रोबोट जस्तो सुशासन , हामी मानव कहाँ ?
रोबोट जस्तो सुशासन , हामी मानव कहाँ ?
अहिले नेपालमा एउटा परिदृश्य चलिरहेको छ । थिलथिलो भएको लोकतन्त्र अब छद्म लोकतन्त्रको बाटोमा हिँडेको हो कि भन्ने झल्को पाउन सकिन्छ । समकक्षी कति साथीहरुलाई त म बुझाउन नि सक्दिन । बेलाबेला म आफै गलत विचार वकालत गरेको हो कि भनेर रोकिएर मन्थन गर्छु । तर मेरो खुट्टा ठिक ठाउँमा नै छ भन्ने महसुस हुन्छ। यो समयलाई बुझ्न मलाई एउटा चलचित्रको याद आयो । साउथ कोरियन चलचित्र "प्यारासाइट" । त्यो चलचित्र यहाँ बखान गरेर भन्दा हेरेर नै बुझ्ने प्रयास गर्नु भनेर निवेदन गर्न चाहन्छु । म त बिरामीका कथा भन्ने साधारण मान्छे हुँ । मसँग धेरै ज्ञान र अनुभव छैन । म कानून , सिद्धान्त , राजनीतिका भाषा पनि जान्दिन होला ।
पश्चिम नेपालगन्ज, आछामबाट धकेलिँदै उपचार गर्न आएका केही बिरामीहरुको कथा नलेखी मेरो मनले शान्ति पाउने देखिन । यो लेख्दा मलाई धेरैले गाली पनि गर्नेछन् , सरकार सुशासन र विधिको बाटोमा छ । आलोचना मात्रै गर्छ। "
वीर अस्पतालको एमर्जेन्सीमा एक जना बिरामीको उपचारको लागि कार्डिओलोजिस्टको राय चाहिएकोले म एमर्जेन्सीमा पुग्छु । नेपालगन्जको किनाराकृत वस्तीबाट थारु समुदायकी " चिडिया थारु" ( नाम परिवर्तित) तीन चार महिनादेखि खाना निल्न नसक्ने र सर्किने, दुब्लाउँदै गएको कारणले रोग पत्ता लगाउन नसकेर विभिन्न अस्पतालबाट धकेलिँदै टिचिङ अस्पतालको एमर्जेन्सी पुगेका रहेछन् । त्यहाँ बेड एउटै खाली नभएकोले र एमर्जेन्सीको गेटबाटै फिर्ता पठाएको भएर उनका श्रीमानले वीर अस्पताल ल्याउँछन् ।
आछामबाट मिठु रोका ( नाम परिवर्तित) ६ महिना देखि श्वास फेर्न गार्हो , मुटु दुख्ने, थकान हुने र छाला कडा हुँदै गएकोले रोग पत्ता लगाउन नसकेकोले उनीपनि श्रीमानसँग धकेलिँदै टिचिङ अस्पतालको एमर्जेन्सीमा पुग्छन्। उनको पनि बेड खाली हुने साइत परेनछ । त्यसैले ढोकाबाट नै फिर्ता हुन पुगेछन् । त्यसपछी एउटा प्राइभेट मेडिकल कलेजमा उपचाररत छन् । उनीपनी आर्थिक भारको भुमरीमा भाँसिदै गएका छन् । यी त प्रतिनिधि घटनामात्रै हुन् ।
यस्तो ढोकाबाट नै जतासुकै जानू , यहाँ तिमीहरुको लागि स्थान छैन भन्न त एउटा रोबोटले मात्रै सक्छ होला । के हाम्रो सरकार अहिले रोबोटजस्तै निर्णय गरिरहेको त छैन ? मानवीय संवेदना , मूल्य र मान्यता, सामाजिक चेत सबै गौण भएका हुन् ?
खासमा कसरी उपचार हुने रहेछ त भनेर हेर्न टिचिङ अस्पताल एमर्जेन्सीमा पुगेँ म पनि । कति शान्ति रहेछ अचेल । पहिलेजस्तो कोलाहल पनि छैन । एउटा बेडमा दुई जना उपचार गर्न मिल्दैन भनेपछि टिचिङ अस्पतालले ३०-४० वटा ट्रलीहरुको व्यवस्था गर्न परेको रहेछ । ती ट्रलीमा दुई जना त अट्ने कुरै भएन । पहिलेका बेडहरुमा दुई वा तीन जनासम्म उपचार गरिन्थ्यो । त्यो ठिक हो भनेर म भन्दिन । त्यो वास्तवमा बाध्यता थियो । अझै गहिरिएर हेर्ने हो भने त्यो राज्यको नालायकीपन थियो । टिचिङ अस्पतालको विकल्पमा त्यस्तै गुणस्तरीय अस्पतालको निर्माण किन हुन सकेन ? वा राज्यले ग्रामीण स्तरमा भएका अस्पतालमा जनताको पर्याप्त विस्वास र स्वास्थ्यकर्मीलाई सेवा गर्न प्रोत्साहन किन गर्न सकेन ? एम डि जि पि कार्यक्रमलाई सुदृढ किन गर्न सकेन ? यी प्रश्नहरु स्वास्थ्य मन्त्रालयमा बस्ने ज्ञानीहरुको मनमा के साँच्चै आएन र ?
पुरानो राज्यसत्ताको दशकौंदेखिको नालायकीपनलाई ढाक्न र सामाजिक संजालमा आफ्नो जयजयकार गराउन एक बेडमा एक बिरामी र पहिले जो आउँछ, त्यसैले बेड पाउँछ भनेर सतही निर्णय गर्नु एउटा रोबोटले निर्णय गरेजस्तै हो । जसमा कुनै मानवीय संवेदना हुँदैन । सामाजिक चेतना हुँदैन । के हाम्रो सरकार रोबोट नै हुन खोजेको हो ?
व्यवहारिकता भन्दा पनि झट्ट बिक्ने लोकिप्रयतालाई आत्मसात् गरेको देखिन्छ । एउटा बेडमा दुई जना उपचार के कति कारणले भएको छ भनेर त्यसको गहिराइमा प्रश्न जन्मिनुपर्नेमा यस्तो पनि उपचार हुन्छ भनेर आउने सोच एउटा सहज सोच हो । तर्क विहीन मस्तिषकको सोच हो ।
एउटा बेडमा दुई जना उपचार हुन्छ भनेर अचम्म पर्ने सरकारले एउटा कुरा सोच्नै बिर्सियो " अहिलेसम्म किनाराकृत जनतालाई टिचिङ अस्पतालको उत्तम विकल्प किन तयार भएनछ ? हामीले First come first सिद्धान्तलाई सुशासन मान्ने गल्ती गर्नुहुँदैन । टिचिङमा रहरले देशभरबाट बिरामी जाँदैनन् भन्ने कुरो कसैले सोच्यो कि सोचेन त ? कतै रोग पत्ता लगाउन नसकेर विचरा बिरामीहरु नै टिचिङ अस्पताल पुग्ने हुन् भन्ने पनि बोध छैन हो ?
साथै अर्को आयाम पनि सरकारले चटक्कै बिर्सियो " टाढाबाट धकेलिँदै आएका ती निर्दोष र प्रतिरोधको क्षमता नभएका बिरामीहरु टिचिङमा उपचार भएन भने कहाँ गएर उपचार गर्छन् त ?कि जहाँसुकै जाउन् । भर्सेला परोस् भनेर छोडेका हुन् । के ती सबै बिरामी बेड पाउने साइत नपरेर नेपालका नागरिक नै होइनन् ?
ती फर्काएका बिरामीहरुको ठाउँमा राखेर स्वास्थ्य मन्त्रीज्यूले हेर्नुभएको छ ? ती बिरामीहरु कति प्राइभेट मेडिकल कलेजहरुमा उपचार गराउँदै गर्दा तन्नम भएको कल्पना गर्नुभएको छ ? कि कल्पना गर्ने क्षमता विकास नै भएको छैन !
बोल्न नसक्ने , पहुँच नभएका , गाउँबाट सहर आउँदा आफ्नो भन्ने कोहि नभएका बिरामीहरु नै लुरु लुरु विकल्प खोज्न बाध्य हुन्छन् ।
मन्त्रीज्यू, तपाईँ एक पटक फेरि गएर हेर्नुहोस् न त " पहुँच भएकाले "First come First " सिद्धान्त पालना गर्ने रहेछन् कि विभिन्न छिद्र बाटोबाट भर्ना हुने रहेछन् । मन्त्रीज्यू , तपाइँ वा तपाइँको घर परिवार कोही बिरामी हुनुभयो र टिचिङमा बेड पाउने साइत परेन भने अन्तै अस्पताल खोजेर जानुहुन्छ नि है ? कि डाइरेक्टरलाई फोन गरेर बेड मिलाउन भन्नुहुन्छ ? यो प्रश्न मन्त्रीलाई मात्रै नभएर ती सबै सम्भ्रान्त वर्गका मानिसलाई हो । जसले वस्ती उजाड्नुमा सुन्दरता देख्छ । जसले टिचिङ अस्पतालमा भिड नहुनुलाई उपचारको सफलता मान्ने गर्छ ।
तपाईंको त्यहाँ साइत नपरे पनि कतै न कतै त उपचार पाउनुहुन्छ । तर त्यहाँ आशा र भरोसा बोकेर गएका अधिकांश बिरामीको लागि साइत परेन भने केवल महङ्गा उपाय मात्रै बाँकी हुन्छन् । कतिले त काठमाडौंका प्राइभेट कलेज र अस्पतालमा आर्थिक बोझले उपचारकै विचमा जिउँदो लास घर फिर्ता गर्न बाध्य हुन्छन् । धनको मुहार कालो पनि हुन्छ गोरो पनि हुन्छ । गरिबलाई धनको अभावले तनाव दिन्छ भने धनको प्रभावले सम्भ्रान्त वर्गलाई सुविस्ता दिन्छ । एउटा कुरा सदैव हेक्का राख्नुपर्छ , सुशासन मानवीय मूल्यलाई लत्याएर रोबोटजस्तो निर्णयले कदापि कायम हुँदैन ।
सुकुम्बासी बस्तीमा बिना तयारी डोजर चलाउनु र टिचिङ अस्पताल जस्तो केन्द्रीय अस्पतालमा बिरामीहरुलाई " तिमीहरू जो कोही जहाँबाट आए पनि ट्रलीमा नअट्ने हुनाले उपचार गर्न सकिन्न ।" भन्नु एउटै हो । यहाँ घर आदिमा मात्रै डोजर नचलेको हो । तर पद्धति, सोचाइ र काम गराइ एउटै हो । मानवीय मूल्य मान्यतामा डोजर चलेको हो । गौतम बुद्धको देशमा के यो सुहाउँदो कुरा हो ? बेड नपाए अन्त गएर उपचार किन गर्दैनन् त भनेर सोच्नु भनेको एक छाक खान सङ्घर्ष गर्नपर्ने जनताले पिज्जा किन खाँदैनन् त भनेर प्रश्न गरेजस्तै हो । आधारभूत मानवीय र समाजिक संवेदनाको निर्मम निषेधले देशको समुन्नतिको कल्पना गर्न सकिन्छ होला र ?
उहि
एक चिकित्सक
एक मानव ।
Comments
Post a Comment