेबाट सुरु भएको रोग पेट फुल्लिने र आँखा पहेँलो हुँदै शरीर पनि पहेँलो हुँदै गएको छ । न त कहिले मदिराजन्य पदार्थ सेवन गरेकी हुन् न कुनै अनावश्यक औषधिको प्रयोग नै गरेकी हुन् । आफ्नो पढाइ र लक्ष्यप्राप्तिमा तल्लीन उनलाई केही महिना भित्रमै  जन्डिस र पेटमा पानी जमेर अस्पतालको  सैयामा बस्नुपरेको छ । उनी जति पिडित देखिन्छिन् त्यो भन्दा बढी पीडित उनका बुवा देखिन्छन् । रसिला आँखा ६० को दशकमा कत्ती नसुहाउने रहेछ  । डाक्टरका गतिला  कुरा नसुनेर सधैं  एउटा कुनामा गएर रुन्छन्। सधैं केही राम्रो खबर भनिदिए हुने भन्ने आश गरिरहन्छन्। रोग पत्ता लगाउन ढिलो भएकोमा आक्रोश र चिन्ताको मिश्रित मनोभाव व्याप्त छ । जति प्रयास गरेर खोजेपनि  रोगले लुक्न खोजिरहेको उनलाई फिटिक्कै मन पर्दैन । डाक्टरको दक्षतामा बेलाबखतमा प्रश्न उठ्ने गर्छ उनको मनमा । 

पेटको भिडियो एक्स रे , सिटि स्क्यान , एम आर आइ आदिले शरिरको अन्य अङ्गको  क्यान्सरले कलेजोसम्म फैलिएको शंका हुन्छ । तर कहाँबाट फैलिएको भन्ने अन्योल हुन्छ  । डाक्टरले सोध्ने क्रममा समिनाले शरिरमा कतै गाँठा गुठी नभएको भनेर भन्छिन् । आफै पनि स्वास्थ्य क्षेत्रकै विषयमा अध्ययन गरेकोले उनको कुरा ठिक हो भन्ने लाग्छ । जाँच्ने क्रममा घाँटी , काखी आदिमा लिम्फ नोडहरु भेटिन्नन् । पुनः सम्पुर्ण रिपोर्टहरु एकै ठाउँ राखेर अध्ययन गर्दा कुनै ठाउँ छुटेको होला भनेर आंकलन गर्दा स्तनको जाँच छुटेको थाहा हुन्छ । तर स्तनमा हुने गाँठोहरु त आफै थाहा पाउनुपर्ने भएपनि स्तन जाँच्न अनुमति मागिन्छ। आशा गरे अनुसार  त्यहाँ कडा खालको डल्लोहरु भेटिन्छ । त्यो स्वभाविक किसिमको सजिलै आफै थाहा पाउन सकिने गाँठा हुन्छन् । समिनाले सामान्य स्तनकै भाग भनेर  वेवास्ता गरेकोमा भने आश्चर्य लाग्छ सबैलाई । पढेलेखेकी  समिनाले शंकास्पद डल्लाहरुलाई सामान्य मान्छिन् भने स्वास्थ्य चेतना नभएका महिलाहरुमाझमा स्तनको समस्या कति लुकेर बसेको होला भनेर एकीन गर्न सकिँदैन ।

स्तनका शंकास्पद  गाँठो  जाँच अर्थात बायोप्सी गरिन्छ र  केही दिनमा रिपोर्ट आउँछ । शंका यथार्थमा परिणत हुन्छ ।  उनको स्तनमा क्यान्सर भएको रहेछ । जुन फैलिएर कलेजोसम्म पुगेको अनुमान लगाउन कत्ती दुबिधा हुँदैन । त्यो अवस्था छिप्पिसकेको अवस्था हो । जहाँ उपचार निकै असहज हुन जान्छ । छोरीलाई  क्यान्सर भएको  खबर सुनाउँदा उनका बुवा छाङाबाट खसे जस्तो हुन्छन् । स्तब्ध हुन्छन् । हुन त प्रारम्भदेखि नै  क्यान्सरको शंका गरिएपनि कुन ठाउँको क्यान्सर भनेर  एकिनसाथ भन्न डाक्टरले सकेका थिएनन् । 

प्राय : स्तनको क्यान्सर ४० पछि देखिने गरेपनि केही अपवाद त कुनै पनि रोगमा भेटिने गर्छन् । कम उमेर तथा स्वभाविक लक्षण विना स्तनमा क्यान्सर भेटिनु अस्वभाविक लाग्न सक्छ । तर आफ्नो शरीरमा हुने परिवर्तनहरुलाई विचार गर्नुपर्ने हुन्छ । कुनै पनि गाँठागुठी हरुलाई सामान्य मान्नु हुँदैन । एक पटक समयमा  सल्लाह लिनु जरुरी हुन्छ । आफ्नो स्तनको आफैं समयसमयमा जाँच गर्नु उत्तम हुन्छ । यसो गर्दा रोगको सुरुको अवस्थामा पत्ता लाग्न सक्ने सम्भावना हुन्छ । आफ्नो स्तन आफैं जाँच कसरी गर्ने भनेर ईन्टरनेटमा चित्रात्मक सामाग्रीहरु प्रशस्त भेटिन सक्छ । केही समय फेसबुकबाट त्यो विषयमा ज्ञान लिनु सर्वहितकारी हुन्छ । नभए त सुमिनाजस्तै  स्तनको गाँठोले सुमिना र सुमिनाको बुवाको मनमा बाँचुन्जेल गाँठो बनाइरहने भयो । 

Comments

Post a Comment

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।