लाइब्ररीमा प्रिय साथी र मेरो रुमानी उडान । ।
लाइब्ररीमा प्रिय साथी र मेरो रुमानी उडान । ।
बिशेष रुपमा शान्त बातावरण । तर कहिलेकसो खस्याकखुसुक आवाज । मान्छेहरुको साउती गरेको आवाज । किताबहरुको घर । टेबुल र कुर्सीको लाम्बद्ध सजावट । उत्तरी भित्तामा घडी । दक्षिणको भित्तामा कुनै वैज्ञानिकको फोटो । पूर्वको भित्तामा गौतम बुद्धको तस्विर । दराजहरुमा राखिएका पुस्तकहरु । सबै पुस्तकमा कोडिङ । केही पुस्तकहरु टेबुलमा । प्रवेश गेटमा छाते टोपी लगाएका कर्मचारी आज मोबाइलको स्क्रिनमा ब्यस्त हुँदै रमाउदै हाँस्दै छन् । कहिलेकसो घुरेको पनि भेटिन्छ । यो सबै एउटा पुस्तकालयको विवरण हो । पुस्तकालयमा टहल्न पर्यो भनेर म त्यो बातावरणमा प्रवेश गर्छु । ।
मसँग धेरै दिनका प्रश्नहरुको लिस्ट छ । हरेक दिन प्रश्नहरु जन्मिन्छन् । कहाँ बाट पो सुरु गर्ने हो । कुन महत्वपूर्ण प्रश्नबाट गर्ने हो ! ! उत्तर त खोज्नुपर्यो भनेर दुईवटा किताब निकाल्छु । टेबुलमा तेर्स्याउँछु । पल्टाउने आँट बटुल्छु । कत्ति मोटाएको किताब रहेछ ! ! तर पल्टाउँछु म आत्मबिश्वास बटुलेर । केही बेर “टेबल अफ कन्टेन्ट्स” हेर्छु । एउटा “टपिक” पढ्न थाल्छु । पहिले कता कता पढे जस्तो लाग्ने । तर सोच्दा केही नअाउने । पढ्दै जान्छु । विचमा उठ्न मन लाग्छ । यताउता हेर्छु । हाइ हाइ आउँछ मलाई । किताब समाउँदैमा पढ्न आउने भए ति दराजहरु कति बिढ्वान् हुन्थे होला हगि ! ! सबै ध्यानमग्न छन् । कोही “नोट” बनाउँदै छन। त्यही नोट पछि गएर “ नोट”कमाउन मद्धत गर्ने आश छ होला सबैलाई । जिवन त मृगत्रिष्णा जस्तै हो । कहिल्यै पूरा नहुने इच्छाहरुको पोको हो। एकपछि अर्कोको मुसा दौडमा । कोही मोबाइलमा व्यस्त छन्। कोही भिडियोबाट पढ्दै छन्। । एउटै वाक्यमा भन्नुपर्दा पढ्ने माहोल छ । यसो विचार गर्दा यो लाइब्ररीबाट कति जना पढेर निस्किए होलान् । सफल भए होलान् । सबैको साक्षी भने तिनै किताब र फर्निचर ।
पढ्दै गर्दा अगाडि एक जना नानी आएर बस्छिन् र पढ्न थाल्छिन् । एकाग्र किताबमा ध्यान छ उनको । मेरो भने ध्यान भंग छ । रुमानी सम्झना सल्बलाइरहेका छन। यस्तो त कहिल्यै हुँदैनथियो मलाई । हल्का छ मन । कपासको बाटोमा हिंडेको जस्तो हलुका महसुश हुँदै छ । उनले आज कपाल हल्का छोडेकी छन् । नाकको डाँडीमा चिप्लिने ठुलो गोलाकार चस्मा लगाएकी छन्। रातो टि सर्टमा कत्ति सुहाएको । अचेल चलेका कोरियन सिरियलको प्रभाव होला !
चिउँडोमा सानो खोपिल्टो छ । अनुहार लाम्चो लाम्चो छ । अरु दिनभन्दा निकै सुन्दर देख्छु आज मैले । किताब ,नोट बुक र डटपेनको साथमा एकाग्र छिन् उनी । स्मार्ट फोन मुस्कुराउँदै छ किताबको साइडमा । “ कुन बेला सबैलाई डिस्ट्र्ब गर्छु ” भनेर । स्मार्ट जो हुनु छ । नभन्दै घन्टी बज्छ । मिठो रिङ्ग टोन रहेछ । एउटा अँग्रेजी गीतको । “ आल अफ मि “ । अत्तालिन्छिन् उनी । फोनमा कुरा गर्न उठ्छिन् र बाहिर जान्छिन् । म भने पून: एकाग्र हुने कोशीस गर्छु । तर एकाग्रता पूर्ण छैन आज मेरो ।
उनी फर्किन्छिन् केही बेरमा । तर शायद कुनै हतार थियो होला । आफ्ना किताब कपी बटुलेर हिँड्छिन् । अनुहारमा खुशीको रङ देख्न सकिन्छ । । कुनै राम्रो घटना हुनुपर्छ । उनी सेकेन्डसेकेन्ड हुँदै बिलिन हुन्छिन् । उनको आकार सानोहुँदै कणसरी बिलाउँछ । उनी हराउँछिन् ’जान्छु ‘ पनि नभनिकन । म एकोहोरो हेरिरहन्छु । फर्केर हेर्छिन् कि भन्ने आशमा । । तर एकाएक बातावरण शून्य हुन्छ । केही गुमाएको जस्तो लाग्छ । कोही टाढा गएजस्तो लाग्छ । मन मलिन हुन्छ । गर्हौ हुन्छन् खुट्टा ।
धेरै पटक भेट नभएपनि उनीसँग बेला बेला कुराकानी हुने गरेको थियो । राम्रै कुराकानी भएको थियो। तर आज उनले मलाई चिनिनन् । हुन सक्छ मलाई देखिनन् । मलाई किन चिनिनन् त भन्ने कुराले मलाई निकै सतायो । पहिलेपहिले जस्तै मिठो मुस्कान दिएर हृदय प्रफुल्लित भएको भए म धन्य हुने थिएँ होला ।
मनको अशान्तिको दर्शन भइरहेको थियो आज मलाई । मन स्थिर र एकाग्र हुन्थ्यो पहिले । उनलाई मेरो मनको मनोभाव मैले प्रकट गरिसकेको थिएँ । मेरो उनीप्रतिको आकर्षण प्रकट गरिसकेको थिएँ। अन्योलमा बस्न मलाई मन पर्दैन । सिधा स्प्ष्ट कुरा गरेको थिएँ । शायद त्यसैले होला मलाई उनले बिस्तारै चिन्न छोडेकी । “ रेजोनेन्स “ मिल्न लागेको दुई मनको ” लिन्केजमा ” कतै ”म्युटेसन ” भएछ । उनको मनमा कुनै अर्को तत्वले मेरो “लिन्केज” लाई ” रिप्लेस“ गरेछ । “ डिस्प्लेस ” गरेछ । रसायनशास्त्रमा जस्तै शक्तिशाली मोलिक्युलले कमजोर मोलिक्युललाई बिस्थापन गरेजस्तो ।
यस्तैमा मेरो शरीर गर्हौ हुँदै आउँछ । पार्श्वमा मीठो धून सुनिन्छ ” ॐ माने पद्मे हम ” । “ॐ माने पद्मे हम ” । लाइब्रेरी नजिकैको घरबाट त्यो ध्वनि आइरहेको हुन्छ । हात खुट्टामा चिसो तरङ सल्बलाउँछ । सिरिङ्ग हुन्छ । त्यो धूनले “ अडिटरी ” प्रणाली हुँदै मस्तिस्कमा प्रबेश गर्छ । । मन आनन्दित तुल्याउँछ ।
संसार क्षणभङुर छ भन्ने तत्व ज्ञान खुल्छ । अनी आजको लागि तयार हुने आँट बटुल्छु । आजको दिन सार्थक जो बनाउनु छ मलाई । मनको सबै त्रिष्णा आजलाई बिलिन हुन्छ । उनी पनि विलीन हुन्छिन् । तयार हुन्छु म आफ्नो कर्मयात्रामा । भित्तामा टाँसिएको एउटा पोस्टरमा दृष्टि पर्छ । “ रहेछ संसार निशासमान । आएन जिउँदा रहँदा नि ज्ञान । न भक्ति भो न ज्ञान न विवेक ।“ महाकवि देवकोटालाई नमन गर्छु मनमनै । मनमा चयन छ भने जीवन बाटो नै मधुवन !! मेरो अध्ययन जारी रहिरह्यो । उनी लामो समय अलप भइन्।
पातलो भेट । पातलो कुराकानी । मेटिन लागेको स्मरण । मुस्किलले बर्षमा एक दुई पटक झुक्केर पेशागत कुराकानी । एकदिन एकाएक चमेनाघरमा भेट हुन्छ । मेटिन लागेको धर्सामात्रै बाँकी रहेको स्मरण तुरन्तै उर्जापूर्ण भएर पुन जाग्रित हुन्छ। कुनै एउटा समय थियो। बाक्लो कुराकानी थियो । भाईबरमा मेसेन्जरमा आदि । समय बितेको पत्तो हुँदैनथ्यो ।
धेरै समय पछिको अपत्यारिलो भेट भएको थियो । ईशाराले ”हाइ ” बाहेक अरु केही शब्द निस्केनन् । तैपनी असजिलो हाँसो त एक अर्काको अनुहारमा देख्न सकिन्थ्यो । मैले त उनी कस्ती थिइन् भन्ने कुरा नै बिर्सिसकेको रहेछु । अचेल कपाल फुलेछन् कि जस्तो छ । कपाल ”डाइ “ गरेकी रहिछन् । हुनसक्छ नयाँ स्टायल होला । चस्माको फ्रेम पनि फेरेकी रहिछन् । अलिक स्लिम हो कि जस्तो पनि लाग्यो । डाइटिङले स्लिम हो कि तनावले भने थाहा भएन । पहिलेभन्दा अझै राम्री लागिरहेको थियो। के धेरैपछिको दुर्लभ दर्शनको प्रभाव हो त ? कि साँचै राम्री देखिएकी हुन् !
एक पटक केही सेकेन्ड आँखा चिम्लिन्छु । पहिलेको स्वरुप स्मरण गर्न खोज्छु । खासै फरक भने लागेन । पहिलेपनि उस्तै राम्री देखिन्थिन् । अहिले समय र अवस्थाले राम्रोपन थपिदिएको हुनुपर्छ । उनलाई भेट्ने अवचेतन मस्तिस्कमा दबिएको इच्छा हुनसक्छ । एकाएक मस्तिष्कको भित्री पत्रको साधनाबाट जागेर आएको । मनुष्य मस्तिष्कको “फिचर ” भन्नुपर्ला । कुनै विचार घटनालाई जस्तो इन्जिनियरिङ् गर्न पनि सक्ने ।एउटै अवस्थालाई विभिन्न महसुस गर्न सक्ने । त्यसैले होला ” मान्छे आफ्नो बिचारको सकल प्रदर्शन हो ” भनेर भनिएको ।
यिनै बिचार गर्दै थिएँ । छुट्टीने समय भयो । छोटो भेट । तौलिएका कुराकानी । केही समय अझै बस्न भन्नपर्छ कि जस्तो लाग्यो । तर शब्द निस्किएन । हालसालै न्युरो पोस्टिङको प्रभाव होला । उनको मस्तिस्कलाई चियाएको कल्पना गरेँ । खप्पर खोलेर ”ब्रैन” को भावनाहरुको ”सेन्टर ” खोजेँ । ब्रेनका पत्रहरु धेरै रहेछन् । विद्युतीय संचार अनगिन्ती रहेको अनुभव गरेँ । जेलिएका कनेक्सनहरुमा संचार भएका विचारहरु “डिकोड ” गर्न सकिन । सायद मनलाई ब्रेनभित्र खोजेर भेटिँदैन कि ! जे होस् । फेरी अनायास जिस्किन मन लाग्यो । चिडाउन मन लाग्यो । र भनेँ ,"बियोन्स ” कफी कस्तो लाग्यो ? “ दुई सेकेन्डको सन्नाटा । त्यसपछि दुबै एक अर्कालाई हेर्दै मजाले हाँस्छौँ । फेरी दुई कप कफीको अर्डर गर्छौं ।
उही
कल्पनाशील स्वप्नदर्शी
Comments
Post a Comment