देवघाट ,पेरिस, प्रिय साथी र म ।


देवघाट ,पेरिस, प्रिय साथी  र म ।  

आकाश त शून्य हुन्छ भनिन्छ ।  कुनै सिमा पनि हुँदैन  आकाशको ।  वायुमण्डलका पत्रहरु भने हुन्छ भन्छन्  वैज्ञानिक ।  पराबैजनी किरणबाट सुरक्षा दिने  पनि पत्र हुन्छ ।  ओजोनको पत्र ।  औधोगिक  क्रान्तिसँग नष्ट  हुँदै गएको त्यो अभागी पत्र हो  । धर्ती त्यसको पीडित पात्र ।  र मनुष्यजाति त्यसको एक मात्र दोषी पात्र।  

दसैंको टिकाको दिन देवघाटको लागि प्रस्थान गरेको थिएँ ।  चितवन पुग्न ५ घण्टा लाग्यो ।  यस्तो लाग्यो बसमा केवल ब्रेक मात्रै छ ।  यसलेरेटर छैन ।  हाम्रो देशको विकासको गाडीजस्तो ।  पूरै निरस यात्रा ।  त्यहाँ पुग्दा बेस्मरी पानी परिरहेको थियो ।  मुसल्धारे पानी ।  पानीले सबैलाई पिटिरहेको थियो ।  भर्खर पिच गरिएको बाटोलाई ।  त्यही बाटोमा हिँडिरहेका  कार ,अटो रिक्सा आदिलाई ।  मसँग त्यो शक्ति  सहने  क्षमता थिएन ।  त्यसैले म ओत् लागेँ एउटा औषधी पसलको छनोमुनि ।  त्यसैगरी धेरै जना निरिह थिएँ ।  म मात्र एक्लै नभएकोमा खुशी पनि लाग्यो ।  मनुष्य  स्वभाव ।  दु:खमा पर्दा अरु पनि दुखी देख्दा आफ्नो मनले आड पाउने ।  नभए त सुखमा कहाँ अरुलाई खोजिन्छ र ! 

लाग्दै थियो आकाश शून्य थिएन त्यो दिन ।  पूरा  उर्जाका साथ बादल जम्मा भएका थिए ।  निरन्तर पानी परिरहेको थियो ।  मानौँ  आकाशले सम्पूर्ण  क्रोध जम्मा गरेर प्रदर्शन गरिरहेको थियो ।  आकाशमा कुनै देवताको युद्ध  हुँदै थियो कि ! शायद पाठ सिकाउन खोज्दै थियो होला हामी मनुष्यलाई ।  प्रकृतिको मर्म नबुझी गरिएका विकास कार्यको असर सम्झाउन खोजेको हुन सक्थ्यो । अतिवृष्टि ,अल्पवृष्टि  ,अनावृष्टि  मनुश्यले गरेको विकासको दानव स्वरुप हुन् ।  मोलमलाई कमिसनमा बनाइएको नयाँ पिच बाटो मक्काएर मनुश्यको भ्रष्ट रुप देखाउन खोज्दै थियो कि ! पानी नभए त संसार सम्भव छैन ।  तैपनी उल्टै मनग्गै गाली गर्दै थिए सबैजनाले पानीलाई ।  रिसाउँदै थिए बादलप्रति ।  के गर्नु  ! गुन छिटो बिर्सिने बैगुनी जात हो नि त हामी ।  मैले नि एक दुई पटक गुन बिर्सेंछु ।  

नकारात्मक वाणीबाट त पानी रोकिने छाँट किंचित थिएन ।  सबैजनाले आ-आफ्ना  प्रयास गर्दै थिए ।  अटो रिक्सा रोक्ने प्रयास ।  ट्याक्सिलाई रोक्ने प्रयास ।  म भने एक टकले पानी हेरिरहेको थिएँ ।  आकाशबाट झरेको थोपा थोपा पानी मिलेर धारोजस्तै बनेर  ठोक्किने  भुइँमा  ।  ठोक्किएर  फेरी पानीका थोपा छुट्टीने ।  अनि भुइँमा  फिँजारिने ।  त्यसपछि जता ओरालो त्यतै लाग्ने ।  नाली खोज्ने अनि पानीको भेल बनेर  यो दृश्य बिलिन हुने ।  मानिसको  जीवन पनि यस्तै त हो ।  कुनै समयमा छुट्टीनै पर्छ आफ्ना  प्रियजन सँग ।  उमेरसँगै  ओरालो लागेर एक दिन बिलिन नै हुने हो धर्तिबाट ढिलोचाँडो।  पानी भुइँमा सयर गर्दै थियो । म आफ्नो बिचारको  संसारमा  ।  

मेरो मनप्रिय साथी पनि आउँछिन् मलाई एक्लै देखेर  ।  कस्तो सन्जोग ।  मिठो मुस्कानका साथ ।  उही आभामण्डल,उही अनुभव, उही रेजोनेन्स ।  बाहिर पानी बर्षिरहेको थियो ।  मेरो मनको कुनाबाट खुशीको बर्षा हुँदै थियो ।  आकाशतिर हेर्दै मुस्कुराएँ म ।  मेरो मुस्कान देखेर अझै पानी दर्किएजस्तो लाग्यो ।  उनी पनि मुस्कुराउँछिन् ।  दुबैजना नजिक हुन्छौँ ।  आकाश कड्किन्छ ।  उनी हल्का डराउँछिन् ।  मेरो हात कसेर समात्छिन् । केमिस्ट्री  र रेजोनेन्स  दुबै “पर्फेक्ट “ देखिन्छ ।  म पुन: पानी हेर्छु भुंइमा ।  पेरिसमा पर्ने पानी र यो एउटै त होला नि ।  H2O मोलिक्युल ।  हाइड्रोजन र अक्सिजनको मिलन ।  कस्तो अद्भुत रेजोनेन्स ।  सधैं शास्वत रहने ।  पेरिसमा पनि ,पुल्चोकमा पनि एउटै अस्तित्व ।  मनुश्य मनले जोखेर र तौलेर निर्णय गर्ने भएर होला मनको रेजोनेन्समा व्यवहारिक घर्षण हुने ।  कहिलेकसो रेजोनेन्समा म्युटेसन पनि हुने गर्छ ।  म्युटेसनले अहम् पैदा हुन्छ ।  

फोनको रिङ्ग टोन बज्छ ।  झसंग हुन्छु म ।  मामाको फोन रहेछ ।  पानीले कति दु:ख दिएको छ भनेर बुझ्न् गर्नुभएको थियो । पानी रोकिने कुनै संकेत थिएन ।  म फेरी ध्यानमग्न हुन्छु प्रकृतिको लीलामा ।  पानीको थोपा ठक्कर खाँदा उछिटिएका सुक्ष्म थोपाहरुले स्वश्ति शान्ति गर्दै थिए मलाई  ।  त्यही पानीको थोपाको भित्र पेरिसको चित्र देख्छु ।  सजिब चित्र ।  पानीको थोपाभित्र दुईटा मानव आकारको प्रतिबिम्ब देख्छु ।  त्यसमै म बिलिन हुन्छु ।  उनी उभिएकी छन्   ।  म उभिएको छु ।  बेलुकाको समय छ ।  शहर चम्किरहेको छ ।  सिमसिम  पानी परिरहेको छ ।  दुबैजनालाई पानीले रुझाएको छ ।  तर आकाश गर्जिएको भने छैन ।  शान्त  छ । 


मैले उनको हात समाउँछु ।  उमंगका साथ भन्छु ” लाइटले चम्किएको टावर हेर न । “ ३१४  मिटर अग्लो अाइफल  टावरको द्रिश्यावलोकनले उमंगित छ हाम्रो मन ।  एक पटक फेरी एक अर्कालाई हेर्छौँ ।  निकै आत्मीयताका साथ एक अर्कालाई अंगालो मार्छौँ ।  उनको निधारमा चुम्बन गर्छु म ।  लाग्दै थियो त्यो पानीको थोपा र हामी एउटै हौँ ।  अहम्  बिनाको रेजोनेन्स ।  मन चङ्गा त जगत मधुवन ।  टावरले रमाइलो मान्दै हेरिरहेको थियो हामीलाई ।  पानीको मोलिक्युलजस्तो बोन्डिङ ।  टुक्रिए दुबैको फरक अस्तित्व ।  साथमा एउटै अस्तित्व .......। समय बितेको थाहा हुँदैन ।  यस्तैमा ध्यान भंग   हुन्छ ।  पानीको थोपा पनि टुक्रिन्छ ।  पेरिसबाट पुन: पुल्चोकको यात्रा पलभरमा ।  अटोको तीखो  कर्कश हर्न खलनायक हुन्छ त्यो समयमा । पिटुँ पिटुँ  लाग्ने ।  

पानी कम भएछ ।  सबैजना आ आफ्नो गन्तब्य लाग्दै गर्दा  हेक्का भयो ।  म पनि अटो रिक्सा खोज्न लाग्छु ।  तर कुनै जान मान्दैनन्  जङलको बाटो ।  देवघाट जान ४ कि मि जङलको सुनसान बाटो जानुपर्छ ।  । एउटा अटोमा पोखरा बस पार्क सम्म भए पनि पुगेँ  ।  एउटी बुढी आमा पनि त्यसमै  बसिरहेकी थिन्  ।  राम नामले सजिएको पछ्यौरा ओडेकी ,एउटा टाल्टुल गरिएको झोला बोकेकी ,एउटा सुरिलो लौरो टेकेकी ,चन्दन निधारमा लगाएकी र ढाड कुप्री परेकी ति आमा अशान्त देखिन्थिन्   ।  देवघाट  जाने पीरले पिरोलेको रहेछ ।  देबघाट जाने साथी खोज्दै रहिछिन्  ।  ८ बजिसकेकोले बस त पाइने थिएन  ।  मलाई ति आमालाई देब घाट पुर्याउन मन लाग्यो । देबघाट जाने हो ? कति हो भाडा भनेर सोधेँ   ।  “ रातिको समय छ ।  तीन सिट हो ।  तीन जनाको दिनु न १०० का दरले । “  आमाले खिन्न हुँदै भन्दै थिन्   “ म २० मा चढ्ने गरेको। पैसा नपुग्ला मसँग ।  “  “ आमा ।  तपाईं चिन्ता नलिनु ।  निश्चिन्त बस्नुस् ” भनेर भनेँ ।  

बसिसकेपछि अटो चालकले पछाडि फर्केर भन्छन् ” आमै ।  उहाँले ३०० दिनुहुन्छ ।  तपाईं १५० दिनुस् ।  “  मलाई भने अलि रिस उठ्यो ।  आफ्नो बोली फेरेकोमा ।  अटो रोक्न लगाएँ ।  “ तपाईं आफ्नो बाटो लाग्नु भए हुन्छ ।  मनमा हरिले बास गरेपछि  आउनुहोला ।“ भनेर ओर्लिएँ । अर्को सुरो अटो ड्रैभरको खोजी कार्य जारी रह्यो ।  कसैले पनि मानेनन् त्यो जङलको बाटो जान ।  फर्किँदा डर हुन्छ भन्ने सबैजना ।  मान्छेको मनमा डरले खेती सानैदेखी गरेको हुन्छ ,हाउगुजी भूत प्रेत आदी काल्पनिक स्वरुपले ।  बल्लतल्ल  एउटा स्कर्पियो रोक्न सफल भएँ ।  

स्कर्पियोले हामीलाई देवघाट पुर्याउन राजी भयो ।  सकुशल देवघाट पुल वारी पुगियो ।  बिस्तारै  हिँड्न थाल्यौँ हामी ।  म जति बिस्तारै हिँडे पनि आमाले मलाई भेटाउन सक्नुहुन्थेन ।  म आफ्नो पाइला अझै सुस्त गर्थेँ ।  तर बेलाबेला हाम्रो दूरी फरक परि हाल्थ्यो ।  ।  वास्तबमा भन्नुपर्दा म आफ्नो भबिष्यलाई नजिकबाट अनुभव गर्दै थिएँ ।  समयले सौभाग्य प्रदान गरेछ भने शरीरका अवयव कमजोर हुनेछन् ।  मेरा पाइला पनि उस्तै सुस्त हुनेछन् ।  ढिला हुनेछन्  ।  बाटोले गिज्याउनेछ ।  छोरानातिले यस्तै गरी आफ्ना  कदम मिलाउने प्रयास गर्लान् ।  छुट्टीने समयमा ” बाबु ।  भग्मानले सधैं रक्षा गरुन् ।  खुशी रहनु ।  “ भन्दै आशिष दिँदा दिन सार्थक भएको अनुभव भयो ।  

घर पुगेर टीका  लगाउने काम सकियो ।  सबैजनाको भेलाले माहोल रमाइलो भएको थियो ।  धेरै समयपछि त्यस्तो साइत जुरेको थियो ।  सुत्ने ब्यबस्था मिलाएर म सुतिहालेँ ।  थकानले निद्रा मिठो आउँछ ।  म पुन: पेरिसको सयर गर्न थालेँ ।  रुमानी यात्राको  निरन्तरता ।  पेरिसमा मनप्रिय साथीसँग टहल्दै थिएँ ।  अाइफल टावर नजिक कफी खान बस्यौँ । कफी आत्मियता बढाउने प्रिय साथी थियो ।  दुईजना एक साथ नजिकिएर बस्दा त्यो वातावरण निकै सुमधुर हुँदै थियो ।  मिठो हावाले उनको केश सुम्सुम्याईरहेको थियो ।   मन लोभ्याउने उनको ” डिम्पल ” ले मुस्कानमा सुगन्ध थपेको प्रतित हुन्थ्यो ।  कफीबाट वाफ उड्दै हावामा बिलिन हुँदै थियो ।  सधैं न्यानो सम्बन्ध रहिरहोस् भन्न खोजेको हुनुपर्छ ।  

अाइन्सटाइनको  सापेक्षतावाद सिद्धान्त अस्तित्वमा थियो ।  प्रिय साथीसँग समय बितेको पत्तो नपाइने ।  मनको शान्ति र अनुहारको कान्ती भंग  हुन्छ अचानक ।  हजुरबुवाको आवाज सुनिन्छ ।  उहाँलाई हामी दुई जना सँगै बसेको कत्ति चित्त बुझेनछ कि ।  ब्रहमिनको ब्रह्मिन मिजास ।  कफीसमय पनि पूरा हुन पाएन  ।  त्यो आवाज बिस्तारै टाठो हुँदै जान्छ ।  अनि  म झसंग हुन्छु ।  बिहानै   मन्त्र पढ्ने बानी उहाँको ।  आँखा खुल्छन् मेरा ।  फेरि  म पेरिसबाट बिस्ताराको यात्रा एकै पलमा पुग्छु ।  स्वर्गबाट पछारिएको महसुस हुन्छ ।  त्यसैले आँखा चिम्लिएर फेरि  पेरिस पुग्ने प्रयास गर्छु ।  धित् मरेको थिएन स्वप्निल अनुभवको ............ ।  

उही 
रुमानी पेरिस यात्रा/ कल्पनाको पात्र 






Comments

Post a Comment

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।