मुटुमा तार पुर्याउने मूर्ख डाक्टर र सहयोगी नर्स ।
मुटुमा तार पुर्याउने मूर्ख डाक्टर ।
( स्पन्दनको पनि अनुभुती नहुने मुटु जब धड्किन थाल्छ, किन हो मलाई इतिहास खोतल्न मन लाग्छ )
एक जना ६७ वर्षिय बाजे हिँड्ने बेलामा छाती दुख्ने र असहज हुने भन्दै ओ पि डि कक्षमा आउँछन् । उनी टुसुक्क कुर्सिमा बस्छन्। उनी जिन्दगीमै अस्पताल आफ्नो लागि पाइला टेकेको पहिलो पटक भनेर सुनाउँछन् । उनलाई केही जाँचहरु गरेर मुटुको नसाहरु हेर्न पर्ने भनेर कुरा बुझाउँछु । कोरोनरी एन्जिओग्राफी( coronary angiography) को प्रक्रिया विस्तारमा भन्छु । उनले ध्यान दिएर सुन्छन् । र एकाएक सपाट भन्छन् " पहिले को त्यस्तो वीर डाक्टर जन्मेको रहेछ , मुटुमै तार पुर्याइदिने ?" म पनि एक क्षण सम्झिने प्रयास गर्छु । मलाई इतिहासको गर्भमा पुग्न मन हुन्छ ।
सन् १९२९ तिरको कुरा हो । जर्मनीमा हिटलरको उदय सुरुवात हुँदै थियो । समयले चरम बेरोजगारीको निहुँले आजसम्मको इतिहासकै एक खलपात्रको उदय रोजिसकेको थियो । हिटलरको नरसंहार एउटा दुषित विचार , घृणा र असहिष्णुताको परिणाम थियो । तर सोही समयमा एक जना चिकित्सक बर्लिन नजिकैको अस्पतालको करिडरमा सोचमग्न हुँदै हिंड्छन् । उनी मनुष्यको मुटुको बारेमा सोचमग्न हुन्छन् । उनी अल्बर्ट आइन्स्टाइन जति चर्चित त छैनन् हाम्रो माझमा । तर मुटुजस्तो निरन्तर चलायमान अङ्गमा आफ्नो अनुसन्धान गर्न सक्ने एक हिम्मतिलो व्यक्ति पक्कै हुन् । उनको विचारमा औषधि सिधै कुनै क्याथेटर मार्फत मुटुमा पुर्याउन सकेमा अझै राम्रो काम गर्छ भन्ने विस्वास हुन्छ । त्यो समय कस्तो थियो भनेर आज कल्पना गर्दा अचम्म लाग्न सक्छ ।
मुटुलाई केही गरी चलायो भने मुटु बन्द हुन्छ भन्ने सोच गहिरो थियो । त्यो समयको विज्ञानले मुटुसँग जोरी खोज्न धेरै ढाडस दिन सकेको थिएन । तर कोहि न कोहि दुस्साहस गर्ने व्यक्ति अवस्य हुन्छ । एक जना २५ वर्षीय डाक्टर बर्लिनमा मेडिकल शिक्षामा सर्जरी विभागमा कार्यरत थिए । उनको नाम वर्नर फ्रसम्यान ( Werner Frossman) थियो ।
उनलाई मुटुको दाहिने भागमा हातका नशाबाट क्याथेटर प्रवेश गराएर मुटुसम्म पुग्न सकिन्छ भन्ने मूर्ख सोच आउँछ । उनको क्याथेटरप्रती गहिरो लगाव हुन्छ । उनको धेरैजसो समय क्याथेटरहरुसँग खेल्दै र प्रयोग बितेको हुन्छ । सो कुरो सुन्दा उनका सिनियरहरुले हाँसो गरेर उडाउँछन् । उनका विभाग प्रमुखले त्यो सोचाइ त्याग्न भन्छन् र मुर्खताको लागि कुनै स्थान छैन भन्छन् । तर फ्रसम्यान अडिग हुन्छन् आफ्नो उद्देश्यमा । उनले गोप्य तरिकाले आफ्नो अनुसन्धान जारी राख्छन् ।
तर साथ दिने कोही थिएनन् । एक जना नर्सलाई उनले आफ्नो योजना भन्छन् । र राजी गराउँछन्। उनले पनि सहयोग गर्न मान्छिन् । एक दिन कोहि नभएको समयको मौकामा ती नर्सले ६५ सेन्टिमिटर लामो पिसाब नलीमा प्रयोग गरिने क्यथेटर सफा गरेर ( sterilize) गरेर सामान तयार गर्छिन् । सुरुमा त त्यो मूर्ख काम गर्न उनले मानेकी थिइनन् । तर फ्रस्म्यानले खतरा हुँदैन भनेर आश्वस्त पारेपछि राजी हुन्छिन् । त्यो अनुसन्धान नर्सले आफू माथि गर्ने शर्त हुन्छ । तर फ्रसम्यानले उनी सुत्ने बित्तिकै उनलाई टेबलमा बाँध्छन् । र आफ्नो बायाँ हातको कुहिना अगाडिको नसाबाट क्याथेटर छिराउँछन् । तीस सेन्टिमिटर जति छिरिसकेपछि उनी नर्सलाई बाँधेको रसी खोल्दिन्छन् ।र एक्स रे कक्षमा दौडिँदै जान्छन् । एक्स रेमा हेर्छन्। कुमनजिकैसम्म पुगेको देखेपछी एक्स रे हेर्दै मुटुसम्म पुर्याउँछन्। इतिहासकै पहिलो पटक मान्छेको मुटुसम्म क्याथेटर पुर्याउने दुस्साहसमा सफल हुन्छन् । उनले यो सफल अनुसन्धानलाई एउटा जर्नलमा प्रकाशित पनि गर्छन् । तर आलोचना बाहेक केही पनि प्रतिक्रिया आउँदैन ।
तर उनको यो कुरा कसैलाई पाच्य हुँदैन । उनलाई विभागबाट निस्काषित गरिन्छ । उनले धेरै वर्षसम्म जागिरको लागि हण्डर खान्छन् । उनी सिकर्मी भएर आफ्नो जीवन विताउँछन् । उनको क्याथेटरप्रतिको मोहले गर्दा केही समय Urology विभागमा पनि काम गर्छन् । तर उनको दुस्साहसको कहानी थाह पाउने बित्तिकै उनलाई स्वतन्त्र काम गर्न दिइन्न । सायद हरेक नविनतम प्रयोग गर्ने व्यक्तिले जीवनमा हण्डर खान्छन् नै ।
उनको प्रयोगलाई १२ वर्षपछि दुई जना पल्मोनोलोजिस्ट Cournand र Richards Dickinson ले त्यो १९२९ मा प्रकाशित लेख देखेपछि प्रयोग अगाडि बढाउन मन लाग्छ । र उनीहरु सफल हुन्छन् । मुटुको कोठाहरुको प्रेसर नाप्न सफल हुन्छन् । यो कार्यको लागि १९५६ मा तीनै जनालाई नोबेल पुरस्कार प्रदान गरिन्छ ।
ढिलो भएपनि फ्रसम्यानको ऐतिहासिक कार्यले सम्मान प्राप्त गर्छ । र मेडिकल जगतमा अनेकौँ प्रयोगहरुको लागि बाटो खोलिदिन्छ । आफैमाथि गरिएको त्यो प्रयोगले कार्डिओलोजी क्षेत्रको नक्साको आयाम परिवर्तन गरिदिन्छ। घतलाग्दो कुरा के हो भन्दा मुटुसम्म तार पुर्याउने प्रविधि पत्ता लगाउने एक जना २५ वर्षको युवा सर्जनको दुस्साहस थियो ।
उहि
इतिहास खोतल्ने चिकित्सक ।
Comments
Post a Comment