अन्सन किन बस्ने सर ।

अन्सन किन बस्ने सर ? 
 नैतिकता मौन बसेको आज २२ दिन भयो । विवेकको ढोका बन्द भएको  १० वर्ष भयो । यस धर्तीमा रकमले न्याय र इमान बेचेको त अनन्त वर्ष भैसकेको छ । सबैको विवेकमा विर्को लागेको वेलामा कोहि एक जना सन्त  मोक्षको बाटो समातेकोमा तपाइँलाई पागल भन्ने नै  भए  । यो देशको पागल " गोविन्द के सि " । आफैले पाउनु त केही छैन तर भोकै बस्ने कस्तो रहर होला । रहर त शासकहरुले भन्ने शब्द हो । कस्तो त्याग होला !  मेडिकल शिक्षामा न्याय तथा राजनीतिले नगाजेको स्वच्छ  स्वास्थ्य क्षेत्रको माग राखेर एउटा डाक्टर भोकै बस्नुपर्ने त हैन । भोट दिएर कुर्सिमा पुगेकाले जनताको स्वास्थ्यलाई निशाना बनाएर अवाञ्छित व्यापार गर्ने ।  तर जनता त सधैं मौन रहने । किन अन्सन बस्नुभएको सर ? 
 
आज तपाइँको छाती दुखेको छ । केवल जनताको सुखद भविष्यको लागि । दुरदराजमा कसैको छाती दुखेर उपचार गर्न ढिलो नहुने गरी सुनिस्चित होस् भनेर आज तपाईं आफ्नो छाती दुखाइरहनुभएको छ । कति भारी हुँदो हो त्यो बृद्धअवस्थाको छाती । मन कति भारी होला यी अबुझहरुको माझमा ! भोलि कसैले पीर नमान्नु कि उपचार गर्न काठमाडौ ल्याउन ढिलो भयो भनेर ! कसैले गाली नगर्नु डाक्टरलाई उपचार गर्न सकेनन् भनेर !  आज सबै मस्तमगन छन् आफ्नै सुरमा । राज्यको दोहन गर्न पल्केकाहरु त कान बन्द गर्नु आश्चर्य भएन । जनता पनि कति बहिरा हुन सकेका त !! कसले सुन्ने हो सर तपाईंलाई ?

आज तपाईंको मुटुको  धड्कन बेजोड दौडिरहेको छ । कति पिरोलेको छ है छाती ।  अनावश्यक धड्कनहरुले मृत्युको डर देखाइरहेका छन् । हामी कति आत्तिन्छौँ तपाईको मुटु नियालिरहेको  मनिटरको चेतावनी देखेर । तर तपाइँ सधैं जस्तै निडर देखिनुहुन्छ । हामीलाई थाहा छ तपाईंको मुटुले शासकहरुको मुटुमा कम्पन ल्याउने तागत राख्दछ । कहाँबाट साहस आउँछ सर तपाईंलाई ? सबै जनताको धड्कनको भार आफै लिने दुस्साहस गर्दा मुटुले साथ छोड्ने धम्की त दिने नै भयो । किन त्यस्तो भार एक्लै बोक्नुभएको सर ?  कथंकदाचित  इ सि जि का रेखा सिधा भएभने राज्यको अकर्मण्यताले भबिस्यमा उपचार नपाएर कतिका रेखा सिधा हुने हुन्, त्यो कसैले सोच्न नसकेकै हो त ?? जनता के सिधासोझा हुन् त ? राजधानी कायम गर्नु नै ठूलो कुरो छ यहाँ । किन अन्सन बसिरहेको गोबिन्द सर ?

शरीर पुर्ण रुपमा गलेर रगतमा हुने नुन आदि कम भइसक्दा पनि आइ सि यु जान्न भन्नुभयो । औषधि चडाउन्न भन्नुभयो । आइ सि यु बेडको समस्याको संकेत दिन खोज्नुभएको होला है ! आइ सि यु बेड दुर दराजका गरिब जनताले पनि सुलभ रुपमा पाउनुपर्छ भन्ने आशयमा १९ पटक अन्सन बस्नुभयो । सक्षम डाक्टरले आफ्नो उपचार गरेजस्तै सम्पुर्ण जनताले सक्षम र इमान्दार  डाक्टर पाउनुपर्छ भनेर मेडिकल शिक्षाको व्यापार रोक्न खोज्नुभयो । तर भ्रममा हुनुहुन्छ तपाई ।  तपाईंले आइ सि यु जान अटेरी गरे पनि कसैले बुझ्दैनन् र सुन्दैनन् । बहिरा र लाटाहरुको देश भन्नुभएको होला । तर यो बुझ पचाउनेको देश हो । उनीहरुलाई सिकिस्त रोगले भविष्यमा "आइ विल सि यु" नभनेसम्म चेतना हुँदैन ।  अस्पताल पुग्दा कच्चा उपचार हुने र खल्ती रित्तिँदा  मात्रै चेत आउने जनता तपाइँलाई भन्दा बढी "बिग बोसको" सिरिज हेर्न मस्त छन् । कसका लागि अन्सन बस्नुभएको सर ? 

हो तपाइँको खुट्टामा शासकहरुको खुट्टा कमाउने बल राख्दछ । तर आज शारीरिक कमजोरीले तपाईँका खुट्टा काम्न थालिसकेका छन् । तपाइँलाई शरिरमा कम्पन आउन सक्ने सम्भावना छ । मुटुले अक्सिजनको लागि चिच्याइरहेको छ ।  अक्सिजन नपाएर राज्यले माया नगरेका ठाउँमा कसैले छट्पटिन नपरोस् भनेर तपाईं आज डटेर नैतिक लडाइ गर्दै हुनुहुन्छ । कहाँबाट त्यस्तो बल ल्याउनुहुन्छ तपाईं ? परमार्थको इच्छाशक्तिले दिएको बल हो । तर जनता त सबै व्यस्त छन् पार्टीको प्रचार गर्न । कसका लागि अन्सन बस्नुभएको सर ?

अगाडि केही बोल्न नसक्ने तपाईँका साथीहरु तपाईंका पछाडि शब्द बुनेर कुरा काट्छन् । सधैं अन्सन बसेर मात्रै अड्को थाप्न ठिक हैन भनेर । डाक्टर भएपछि डाक्टरको काम गर्नुपर्छ भनेर । हो त ।  रोगीहरु सबै सरकार हाँकिरहेका छन् । तिनीहरुको उपचार गर्न सितिमिति डाक्टर पाइन्नन । आत्मा बेचेका ज्याद्रा रोगीलाई तपाईं जस्तो सन्त आत्माले मात्रै शुद्धीकरण गर्न सक्छ । तर  तपाईंलाई  आड दिन सबैजना एकैपटक जम्मा हुने इच्छा किन्चित देखाउँदैनन् । आत्मा नै मोलमोलाइ गरिसकेका साथीहरुकै आवाज बन्द छ भने जनता बाट के आश गर्ने ?  नैतिकताको विग्रह भएको परिवेशमा सत्याग्रहको मान कसले गर्ने ? 

हामीहरु महराजगन्जको बाटोमा गोबिन्द के सि को जीवन रक्षा गर भन्दै उभिरहँदा कयौं गाडीहरुले हाम्रा सेता पोसाक हेरेर मौन निस्किए । मनमा फेरि अन्सन बसेछन् बुढा  भनेर आफ्नो बाटो लागे होलान् । आफ्नै  निरीह आवाजहरु लाम्बद्ध उभिएको देखेनन् होला । केवल सेता पहिरन र प्रदर्शन देखे होलान् ।  उनिहरुलाई हेक्का छैन होला कि उनीहरुले वेवास्ता गरेको तपाईंको आवाजले उनीहरुकै सन्ततिका लागि एउटा कसैले नकोरेको अप्ठेरो बाटो खोस्रिँदै छ । किनभने कोही पनि हाम्रो समर्थनमा आवाज बन्न आइपुगेको आभास भएन ।  तपाइँको अन्सन हाम्रो लागि हो कि ती साधारण जनताका लागि ? जसलाई बिरामी हुँदा गुणस्तर सेवा चाहिन्छ न कि व्यापारमुखी सेवा । सबैलाई आफ्नै चटारो छ । सामाजिक सन्जालका भित्ते राष्ट्रवादमा आफ्नो अस्तित्व देख्छन् ।  कसैलाई स्वास्थ्यसेवाको अवस्था र स्तरका बारेमा चिन्ता छैन । किनभने रोगले नगल्दा सम्म र अस्पतालमा हन्डर नखाँदा सम्म कसैको मनमा हरि नजाग्ने होला। तपाईंको आवाजको मर्म बुझ्न पुरै नेपाली रोगी हुनुपर्ने हो त ? कवि नवराजको केही शब्द सापटी लिन मन लाग्यो  " रोगीहरु कुर्सीमा बसेका छन्, रोगीलाई कुर्सीमा बसाउनेहरु टि भि अगाडि बसेका छन्  र वास्तविक डाक्टर चाँहि अस्पताल सैयामा छन्  । " 

Comments

Post a Comment

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।