रोगको बानी परेछ ।


आकस्मिक घटना बाहेक स- साना स्वास्थ्यका समस्याहरुका निदान तथा उपचारका लागि स्वास्थ्य केन्द्रमा पाइला विरलै टेकिन्छन् । 
स्वास्थ्यका आकस्मिक समस्याहरुमा अस्पताल अवस्य खोजिन्छ । तर सामन्य समस्याहरुलाई अस्पताल खोज्न व्यस्तता, अर्थ अभाव , व्यक्तिगत अरुचि  आदिलाई दोष दिइन्छ ।  दीर्घकालीन सुषुप्त रोगहरु छिप्पिँदै जान्छन् । किनभने ती रोगहरुको कि लक्षण नै हुँदैनन् र लक्षण देखिएमा धेरैलाई सहन गर्न ठूलो कुरा नहुने रहेछ । स्वास्थ्य संस्थाको पहुँच सहज भएपनि स्वास्थ्य सेवाको पहुँच भने सहज नहुन सक्छ ।  

आर्थिक विपन्नताले गर्दा सानातिना समस्याहरु सजिलै पचाउने बानी नै बनेको हुन्छ ।  त्यस्ता छिप्पिएका रोगहरु हेर्ने बानी परिसकेको छ । एउटा प्रश्न भने सधैं उब्जन्छ " यति छिप्पिएको रोग किन समाजमा व्याप्त छ त ? " 
कुनै कुनै दिन ओ पि डि पट्यार लाग्दो नै हुन्छ ।  बिरामीको भिडभाड सदैव । त्यसमाथि मन चङ्गा नहुने ओ पि डिको व्यवस्थापन । ओ पि डिका सामानहरु व्यवस्थित देखिन्नन्। हल्लिने टेबुल स्थिर गर्न टेबुलका खुट्टामा कागजका टुक्रा राख्न पर्छ । गर्मीले सताउँदा पसिना सुकाउन ओ पि डि टिकेटको सहायता लिन पर्छ । पानी खान कामले गर्दा नै बिर्सिन्छ । सायद यो दृश्य सबै ओ पि डि को हुनपर्छ । विशेषत: सरकारी अस्पतालको ओ पि डि को ।  एकै प्रकारका समस्याहरुको ताँती लागिरहेको बेला झुम्म भएका मेरा आँखा एकाएक टाठा हुन्छन् ।  

पेट पोलेको अमिलो चुकी आउने बिरामीहरुको साइत नै परेको थियो । एकाएक हातका औंलाहरु बाङ्गाटिङा भएकी अन्दाजी ६० वर्षीय वृद्ध आमा टुसुक्क टुलमा बस्छिन् । नाकमा बुलाकी , रातो पछ्याउरा , छिर्केमिर्के सारी लगाएकी, पटुकाले तीन चौथाई पेट ढाकेकी  आमालाई पिसाब पोल्ने  समस्या परेको रहेछ । दायाँ कोखामा हात राख्दै दुखेको कुरा गर्छिन् । अलि अलि श्वास पनि बढेको देख्न सकिन्छ । खटाइनसक्नु भएपछि मात्रै अस्पतालमा आइपुगेकी रहेछिन्। लक्षणले नै भन्न सकिन्थ्यो कि उनलाई पिसाबमा संक्रमण भएको हुन सक्छ । उनको आकस्मिक समस्या पिसाबको समस्या भए पनि मेरो नजर भने उनका हात र खुट्टामा अडिरहेका थिए । त्यो कुरुप भएका हात र खुट्टा देखेर नै बाथरोग हो भनेर भन्न सकिने थियो । समाजमा चलनचल्तिको गठिया बाथ हो भन्ने कुरामा शंका थिएन । त्यस्ति फरासिली आमाका हातका जोर्निहरु  भने पहाडका चुचुराहरु जस्ता थिए । 

आमालाई ती बाङ्गाटिङा औंलाहरुको बानी परिसकेको हुनाले कुनै मतलब थिएन । तर ती जोर्निहरुले स्वास्थ्य प्रणालीलाई नै जिस्काइरहेको थियो -  औषधि वितरणमा कुनै नियन्त्रण नभएको , किराना पसलजस्तै औषधिहरु लिन पाइने, क्षणिक निको बनाउने औषधीहरुले थाम थुम गर्ने बानी ,चिकित्सकसम्म बिरामी नपुग्ने , चिकित्सकसम्म बिरामी पुगेपनि रोग पहिचान नहुने, रोग पहिचान भएपनि एकिन गर्न खर्च धेरै लाग्ने, खर्च कम लाग्ने संस्थासम्म जान राजधानी नै पुग्नपर्ने, राजधानी पुगेपनि बिरामी सहि ठाउँमा नपुग्ने  आदि समस्याहरु नै हुन्। 

मलाई जिज्ञासा लागेर ती जोर्नीहरुको इतिहास खोतल्ने प्रयास गर्छु । इतिहास २५ वर्ष पुरानो रहेछ ।  जोर्निहरु दुख्ने समस्या २५ वर्षदेखि दुखाइ कम गर्ने औषधि बेलामौकामा खाँदै दुखाइ निर्मुल गर्दै बसेकी रहेछिन् । सधै युरिक एसिडको बाथ भन्दै औषधि लिने रहेछिन्। जनमानसमा व्याप्त बाथ भनेको युरिक एसिडको बाथ हो । युरिक एसिड जाँच गर्न भनेपछि बिरामीको मनकै कुरा गर्दिएको जस्तो हुन्छ । जोर्नी दुखे पनि युरिक एसिड शरीर झमझम गरेपनि युरिक एसिड,  सिल्का हाने पनि युरिक एसिड । लाग्छ बाथ भनेको युरिक एसिड मात्रै  हो ।  तर बाथ रोगहरु धेरै प्रकारका छन्  । समयमा नै निदान गर्न सकेमा रोग बड्दै नजाने र जोर्नीहरु सुरक्षित गर्न सकिने हुन्छ । तर दुखाइ कम गर्नलाई व्यापक प्रयोग गरिने औषधिहरुमा NSAIDS ( eg. Diclofenac)  र Steroid हुन्छन् । जुन औषधिहरुको लामो समय सेवन गर्नु सर्वाधिक अहित मात्रै हुन्छ । आकस्मिक समस्या पर्दा त्यस्ता औषधिहरु प्रयोग गर्दा रोग नियन्त्रणमा आउने हुनाले सोही औषधिहरु पुनः थपेर वर्षौसम्म प्रयोग गरिरहेका बिरामीहरु धेरै हुने गर्छन् । 

यो घटना सदैव देखिने घटना नै हो । दुर्लभ घटना त हैन । तर छिप्पिएका रोगहरु  दुर्लभ होउन् भन्ने कामना त गर्न नै पर्छ । बाथ रोग त एउटा उदाहरण मात्रै हो । त्यस्ता अनेक समस्याहरु छन् जसको सहि समयमा पहिचान हुन नसक्नु दुर्भाग्य हो । ती अज्ञात पत्ता लगाउन नसकिएका वास्तविक रोगहरुको संख्या अचेल कतै विमाको होल बडि चेक अपका स्वास्थ्य जाँचहरुको भिडमा छुटेका त छैनन्। हरेक बिरामीलाई चनाखो भएर चेकजाँच गर्नु चिकित्सकको कर्तव्य हो भने एक दिनमा एक जना चिकित्सकले कति बिरामी गुणस्तर हेर्न सकिने हो भनेर टिकेट संख्या निर्धारण गरिए कति जाती हुने थियो होला !

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा