चेतनाको बहिर्गमन , गणतन्त्रको बहिर्गमन ।

चेतनाको बहिर्गमन, सधैंको द्रष्टा म ।

समाज सुसंस्कृत र विकृत दुवै शिक्षा र चेतनाले हुने गर्दछ । संविधान उत्कृष्ट हुँदैमा भुइँ राम्रो हुन्छ भन्ने हुँदैन । जति व्यवस्था , संविधान फेरिएपनि भुइँमान्छेको भुइँ सधै उस्तै रहन सक्छ । आर्थिक, सामाजिक र शैक्षिक छलाङ मार्न भुइँ छोड्नुपर्छ । जसले सबै छलाङ मारेर पनि भुइँ बिर्सिन्न , त्यो व्यक्ति वास्तविक नेताको पात्र हुन्छ । भुइँ बिर्सने व्यक्ति आफैंमा मस्तमगन हुन्छ ।

जीवनको मूल्य पनि चेतनाले निर्धारण गर्दछ । चेतनास्तर उच्च भएको स्थानमा उपचार खोज्ने कार्य छिटो हुन्छ ।
आकस्मिक कक्षको बाटो हुँदै ओ पि डि फर्किँदै थिए । मेरा दृष्टि अडिन्छन् एउटा बेडमा उपचार कुरिरहेका आमा छोरीमा ।

एउटा कलिलो शरीर छटपटाइरहेको देख्छु । १५ वर्षीय किशोरी पेट दुखेर छटपटाइरहँदा उनकी आमाले काखमा लिएर बसेकी छन्। नाकमा बुलाकी , पुरानो जब्बर सारी , कम्मरमा पटुका , गोरो चेहरा , रैथाने भाषा , खस्रो हत्केला, हेर्दा बलिस्ठ ज्यान आदि सबै ती आमाका व्याख्या वृतान्त हुन् । त्यो ज्यान परिश्रमले जति  मजबुत देखिन्छ,  त्यो भन्दा बढी अज्ञानताको चिसो रापमा थिलथिलिएको महसुस हुन्छ ।
ती किशोरीको नाम रहेछ- चेतना । तर चेतनाको चेतना भने दशकौं पछाडि देखिन्छ । पेट दुखेको तीन महिना बितेको रहेछ। पेट फुल्लेको १ महिना भएको रहेछ । चेतनाले चाहेर पनि उपचार पाउन सकिनन् ।  उनकी आमाको ७ सन्तानमध्ये पाँचौ नम्बरको सन्तान रहेछिन्। पेट दुखेको तीन महिनामा  ज्यान दुब्लाएर हाडछाला मात्रै बाँकी हुँदा अस्पतालको ढोकामा पुग्छिन् ।  उनको  अनुहारमा दुखाइको झल्को गहिरो थियो । कपडामा स्याहारसुसारको कमी ज्यादा थियो । शरीरमा उपचारको गुहार थियो । भन्नुपर्दा सम्पुर्ण परिवेशले देशको रावणमय मुहार झल्काउने दृश्य थियो । देशको प्रचुर प्राकृतिक विविधता, उत्कृष्ट संविधान , लोकतन्त्र, समावेशी समाज, स्वतन्त्रता, कसैको उपनिवेश नभएको आदि कुरामा धेरै अहंकार छ । तर भुइँमान्छेको चुलो र कुचोमा कति फरक परेको छ भन्ने कुरामा वेवास्ता गरेको छ ।

एउटा बेडमा दुई तीन जना बस्नुपर्ने बाध्यता नै हो । बेडको संख्या जति बढेपनि सरकारी अस्पतालको दृश्य कम त हुँदैन । ती आमा छोरीको रिपोर्ट हेर्दा धेरै खराब रिपोर्ट भने थिएनन्। पेटमा पानी जमेको थियो । पानी जमेको कारण क्षयरोग हुन सक्ने आकलन गरेर जाँच पठाइएका थिए । तर त्यो प्रमाणित हुन सकेन । रिपोर्ट त खासै बिरामी देखिन्नथ्यो । तर चेतना वास्तवमा निकै बिरामी थिइन्। शरिरमा संक्रमण फैलिएको मेरो अनुभवको  दृष्टिले देखिरहेको थियो । त्यसैले त भन्ने गर्छु , रिपोर्ट मात्रै हेरेर बिरामीको गम्भीरता पत्ता लाग्दैन । कृपया चिकित्सकलाई रिपोर्टको आधारमा उपचार गर्न विवश नगरौँ । सोसल मिडियाम पठाइएका रिपोर्टको आधारमा उपचार गर्नु वास्तवमा न्याय हुँदैन ।

त्यो आमा छोरीको अवस्था देखेर तुरुन्तै पहिलो प्राथमिकतामा आइ सि यु भर्ना गर्न सूचीकरण गरियो । सहरले नछोएका बिरामीहरुलाई रोगको प्रकृति हेरेर उपचारको प्रक्रिया द्रुत गर्नुपर्ने हुन्छ । किनभने निर्दोषपनले गर्दा  भिडमा अभ्यस्त नहुँदा उपचारको गुहार गर्न पनि डराउने गर्छन् ।  सहरले छोएका बिरामीहरुलाई प्रक्रियाको भन्दा भनसुनमा बढी विस्वास हुन्छ ।

चेतना आइ सि यु त पुग्छिन् । आइ सि युमा उनको अवस्था अझै खस्किँदै जान्छ । उपचारको खोजी निकै ढिलो गर्नाले रोगले शरीर पुरै जिर्ण पारेको हुन्छ । भेन्टिलेटरमा राख्नुपर्ने कुरा जति गरे पनि सम्झाउन सकिन्न । चेतनाको आमाको चेतनाले त्यो बुझ्न शताब्दी कुर्नुपर्ने होला ।

घर सल्लाह गरेर निर्णय गर्न भनेर ती आमालाई भनिन्छ । तर उनीहरुको घरसल्लाहले चेतनालाई घर लैजाने निर्णय पो गर्छन !! ती अबोध किशोरीको ज्यानको मूल्य सायद कमिला बराबर पनि थिएन । चेतानाकी आमाले घरमा चेतनाका बाले घर फिर्ता गर्न भनेको भनेर घर लैजान ढिपी गर्छिन्। विपन्न परिवारको सुविधा दिएपनि उपचार अगाडि नबढाउने अटल निर्णय गर्छन् । त्यो अटल निर्णयसँग  कुनै सीप नलागेर चेतनालाई मृत्युको बाटो पठाउन विवशता साथ पठाउँछौ । सबै विषय शिक्षामा जोडिने गर्छ  । चेतनाको स्तरमा जोडिने गर्छ । त्यसैले त भन्ने गरिन्छ कुनै राष्ट्र ध्वस्त गर्नु छ भने शिक्षा प्रणाली प्रदुषित गर्नुपर्छ ।

चेतना अस्पतालको गेटबाट निस्किँदै गर्दा मनुश्य चेतना भन्दा गणतन्त्र बहिर्गमन भएको देख्छु । म थपक्क द्र्ष्टा भएर बस्छु । सायद हरेक दिन यस्तै गणतन्त्रको स्वरुप द्रष्टा हुने भाग्य मिलेको छ ।









Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा