एक्लोपन ।


सधैं सपनाबाट बिउँझेको मात्र कथा परिवेश बनाएकोमा झर्को मान्न पुगेका मेरा हितैषी साथीहरुलाई म विपनामा लेख्ने प्रयास गर्दै छु । सपनाबाट उठ्नुको मजा नै बेग्लै हुन्छ ।  समय बलवान छ  । समयसंग जुध्न सकिन्छ । तर धार परिवर्तन गर्न भने सकिँदैन । रात पछि बिहान हुन्छ नै । दिनपछि रात हुन्छ नै । एकान्तपनमा शान्ति प्राप्त गर्न सके मोक्ष्य प्राप्ती हुन्छ । नसके उदासीपन । 

शरिरले समयको चक्रसङ सम्बन्ध बनाइसकेको छ । त्यसैले त बिहान आफैं आँखा खुल्छन । र सपना पनि मेटिन्छन। पुनः आँखा चिम्लेर सपनामा डुब्न समयले दिदैन । उठ्ने बितिक्कै आफ्नो नित्यकर्म गरिसकेपछी भजनको संगीत धुनमा केही समय डुब्न मन लाग्छ । सधैंको दैनिकी नै भन्नुपर्ला । राधाकृष्णको भजन बज्दा मलाई पनि राधाको याद आउँछ । दु:ख त लाग्दैन । तर मीठो याद हुन्छ । अनि सोच्छु अहिले राधा संगै भए ? 

जब म आफ्नो सर्ट लगाउन लाग्छु, प्रेस नगरेकोले खुम्चेको देख्छु । सधैं उनले प्रेस गर्दिने गर्थिन् । यसो सम्झिन्छु अनि सोच्छु उनी साथ भएको भए म धेरै चिटिक्क हुन्थेँ । चिटिक्क हुन पनि कारण चाहिन्छ जिवनमा । अचेल त्यो कारण लोप भएको छ । प्रेस नगरेको खुस्मिजिएर बेखुस सर्ट र पैन्ट लगाएर कर्यस्थलको गन्तव्यमा हिड्छु। मोजा लगाउदा दुई थरिको  परेछन्। मोजा पनि ठाउँमा राख्ने गरेको छैन । उनले सम्हालेर राखेका मोजा लगाउन सजिलो हुन्थ्यो । जहाँ पनि फ्याँक्नु पाउन्नथे । उठाएर ठाउँमै राख्नुपर्ने हुकुम हुन्थ्यो । नत्र फकाउन हम्मे हुन्थ्यो । नारी हटको अगाडि कसको के लाग्ने ? एक किसिमले स्वतन्त्रता नै छ । तर बन्धनको स्वतन्त्रता । 

ज्यान पिरले हो कि खाना नखाएर हो दुब्लाउन थालेको छ । खाना पकाउन मन पनि लाग्दैन । जाङर कुलेलम ठोकिसकेछ । बिहान पकाए बेलुका नपकाउने । तताएर खाने बानी बसिसक्यो । उनी हुँदा थरि थरी पकाएर एक्स्पेरिमेन्ट गर्न मन लाग्थ्यो । 

दुईटा कफी दुईटा चिया दुइटा समोसा अर्डर गर्ने बानी अहिलेसम्म छुटेको छैन । दुईटाको ह्याङोभर कहिले छुट्ने होला भनेर मनमनै सोच्छु । अनि आफै खान्छु । 
घुम्न नगएको पनि धेरै भैसकेछ । एक्लै कता नै जाने र । स्कुटरको पछाडिको सिट खाली हुन्छ । उनले मात्रै त्यसको सिटको शोभा बढाउन सक्थिन् । 

दिन यत्तिकै बित्ने गर्छ । लाग्छ म समय कटाउने मात्रै काम गर्छु । समय रङाउने काम त बिर्सिसकेछु । ज्यान छ त्यसैले काम छ । ज्यान छ त्यसैले खानुपर्छ। त्यसैले सुत्नुपर्छ । आत्मा हराएको एउटा भारी ज्यान लिएर म कोठामा फर्किन्छु । अस्तब्यस्त छ । चिटिक्क पार्छु भनेर सोच्छु । तर सोफा र बेडले च्यालेन्ज गर्छन् । मन लोभ्याउन सफल हुन्छन् । अनि पल्टिन्छु उनलाई सम्झिँदै । फेसबुकमा उनलाई देखे यादको पिँजडामा देख्ने पक्कापक्की हुनाले फेसबुकलाई मेटेको छु । सम्झना त मेट्न असफल हुँदा दृश्यहरु नै नभेटिने वातावरण बनाउने झिनो प्रयास मात्र गर्छु  । 

खाना पकाउन पनि जाङर लाग्दैन । दुब्लाउने राम्रै उपाय निस्किएको छ । उनको अन्दाजमा पाकेको तरकारीको  स्वाद छुट्टै मीठो हुन्थ्यो । आफुले त हम्मे हम्मे तरकारी काट्न मात्रै हो । न नुनको अड्कल न तेलको । संगै खाना पकाउन बेग्लै आनन्द आउँथ्यो । तर समयले त्यो सामन्जस्यता फिटिक्कै मन पराएन । यस्तै कल्पना गर्दै अर्को दिनको सुर्योदय हुन्छ । समय चक्र चलिरहन्छ । 

( एक्लो हुन पुगेका प्रति समर्पित ) 


Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा