पानीपुरी मिलन ।

पानीपुरी खाने ठाउँमा तिमी उभिएर हातमा तातो पानीपुरी लिएर जब मुखमा राख्छ्यौ । तिम्रा गाला फुक्क फुकेर चुरे पहाडजस्तो निस्किने गर्छ । र खुर्लुप्प निलेपछि सम्म हुन्छ । तिमीलाई असाध्यै मन पर्ने रहेछ पानीपुरी । धेरै पटक मेरा नयनले तिमी र तिम्रो पानीपुरी संगको भावलाई हेर्ने मौका प्राप्त गरेका छन् । संयोग नै कस्तो । मलाई नि पानी पुरी बिछट्टै मन पर्ने । त्यो नि साँझमा । तिमी पनि टुप्लुक्क आइपुग्ने एउटै समयमा । धेरै दिन भयो । केही बोल्न मन लागेको । तर कुनै निहुँ नै बनाउन सकिन । हरियो रङको कुर्ता निकै सुहाउने रहेछ तिमीलाई । तिम्रा केश फिजाँरिदै सधैं पिठ्युँमा सुस्ताइरहेका हुन्छन् । 

एक दिन तिमी आउन भुल्यौ। मलाई कस्तो बेचैनी भएको महसुस भयो । तिमी नआउँदासम्म पानीपुरी नि पुरै खल्लो हुने भयो । निकै चर्को लाग्यो ।म पर्खिरहेँ । पर्खिरहेँ । ठन्डी महिनामा सुर्यको किरण पर्खेजस्तै भयो । अति व्यग्र प्रतीक्षा । दिन र रातको त्यो क्षण अद्भुत हुने रहेछ । सुटुक्क रात हुने बेला दिनले रातलाई पालो दिने होला विश्राम लिन । फोनको घण्टी पनि बज्न थाल्छ । घरबाट आएको रहेछ । कहिलेकाहीं विदामा घरमा आएको छोरो हारायो भन्ने पीर परेको होला । मलाई परेको पिर त कसले बुझ्नु र बुझाउनु । लुरुलुरु घर फर्केँ । 

अर्को दिन पनि आइनौ । केवल सपनामा मात्रै ल्याउने जमर्को गरिरहेँ । कल्पनामा मज्जाले निम्त्याउन सक्ने  तर सपनामा ल्याउन नसकेको अवस्था थियो । सपनामा बास गर्न विपनामा नजिक भैसकेका थिएनौँ नि त । मलाई लाग्यो तिमीसँग लामो समयको सम्बन्ध छ । जुनी जुनीको सम्बन्ध । पुस्तकका पानाबाट विश्राम माग्यो दिमागले । मन नै स्थिर नहुँदा मस्तिष्कले विश्राम लिएको नै राम्रो । 
यु ट्युबमा फेरि साउथको मगधिरा भन्ने फिल्म हेरेँ । मलाई पनि लाग्यो तिम्रो हत्केलामा छुने हो भने करेन्ट लाग्छ र जन्म जन्मको सम्बन्ध बेलीबिस्तार लाग्छ । लाग्यो तिमीसँग जीवन बिताउन पाए भगवान शिवले सतीदेवीलाई पार्वतीको रुपमा प्राप्त गरेर जन्मजन्मको सम्बन्ध साकार गरेजस्तो हुन्छ होला । 

कतै आफ्नो समय पो बदलियौ कि भनेर अर्को दिन म बिहानदेखि नै पानीपुरी पसल नजिक बसिरहेँ । ।१० पटक पानीपुरी खाइसकेँ । तर तिम्रो कतै दर्शन भएन ।  त्यसपछि पनि पानीपुरी थप्ने हो भने पाचनप्रणालीले साथ छोड्ने निस्चित थियो । पैसा पनि सकिएछ । तिमी आइहाल्यौ भने कसरी पानीपुरीको लागि निम्तो दिने ! बडो फसाद पर्छ सोचेर । उधारो दिन्छ कि दिन्न फेरि 

साँझ पर्न लाग्यो । दिउसो साझ कतिखेर हुन्छ भनेर व्यग्र भैरहेको मलाई तब भने साझ रहिरहोस् जस्तो लागिरह्यो । तर साँझ रहे पनि तिम्रो दर्शन भने हुन सकेन । घरतिर लाग्ने तरखरमा थिएँ । नजिकै एउटा कार रोकिएको रहेछ । एउटा गीत बजेको सुनिन्छ । " साँझ परेपछी नि लै लै , याद आउँछ तिम्रो  मनभित्रको गुप्त कोठामा " । तर मलाई भने हरेक पल तिम्रो याद आए पनि कुनै सीप लागेन । "तैले चिता म पुर्याउँछु भन्छन् रे " भगवानले । खै भगवान यो परीक्षामा फेल भए कि जस्तो लाग्यो ।  त्यतिका दिनसम्म कमसेकम ठेगाना पत्ता लगाउन सकेको भए ,भनेर आफ्नो कमजोरी कोट्याउनु बाहेक केही गर्न सकिन । 
पट्यार लाग्दा दिनहरु भए  । विदाको समय सबै तिमीलाई कल्पना गरेर मात्रै बितेको देखेर म भित्रको विवेक जुर्मुराउँछ । 

त्यसरी विवेक नै जागेपछी त पुस्तक समात्नै पर्यो। असाध्यै उपन्यासआदि पढ्ने म अहिले त्यसरी एकोहोरिनु मलाई आफै ठिक लागिरहेको थिएन । तर एकाग्रता नहुनाले घरमा समय बिताउन मुस्किल थियो । टहल्ने निहुँले पुस्तकालय जाने निधो गरेँ । गन्तव्य पुस्तकालय उद्देश्य तिम्रो दर्शन । अदृश्य मनले त तिमी भेट्टिहाल्छौ कि भनेर डोर्‍याइरहेको थियो । सायद पढ्न बाहेक अरु कामको लागि पहिलो पटक पुस्तकालय जाँदै थिएँ । 

पुस्तकालयमा मलाई सधैं मन पर्ने कुनामा गएर बस्छु। तर पत्रिका लिएर पढेजस्तो गर्दै बस्छु । वरिपरिको वातावरण नियाल्न खोज्छु । सबै आफ्नै अध्ययनमा व्यस्त देखिन्छन् । मजस्तै कसैको पर्खाइमा अरु पनि होलान् त भनेर जिज्ञासा हुन्छ । सबै आफ्नै युद्ध लड्दै हुन्छन् । मनको युद्ध बाहिर देखिने भए त आधा मानवजाति नै अस्थिर होलान् । पत्रिकाका पाना दशौ पटक पल्टाएर सकिन्छ । तर तिमिलाई भने कतै देखिन । 

म निस्किन लागेको थिएँ । काउन्टरमा किताब लिन लाइब्रेरियनसँग कुरा गर्दै गरेको देखेँ तिमीलाई। अनुहार हेर्न पाएको थिइन  । तर पछाडीबाट दुरुस्तै उस्तै लाग्ने । मन खुशीले गदगद भयो । खुट्टा भुइँ छोड्लान् जस्तै भएको थियो । ब्यग्रता पूरा शान्त हुँदै थियो । लामो श्वास फेरेर धेरै दिनको ऐंठनलाई शान्त पार्ने कोसिस गर्छु । 
हिम्मत बटुलेर तिमीसँग परिचय गर्न अगाडि बढ्छु । 
"हाइ ! म तपाइँलाई पर्खिरहेको छु । " नाम सोध्न पर्नेमा सिधै मनको कुरा पोखिन्छ । त्यो अनुहार फरक्क फर्किन्छ " व्हाट द .....। " म झसङ्ग हुन्छु । त्यहाँ तिमी हुँदैनौ ।  "आइ एम् सरि " भनेर म निस्किन्छु । 

सपिङ मलमा सहित गरेर दोश्रो पटक झुक्किन्छु । 
यरपोर्टमा तेस्रोपटक झुक्किन्छु । मान्छे जीवनमा यसरी नै झुक्किन्छन् होला है । हेर्दा झट्ट सबै मिल्ने जस्तो लाग्ने । तर पूरा हेरिसकेपछि चेतना हुने । घर्षणविनाको सम्बन्ध हुन मिलेजस्तो मात्रै भएर हुँदैन । पुरै तारताम्य मिल्नुपर्छ । कति जोडीहरु कुनै न कुनै बेला सोच्न बाध्य हुन्छन् होला । " के हामी एक अर्काको लागि रेजोनेण्ट छौं  त ? " कति सम्बन्धको बिचमा सोच्न पुग्छन् होला  । कति बिहेको अघिल्लो दिन सोच्न पुग्छन् होला । कति बिहेको राति सोच्न पुग्छन् होला । कति बिहेको बर्षौँ पछि प्रश्न गर्छन् होला । हिसाबकिताब र नियमले बनेका सम्बन्धहरु अनगिन्ती हुन्छन् । प्रेमले मात्रै बनेको सम्बन्ध विरलै हुन्छन । कसैले भनेको थियो " कसैसँग जीवन जिउनका लागि नै बनेको  छ भने मन सरर बग्छ विना कुनै प्रश्न । बाँकी सबै समझदारीका सम्बन्ध हुन् । " 

तर अब भने नझुक्किने आफैलाई वचन दिन्छु । बाटो टहल्दा पनि तिमी कतै भेट्टिन्छौ कि भनेर आश जाग्छ । कफीको सौखिन हो म । पानीपुरी पछि विशेष ठाउँमा कफी खाने इच्छा राखेको थिएँ । त्यो इच्छा पनि कतै  पुर्ण हुँदैन । हिमालयन जाभा कफीको अगाडि पुग्दा मलाई निकै इच्छा हुन्छ कफी खान । म प्रवेश गर्छु । आफुलाई मन पर्ने ठाउँमा बस्छु। कर्मचारीले अर्डरका निम्ति आग्रह गर्छन् । " दुई कप क्याफे ल्याटे । " मुखबाट सपाट निस्किन्छ । दोश्रो कप कसको लागि हो भनेर आफैलाई प्रश्न गर्छु। अनि भन्छु " सरी । एक कप कफि ल्याटे । " ती अर्डर लिने कर्मचारीले आफ्नो टिपोटमा केर्छन् र सच्याउँछन् । ती अक्षरहरु आफू   सच्चिन कत्ति गार्हो मानेनन् होला । अर्डर  सच्याउँदा भने निकै भारी भएको थियो मेरो मन । कफी आइपुग्छ । त्यसको माथि बनेको मुटु आकार खिच्न पहिले पहिले  खुब लालायित हुन्थेँ । त्यो समयमा भने त्यो आकारलाई  चम्चाले बिथोलिदिन्छु । त्यसको कुनै अर्थ छैन । जीवनलाई दिन खोजेको आकार पुर्ण  गर्ने आशा हुन्छ । तर जीवन जिउँदै गएपछि भने त्यो कल्पित आकार परिवर्तन हुन्छ ।  समयसंग आकार परिवर्तन गर्ने बाध्यता हुन्छ । 

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा