कापुचे यात्रा ।


कापुचे यात्रा ।

एउटा यात्राको सफलतापछि अर्को यात्राको सुरुवात हुन्छ । प्रेरणाको श्रोत बन्दछ । कमी कमजोरी केलाउदै जाने मौका प्राप्त हुन्छ । यात्रा ज्ञान अर्थात् ट्रेक ज्ञान खारिँदै जान्छ । एक पछि अर्को यात्राको लागि पुर्व तयारी बढ्दै जान्छ । जीवन पनि एउटा यात्रा हो । गन्तव्य महत्वपूर्ण हो कि यात्रा भन्ने आफ्नै वहस हुन सक्छ । तर खुसी भनेको  यात्रा हो ।  गन्तव्य भने हैन । किनभने यात्राको शुद्धता र कठिनताले लक्ष्यप्राप्तिमा आनन्दको खुसीको उर्जा प्रवाह गर्दछ ।

व्यस्तताले घेरिएका व्यक्तिले वर्षको एक पटक नयाँ स्थानको भ्रमण गर्नु उत्तम हुन्छ । नयाँपन सबैलाई मन पर्छ। नयाँ लुगा लगाउँदा मन खुसी भएजस्तै हो ।

. प्रारम्भ
एक पटक हिँडिसकेको बाटो पुनः दोहोर्याउन धेरैलाई मज्जा लाग्दैन । त्यो हिँडाइको कष्ट पुनः लिए पनि गन्तव्य पहिले नै थाह हुने हुँदा खल्लो हुन्छ । सस्पेन्स फिल्मको कहानी पहिले नै थाह पाउदाजस्तै । विभिन्न ट्रेकका बाटोहरु सुझावमा आएपनि समूहमा कोहि पनि नगएको ठाउँ कापुचेको लागि सहमति जुट्छ । कारण: छोटो, मध्यम कष्टपुर्ण, ऐतिहासिक गुरुङ गाउँको भ्रमण तथा प्राकृतिक सुन्दरताले भरिपुर्ण यात्रा । गन्तव्यमा नेपालको सबैभन्दा होचो स्थान अर्थात् २५०० मिटरको हाराहारीमा  रहेको मनमोहक हिमताल- कापुचे हिमताल ।
बसको टिकटमा सकस ।
तिहारको भाइटिकाको दिन यात्रा प्रारम्भ गर्ने योजना हुनाले टिकेट खोज्न निकै प्रयास गरियो । टिकाको दिन क्यु फ्री भन्ने हुँदा बस काउन्टर बाट  टिकेट नकाट्ने हुनाले सिट पाउने नपाउने सम्भावना उस्तै धमिलो थियो । तर जसोतसो ४ वटा राम्रै आरामदायी  सिटको टिकेट प्राप्त हुनाले योजना अनुसारले नै यात्रा अगाडि बढ्यो । नामले क्याबिन तर यात्रामा  सबैभन्दा असुविधा हुने सिटमा यात्रा गर्न नपरेकोले पनि यात्राको प्रारम्भ सुखद भयो ।

यात्राका सहयात्रीहरु ।
कापुचे यात्रामा मेरी प्रियसी र दुईजना भाइहरु थिए- सुजित र शिशिर । जम्मा चारजनाको टिममा बाटोमा केही थपिए । विचमा छुट्टिए । केही नयाँ साथी पनि बने । यात्रा शुरु देखि अन्त्यसम्म भने हामी दुई जना मात्रै भयौं- म र मेरी पत्नी ।

२. पोखरा-काहुखोला
बिहान ६ बजे पोखरा पुगेपछि पृथ्वीचोकबाट ट्याक्सिमा काहुँखोला भन्ने स्थानमा पुगियो । जहाँबाट हाम्रो वास्तविक यात्रा सुरु हुँदै थियो ।
काहुँखोलामा सिकलेसको लागि गाडी पाइने रहेछ । बस र जिप दुवै पाइने भएपनि बसले सिकलेससम्म ५ घन्टा समय लगाउने हुँदा जिपको यात्रा सबैजनाको चयनमा हुने नै भयो । जिपमा ३ घन्टामा पुगिने रहेछ ३६ कि मि को पहाडी बाटो । भाइटिका लगत्तै तीन दिन सार्वजनिक विदा परेर होला सिकलेस- कापुचोको लागि हिँडेका ट्रेकर पहिरनमा धेरै जना देखिन्थे । ट्रेकिङ ब्याग, टिसर्ट, ट्र्याक , हेर्दै बलियो देखिने जुत्ता, चस्मा र लौरो देखेपछि अनुमान लगाउन कत्ती कठिन हुँदैन ।
त्यहाँ अवस्थित एउटा फलफुल पसलको साहुले हाम्रोलागि जिप बोलाउछु भन्दै २ घण्टा अल्झायो । आफ्नै आँखाअगाडि ७-८ जनाको समूह जिपमा एकाएक पस्थे । अनि जिप हान्नीएर हिडेपछी हामी सबैको मनमा चिसो पस्यो । अनि हामी पनि कतै अवसर पाइन्छ कि भनेर नियालेर हेर्दा एक जना दाइले बोलाएर जिपमा लगे । खासमा सबैले झ्याप्प जिप रिजर्भ गर्ने र हिँडिहाल्ने हुने रहेछ । त्यसैले सधैंजस्तो नियमित भाडामा जान्छु भन्नू समय खेर फाल्नु रहेछ । हामी ४ जना पनि त्यही जिपमा हुल्लियौँ । अनि हान्नियौँ सिकलेसतर्फ ।

. सिकलेस महिमा ।
काहुँखोलाबाट सुरुवात भएको यात्रा सुरुमा त सहज नै थियो । बाटो पिच नगरिएपनि फराकिलो ढलाइ गरेको बाटो देखेर सजिलो नै रहेछ भन्ने हाम्रो आशा आधा घन्टा नहुँदै निराशामा परिणत भयो । जब खाल्डाखुल्डी र ढुङै ढुङाको बाटोमा हाम्रा टाउकामा टुटिल्को उठ्ने गरी ठोक्किन थल्यो । आन्द्राभुडी हल्लिने गरि हल्लिन थाल्यो । लाग्दै थियो रामदेवको पेटसम्बन्धी प्रणायाम हुँदै थियो । शिशिरका रमाइला "पन्चलाइन"ले यात्रालाई हास्यरसमा परिणत गरेको हुनाले सिकलेस पुगेपछि सुजित र मलाई यात्राको धेरै गुनासो भने भएन।

बाटोमा तापृङ नामको सानो गाउँ रहेछ । त्यसपछी चिप्ली नामक सानो बस्ती रहेछ । जहाँ हामी केही समयको लागि रोकियौँ र चियानास्ता गर्यौँ । चिप्ली नाम कसरी रह्यो भनेर त्यहाँको स्थानियले भन्न सकेनन् । झट्ट नाम सुन्दा चिप्ले किरा धेरै पाइने भएर हो कि ! बाटोमा धेरै चिप्लिने भएर हो ! त्यो प्रस्ट थाह भएन ।

ढुङे बाटोमा शरिरका पाट्पुर्जा सबै हल्लाउने गरी जिपमा तीन घन्टामा बल्ल सिकलेस गाउँ पुगियो । सिकलेस गाउँ पुरै गुरुङको बस्ती रहेछ । सबै घर छाना टिनका, भित्ता इट्टा र काठ, झ्याल ढोका काठका एकै किसिमका देखिन्छन् । करिब ७०० घरधुरी रहेको सिकलेस गाउँ तमुका पुर्खाहरु छुट्टीएर ठाउँ ठाउँमा बस्ती बसाल्दा बसेको बस्ती रहेछ। सिकलेस नाम कसरी रहेको होला भनेर सोध्ने क्रममा  त्यस गाउँका व्यक्ति बिरामी नै नपर्ने हुनाले "सिकलेस" रहेको हो भनेर एक जना स्थानीयले भने । जुन कुरामा कति सत्यता छ त्यसको प्रमाण मैले भेट्न सकिन । 

गुरुङ समुदायको राम्रो अध्ययन गर्ने जिज्ञासुलाई सिकलेस गाउँ उत्तम हुन सक्छ । तथ्य हेर्ने हो भने नेपालको दोस्रो ठूलो गुरुङ गाउँ हो भनेर भनिन्छ ।
ढुङा बिछ्याइएका बाटो, सिँढीहरु र सरसफाइ हेर्दा दुर्गम स्थानको व्यवस्थित ग्रामिण क्षेत्र भनेर मान्न सकिन्छ । सिकलेस गाउँबाट उत्तरतर्फ अन्नपूर्ण हिमश्रिंखला निकै आकर्षक देखिन्छ ।

. हुगुसम्म ६ घन्टा कठिन यात्रा ।
सिकलेसमा खानपिन गरेर हुगुको लागि १२ बजे आसपासमा हिँड्न थाल्यौं । खाने बस्ने स्थान सुरक्षित गर्नका लागि पोखरा हुँदैबाट फोन सम्पर्क मार्फत बुकिङ गर्दा यात्रा निकै सहज हुने रहेछ ।  सिकलेसबाट हिड्ने बेलामा हामी ७ जना थियौँ ।  हामी ४ जना परिवारका बाहेक ३ जना जिपको सफरमा परिचय भएका कापुचे महत्वाकांक्षीहरु नै थिए । जसमा एक जना ११ वर्षको केटा पनि थियो । जसको नाम सोहम गुरुङ रहेछ । कापुचेसम्म ट्रेकिङ गर्ने उसको आकांक्षा  देखेर यात्राको संस्मरणमा नराखी भएन । उसको परिवारको बसोबास भने बुटवल नै हुनाले यात्रामा अझै नजिकको जस्तो महसुस भयो । उसको बुवासँग यात्राभरिमा राम्रै परिचय भयो । हिँडाइको सुरुवातमा सोहमको जोश निकै ठूलो थियो । तर कहिल्यै नहिँडेको उकाली ओरालीले गर्दा यात्राले थकित तुल्यायो । जे जस्तो भएपनि त्यस्तो कठिन यात्रा गरेकोमा सहरबजारमा  ५ कक्षामा पढ्ने बालकलाई बधाइ दिनै पर्छ ।

प्रारम्भमा बाटो समथर र ओरालो हुनाले यस्तै होला भन्ने आशा गरेको थिएँ । तर ओरालो सकेपछी उकालो अवस्य सुरु हुन्छ । नाक ठोक्किने उकालो ठाउँ ठाउँमा रहेछ । वनजङलविचमा हिड्नुपर्ने हुँदा एक वनस्पती विज्ञानको सोधकर्तालाई यात्रा ट्रेकिङ मात्रै नभएर अध्ययन पनि हुन सक्छ । चैत वैषाखमा लालीगुराँसका फुलहरुले जङल ढपक्कै ढाक्ने स्थानियले बताए । हुगुसम्म पुग्दा विचमा कतै चियानास्ता खाने वा बस्ने ठाउँ रहेनछ ।

ट्रेकिङको बाटो हेर्दा स्थानीयले प्रयोग गर्दै आएको बाटो कठिन नै मान्नुपर्छ । वैकल्पिक केही सजिलो ट्रेकिङ बाटो खोज्नु पनि कापुचेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने देखिन्छ । निकै ठाडा उकालो र ओरालोले गर्दा थकान महसुस हुनु स्वभाविक नै हो । समथरबाटो उकालो , ओराली, वनजङल, थरीथरीका वनस्पति , भिर , नदीको साथ, हिमालको दृश्य, स्थानीयको आतिथ्यताको विविध अनुभव लिन मन हुनेले यो यात्रा गर्नु मुनासिव हुन्छ ।

हुगुसम्म नपुगी कुनै उपाय नहुनाले हिँड्नुको विकल्प केही हुँदैन । हिड्ने बानी नपरेकाहरुले सिकलेस बाट हुगुसम्म ६ घन्टामा यात्रा तय गर्न सक्छन् । बाटोमा केही ठाउँमा भिर र साङ्हुरो बाटो हुनाले डर पनि लाग्ने हुन्छ । ओरालोमा छिटोछिटो पाइला चाल्न नसक्नेलाई ठाडो ओरालोले मलाईजस्तै दुख दिन पनि सक्छ । हुत्तिने डरले पाइला निकै सुस्त सर्छन्।

जिउ पुरै दुखेको , पैतलाहरु करकर दुखेका,बुढी औंलामा फोरा परेका , पिरम्ला दुखेर हलचल गर्न नमिल्ने भएको शरीर लिएर हुगु पुग्दा त आनन्द महसुस हुने रहेछ । सुरक्षाको प्रत्याभूति हुने रहेछ । सो स्थानको आतिथ्यले सहरबजारका रेस्टुरेन्टआदि फिका हुने रहेछन् ।

कुनै पनि ट्रेकिङ गर्दा आफ्नो झोलामा अनावश्यक भारी कपडाहरु नाराखेको राम्रो हुन्छ । किनभने धेरै कपडाहरु प्रयोगमै आउँदैनन् । प्रयोगमा आउने भनेको एउटा ज्याकेट , टि सर्ट , ट्र्याक र मोजा मात्रै हो । हल्का टि सर्ट धेरै राख्दा अरु आवस्यक पर्ने देखिएन ।

. गोल्ड्स्टार जुत्ताको  महिमा ।
कहिलेकसो ट्रेकिङमा जाँदा केही न केही कुराले दुख पाइन्छ । जस्तो कि नङ काट्न बिर्सेर । जुत्ता फाटेर ।  फोक्सुन्डो यात्रामा जुत्ता फाटेर तनाव दिँदा सुपरग्लुले  पुरै यात्रा सहज बनाएको थियो । मलाई जुत्ताले कुनै ट्रेकमा पनि नछोड्ने देखियो । यसपटक कापुचे यात्रामा भने जुत्ताको अघिल्लो भागमा बुढी औंलाले छोएर निकै दुख दियो । सिकलेसबाट हुगु जाने बाटोमा पुनः सिकलेस फर्किनै पर्ने बाध्यता हुने जस्तो भएको थियो । जुत्ता सानो साइजको किनेको पनि हैन । तर उही साइजको जुत्ता पनि कम्पनी अनुसार फरक हुने रहेछ ।

गोल्ड्स्टार जुत्ता किन्छु भनेर लाग्दा पसलेले दिमाग भुटेर अर्को दिएको चाहिँ हो । यो कथा ती पसलेले पनि पढ्न पाउन् भन्ने सदिच्छा छ ! धेरै नै अप्ठेरो भएको देखेर सविताले भाइसँग जुत्ता साटेर प्रयास गर्ने जुक्ति निकालिन्। संयोगले सुजित र मेरो जुत्ताको साइज एउटै रहेछ । सुजितसँग जुत्ता साट्दा भने मेरो बुढी औंलालाई बल्ल श्वास फेरेजस्तो भयो । त्यसपछि सहजताका साथ हिंड्न् सकेँ । तर सुजितलाई केही अप्ठेरो महसुस भएको थियो । तथापि त्यो असहजता सहेर पनि आफ्नो जुत्ता साटेकोमा सुजित मुरी मुरी धन्यवादका पात्र हुन् ।

काठमाडौका अन्तिम राजा जयप्रकाश मल्लले अन्तिम दुई कुरा माग्दा टोपी र जुत्ता मागेका थिए रे ! टोपी भनेको श्रीपेच र जुत्ता भनेको टेकेको जमिन भन्ने संकेत थियो । जुत्ताको कुटनैतिक महत्व त्यस्तो रहेछ भने यहाँ यात्राको पुर्ण निर्भरता नै जुत्तामा भर पर्छ । त्यसैले मैले भन्छु - ट्रेकिङ यात्रामा जुत्ता सबैभन्दा महत्त्वपूर्ण कुरा हो । त्यो ग्रामिण भेगमा जुत्ता किन्छु भने पनि किन्न पाइँदैन । मेरो यात्रा सफल पारेको त्यही साटेको गोल्ड्स्टार जुत्ता  हुनाले  पुरानै भएपनि निकै प्रशंसनीय छ । यात्रा नै अधुरो हुनबाट जोगाइदिने गोल्ड्स्टार जुत्तालाई 'जुत्ता भनेको गोल्ड्स्टार हो' भन्दा फरक पर्ला त ? यति भन्दै गर्दा  गोल्ड्स्टार कम्पनीसँग  एक सामान्य ग्राहकभन्दा मेरो अरु कुनै निजी सम्बन्ध नरहेको जिकिर गर्छु ।

यात्रामा सहयात्रीको गति ।
समूहमा हिड्दा कोहि छिटो कोहि ढिलो पक्कै हुन्छ ।   विश्राम स्थलहरुमा एक साथ भेटिएपनी सबै एकै साथ हिडाइमा नहुन सक्छ। समान गतिका व्यक्तिहरु एक साथ हुनु स्वभाविक हो ।
यात्रामा पति पत्नी साथमा हुँदा पनि छुट्टै रमाइलो हुने रहेछ । एक अर्काका कमजोरी थाह हुने रहेछ । बलिया पक्ष पनि थाह हुने रहेछ। हेरचाह र चासो  पनि बढी हुने नै भयो । बाटोमा दायाँ वा बायाँमा भिर हुनाले न त प्रियसीलाई दायाँ राख्न सकेँ न त बायाँमा । मिल्ने भए सधैं बायाँमा राखेर हिंड्थे । फोटो खिच्न मन पनि बढी हुने । फोटोमा कस्तो देखियो भनेर हेर्ने उत्सुकता पनि हुने । सबैभन्दा ठूलो कुरो एक अर्कालाई यात्रामा छोड्न नसकिने । दुवैको हिँड्ने गति समान भएकोले यात्राको गति पनि समान महसुस भयो ।

. हुगुबाट कापुचेसम्मको यात्रा ।
हुगुमा वास बसेपछि सबेरै कापुचेको लागि झोलाआदि केही नबोकी लौरोमात्रै साथ लिएर हिँड्यौ  ।  यो उकालो भने त्यति कस्ट्प्रद छैन । हुगुदेखी कापुचेसम्मको उकालोलाई मैले मिलेको उकाली भन्छु । किनभने त्यो भन्दा कठिन नाक ठोक्किने उकालो सिकलेसदेखी हुगुसम्म नै रहेका छन् । हुगुबाट लगभग २ घण्टामा वनजङलविचबाट कापुचे पुगिन्छ । कापुचेमा बस्नको लागि दुइटा होटेल रहेछन् । सिकलेसबाट सिधै कापुचे आएर बास बस्ने योजना बन्यो भने पहिले नै फोन सम्पर्क गरेर जानू राम्रो हुन्छ । कापुचे हिमतालको दृश्य देख्नेबित्तिकै जिउ दुखेको पनि बिर्सियो । एकाएक मुस्कान फिँजारियो । दुईटा पहाडविचमा रहेको त्यो हिमतालमा अन्नपूर्ण हिमालका शिखरबाट हिउँका डल्ला कुनै कुनै वेला खस्ने रहेछन् । हिउँ जमेको बेलामा कापुचे ताल पुग्न निकै कठिन रहेको स्थानीयले बताए । हुगुमा रहेका तीन वटा होटेलहरु पनि हिउँ पर्न लागेपछि सिकलेस झर्ने रहेछन्  ।

७. कापुचेबाट सिकलेससम्म ।
कापुचेको मनोरम दृश्य अवलोकन गरेर हामी पुनः उही बाटो फर्किन्छौँ  । हामी सिकलेससम्म आउँदा ५:१५ भइसकेको थियो । सन्ध्याकालीन सुर्यको अन्तिम किरणको स्पर्शले अन्नपूर्ण हिमाल निकै मनमोहक देखिन्थ्यो ।  हुगुबाट कापुचे र कापुचेबाट सिकलेससम्मको करिब १२ घण्टाको हिँडाइले शरीर निकै गलेको थियो । फर्किँदा हिड्नुपरेका उकाली ओराली जति हिँडे पनि नसकिने आभास भएको थियो । हलचल सहने किन्चित शक्ति थिएन ।
तर पहिले नै निधो नगरेकाले सिकलेसमा कोठा पाउन निकै मुस्किल भयो । सबै बुकिङ गरेर कोठाहरु सकिएको भनेर होमस्टेको गुरुङ दाइले भने ।

शरीर पुरै थाकित हुनाले साँझको अँध्यारोमा सबै होमस्टे खोज्दै सोधपुछ गर्दै हिड्न सकिने आँट पनि थिएन । त्यसैले होम्स्टेको दाइले नजिकैको घरमा कोठामा लगेर एक रातको लागि कोठा मिलाए । तर त्यो कोठामा प्रवेश गर्नु सानोतिनो ट्रेकिङ नै थियो । भर्याङ चढेर बुइगलमा पुगेर निहुरेर प्रवेश गर्नुपर्ने । कोठाभित्र प्रवेश गर्दा पुरानो कोठाजस्तो गन्ध आइरहेको थियो । राम्रोसँग सिधा उभिएको त टुटुल्कै उठ्ने गरी टाउको ठोकिने रहेछ । कल्पना गर्दै थिएँ । यी कोठामा सुत्ने व्यक्ती त निहुरेर नै ढाड बाङो हुनुपर्छ कि त ४ फिटका मान्छे हुनुपर्छ । जे होस् एक रात कटाउनु थियो । धुलो र पुरानो ओस्सिएको भित्ताले होला खोकी लागिरहेको थियो । हामीलाई एलर्जी भएको प्रष्ट थियो ।

मैले प्रार्थना गर्दै थिएँ कि श्वास फेर्न भने गार्हो नहोस् । नजिकै कुनै अस्पताल पनि रहेनछन् ।  तर होम्स्टेको दाइ र दिदीको आतिथ्यमा कुनै कमी थिएन । कोठाबाट निस्किन गार्हो हुन्छ भनेर कोठासम्मै खाना पुर्याउनुभयो । र कोठा राम्रो सहज व्यवस्था गर्न नसकेकोमा बारम्बार माफी मागिरहनुहुन्थ्यो । विदा हुनुपुर्व एउटा फोटो खिचेर हिँड्यौँ ।  तर हामी फर्केर पोखरामा बेगनासतिर घुम्न पर्यो भनेर जाँदा त्यहाँको होटेलमा  खाने पानी सम्म सोधेनन्। यो संयोग मात्रै होस् । सिकलेस वास्तवमै सिकलेस रहेछ । निरोगी मनुष्य बस्ने स्थान- दुवै शारीरिक र मानसिक निरोगी ।

यात्राको अन्तिम बिटमा कष्ट ।
अन्त्यमा त्यो उकाली ओरालीमा साथ दिने त्यो निगालोको लौरोलाई निकै धन्यवाद दिनुपर्छ । भनिन्छ नि राम्रो हुँदै जाँदा राम्रो राम्रो हुन्छ । नराम्रो सोच्दै गएमा कष्टहरु एक पछि अर्को निमन्त्रणा हुन्छन् । गुनासो र नकारात्मक उर्जा सन्चार गर्दा त्यस्तै वातावरण आकर्षण हुन्छ ।  पोखरा फर्किसकेपछि पोखरामा हाम्रो लागि नयाँ ठाउँ भनेर बेगनास तालतिर गयौं । त्यहाँ होम्स्टे गर्न मन लागेन । पोखरा सधैं घुमिरहेको हुनाले कुनै उमंग संचार गर्न नसकेकोले रात्रीकालीन बसमै बुटवल पुग्ने योजना बनाएर दाङको बसमा बस्छौं । तर  नियतिले लेखेको भन्ने वा संयोग भन्ने तनहुँको डुम्रेमा बजारभन्दा धेरै पर गाडीको इन्जिनले हरेस खायो । त्यसैले यात्रा संस्मरणमै समय व्यतित गरेर रिस मार्ने प्रयास गरेँ ।
धन्यवाद । सबैको जीवनका यात्राहरु  सफल रहोस् ।



Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा