यो कस्तो प्रतीक्षामा ।

यो कस्तो प्रतीक्षा ।  

जीवन नै प्रतीक्षा रहेछ । सानो हुँदा ठूलो हुने प्रतीक्षा । सफलताको प्रतीक्षा  । दु:ख निवारणको प्रतीक्षा  । सुखको प्रतीक्षा । रातपछि बिहानीको प्रतीक्षा । बिहानपछि साँझको प्रतीक्षा । ड्युटीपछि ड्युटी सकिने प्रतीक्षा । सबैजना केही पर्खिरहेका हुन्छौं । जीवन पुरै एकोहोरो भएको छ । अचेल  समय भने कसैको मृत्युुको प्रतीक्षा गरेजस्तो आभास हुन्छ । चित्रगुप्तका दुतहरु अस्पतालमा पर्खिरहेका हुन्छन् होला । कति दुतहरु अचेल घरतिर पनि घुमिरहेका हुन्छन् । ती सबै प्राणवायु खिच्ने प्रतीक्षामा । पहिलेभन्दा काम बढेको छ होला तिनिहरुको । 

घर नै अस्पताल भएका छन् । पुरै परिवार अस्पतलमा हुनाले अस्पताल घरजस्ता हुन पुगेका छन् । स्वास्थ्यकर्मीको अभावले अस्पताल घरजस्तै हुन पुगेका छन् । फरक केवल अक्सिजन भएको बेड र एकाध सुइका औषधि ।  कोभिडमय अस्पतालमा सबैका फोक्सोमा आक्रमण गरेर कोभिड्ले उधुम मचाइरहेको छ । श्वास लिन एकाएक गार्हो हुँदै गर्दा सबैजना अक्सिजनको प्रतीक्षा गरिरहेका छन् । हावामा भएको अक्सिजनले नपुग्ने कस्ता दिन आए ?  शताब्दीदेखिको  प्रदुषित वातावरणले बदला नै लिएजस्तो !! श्वास फेर्न कति गार्हो हुन्छ भनेर देखाउने प्रयासजस्तो ! यति धेरै अक्सिजन फोक्सोले कहिले देखि माग्न थाल्यो । विस्मयमा हुन्छु म कहिले काहिँ  । 

गार्हो भएपछि मात्रै अस्पताल जानू भनेर भन्न निकै सजिलो छ । तर गार्हो भएपछि अस्पताल खाली हुने सुनिस्चित त कतै छैन । आइ सि यु बेड कुर्दा कुर्दै प्राण्वायु छुटेर गए को त भोग्ने परिवार र देख्ने स्वास्थ्यकर्मीलाई मात्रै थाहा हुन्छ । त्यस्ता अप्रिय प्रतीक्षाका अनेकौं घटनाहरु आफ्नै आँखाअगाडि नाचिरहेका हुन्छन् ।  अक्सिजनको मात्रा घटेर जान लागेको देखेपछि अस्पताल ल्याइ पुर्याउँछन् । अस्पताल गेटमा भनिन्छ " अस्पतालमा बेड खाली छैन । उहाँलाई आइ सि यु चाहिन्छ । " तर तत्काल कतै व्यवस्था गर्न नसकिने हुनाले एउटा कुनाको बेडमा राखेर उपचार सुरु गरिन्छ । जानेको जति उपचार गरिसकेर अस्पताल खोज्न लगाउनै पर्‍यो ।  उपचार भनेको अक्सिजन र केही औषधी । तर त्यो बेडमा बिरामीको भाग्यको परिक्षा मात्रै भइरहेको लाग्छ । कसले कति लामो समय भेन्टिलेटर विना थेग्न सक्छ भन्ने प्रयासमात्र । सबैजना फोन घुमाउन लाग्छन् । चिनेजानेका डाक्टर नेता आदि सबैलाई फोन गर्छन् । काम पर्दा सम्झिने त हो टाढा टाढासम्मका चिनजान । 
तर कतै सीप लाग्दैन । आइ सि यु बेड फेला पार्नु सबैभन्दा मुस्किल कार्य हो । लाग्छ बेड भेटाउनेलाई विशेष सम्मान दिनुपर्छ । 

के बेड खाली नै हुँदैनन् त ? हुन्छन् । अवस्य हुन्छन् । कुन बेला खाली हुन्छन् भन्ने टुङ्गो नहुने त हो । एउटा बिरामीको प्राणवायुले साथ नछोडेसम्म त कसरी खाली हुन्छ होला र यो महामारीमा । कि त सुधार भएको बिरामी आइ सि युबाट सर्न पर्‍यो  । यी दुवै नहुँदा बिरामीले भाग्य परिक्षाभन्दा अरु के नै सामर्थ्य भयो र ।
त्यस्तै ती  बा का परिवारले पनि १४ घण्टा बितिसक्दा पनि कतै बेड भेटाउन सकेनन्  । शक्ति पुगेन ।  न त अस्पतालमा बेड खाली हुने संकेत देखियो ।  हरेक आधा घण्टामा अक्सिजनको मात्रा घटेको छ भन्दै फोन आउँछ । औषधी दिन सकिने सबै दिइसकेको छ । त्यो हावा दिन अम्बु ब्याग थिचेर हात कति दुखेका होलान् । 
 त्यो जोड्न भेन्टिलेटर छैन । भेन्टिलेटरमा जोडेर मात्रै मान्छे बाँचिहाल्ने भन्ने त हैन । तर समयानुसार बिरामीले उपचार पाउन नसक्नु नै दुर्भाग्य हो । बेडको प्रतीक्षामा अन्ततः आत्माले साथ छोड्न पुग्छ । आइ सी यु बेडको प्रतीक्षा मृत्युको प्रतीक्षा जस्तै हुन पुगेको छ । त्यसमाथि औषधिको प्रतीक्षा त अझै बेजोड छ । कोभिडलाई प्रयोग गर्दा राम्रै देखिएको औषधि रेम्डेसिभिर बजारमा अभाव हुन्छ । त्यो औषधीको  व्यवस्थाको  अनुमती सिमित व्यक्तिलाई मात्रै दिएकोमा तहाँ पनि उपलब्ध हुन नसक्नु कसको कमजोरी हो त ? औषधीको प्रतीक्षा गर्दागर्दै कति बिरामी ठिक भए । कति जीवन त्याग गर्न पुगे । 

सबैको प्रतीक्षा त उज्ज्वल भविष्य र समृद्ध नेपालको थियो।  विभिन्न तन्त्रको काँचो  अभ्यास गरेर नै बिते शताब्दीहरु । नेतालाई सधैं चुनावको प्रतीक्षा । तर जनतालाई चाँहि चुनावको प्रतीक्षा नहुने होला । त्यस्तो व्यग्र प्रतीक्षा हुँदो  हो त कमसल काम गर्नेलाई पाठ सिकाउने र आफ्नो  रोजाइ सच्याउने मौकामा सधैं किन चुक्थे त ! समृद्धिको  प्रतीक्षा केवल प्रतीक्षा मात्रै रहन गयो । कोभिडले दु:ख  नदिएको क्षेत्र त सायद केवल भ्रष्टाचार मात्रै होला हगि ।  म त एउटा सामन्य चिकित्सक । सामर्थ्य बिरामी हेर्न मात्रै जान्ने । बिरामी निको हुने प्रतीक्षा मात्रै गर्छु । तर परिबन्धले बिरामी र म दुवै आइ सि युको प्रतिक्षा गर्न बाध्य हुन्छौं । श्वास खिचेर लगेजस्तो अप्ठेरो महसुस हुने ती सब बिरामीका दृश्य देख्दा श्वास कति महत्वपूर्ण रहेछ भन्ने ज्ञात गराइरहन्छ । अप्रिय शब्दमा भन्नुपर्दा हामी कसैको मृत्युको प्रतीक्षा गर्न बाध्य छौँ । 

 कोभिड भाइरसले कसैलाई पक्षपात गरेको छैन होला । श्वास फेर्न नपाउँदा हुने  छट्पटीको महसुस कुर्सिमा विराजमान नीतिनिर्माताहरुलाई नि हुन्छ होला है कुनै दिन । त्यस्तो प्रतीक्षा गर्न नपरोस् उहाँहरुलाई । के गर्नु ! भलो नै  चिताउन पर्यो चिकित्सकको नाताले ।  उहाँहरुले  सामान्य बिरामीले जस्तो आइ सि यु आदिको व्यग्र प्रतीक्षा गर्नु परेमा अस्पतालमा काम गर्ने सबैलाई ठुलो दबाब र भार पर्छ । कता हुनुन्हुन्छ महानुभावहरु कोभिड केवल हाउगुजि हो भन्नेहरु । म निकै थाकेको छु । कामले हैन। दृष्यले थाकेको छु । बिरामीका प्रतीक्षा देखेर थाकेको छु । कृपया मलाई पालो दिन आइदिनुस् न ल । अलिकति  भार लिन आउनुस् न है ।  

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा